माओवादीभित्रको अन्तरसंघर्ष र यसबाट सिक्नुपर्ने पाठ

  
  प्रकाशित मितिः आइतवार, मंसिर २५, २०६८       | 133 Views   ||

-[विश्वास शर्मा]

एउटा जीवन्त कम्युनिष्ट पार्टीमा चल्ने अन्तरसंघर्षलाई स्वभाविक, सामान्य र एउटा अनिवार्य प्रक्रियाको रुपमा लिने माक्र्सवादी परम्परा छ । त्यतिमात्र नभएर कम्युनिष्ट पार्टीभित्र चल्ने अन्तरसंघर्षलाई पार्टीलाई गति वा जीवन दिने एउटा अनिवार्य र सार्वभौम प्रक्रियाको रुपमा हेरिन्छ । सामान्यतया कम्युनिष्ट पार्टीभित्र भन्ने गरिन्छ– अन्तरसंघर्ष नै पार्टीको जीवन हो, यो बिना एउटा जीवन्त पार्टीको अस्तित्व सम्भव छैन । जुन कुरा सिद्धान्ततः सही पनि छ । तर, विडम्बना मान्नुपर्छ, कम्युनिष्ट पार्टीभित्र चल्ने अन्तरसंघर्षको अनिवार्य परिणति पार्टी फुट र विभाजन हुने गरेको छ । नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टी स्थापनाकालदेखि पार्टीभित्र चलेका अन्तरसंघर्ष र त्यसको परिणामस्वरुप पार्टीभित्र भएका टुटफुट र विभाजनलाई हेर्दा त्यो कुरा पुष्टि हुन्छ ।

अहिले एकीकृत नेकपा माओवादी अन्तरसंघर्षको पेचिलो प्रक्रियाबाट अगाडि बढिरहेको छ । अन्तरसंघर्ष अत्यन्तै भद्दा र नाङ्गो गाली गलौज, आरोप प्रत्यारोपमा विकास भएर सडकमा छरपष्टरुपमा सडकमा आइरहेको छ । अहिले माओवादीभित्र चलेको अन्तरसंघर्षको प्रकृति हेर्दा नयाँ विचार, कार्यदिशा तथा रणनीति अन्वेषणका निम्ति, पार्टीभित्र देखापरेका खराबीहरुलाई हटाएर पार्टीभित्र नयाँ आधारमा नयाँ एकता कायम गर्दै पार्टीलाई रुपान्तरण गर्नका निमित्त होइन, बरु एकले अर्काको सत्तोसराप गरेर, मानमर्दन गरेर, एकले अर्काको अस्तित्व नै सिध्याउने तरिकाले अगाडि बढेको गुट संघर्षजस्तो देखिन्छ । पार्टीभित्र चल्ने अन्तरसंघर्ष वा दुई लाइन संघर्ष र यसको सही ढंगले सञ्चालन गर्ने कुरामा आफु अत्यन्तै निपुण रहेको भन्दै गर्व गर्ने नेताहरु अहिले पार्टीमा चलेको अन्तरसंघर्षलाई सही ढंगले व्यवस्थापन गर्ने सन्दर्भमा निरीहजस्तै देखिएका छन् । विगतमा कम्युनिष्ट पार्टीभित्र चलेको अन्तरसंघर्षलाई बुझ्ने र ती अन्तरसंघर्षहरु सञ्चालन गर्ने गलत विधिका कारण नेपालको कम्युनिष्ट आन्दोलनले टुटफुट र विभाजनको लामो श्रृंखला बेहोर्नुपरेको र आफूले त्यसबाट गम्भीर पाठ सिकेको दावी गर्ने नेताहरु अहिले आफू स्वयम् त्यसको शिकार हुँदैछन् ।

नियतमा जे भएपनि अहिले अन्तरसंघर्षको नाममा तलसम्म गुटबन्दी गर्ने, कार्यकर्ता र जनतामा एकताको होइन, फुटको मनोविज्ञान सिर्जना गर्ने, एकले अर्काको व्यक्तिगत चरित्र हत्या गर्ने, पार्टीमा पार्टी अनुशासन होइन गुट अनुशासनलाई स्थापित गर्ने, भौतिकरुपले एक अर्काको विरुद्ध जाइलाग्ने जस्ता अत्यन्तै अराजक र अराजनैतिक क्रियाकलापहरुले जसरी व्यापकता पाएका छन्, त्यो हेर्दा माओवादी पार्टीको नेतृत्वपंक्ति एकता, संघर्ष र रुपान्तरणको विधिलाई होइन बरु संघर्ष, फुट र फेरि पनि फुटको विरासतलाई पकड्दै त छैन ? भन्ने गम्भीर आशंका पैदा गराएको छ ।

पार्टीभित्र चल्ने वैचारिक, राजनैतिक संघर्ष कुनै नयाँ कुरा होइन । नयाँ र सही चीजको खोज वा अन्वेषणका निम्ति पार्टीभित्र व्यापक र व्यवस्थित छलफलको जरुरी हुन्छ । यसले मात्र पार्टी र पार्टी पंक्तिलाई गतिवान र उर्जाशील बनाइराख्छ । तर, अहिले माओवादी पार्टीभित्र न त कुनै आधिकारिक वा संस्थागत राजनैतिक, वैचारिक छलफल हुने गरेको छ न त छलफलको विधि र प्रक्रिया नै स्थापित गरिएको छ । पार्टीभित्र वैचारिक वा राजनैतिक कार्यदिशाको विषयमा व्यापक र व्यवस्थित छलफल नै नगरि जसरी कार्यकर्ताहरुलाई तत्कालिन कार्यनैतिक वा प्राविधिक मुद्दाहरुमा कित्ताबन्दी गर्न खोजिएको छ, यसले पार्टीपंक्तिको राजनैतिक तथा वैचारिक क्षमतामा ह्रास ल्याएको छ । त्यसैगरी अहिले अन्तरसंघर्षको नाममा भएका गुटगत क्रियाकलापले पार्टीले लामो संघर्ष गरेर स्थापित गरेका राजनैतिक, सांगठनिक मूल्यमान्यता, सांगठनिक विधि, अनुशासन, गोपनीयतालगायत पार्टी सञ्चालनका सबै प्रणालीहरुमाथि धावा बोलिएको छ र पार्टीको आम चरित्रलाई एउटा बुर्जुवा पार्टीको भन्दा पनि तल गिराइएको छ । पार्टीभित्र भइरहेका गुटगत वा फुटगत अराजक क्रियाकलापले आम पार्टीपंक्ति र जनतामा ठूलो निरासा पैदा गराएको छ । माओवादी पार्टीको सदस्य हुन पाउँदा गर्व गर्ने कार्यकर्ताहरु अहिले पार्टीको सदस्य भएकोमा हिनताबोध गर्नुपर्ने अवस्था आएको छ ।

पार्टी एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा प्रवेश गर्दाको संक्रमणकालमा अलि–अलि समस्या देखिनु, मतमतान्तर हुनु स्वभाविक हो । तर, पार्टीको अस्तित्व नै समाप्त हुने गरी समस्या देखिनु, विभाजनको तहसम्म मत मतान्तर देखिनु गम्भीर कुरा हो । माओवादीको नेतृत्वको तहमा समस्याहरुको हल गर्न अन्तरसंघर्षको रुपमा व्यक्त भएका विभिन्न फरक मतहरुलाई व्यवस्थित गरी पार्टीलाई एकताबद्ध बनाउन जुन गम्भीरता हुन पर्दथ्यो, त्यो देखिएन । जसरी ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै पहलकदमी लिनुपर्दथ्यो, त्यो तदारुकता देखिएन ।

अन्तरसंघर्षलाई एउटा विधि वा प्रक्रियाभित्र ल्याएर सही ढंगले सञ्चालन नगर्दा पार्टीभित्र अहिले जुन खालका समस्याहरु देखिएका छन्, यसबाट माओवादी नेतृत्वले गम्भीर पाठ सिक्नैपर्छ । माओवादी पार्टीले सैद्धान्तिक रुपले भन्ने गरेको संघर्षपछि नयाँ आधारमा नयाँ एकताको मर्मलाई व्यवहारिकरुपले पुष्टि गर्न नेतृत्वपंक्ति अग्रसर हुनैपर्दछ । यसले मात्र सामान्य मतभेद हुँदा पार्टी नै फुट्ने हिजोको जुन नकारात्मक विरासत छ, त्यसबाट माओवादी र त्यसको नेतृत्वपंक्ति बच्न सक्छ ।

अहिले पार्टीभित्र देखिएका अन्तरसंघर्षका मुद्दाहरुलाई सैद्धान्तिकरण गर्न जरुरी छ । अन्तरसंघर्षलाई नेतृत्वको इगो वा व्यक्तिगत असन्तुष्टिको स्तरमा बुझ्ने वा बुझाउने प्रयत्न भएको छ, जुन कुरा गलत छ । त्यसकारण पार्टीभित्र चलेका अन्तरसंघर्षहरुको संश्लेषण गर्दै त्यसलाई सैद्धान्तिकरण गर्न जरुरी छ । अन्तरसंघर्षलाई गुट संघर्षको रुपमा भद्रगोल होइन, राजनैतिक/वैचारिक संघर्षको रुपमा व्यवस्थित गरी सञ्चालन गर्न जरुरी छ । त्यसैगरी फुटलाई केन्द्रमा राखेर, आग्रह–पूर्वाग्रहलाई केन्द्रमा राखेर होइन, एकता र क्रान्ति वा विचारलाई केन्द्रमा राखेर अन्तरसंघर्ष सञ्चालन गर्न आवश्यक छ । पार्टी पार्टीपंक्तिमा निरासा पैदा गर्ने होइन, उत्साह पैदा गर्ने कुरालाई केन्द्रमा राखेर छलफल बहस हुन जरुरी छ ।

पार्टीले अहिलेसम्म विकास गरेका अन्तरसंघर्ष संचालनका विधिहरु कति वैज्ञानिक छन् ? अन्तरसंघर्षलाई व्यवस्थित ढंगले संचालन गरी त्यसलाई हल गर्ने विधि के हुनसक्छ भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल, वहस र समीक्षा हुन जरुरी छ । संघर्षपछि फुटको नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासतलाई तोड्दै संघर्षपछि नयां आधारमा नयाँ एकताको माओवादी मर्मलाई पकड्दै अहिले माओवादी पार्टीभित्र देखापरेको अन्तरसंघर्षलाई व्यवस्थित गर्न नेतृत्वपंक्ति सक्षम भयो भने मात्र माओवादी पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा जसरी स्थापित भएको छ, त्यसरी नै टुटफुट र विखण्डनको शिकार भएको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्दै गन्तव्यसम्म पु¥याउन सक्षम हुनेछ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *