हाम्रो दिन कहिले आउँछ ?

  
  प्रकाशित मितिः सोमवार, मंसिर २६, २०६८       | 87 Views   ||

-[प्रतिभा शर्मा]

हाम्रा नेता भन्ने गर्थे हाम्रो दिन आउँछ
सुकुम्बासी हलियाले घर जग्गा पाउँछ
नेता थिए झुत्रे हिजो आज उनको भाऊ छ
माथि गए जनता बिर्से एक्लै बन्ने दाऊ छ

देशको लागि लडेकाको किन आलो घाउँ छ ?
हिजोजस्तै बसि खाने अझै देशको साहु छ
सुत्केरीको व्यथा लागे सुडेनीको नाउँ छ
नेतालाई खोकी लागे अमेरिका धाउँछ

सत्ता र भत्ता हुनेलाई यही सिंगापुर छ
गरी खान नपाउनेलाई राज्य निकै दूर छ
सीमा मिच्दा छिमेकीले घरको मुली चुप छ
पिठपछि गाली गर्छ सामुन्नेमा झुक्छ

काम छैन स्वदेशमा विदेशकै आश छ
युवा शक्ति बिदेशिए यो देशै सत्यनाश छ
गाँस दिए, बास दिए भोट पनि हाले
यो छरछिमेक टाढा भए इष्टमित्र फालियो

भेट हुँदा सोध्ने गर्छ आरनेको बाउले
भन्नुस नानी कैले होला हाम्रो दिन आउने ?

न्यूरोड घोराही, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *