-[टीकाराम उदासी]
छ चारैतिर
एउटा अन्कण्टार जङ्गल
र, यात्रीहरु अहिले
दुविधामा उभिएका छन् गन्तव्यको ।
खतरनाक छ जङ्गल
निकै खतरनाक
कुनै विषालु गोमन सर्पजस्तै
अथवा
आगोको आँधीबेहरीजस्तै
अशान्त छ जङ्गल
निकै अशान्त
कुनै समुद्री ज्वारभाटाजस्तै
अथवा
शक्तिशाली ज्वालामुखीजस्तै
जङ्गलपछि छ एउटा सुन्दर बगैचा
बगैचामा छन रङ्गीबिरङ्गी फूलहरु
फूलसँगै छन् रङ्गीबिरङ्गी चराहरु
चराका गीतहरु
किनारमा छ सपनाको नदी
त्यसमाथि छ–
एउटा स्वाभिमानको हरियो पहाड
पहाडमाथि छ रहरको अनन्त छितिज
क्षितिजमाथि छ आस्थाको उज्यालो जून
अनन्त आकाशमा छन्–
विश्वासका झिलीमिली ताराहरु
तारासँगै छन् जिन्दगीका खुसीहरु
तर, दुविधामा छन्
अहिले यात्रीहरु
र, खोजिरहेछन्
सही दिशानिर्देश गर्ने
चेतनाको सही कम्पास ।
–घोराही, दाङ