पुनर्वर्गीकरणले उत्पन्न गरेको मनोभावना

  
  प्रकाशित मितिः आइतवार, पुस १०, २०६८       | 101 Views   ||

-[दिपेन्द्र घर्ती ‘प्रभाकर’]

जनमुक्ति सेनाको समायोजन र पुनःस्र्थापना प्रकृयासम्म पुग्दा यसले एउटा खाले मोड ल्याएको छ । यतिबेला विशेष समितिका अनुगमन टोलीले सातवटै डिभिजनको मुख्यालयमा जनमुक्ति सेनाको पुनर्वर्गीकरण गरेर राजधानी फर्केको छ । सेना समायोजन शान्ति प्रकृयाको मुख्य पाटो भएकाले यसले चाँडै निकास पाउने भयो र अन्योलमा रहेको शान्ति प्रकृयाले गति लियो भनेर चर्चा र परिचर्चा गरियो । प्रचारको रुपलाई हेर्दा अब साँच्चिकै कायापलट नै हुने भयो क्यारेजस्तो गराइएको थियो । तर, विडम्बना पुनःस्र्थापनाले शान्ति प्रकृयालाई टुङ्ग्याउने भन्दा उल्टो माछालाई बल्छी पारेर तड्पाएको जस्तो गरी माओवादीलाई पनि करिब तीन हजारको अपुग संख्याको रासन भत्ता र मासिक भत्ताको हिसाबले हैरान बनाएको छ । सहयात्री भनिने पार्टीहरुले यसै बिषयलाई पहाड बनाएर हलचल गर्न दिइरहेका छैनन् । यसले शान्ति प्रकृयालाई अगाडि हैन कि बरु शान्ति प्रकृयालाई लम्ब्याउने गतिलो मसला मिलेको छ भन्दा अतियुक्ति नहोला ।

त्यस्तै यता फेरि अर्को खेल शुरु भएको छ कि हिजो सात बुँदे गर्दा ख्यालै नगरी सम्झौतामा हस्ताक्षर गर्न हतारो भयो तर ती बुढाहरुले आज बिग्रदै गएको महशुस हुनुको साथै चारैतिर विरोध र अवरोध हुन खोजेपछि नेता तथा कमाण्डरहरु मुख्यालयहरुमा पुगेर सात बुँदेलाई पुनःविचार गर्छौँ भन्ने आश्वासनले पुनर्वर्गीकरणलाई अन्तसम्म त पु¥यायो तर अहिले एउटा अड्को थाप्न खोजेको जस्तो देखिन्छ कि दर्जा मिलान, शैक्षिक योग्यता र उमेरको हदबन्दीलाई पुनर्विचार नगरेसम्म अरु प्रकृयालाई अगाडि बढाउन मिल्दैन भनेर । जुन विषय अहिले ढिलो मात्र होइन कुनै अर्थसमेत छैन । सात बुँदेमा भएको सम्झौताभन्दा सिन्कोसमेत वरपर गर्नेवाला देखिदैन । यो किचलोले पनि शान्ति प्रकृयालाई ढिलो बनाइरहेको छ ।

यतिबेला पुनर्वर्गीकरण हुने समयको भन्दा ठिक उल्टो मनोभावनाको विकास हुन खोजिरहेको छ । बाहिर आम मानिसमा यो विषय पनि विगतका अरु विषयभन्दा अछुतो हुन सकेन । उस्तै कामभन्दा हल्ला धेरै भएर उडाउने खाले नै बन्छ कि भन्ने आशंकाको नजरले मानिसहरुले हेरिरहेका छन् । मिडिया तथा अन्य संघसंस्थाहरुले प्रधानमन्त्रीको एक सय दिनको समीक्षामा राम्रो कामको रुपमा देखाउने राम्रो धारा बन्यो । त्यो भन्दा भिन्नै त्यस्तै केही हुन नसक्ने पारा देखिएको छ । त्यस्तै विशेष कमिटीले निर्धारण गरेको पुनर्वर्गीकरणको समय तालिकाअनुसार अगाडि बढ्न सकेन । यसले पनि देखाइसकेको छ कि यो प्रकृया ढिलो नै हुन्छ भन्ने कुरा । क्याम्पमा बसिरहेका जनमुक्ति सेनाहरु थप अरु कति समय पखाईमा झिंगा धपाउने हुन भन्ने कुनै ठेगान छैन । बरु आशंका पैदा हुन थालेको छ कि संविधानसभाको म्याद थप गरी आयु लम्ब्याउनलाई मात्र पो यो पुनर्वर्गीकरण भएको हो कि भनेर ।

यता अस्थायी क्याम्पमा भने अराजकता बढ्न थालेको छ । पुनर्वर्गीकरणपछिको समय यस्तो बनेको छ कि खाली भ्याकुमजस्तो । हिजोको चेन अफ कमाण्डलाई नमान्ने भन्ने भावनाको विकास भएको छ । किन भने समायोजनमा जानेहरुलाई नयाँ संरचनाको कल्पनाले गर्दा अहिलेको संरचनाको वेवास्ता भइरहेको छ । त्यहाँभित्र भिन्नै सोँच र शैलीको विकास जबर्जस्त हुँदैछ । छाडा शैली र मध्यपानजस्ता कुरामा बढी आकर्षण देखिन थालेको छ । जुन कुरा हिजो युद्धकालमा गर्न नहुने गलत व्यवहार हो भनेर आदर्शको रुपमा लिइने गरिन्थ्यो । यस्ता व्यवहार गर्नेलाई कार्वाही समेत हुन्थ्यो तर आज यो कुरा सामान्य भयो कार्वाही त टाढाको विषय नै भइसक्यो ।

स्वैच्छिक अवकाशमा फाराम भर्नेहरुको फेरि अर्को मनोभावना बनेको छ । हरेकले अबका दिन कसरी बिताउने भन्ने विषयमा आ–आफ्ना योजना बुनिसकेका छन् । जसले गर्दा क्याम्पमा बसेर एक दिन बिताउनलाई पनि गाह्रो भइसकेको छ । सुन्ने गरिन्छ कि अब क्याम्पमा बस्नु र नबस्नुको अर्थ के भयो र ? आफ्नो साँझबिहानको छाक टार्नलाई जोरजामका लागि व्यवस्था गर्नुप¥यो नि यो भन्दा अरु के नै हुने भयो र भनेर आफ्नो औकातले धान्न सक्ने उपाय र खोजीमा उनीहरु भौतारिरहेका छन् । हिजो युद्धको बेलामा धनसम्पत्ति कमाउनु हुँदैन, पढ्नु हुँदैन, यो आवश्यक छैन भनेर यु्द्धमा सहभागी भएकोप्रति पछुतो गर्दैछन् आज उनीहरु । परिवार र घरबास बिग्रेको छ । फेरि थालनीबाट व्यवस्थापन गर्नुपर्ने भएको छ । यी र यस्ता विषयले पनि व्यक्तिगत योजना पूरा गर्नलाई क्याम्पको बसाईको समय अब बेकार हुने निष्कर्षमा शिविरका सेनाहरु पुगेका छन् । यतिमात्र हैन साथीहरुमा मनोभावना समेत फाटेको छ । समायोजनमा जानेहरु र स्वैच्छिकमा जानेहरु बीचको सहकार्यसमेत पातलिएको छ । एकले अर्कोलाई होच्याएर बोल्नेसमेत भइसकेको छ । यसरी एउटै मेषमा पाकेको भात खाने सहयोद्धाहरु आज भिन्न सोंच र शैलीमा विभक्त बन्न पुग्दैछन् । उनीहरु फरक–फरक वर्ग र शैलीमा विभक्त बन्न पुगेका छन् । फरक–फरक वर्ग वा धरातलको मानिसजस्तो बन्न पुगेका छन् । यसले गर्दा क्याम्पमा थप विकृत मनोभावनाको विकास हुन पुगेको छ । हिजोको कमाण्ड र निर्देशनलाई खरोरुपले कार्यान्वयन गर्ने कुरामा फितलोपन आएको छ । कतै–कतै स–साना झिल्कोका रुपमा एक आपसमा झैँ झगडा र हानाहानसमेत हुन थालेका घटनाहरु सुन्नमा आउँन थालेका छन् ।

समग्रमा शान्ति प्रकृयालाई टुङ्गो लगाउने प्रकृयाको रुपमा थालनी भएको पुनर्वर्गीकरणले थप समस्याहरु उत्पन्न गर्ने संकेत देखाएको छ । त्यसैले यसको ढिलाई जति हुन्छ त्यही अनुपातमा विकृति र समस्याहरु पनि थपिदै जाने खतरा देखिन्छ । त्यसैले यो प्रकृयालाई जति सकिन्छ चाँडो टुंगोमा पु¥याउनु नै उत्तम देखिन्छ । अन्यथा यसबाट उत्पन्न हुने समस्याले सहयात्री पार्टी र स्वयम् माओवादीको समेत ठूलो टाउको दुखाई बन्न सक्छ । त्यसैले यसलाई सबैले सोँच विचार गरी सकारात्मकरुपले साझा समस्याको रुपमा हल गर्ने कुरा नै अहिलेको वस्तुवादी र यथार्थपरक सोँच हुनसक्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *