कुनै क्षण
उत्साहले उर्लिएको ज्वाला
सल्काउँदै एक–एक राँको
छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा
कोही कान्लापारि/कोही साउने झरी
कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा
लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् ।
कुनै समय
उठ्दै गरेका प्रत्येक हातहरु
आगोका प्रतिरुप हुन्
इतिहासलाई चुनौती दिँदै
भविष्यलाई थमौती दिँदै
वर्तमानलाई सजग बनाउन
गगनभेदी थिए आगोका जुलुसहरु
फुस्–फुस् हिम कुहिरोमा उत्साहका कैयन् बत्तीहरु
बल्दै थिए धिप–धिप
लाग्थ्यो– उनीहरु सत्यको बीउ हुन् ।
तर, व्यर्थ भयो
सपनाका जिजीविषाहरु
कालो कुहिरोको भुमरीभित्र हराइरहेझैँ लाग्छ
आस्थाका खम्बाहरुको आँत सुक्दै गइरहेछन्
धमिरा नलागेरै लिङ्रिङ्ग हुँदैछन्
चन्द्र छुने लक्ष्यका पिरामिडहरु
आगोमा यौवनको मात चढ्यो
आँखाहरु आफूमा व्यक्तिवाद
र अरुमा शंकालु अनि बैसालु भए
चिसो रात मरेको खबर नफैलिँदै
विचारका साङ्लाहरु चुडाल्दै
भावभङ्गीमा उड्न थाले आगोहरु
कोहीले राप बिनाको÷कोहीले तापबिनाको
कोहीले फिलिङ्गोबिनाको÷कोहीले लप्काबिनाको
आ–आफ्नै रङ्गका आगो उर्गेल्न थाले
आगोको तनावपूर्ण रङ्गमञ्चमा
चिसो रात बिस्तारै सल्बलाउँदै छ
विप्फे नगराको आवाजझैँ सुनिन थालेको छ
आफ्ना भनिएकाहरुका भुन्–भुन्
स्वीकारोक्ति गुम्दै गएका शहीदका मृतआत्माहरु
छाला सकिएको शरिर देखाउँदै
हड्डीमा अड्डी कसिरहेका
नयाँ ठेकेदारहरुलाई धिक्कारिरहेछन् ।
समय फेरिँदै गयो
सोझो रुखलाई कसैले बाङ्गो भन्न थाले
ओरालो बग्दै गरेको खहरेलाई कसैले उकालो देखे
मान्छेका आँखा बिग्रिए वा आँखाले मान्छे बिगा¥यो
आगोसँगकाहरु छोड्न मान्दैनन्
टाढा भएकाहरु जोडिन जान्दैनन्
कसैले आगोको अर्थ जलाउनु मात्र बुझे
कसैले आगोको अर्थ पलाउनु मात्र बुझे
यसले जलाउँछ र पलाउँछ पनि
जलाउने र पलाउनेहरुको हाउगुजीपूर्ण कोलाहलमा
अचेल आगो भावुक यात्रा हिडिरहेछ ।
nabin_lochan@yahoo.com
nirasako kheti nagarau sathi janata ko utsah pheri uthnechha mausamharuko begma