आधी रातअघि

  
  प्रकाशित मितिः सोमवार, मंसिर २६, २०६८       | 117 Views   ||

नवीन विभास

अघिल्लो अंकको बाँकी  

१०/१२ जना अट्ने गाडी । दुईजनाले बीचमा पारेर बसाए । यति असजिलोरी कि– एकजनाले हनुमान टोपी लगाइदिएर भल्याप्प पारी अनुहार छोपिदियो । त्यसपछि– गाडी गुड्यो, चकमन्न रातमा ।
रातको सन्नाटासँगै चिसो बतास चलिरहेछ । रातको खुला सडकमा गाडीको रफ्तार तेजैजस्तो लाग्यो । मलाई उनीहरुले बीचमा बसालेका छन् । यताउताबाट कुहिनोले हान्न थाले ।
‘भन् काँ छ चौधरी ?’
पटक–पटक एउटै प्रश्न दोहो¥याइरहे । उही उत्तर दोहो¥याइरहेछु, ‘चिनेकै छैन । कसरी भन्नु कहाँ छ भनेर ? मजस्तो अरू नै कोही होला । म होइन ।’
‘साले ! तँ नभए तेरो डेरा जान्थ्यौं, तैलाई नै लिन ?!’
भकुरिरहे, गाडीको रफ्तारसँगै ।
सायद तीनचार मिनेटपछि– पट्टी फे¥यो, हनुमान टोपीको बदलामा । पट्टीको रङ ? थाहा भएन । सास फेर्न असजिलोगरी यति कस्यो कि ! त्यसपछि ? हात बाँधिदियो । डोरीले जस्तो लाग्छ ।
को हो ? क्या हो ? थाहा छैन ।

सम्झन्छु– गाडी गुड्नेबित्तिकै बाख्रा देखेर फुलेको चितुवाको जीउजस्तो जीउ फुल्यो । क्रुर यातनाबीच कति बस्नुपर्ने ? मारेछ भने कसरी मार्ला ? ‘ड्याम्म’ हाने त हुन्थ्यो । तर, कुटीकुटी मा¥यो भने कसरी सहने ? यति उकुसमुकुसिएँ कि । भागूँजस्तो पनि लाग्यो । सडाएर मार्ला …। बरु भाग्दाभाग्दै गोली लागे सन्चै हुन्थ्यो । तर, दायाँबायाँबाट यसरी चेपेका छन् कि ! हलचल गर्नै सक्तिनँ । कुहिनाले छिर्कने र कोपरिरहेछन् । जस्ता कुरा खेल्न थाले ।

गाडीमा कुनै गीत बजेको छैन । सुनसान रातमा गाडी हुँइकिरह्यो । गीत भने पनि जे भनेपनि तिनका कुहिना र बर्जित शब्द मात्र थिए । अचेल बजारमा सुनिने ¥याप गीतजस्ता ।
‘चन्दा कति उठाइस् ?’
एउटा मात्र बोलिरहेछ । अरू मौन छन् ।
कतिजना छन् ? थाहा भएन ।
गाडी गुडिरहेछ ।
लाग्यो परीक्षा हलमा जाँदैछु– जीवनमरणको जटिल प्रश्नका उत्तर लेख्ने परीक्षा हलमा । जुन परीक्षा पाइला–पाइलामा हुन्छ । तर ती मिड टर्म र अर्धवार्षिक हुन् भने यो एसएलसीजस्तै । वार कि पार ।
तर, आफू ? तयारीबिना नै । अझ परीक्षा फाराम नै नभरी जाँच दिन गएजस्तो ।
बस् ! स्वाभीमान र आस्थाको अग्निपरीक्षा !
जटिल प्रश्नलाई हल गर्नु छ ।
शारीरिक र मानसिक यातनाका कापीमा जीवनमरणको प्रश्न झर्नेछन् (जो थालनी भइसकेको छ) । चौबीसै घण्टा हर यक्ष प्रश्नका जवाफ दिन तयार रहनुपर्नेछ ।
कति जटिल जाँच ? (जीवनको हरपाइलामा आइरहलान् यस्ता जाँच । रूप मात्र फरक होला ।

(आफूले टेकेको धरातलप्रति इमान्दार रहन सक्छु या सक्तिनँ ? सायद यै हो जीवन–समरको अग्निपरीक्षा । जो अनन्तसम्म नटुङ्गिने । चुनौती, द्वन्द्व त सधैं हुन्छ नै । चुनौतीलाई अवसरमा कसरी बदल्ने ? प्रश्न यो हो ।
कहाँ जाने ? थाहा छैन । को हुन् यी ? त्यो पनि थाहा छैन । सोधेको पनि छैन । तर, मलाई यकिन भइसक्यो कि यसरी लाने सेनाबाहेक अरु को हुन सक्छ ?
गाडी गुडिरहेछ । मनमा भाँतीभाँतीका शंका उपशंकाका भुमरी उठेका छन् । घरी गाली गर्छ । घरी सोध्छ । घरी कुहिनोले हान्छ । घरी तेल निकाल्ने गरी वरपरबाट पेल्छन् ।
आँखा छोपिएको छ । डोरीले हात बाँधिएको छ । ‘अज्ञात दुश्मनको पञ्जामा अज्ञात गन्तव्यको यात्रा’ यति भयानक हुँदोरहेछ कि ! त्यसबेला मनको समुद्रमा आएको सुनामीलाई शब्दलाई अक्षरमा पोख्न मसँग मौजूद शब्दहरू असक्षम भए । मलाई माफ गर्नु होला ।)

पौने घण्टाजति गुडेपछि (मलाई यस्तै लाग्छ), गाडी रोकियो ।
बिलकुल कोलाहल । चिच्याहट । मानौं पस्दैछु, लोककथाको राक्षसको ओढारभित्र ।
सोध्यो, ‘भन् काँ छ चौधरी ?’
चिनेको चौधरी– विलोचन चौधरी– सहसचिव, घोराही क्याम्पसको (स्ववियूको जो नेवि संघका) हुन् । टियूमा अंग्रेजी पढ्दैछौं । अर्को चिनेको चौधरी– कृष्णराज चौधरी । उनी त काँग्रेसी पनि होइनन् । फेरि ती कहाँ कमरेड चौधरी हुन् र ? कमरेड चौधरी भनेको त पार्टीको टेकनाम पो होला ।
सोध्छ, ‘कमरेड चौधरी ।’

ट्रकबाट सिमेन्टको बोरा भुईंमा खसालेजसरी लात्ताले भुईंमा झा¥यो । आँखामा पट्टी छ । पछिल्तिर हात बाँधिएको छ ।
कस्तो छ भुईं ? कुन्नि । भुईंको रङ थाहा भएन ।
एकदमै चिसो लाग्यो । टेकेको जमीन नै भासिदै गएजस्तो भान भयो । कोलाहल कानमा ठोक्किन थाल्यो । लाग्यो, मजस्त थुप्रै ल्याइएका रहेछौं । हिलोमा चोबल्दै कुटेको आवाज झन टाँठिन थाल्यो । ‘भु…’ भयो भन्छु भन्छु’ भनेका चित्कारले कान नै भम्म भएजस्तो लाग्यो ।

रात कति कालो छ ? थाहा छैन । कस्ता छन् ती चिच्याउने, रुने मान्छे ? थाहा छैन । चौरजस्तो न कस्तो–कस्तो लागिरहेछ । चिसोले पानी नपुगेको पाखे खेतजस्तो पनि लाग्छ । वरपर मान्छे छन् या छैनन् ? थाहा छैन । तर निरन्तर झरिरहेछ चित्कार ।
सोधेको के हो चौधरी ? को हो ? सुन्दै नसुनेको कसलाई भन्नु ? फेरि के सोध्ने होला अरू ? किताबको बारे सोधे त भनम्ला तर अरू ? मनमा तर्कना तलमाथि गर्न थाले– मरुभरु (मृत्यु वा बिहे)मा अघिपछि सुनसान हुने गाउँका बाटोमा तँछाडमछाड गर्दै जाम भएजस्तो ।
‘कहाँ हो यो ? मार्छ कि क्या हो ? के गर्ला अब ?’ द्विविधाबीच उभिने कोशिस गरेँ ।
‘आँखामा पट्टी’ सम्झेर झन उकुसमुकुसिएँ । पछिल्तिर डोरीले हात बाँधिएको छ ।

बर्खामास उर्लेको ठूल्गारखोलाको मेना (खोलामा जहाँनेर सबैभन्दा तीव्र वेगमा पानी बग्छ र बगाउने खतरा हुन्छ) मा पसेजस्तो लाग्यो ।
सम्झेँ –कहिले जरी छिन्न1 कहिले रोपाई गर्न खेत झर्दा बर्खामासको ठूल्गारको बाढी तरेको । चुनवाङमा पानी प¥यो भने थाहै नपाइकन बाढी आउने ठूल्गारको भेल जंघार हेर्दै तथ्र्यौं । वारपार उर्लेको भेल देखेर जब मेरा गोडा काम्न थाल्थे तब बाबाले भन्नुहुन्थ्यो, ‘घाट पसेपछि तिघ्रा कमाएर हुँदैन ।’
बाबाले भनेको त्यो कुरा टाउकैमा घन ठोकिएजस्तो अनुभूत भयो । झल्यास्स भएँ । हेरेँ– आँखामा पट्टी । केही देखिएन । चारैतिर कालो नै कालो । कोलाहल र चिच्याहट ।
लाग्यो– रनबन बगाउँदै भयानक कोलाहल मच्चाएर ठूल्गारखोलामा ठूलो भल (बाढी) आएको छ । र, मैतालु (माइत जाने), वस्तुभाउ टार्ने ग्वालाहरू र मेलापात गएकाहरू कसरी भेल तर्ने भनेर किनारमा उभिएर चिच्याइरहेछन् । ‘तर्ने कसरी’ भनेका हुन् । तर, बाढीको कोलाहलले केही सुनिदैन ।

ठीक त्यस्तै । वारिपारिका बस्ती, खेतबारी र किसानका पसिना र सपना बगाउँदै उर्लिरहेछ ठूल्गार । र, जंघारै नहेरी उर्लिरहेको मेनामा छु म । देखिदैन जंघार पनि । भेल उर्लेको छ । जसरी नि तर्नु छ । ठाडो खोला यति बलियो छ कि । ढाल्न खोज्दैछ, टेकेको भुईंको बालुवा बगाउँदै । र, तीनपानेले मातेको मान्छेजस्तै ढलपल–ढलपल गरिरहेछु ।

अझ यस्तो भनूँ । सपनामा मात्र देखेको ठूलो सागरमा छु । र, डुब्दै उत्रदै तर्ने कोशिस गरिरहेछु । किनार कतै देखिदैन । पौडनलाई हात यसो गर्छु । पछिल्तिर बाँधिएको छ । भुलुक्क–भुलुक्क आउने भेलको फोहोर पानी पुछ्न यसो हात उठाउन खोज्छु । तर, हात बाँधिएको छ । र, अनुहारमा पट्टी । मातेजसरी धङ्धङिन थाल्छु । अत्यास र छटपटीले मन गाभोजस्तो फटरक्क गल्यो ।
कतै त किनार भेटिएला नि ! किनार, जंघार नभएको खोला र बन्दरगाह कहाँ होला र यो दुनियाँमा ?
यसो पट्टीबाट हेरेँ– चारैतिर अँध्यारो । तर, त्यै अँध्यारोमा देखेजस्तो लाग्यो– भुमरी, मेना, छाल, टेकेको भुईं खोल्दै गएको, अनुहार पनि भेलमा डुब्दै गएको, हिँक्क–हिँक्क गरिरहेको म ।
ढलपल–ढलपल भइरहेको बेला ठिङ्ग उभिने प्रयास गरेँ फेरि सम्झेर, ‘घाट पसेपछि तिघ्रा कमाएर हुँदैन ।’

‘मु..तँ अब छैनस् ।’ लातले या हातले केले हान्यो कुन्नि ? परतिर हिलोमा हिल्लिन पुगेँ । झन चिसो भयो । कोलाहल र चिच्याहटसँगै मध्यरातमा चिसो हावा कानमा ठोकियो जो अभिभावकले सम्झाएजस्तो लाग्यो, always be ready for an unknown challenge.

1ब्याडबाट धानको बिउ उखेल्नु

लेखकको प्रकाशोन्मुख कृति ‘रातको १२ बजे’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *