दाङको समग्र क्षेत्रमा ध्यान पुग्न आवश्यक

  
  प्रकाशित मितिः सोमवार, मंसिर २६, २०६८       | 96 Views   ||

सामरिक महत्व बोकेको दाङ केन्द्रको पनि सिधा ध्यान पुग्ने जिल्लामा पर्छ । दक्षिण एशियाकै दोस्रो ठूलो उपत्यकाको रुपमा चित्रित दाङको हावापानी, कृषि उत्पादनदेखि उद्योग, बजार, पर्यटन व्यापारका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । प्राकृतिक रुपले दाङ उपत्यका जति सुन्दर, हराभरा र मनमोहक छ त्यहीरुपले यहाँको बसोबास व्यवस्थित र रोजगारीका अवसर खुल्ने गरी ठुला विकासका ढोकाहरु खुल्न सकिरहेका छैनन् । यहा“को भूगोलको विविधता अनुरुप आर्थिक विकासको क्षेत्र पनि विविधतापूर्ण हुन गएको छ ।

दाङलाई हेर्दा मान्छेहरुको ध्यान यहाँका सुगम बस्ती र बजार क्षेत्रमा मात्र पुग्ने गर्छ । तर, यो जिल्लाभित्र यस्ता बस्तीहरु पनि छन् जहाँ सरकारी निकायको उपस्थिति र सुविधाको पहुँच शून्य देखिन्छ । जिल्लाको पश्चिम क्षेत्र त्यसमा पनि यातायातदेखि टाढा कन्धारमा रहेका बस्तीहरु, राप्तीपारी त्यसमा पनि सिमा क्षेत्र (नाका) बस्तीहरु र उत्तरतिरका पहाडी गाविसहरु विकासको अवसरबाट मात्र होइन छाक टार्ने पिरलोदेखि शिक्षा, स्वास्थ्यजस्ता आधारभूत समस्याबाट समेत टाढा रहेका छन् । यी त विकासको घाम नछाएका दाङका दुर्गम ठाउँका कुरा भए । विकास र सुविधा पुगेका उपत्यकाका मैदानी भागहरुको कुरा गर्ने हो भने अनियन्त्रित बसाईसराई र अवैज्ञानिक तरिकाले घनाबस्तीका बीचमा खोलिएका ठूला औद्योगिक कम्पनीहरुले वातावरणीय असन्तुलनका साथै उत्पादनशील जमीनहरु नासिदै र क्षयीकरण हुँदै जाने खतरा पनि बढ्दै गएको छ । त्यस्तै अनियन्त्रित ढंगले निकालिने ढुङ्गा, बालुवाबाट खोलाको सतह गहिरिदै गएर सिंचाई कुला र नहरहरुमा पानी नै नचढ्ने स्थिति बन्दैछ । हिजो दिर्घकालीन सोचले नबनाइएका मुख्य सडकहरु नै आज साँघुरा र दुर्घटनाका कारक बन्दैछन् । नहर सिंचाई र तटबन्धको योजनामा ध्यान नदिदा जमीनहरु कोही सिचाई विहीन र कोही बाढीको चपेटामा पर्दै गइरहेका छन् । कृषि उत्पादन, व्यापार र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन राम्रोसँग हुन नसक्दा स्थानीय कयौं सम्पदाहरु ओझेलमा पर्दै जाने अवस्थामा छन् । साधन, स्रोत र लगानीको राम्रो वातावरण हुँदाहुँदै पनि दाङको आर्थिक क्षेत्रको विकास अपेक्षाकृत ढंगले दिर्घकालीन सोंच र वैज्ञानिक योजनाका साथ अघि बढ्न सकेको छैन । जसका कारण विकासका पूर्वाधार निर्माण भएका ठाउ“हरु पनि समस्या र जोखिमपूर्ण बन्दै जान थालेका छन् ।

भूगोलको हिसाबले दाङमा जुन विविधता देखिन्छ, त्यहीरुपले आर्थिक विकासको क्षेत्रमा पनि विविधता र असमानता देखा पर्छ । सामन्ती जमिन्दारी प्रथाको जर्जरताले गाँजेको दाङ राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रमा नयाँ ढंगले अघि बढ्न चाहेको भएपनि भविष्यको सोचबाट समग्र दाङलाई हेरेर बनाइने योजना र त्यसको कार्यान्वयनमा समस्या देखा पर्ने गरेको छ । यहाँ आर्थिक उन्नति र यसका चुनौती मात्र होइनन्, गरिब र धनी, किसान र जमिन्दार, जनजाति र खसजातिहरु बीच रहेको गहिरो अन्तरविरोधको खाडल पनि पुरिनुपर्ने अनिवार्यता छ । यी धेरै विविधता र अन्तरविरोधहरु हुँदाहुँदै दाङलाई सम्भावनाको उज्यालो पक्षले जितेको छ । दाङको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र औद्योगिक क्षेत्र विकास गर्ने कामलाई सँगसँगै अघि बढाउन जरुरी छ भने यहाँ बढ्दै गइरहेको बस्ती विकासलाई व्यवस्थित बनाउन र खेतीयोग्य जमीनलाई टुकार्न रोक लगाउनुपर्ने अनिवार्यताको खाँचो छ । त्यस्तै सरकारी निकाय, औद्योगिक क्षेत्र, मानव आवासका ठाउँहरु, पर्यटन विकास, शहरीकरण र वनजङ्गल संरक्षणका ठाउँहरु भनेर छुट्याई सोहीअनुसार विकास लगानी र प्रवद्र्धन गरिनु आवश्यक छ । त्यो पूर्वयोजना बिना दाङ जतिसुकै सम्पन्न भएपनि सभ्य, सुन्दर र व्यवस्थित जिल्ला बन्न सक्दैन । दाङको विकासलाई हेर्ने हो भने गाउँबाट हेरिनुपर्छ । केन्द्रले शहरी र विकास योजना पुगेका ठाउँहरुलाई व्यवस्थित गरेर पुँजीको निमार्ण गर्ने र आधुनिक कृषि प्रणाली अपनाउने योजना र लगानीलाई बढाउन आवश्यक छ भने यहाँको स्थानीय बजेट पुँजीलाई सम्पूर्ण रुपले ग्रामीण क्षेत्रमा लगाउन आवश्यक छ । तुलसीपुरको टरिगाउँमा विमानस्थल राख्ने योजना बनाइन्छ भने पुरन्धाराका गाउँमा स्वास्थ्य, शिक्षा, बाटो र बिजुली पु¥याउने योजना पनि सँगसँगै बनाइनुपर्छ र मात्रै जिल्लाको विकास समान स्तरमा माथि उठ्न सक्छ । यसका लागि जिल्लावासी, सरकारी निकाय र आर्थिक विकासमा सरोकार राख्ने संघसंस्थाहरुको पहल, सोच र तत्परताको ठूलै जरुरत पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *