आधी रातअघि

  
  प्रकाशित मितिः आइतवार, मंसिर १८, २०६८       | 100 Views   ||

-[नवीन विभास]

राति पौने एघार ।
४ असोज, २०६० । कीर्तिपुर, पाँगा ।

खाइसकेका थियौँ सायद अरू दिनभन्दा अलि सबेरै ।
धमिलो याद छ– मुलुकका विभिन्न भागमा सरकार–माओवादी मुठभेडको पौने दुई दर्जनजतिको हिसाब किताब रेडियोले सुनाइसकेथ्यो । सूचनाश्रोत नै सैनिक सचिवालय थिए । धेरै भइसकेको थियो पत्रपत्रिका, रेडियो र टिभीहरु नेपाल टिभी र गोर्खापत्रको फोटोकपी भएको पनि ।
ठूलो बधशालामा परिणत हुँदैथ्यो, मुलुक ।

अस्ति सार्वजनिक मेरो निबन्ध किताब ‘रात पनि ऐठन परेको रातमा’को बारे २ असोजको कान्तिपुरमा हरिगोविन्द लुइटेलको लेख छापिएको थियो । केही फोन प्रतिक्रिया आए । नेपालमा लेख्ने/पढ्नेबीच आलोचनात्मक टिप्पणी गर्ने र सुन्ने संस्कृति पनि छैन । यस्तो घडीमा दुई चारजनाको भए नि प्रतिक्रिया आउँदा मरूभूमिमा पानी परेजस्तो हुँदोरहेछ ।
अँ, सम्झना छ–
मौसम चिसिन थालेको छ । विद्यार्थीहरू असार लाग्नुअघिका किसानजस्तै हतारमा छन्– जाँच तयारीका लागि नोटसोट खोज्न । पढ्न । जाँचको मेसोतिर लाग्ने सोंच बनाउँदैछु ।

कीर्तिपुर सहिदपथ । सालिकनेर राजकाजी महर्जनको घर । भुईतलाको कोठा । पल्लो कोठामा दङ्गाली रामप्रसाद पौडेल र टङ्केश्वर अधिकारी बस्छन् । एउटै घर तीनभाइमा बाँडिएको छ । बीचमा, अमरकाजीको घर । माथिल्लो कोठामा रुकुमका पवन गौतम र भीमार्जुन रेग्मी । सँगसँगै दाङका अन्जान यात्रीका दाजुभाइ बस्छन् । बीचकोमा माधुरी–बसन्त आरसी दम्पती । तल्लो तलामा दङ्गाली मधुसूदन सुवेदी र अर्कोमा प्युठानी विनोद–सुरेश भाइ र विष्णु आचार्य दम्पती बसेका छन् । सँगै जोडिएको जेठाको घरमा छन्, एमपी.खरेल ।
दङाली, रोल्पाली र रुकुमेलीको बाहुल्यता छ ।
डेराको जोहो मिलाएथे साथी एमपी खरेलले । महिनाको सात सय । गाउँमा हुर्केको ज्यानलाई गाउँको तिर्सना मेटाउँछ यहाँ बस्दा ।
नेवारी बस्ती । गाउँजस्तै चलन । भिन्न संस्कृति र भाषासँग चिनजान गर्न खोज्ने नजानिँदो तिर्सना मेरो । कतिचोटि त नेवारी बाजाको पछि लागेर विष्णुदेवीको मन्दिर पनि पुगेको छु ।
मृतकलाई रूँदै चिहान पु¥याउने मेरो गाउँको संस्कृतिसँग मिल्दो रहेछ ।
नजिकै रहेको ढुसीगाउँमा छन्, धनबहादुर रोका, याम बुढा, सुकलाल रोकालगायतका रोल्पाली साथीहरू ।

अँ, नेवारी बस्ती ।
देखिन्छ चन्द्रागिरि । जसलाई कृष्ण सेन ‘इच्छुक’ले बन्दी र चन्द्रागिरि लामो कवितामा पात्र बनाएका छन् । मेरो गाउँपारि उभिएको जिलाधुरीजस्तै लाग्छ चन्द्रागिरिको अनुहार । फरक यत्ति छ –वारिपट्टि छड्केधुरी छैन । मेरो गाउँ र धुरीबीच चुनवाङ खोला छ । तर, यहाँ बस्ती । गाउँघरको याद चन्द्रागिरिको हावाले पलपल उप्काइरहन्छ ।
नित्से, प्लेटो, किर्केगार्डहरू बोक्न टियू जानु नियमित दिनचर्या छ, मेरो । साहित्यिक कार्यक्रम, गाउँबाट अस्पताल आउने आफन्तलाई गाइड गर्नु कहिलीकसोका थप कार्यभार छन् ।
‘ढ्याक् ढ्याक् ।’ कसैले ढोका नक् ग¥यो ।
जगजगीमा देशै फन्किएको बेला के कुरा कीर्तिपुरको ।  सन्त्रासमय कीर्तिपुर । विद्यार्थीमाथि धरपकड तीव्र भएको छ । कतिखेर के हुने हो ? बिल्कुल जगजगी छ ।
‘कुकुरको कहानी’ बिर्साउने काठमाडौंको जीवनशैली । चराजस्तै दिनभर धन्दा सकाएर हामी अबेर मात्र गुँडमा फर्कन्छौं । खानासँगै धेरैबेर गफिन्छौं । गफका विषय मौसमअनुसार फेरिन्छन् ।

सम्झना छ–
बर्खा सकिएको थिएन । त्यस रातमा पनि गफ हुँदै थियो–बर्खामासे रोल्पाली लोकजीवनका उकाली ओरालीबारे । राँके संक्रान्तिमा ‘लुतो लैजा’ भन्दै अगुल्टो फालेका, घ्यू संक्रान्तिमा घ्यू खाएर पिङ खेलेका, बर्खेगोठमा आलु उसिनेका, साँझपख बर्खेझरीमा अगुल्टो झरीमा च्वाईच्वार्ई पार्दै घर रुङ्न हिडेका, जुकासँग लुकामारी खेलेका …सम्झदै गाउँ पुग्दै थियौं । माल्दाजुले बर्खेझरीको तालमा मुरली फुकेको साँझपख, मेलापातबाट फर्कने आमाको पर्खाइमा ढोका संघारमा बसेर टोलाउँदै केराको पातमा झरी लर्गौडी खेलेका …। यस्तै–यस्तै गफ । यसपालि गोठ लगे कि लगेनन् ? माइली भाउजू, आमाबा कहाँ हुनुहुन्छ होला ? जनयुद्ध चर्केपछि सेनाले बर्खे गोठमाथि ‘माओवादी सेल्टर’ भनेर आक्रमण थालेपछि बर्खामास ‘गोठ जाने, बुकी जाने संस्कृति’मा विचलन आएको थियो । सुवर्णसँग बसेको धेरै भइसकेपनि गफ कसरी आउँथे कुन्नि ? तर, भाँतीभाँतीका गफ भइरहन्थे ।

नक् गरेलगत्तै घण्टी बज्यो । कोठाको माथिल्लोपट्टि बलेन्द्रीमा कोही बिरालो तालमा हिडेको चाल दोहोरियो ।
लाग्यो, ‘कोही आएको छ ।’
टङ्केश्वर या रामप्रसाद या सुवर्णले कुन्नि ? ढोका खोले ।
सिधै हाम्रो कोठामा छिरेर सोध्यो, ‘नवीन को हुनुहुन्छ ?’
मध्यरातमा खोज्ने को हो ? अक्क न वक्क परेँ । सुवर्णसँग हेराहेर ग¥यौँ । दुवैजना अलमलमा प¥यौँ ।
‘हामीसँग हिड्नुस् ।’
‘किन’ पनि सोधिनँ । सायद उचित ठानिनँ । सादा पोसाकमा भए नि सेना÷पुलिस हुन् भन्ने पक्का गरेँ । कारण–सेनापुलिसले सादा पोसाकमै बेपत्ता, गिरफ्तार र हत्या गरिरहेका थिए ।
‘लुगा लगाउनुस् ।’
धड्कन अनायास बढ्यो । छाती ढक्क फुल्यो । बेला–बेलामा यस्तो हुन्छ– जस्तो अलमल कि, कल्पेको तर ‘होला’ भनी नचिताएको कुरा हुँदैछजस्तो ।
हाप्पेन्ट लगाएँ । के सोचेर कुन्नि ? फुकालेँ । कटराइजको पाइन्ट लगाएँ । हेरेँ– पाइन्टमै छ, पर्स । भेष्टमाथि कालो सर्ट लगाएँ ।
छालाको चप्पल छिराएँ ।
‘हिड्नुस् ।’
उनीहरूसँगै लागेँ ।

सुवर्णलाई केही भनेँ कि भनिनँ ? भुलेँ । तर, एकपालि नियाल्न कोशिस गरेँ । आँखा जुध्न सकेनन् । धन्न ! आमा, भाउजू हुनुहुन्नथ्यो । घरमा भए यतिखेरको स्थिति सम्हाली नसक्नुहुन्थ्यो होला । महिला र पुरुषले समवेदना प्रकट गर्ने शैलीलाई नेपाली समाजले भेद गरिदिएको छ । सायद त्यै भेदअनुसार होला, हामीले ‘हेराहेर’बाट मात्र समवेदना साट्यौँ ।
निस्केँ– चुकै घोप्टिएजस्तो चकमन्न रातमा । विद्यार्थीका कोठामा बत्ती बलेको याद छ । चन्द्रागिरि उसैगरी उभिइरहेछ ।
कहाँ हो जाने ? फर्कने हो कि होइन ? धित मरून्जेल हेरूँजस्तो लाग्यो– अँध्यारोमा मच्छेगाउँ, चारघरे, ढुसी …। मैले छिमलेको अमरकाजी दाइको बकाइनोको बोट । माया पो लाग्यो । एमपी खरेलकोे डेराको कुकुर गोडामै लुटपुटिन आयो । सुम्सुम्याउन मन लाग्यो । टक्क उभिएर एकछिन हेरिरहन मन लाग्यो । जस्तो अन्तिम सास जाँदा मान्छेले हेर्छ ।
‘हिँड्नुस् ।’
अगिपछि छन्, उनीहरू । ‘कहाँ हो जाने ?’ न थाहा छ न त सोधेको नै छु ।
डेराहरूमा मान्छे छन् या छैनन् ? थाहा छैन तर बत्ती भने बलिरहेछन् । ‘बेपत्ता र मौन संस्कृति’ यसरी मौलाएको छ कि ! न मैले सोध्छु न त छिमेकीले नै ‘किन, कहाँ’ भनेर ।
मौन ।
ढोका खोलेरसमेत हेर्दैनन् । थाहा छैन, यसो पर्दाको खापबाट चियाइरहेछन् कि जस्तो घोराहीको कफ्र्यूको रातमा विमल, गणेश, गोपाल र कुुशल स–साना भुरासँग ढोकाको खापबाट यस्सो चियाउँथ्यौँ– डेराअगाडिको मस्जिदनेर प्रायः हर रातमा हुने सेनाको ताण्डव नृत्यलाई ।
मलाई यत्ति त यकिन छ कि यी सेना हुन् या पुलिस ।
मौन ।
मौन संस्कृति ।
फर्कन्छु या फर्कन्नँ ? थाहा छैन ।
झस्कन्छु– धेरै फर्केका छैनन् भन्ने सम्झेर ।
कसाहीखाना लगिरहेको खसी घरीघरी बाख्रेखोरतिर फर्की हेर्दै हिँडेझैँ गर्छु । फरक यत्ति छ, खसी ‘मे’ गरी कराएर बिदाइको हात हल्लाएजसरी विदाबारी गर्न पाइनँ ।
सुवर्णसँग हात मिलाएँ कि मिलाइनँ, कुन्नि ?
दसपन्ध्र पाइला हिँडेपछि बार्दलीमा सुकाएको लुगा सम्झेँ । सुवर्णलाई भनूँजस्तो लाग्यो । तर के सोचेँ कुन्नि ?

झल्याँस्स आँखामा गाउँ फक्र्यो ।
यतिखेर चुलोछेउमा बसेर जेईले धागो कातिरहनुभएको होला । ‘यति डल्ला भए यति किलो पुग्ला’ भन्दै कीराले खाएको दाँतले भाँगोको सरा नचुँडिदा फन्किरहेको ताकू रोकेर गुनासो गरिरहनुभएको होला, ‘अस् गोस्साको खालो !’
आँखामा जेई उभिइन्– काठमाडौँ झर्दा धरा (गून्यूमाथि कम्मरमा बाँध्ने पटुकीजस्तो) बाट झिकेर भारू. दुई सय हात पारिरहेकी । अनुहारभर नै खहरेखोला बगेको अनुहार । घरीघरी भनिरहेझैँ कानमा ठोकियो, ‘बासीकासी नखाएस् । दायाँबायाँ हेरेर हर्नु, …।’
आमाको हररर तिर्खा लाग्यो । सासै रोकिएजस्तो अत्यास लाग्यो । स–साना सपना उनेको आमाको त्यो स्वप्निल आँखा एकपालि हेर्न मन लाग्यो । गह टम्म भयो । मनमनै ‘बाँचे भेटौला’ भनेर ‘बाई’ गरेँ ।
जरूरी कुरा भन्नुपर्छजस्तो लाग्यो, आइने हो कि होइन ? के भरोसा ? मेरो भाग कोठाभाडा बुझाएको थिइनँ । पाँगादोबाटोमा लक्ष्मण गौतमकहाँ लिंगुष्टिकको ट्यूसन पढ्न थालेको थिएँ, पाँचसय मात्र दिएको थिएँ । माधुरी म्याडमलाई ‘भनी दिन या मिलाइदिन’ भन्नुपर्छजस्तो लाग्यो सुवर्णलाई ‘घोराहीमा ठूल्दाइलाई फोन गरेर पैसा मिलाइदिनु’ भनेर । जरूरी लाग्यो, ‘सर ! सुवर्णलाई जरूरी कुरा भन्न भुलेछु ।’
‘पर्दैन ।’ भन्यो । ‘हुकुमका गुलाम’लाई ‘सर’ भनेर सम्बोधन गर्दा मनले नजानिदो अपमानबोध ग¥यो ।
सरासर लागेँ । रि प्ले या फरवार्ड गरेको रिलजस्तै मनमा प्रकाशको गतिमा भाँतीभाँतीका याद बल्झिए । यति तीव्र कि ! थाहा छैन, प्रकाश पनि के दौडन्थ्यो होला, यस्तो गतिमा त ! मलाई यस्तै लाग्यो । जिन्दगीमा भोगेको मेरो यो पहिलो भोगाइ थियो ।
घरपति दाइ, एमपीहरूले थाहा पाए या नाई ? थाहा भएन ।

कोठामास्तिर लागेपछि घाराक्घुरुक् गर्दै वरपरबाट आए । र, मलाई झम्टिए । त्यसबेला पो थाहा पाएँ, आएका त धेरै पो रहेछन् । सहिदको सालिकबाट चोभारतिर नलगी पाँगादोबाटोतिर हिडाए । दुई चार पाइला फालेपछि एउटाले सोध्यो, ‘चौधरी काँ छ ?’
जिन्दगीमै नसुनेको कमरेड चौधरी कहाँ छ भनेर कसरी भन्नु ? कोठामा ‘तपाई’ भनेको सालिकनेर आएपछि तँ मा झ¥यो । लात्ता र मुक्का बर्षाउँदै ‘हिड् काँ छ’ भनेर पाँगादोबाटोतिर हिँडाए । घरीघरी काननेर पेस्तोल सोझ्याए । ‘भन् ।’
अघिपछि आठ दसजना भएजस्तो लाग्छ ।
सिलाई टाइट नहुँदा नगुडेजस्तो बच्पनमा खेलेको ‘मोजाको खुट्टेबल’जस्तै मलाई कुट्दै/गुडाउँदै सार्वजनिक धारो रहेको (ढुसी र पाँगादोबाटो जाने) दोबाटोमा लगे । घरी फुटबल बनाउँछन् घरी छातीमा समाउँछन् । ‘भन् काँ छ ?’ घरीघरी कमिलाले शिकार समाएजसरी अठ्याउँछन् । मानौँ म कीरा हुँ । र, उनीहरू बर्षौंदेखिका भोका कमिला ।  कहिल्यै नसुनेको नाम ।
अझ उसको डेरा ।
बगाले बुट र मुड्कीझरी दक्र्यो, सार्वजनिक धारोनेर पुगेपछि । यसरी खाइएको जिन्दगीमै पहिलोपालि थियो । दुईचार लात र बक्सिङ खाँदासम्म दुख्यो । त्यसपछि ? थाहै भएन ।
कसैले देखे वा देखेनन् ? चिच्याएँ या नाई ? याद छैन । तर, कुटेको आवाज भने रातको सन्नाटा चिर्दै हावामा दगु¥यो होला, बत्तिएर गुहार माग्दै । सोधिरह्यो, ‘हिजो तँ चौधरीसँग थिइस् । भन् काँ छ ?’ जवाफ दोहो¥याइरहेँ, थाहा छैन ।
फुटबलजस्तै गुडाउँदै भेटघाट होटलनेर पुग्नुअघिको ओरालोमा पु¥याए । फेरि तिनै प्रश्न दोहो¥याउँदै गाडीनेर पु¥याए । गाडी ओरालोमै राखेर मलाई पक्रन गएका रहेछन् ।
एकजनाले लातले गाडीमा छिरायो । विश्वकप फुटबलमा गोल गरेजसरी बोल्यो, ‘मु…! बस् ।’

क्रमशः अर्को अंकमा
लेखकको प्रकाशोन्मुख कृति ‘रातको १२ बजे’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *