माओवादी र नेपालको शान्ति प्रक्रिया

  
  प्रकाशित मितिः आइतवार, मंसिर २५, २०६८       | 212 Views   ||

-[निर्मल महरा ‘एटम’]

नेपालको शान्ति प्रकृया र राजनैतिक घटनाक्रमले नयाँ गतिमा विकास गरिरहेको छ । शान्ति प्रकृया, सेना समायोजन, राज्य पुनःर्संरचना र संविधान लेखनबाट पूर्णतामा पुग्दैछ भने राजनैतिक रुपले देश सहमतीय आधारमा अगाडि बढ्ने जमर्को गरिरहेको छ । शान्ति प्रकृया र सहमतीय राजनीतिको आजको आवश्यकताले आम जनतामा आशाको दियो त बालेको छ तर यस प्रकृयामा भइरहेको षड्यन्त्र, अविश्वास र ढिलाइले अर्को राजनैतिक संकटलाई निम्ताइरहेको कुरा पनि प्रस्ट छ । खासगरि शान्ति प्रकृयाको अत्यन्तै संवेदनशील सेना समायोजनको सवालमा लडाकु अनुपस्थितिको बिषय र समायोजनमा योग्य लडाकुलाई पनि छानबिन गर्ने भन्ने खालका जुन अभिव्यक्तिहरु बाहिर आइरहेका छन् ती शान्ति प्रकृयालाई प्रभाव पार्ने खालका तर्क हुन् । केन्द्रमा भइरहेको राजनैतिक विकासमा पनि धेरै षड्यन्त्रहरु भइरहेका छन्, खासगरि देशलाई राजनैतिक स्थायित्व दिने बिषयमा भन्दा पनि सरकार फेरबेदल गर्ने र सरकार टिकाइराख्ने पक्ष र बिपक्षमा दोहारी खेल भइरहेको छ । यी सबै नकारात्मक कदमहरुमा देशीबिदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय भइरहेका छन् भने त्यसको प्रत्यक्ष÷परोक्ष गोटी राजनैतिक दलका नेताहरु बन्ने गरिरहेका छन् ।

लामो राजनैतिक उतारचढावपछि शान्ति प्रकृया सकारात्मक ढंगले टुङ्गोमा पुग्ने आशा गरिरहँदा सरकारको कार्यशैली, राजनैतिक दलहरुमा देखिएको विभाजन र तीनका नेताहरुमा देखिएको एक– अर्काप्रतिको अविश्वासले अझै राजनैतिक अन्योलता थपिएको छ । पार्टीभित्रको आन्तरिक जटिलताका बाबजुद पनि एकीकृत माओवादीले आफ्नो कार्यनीतिलाई समयसापेक्ष विकास गर्दै लिइरहेको छ । त्यो भनेको शान्ति प्रकृयाप्रति माओवादी प्रतिबद्ध भएको छ र जनताले स्वीकार्ने गरि क्रान्तिको नयाँ बिकास गरिरहेको छ । यसको लागि आज उसले पार्टीभित्र अझ भयानक अप्ठ्यारो संघर्षको सामना गर्दै शान्ति प्रकृयाको मुख्य एजेण्डा ठानिएको सेना समायोजनको प्रकृयासमेत व्यवहारिकरुपले कार्य थालेको छ । शान्ति प्रकृयाविरोधी शक्तिहरुले यसलाई सकारात्मक ढंगले ग्रहण गर्न सकिरहेका छैनन् ।

कांग्रेस, एमालेलगायतका राजनैतिक दलहरु पनि माओवादी आन्दोलनको समस्यालाई राजनैतिक व्यवहार र दृष्टिकोणका आधारमा व्यवहार गर्न सकिरहेका छैनन् । उनीहरुले माओवादी समस्यालाई समग्र शान्ति प्रकृया तथा राजनैतिक हैसियतमा नाप्न पनि सकिरहेका छैनन् । फेरि पनि माओवादीको व्यवहार सच्चिनुपर्ने सुगा रटाई गर्दै वर्गीकरणमा लडाकुको अनुपस्थिति र सम्पत्तिको कुरासँग मात्र शान्ति प्रकृया निष्कर्षमा पुग्ने बखेडा झिकिरहेका छन् । शान्ति र संविधान सम्पन्न गर्ने कुरा हतियार र सम्पत्तिसँग मात्र जोडिएको छैन, त्यो राजनैतिक दलहरुले परिवर्तनकामी एजेण्डामा अगाडि बढ्ने कि नबढ्ने भन्ने सवालसँग सम्बन्धित छ । यसरी हेर्दा माओवादी इतरका दलहरुमा हिजोको राजनैतिक ढर्राबाट रुपान्तरण हुनेमा अभाव देखिएको छ । यो तितो यथार्थता आजको सहमतीय राजनीतिमा समस्याको रुपमा देखा परिरहेको छ । यदि त्यसो होइन भने सम्पत्ति र हतियारको बिषयलाई माओवादीले व्यवहारिकरुपले समेत हल गर्न तयार भइसकेपछि पनि किन संविधान निर्माण र शान्ति प्रकृयालाई पूर्णता दिने कुरामा कांग्रेस, एमालेलगायतका दलहरु हिच्किचाइरहेका छन् ? माओवादीले आपmनो सेनाको छुट्टै सुरक्षा बल घोषणा गर्ने कुरा छोड्यो, आफ्नो सुरक्षामा रहेका सबै लडाकु फिर्ता ग¥यो, तीनवटै सुरक्षा निकायबाट झिकेर नयाँ सुरक्षा बल गठन गर्ने कुरा पनि छोड्यो, समान पदमा समायोजन गर्ने कुरा पनि त्याग्यो बरु आफ्ना वरिष्ठ कमान्डरहरुलाई राजनीतिमा तान्ने निर्णय गर्दै विभिन्न वैकल्पिक चरणहरुसहित वर्गीकरणको कार्य सम्पन्न ग¥यो । अंशमा बाहेक सम्पत्ति फिर्ता गर्ने कुरा पनि माओवादीले देशव्यापी सम्पन्न गरिसकेको छ । यो भन्दा व्यवहारिकरुपले सच्चिने कुरा अर्को के हुन सक्छ ? अब पनि कांग्रेस, एमालेका नेताहरुले माओवादी सच्चिने कुरा गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तो मात्र हो ।

शान्ति प्रकृया र संविधान निर्माण गर्ने कुरा कुनै पार्टी या व्यक्तिविशेषको चाहनाको कुरा होइन । यो नेपाली जनताको वास्तविक आवश्यकताको उपज हो । पुरातन र नुतन राजनैतिक संघर्षको गर्भबाट उत्पादन भएको नयाँ परिवर्तन हो । नेपालको राजनैतिक शक्ति सन्तुलन यस्तो ठाउँमा आएर विकास भएको छ कि यो नेपाली जनता र दलहरुको साझा विजयमा रुपान्तरित भएको छ । माओवादी जनयुद्धले आफ्ना उपलब्धिहरुलाई संस्थागत गर्दै शान्तिपूर्ण बाटोबाट नयाँ क्रान्तिको खोजी गरिरहेको छ भने दलहरु पनि हिजोकोे बिरासतबाट माथि उठेर गणतन्त्र, संघीयता तथा राज्य पुनःसंरचना लगायतका परिवर्तनकामी बिषयहरुमा बहस छेडिरहेका छन् । यसरी हेर्दा हामी साझा विजयमा उभिएका छौँ । यो उपलब्धिको आधारमा टेकेर अझैँ अग्रगामी छलाङ हान्ने, यथास्थितिलाई नै पूर्ण बनाउने या यो परिवर्तनलाई पनि पछि धकेल्ने भन्ने कुरा अबको राजनैतिक विकासक्रमले माग गर्नेछ । आज हामीले प्राप्त गरेको उपलब्धिमा टेकेर बाँकी क्रान्तिको अभिभारा पूरा गर्ने तरिका नै माओवादी पार्टीका लागि क्रान्तिकारी कदम हुनसक्छ । आजकै उपलब्धि नै पूर्ण ठान्ने सुधारवाद र क्रान्तिको श्रृंखलालाई पूरा गर्ने नयाँ बाटोलाई दक्षिणपन्थी देख्ने जडसुत्रवाद वास्तविक क्रान्तिको विरुद्धमा देखिदै आएको छन् । यी दुवै प्रवृत्ति आजको शान्ति प्रकृया र संविधान निर्माणविरोधी शक्ति हुन् र क्रान्तिविरोधी शक्ति पनि हुन् । नेपाली जनताको शान्ति प्रकृया पूरा गरि संविधान लेखनमार्फत् क्रान्तिको बाँकी अंश पूरा गर्ने चाहनालाई पार्टीभित्र र बाहिरका यी प्रवृत्तिहरुले हानी पु¥याइरहेका छन् । पार्टीको संस्थापन पक्षमा हुर्केको विकृति समाप्त पार्ने नाममा एउटा पक्षमा देखिएको अराजकताले राष्ट्रिय राजनीतिमा पार्टीको कमजोर हैसियत प्रदर्शन भइरहेको छ भने राजनैतिक विकासका नाममा नेतृत्वबाट हुने गरेका एकमनावादी त्रुटिहरुले पार्टीभित्र अवसरवाद मौलाएको र क्रान्तिकारी प्रवृत्ति कमजोर बन्दै गएको तथ्य पनि जगजाहेर छ । जसले गर्दा क्रान्तिकारी शक्तिहरु एकआपसमा लड्ने र अवसरवादीहरुले मजबुत समीकरण बनाउँदै जाने वातावरणको सिर्जना भएको छ । सायद यो कुरामा माओवादी पार्टीका क्रान्तिकारी नेताहरु विज्ञ नै हुनुपर्छ । अबको राजनैतिक संकट अन्त्य गर्न सेना समायोजन, शान्ति प्रकृया र संविधान लेख्ने कुरा पूरा गरेर मात्र सम्भव छ । यसको लागि कुनै पनि अलमलमा नपरि अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ । यसरी मात्र यो राष्ट्र, नेपाली जनता र माओवादी पार्टी स्वयम्का लागि नयाँ चरणमा प्रवेश गर्ने नयाँ ढोका खोल्नेछ । प्रतिक्रियावादीहरु यो सपना देखिरहेका छन् कि माओवादीलाई एकपछि अर्को गर्दै खतम पार्न सकिन्छ, आत्मसमर्पण नै गराइन्छ, यो उनीहरुको भुल मात्र हुनेछ । उनीहरुको स्वार्थविपरित माओवादीले गम्भीर भएर शान्ति प्रक्रियाका सबै पक्षहरु अगाडि बढाइरहेको छ । उनीहरुले भन्ने गरेविपरित माओवादीले सेना समायोजनको मुलभूत प्रकृया अगाडि बढाएको छ । क्यान्टोनमेन्टमा जनमुक्ति सेनाको आन्तरिक व्यवस्थापनमा, भौतिक संरचनामा, कार्यालय तथा इन्धन खर्चमा भएका खर्चहरुको हिसाब किताब नै नगरि करोडौंको घोटाला भएको आरोप लगाउने रामशरणहरुले नै उत्पन्न हुने परिस्थितिको सामना गर्नुपर्छ ।

फेरि पनि जनताले अपेक्षा गरेको समयभित्र संविधान बन्ने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने देखिदैन । सबैजसो पार्टी र तिनका प्रभावशाली नेताहरुकै नेतृत्वमा सरकारहरु बन्ने र भत्कने क्रम जारी नै छ । तैपनि संकटको भुमरी पार लाग्ने संकेत देखिएको छैन । सत्ता समीकरण नमिल्नु, शान्ति प्रकृया र संविधान निर्माणको कामले गति लिन नसक्नुको मुख्य समस्या के हो अब त्यसको समीक्षा हुन जरुरी छ । हरेक राजनैतिक दलभित्र आएको विभाजन, विवाद र बहसले पनि राजनीति सकारात्मक बाटोमा अगाडि बढ्न सकिरहेको छैन । त्यसैगरी अन्तरपार्टी कलह राजनैतिक कलहसम्म त्यो पनि सत्ताकेन्द्रित विकास भएपछि समस्याले बिकराल रुप लिएको छ । सबै राजनैतिक पार्टीहरुको र तिनका मातहतमा रहेका सबै नेताहरुको उचित जिम्मेवारी बाँडफाँड गरेर मात्र सबै कुरो निष्कर्षमा पु¥याउन सकिन्छ । अब बृहत शान्ति समिति र सरकारको मोर्चालाई नयाँ परिभाषा र उचित कार्य विभाजनमार्फत् निष्कर्षमा पु¥याउनुपर्छ । सबैभन्दा ठूलो दलको हैसियतले एकीकृत माओवादी र नेपाली कांग्रेसले बृहत शान्ति समितिको नेतृत्व लिएर शान्ति प्रक्रियाका सम्पूर्ण काम र संविधान लेखनको काम पूरा गर्नुपर्छ । व्यवस्थापिका संसद् र संविधानसभाको भूमिका र महत्वलाई पनि ठिक ढंगले बुझ्ने र परिभाषित गरी अगाडि बढ्नुपर्छ । यसरी सरकारको मोर्चा एमालेलगायत अन्य दलहरुले लिदा कुनै फरक पर्दैन । सरकार, व्यवस्थापिका संसदलाई एउटा मोर्चा तथा संविधानसभा र शान्ति प्रकृयाको अर्को मोर्चा तयार गरेर मात्र सकारात्मक निष्कर्षमा पुग्न सकिन्छ । यसरी शान्ति प्रक्रिया र भूमिकालाई ठिक ढंगले परिभाषित गर्दै सबै पार्टीले उचित जिम्मेवारी लिने र मातहतका नेताहरुलाई सरकार, व्यवस्थापिका संसद, संविधानसभा र राजनैतिक तथा शान्ति समितितिर क्रियाशील बनाउन जरुरी छ ।

मुलभूत कुरा मिलाउनेतिर भन्दा पनि साना र असाध्यै प्राविधिक कुरामा पुगेर राजनैतिक गाँठो अड्काउने काम अहिले कांग्रेस र एमालेका नेताहरुले नै गरिरहेका छन् । अब शान्ति प्रकृयाले गति लिएन भने त्यो माओवादीका कारणले हुने छैन । त्यो कांग्रेस, एमालेकै कारणले हुनेछ । यो कुरा जनताले घामझैँ छर्लङ्ग बुझेका छन् र बुझ्नेछन् । अबको राजनैतिक घटनाक्रमले माओवादीलाई जनताको सहानुभूति मिल्दै जानेछ भने कांगे्रस एमालेलाई आफ्नो बाँकी हैसियत पनि गुमाउँदै जानुपर्ने अवस्था आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *