दलित समस्या र समाधानको विकल्प

  
  प्रकाशित मितिः आइतवार, पुस १०, २०६८       | 200 Views   ||

-[धिरज सेर्पाइली]

नेपालमा विद्यमान दलित समुदायका समस्या जटिल र विकराल छन् । दलितहरुका समस्याको समुचित समाधान गर्ने तहसम्म एकीकृत रुपमा आन्दोलन संगठित हुन सकिरहेको छैन । नेपाली समाजमा रहेको छुवाछुत, जातीय भेदभावका विरुद्ध हिजोदेखि आन्दोलनहरु उठान नभएका पनि होइनन् । तर, त्यसले कुनै आमूल परिवर्तनको स्तरमा विकास गर्न सकेन । दलितहरुका समस्या केवल साँस्कृतिक समस्या मात्र होइनन् बरु त्यससँगै राजनीतिक र आर्थिक समस्या पनि रहेका छन् । यदाकदा दलितहरुका समस्यालाई साँस्कृतिक समस्याको रुपमा मात्र चित्रण गर्ने गरिएको छ । दलित आन्दोलनलाई एकीकृत ढंगले उठान गर्न राजनीतिक, आर्थिक र साँस्कृतिक प्रश्नलाई प्रधान बनाउन जरुरी छ । यी प्रश्नहरु आन्दोलनका अन्तरसम्बन्धित प्रश्नहरु हुन् ।

नेपालमा मात्र होइन कि सिङ्गो दक्षिण एसियाका करोडौँ दलितहरु वर्णाश्रम व्यवस्थाबाट उत्पीडित भइरहेका छन् । आजको एक्काइसौं शताब्दीमा मानव समाजमा विज्ञान र कलाको क्षेत्रमा ठूल–ठूला आमूल परिवर्तन भइसक्दा पनि आज कलंकको रुपमा छुवाछुत र भेदभावले जरा गाडेर बसेको छ । हामीले अब दलितहरुका समस्या समाधान गर्न एकीकृत तथा केन्द्रीकृत रुपमा साँस्कृतिक आन्दोलनलाई घनिभूत पार्न आवश्यक छ । त्यसका साथसाथै राजनीतिक आन्दोलनलाई पनि त्यही स्तरमा विकास गर्न आवश्यक छ । साँस्कृतिक आन्दोलनलाई सामाजिक रुपान्तरको लागि उठान गर्न आवश्यक छ । यसको लागि साँस्कृतिक अन्तर्घुलनलाई व्यवस्थित रुपमा उठाउन आवश्यक छ ।

साँस्कृतिक आन्दोलनको चर्चा गर्दा आज यो प्रश्न धेरै जटिल बन्न पुगेको छ । राजनीतिक आन्दोलनको गतिसँगै साँस्कृतिक आन्दोलन कयौँ गुणा पछाडि परेको छ । जसको कारणले राजनीतिक परिवर्तनका मुद्दाहरुलाई यदाकदा ओझेलमा पारेको देखिन्छ । साँस्कृतिक आन्दोलनमा देखा पर्ने उच्चजातीय अहंकारका विरुद्ध वैचारिक संघर्षलाई तीव्र पार्न आवश्यक छ । आज यसको प्रतिबिम्बको रुपमा कम्युनिष्ट पार्टीहरु भित्र पनि उच्चजातीय अहंकारवाद प्रष्ट देख्न पाइन्छ । पार्टीभित्र देखा पर्ने अहंकारवाद मात्रै समस्या होइन, बरुसँगै दलितहरुमा देखा पर्ने हिनताबोध र अहंकार पनि त्यत्तिकै समस्याको रुपमा रहेको छ ।

आज हाम्रो आन्दोलनभित्र धनी मानिस र ‘उच्चजाति’ ले मात्रै राजनीति गर्न सक्छन् भनेर हिनताबोधी चिन्तन व्यक्त भइरहेको छ । जसले गर्दा राजनीतिक आन्दोलनबाट दलितहरुको पलायनता तीव्र देखिन्छ । यसले नेपाली समाजलाई गुणात्मक रुपान्तरण गर्ने प्रश्नलाई समेत प्रभावित पार्ने देखिन्छ । दलितहरुमा देखा पर्ने चरम गरीबी, विपन्नता, अशिक्षा, बेरोजगारजस्ता प्रश्नहरुले समेत भूमिका खेलेका छन् । आज नेपाली समाजको रुपान्तरणको लागि दलितहरुको योगदान र बलिदानले ठूलो भूमिका इतिहासमा दर्ज भइसकेको छ । तर, आज ती बलिदानका कृतिमानहरुलाई मूल्यांकन गर्न सकिएको छैन । ती बलिदानीहरुका कृतिमानलाई समाज रुपान्तरणका लागि ऊर्जा र प्रेरणाका श्रोत बनाउन सकिएको छैन । बरु आज अवसर र पद प्राप्तिको होडबाजी तीव्र देखिन्छ । राजनीतिक क्षेत्रमा निरासा र पलायनमुखी प्रकृतिको कारणले नै यस्तो चिन्तन मौलाइरहेको छ । यसको विरुद्ध तीव्र संघर्ष चलाउन आवश्यक छ । अवसर तथा लाभका पदहरुमा नातावाद, कृपावाद मौलाउँदै जाँदा आज दलित समुदायमा कुण्ठा र हिनताबोध त्यही स्तरमा वृद्धि भइरहेको छ ।

राजनीतिक आन्दोलनको विकास गर्नका लागि पहिलो शर्त वैचारिक क्षेत्रमा देखापरेको ब्राह्मणवादी प्रवृत्तिलाई परास्त गर्न आवश्यक छ । यसका लागि आत्मसंघर्ष र आत्मविद्रोह आवश्यक छ । जसले आत्मविद्रोह गर्न सक्दैन, त्यसले कहिल्यै पनि राजनीतिक संघर्षको नेतृत्व गर्न सक्दैन । विशेष गरी सम्पूर्ण उत्पीडित दलित समुदायसँग यो अपेक्षा गर्न अन्यथा हुने छैन कि आत्मविद्रोह सहमतिको राजनीतिक इच्छाशक्तिसहित अगाडि बढ्न आवश्यक छ । आज यो कुरा सत्य हो कि दलितहरुको बलिदानको ऊर्जाको दुरुपयोग भइरहेको छ । आज उनीहरु गरीब छन्, विपन्न छन्, चरम आर्थिक संकट छ, भोकमरी विद्यमान छ । तर, यसको अर्थ हामी राजनीतिक आन्दोलनबाट भागेर समस्या समाधान हुन सक्दैन । यसका लागि भोक, प्यास र अभावको पनि सामना गर्दै अगाडि बढ्नुपर्छ । नेपालको दलित आन्दोलन मात्र होइन बरु सिंगो नेपाली समाजको रुपान्तरणको आन्दोलनको लागि पनि दलित समुदायको ऐतिहासिक भूमिका र महत्व रहनेछ । यो ऊर्जावान् शक्तिले विडम्वनाका साथ भन्नुपर्छ आर्थिक क्षेत्रमा देखा पर्ने तँछाड मछाड अवसरको निमित्त मरिहत्ते गर्ने प्रकृतिले सिंगो नेपाली राजनीतिक आन्दोलनमा नकारात्मक भूमिका खेलेको छ । यसको विरुद्ध संघर्ष गर्नु आवश्यक छ ।

हिन्दू उच्चजातीय एकात्मक राजतन्त्रको अन्त्य भइसकेको र त्यसको ठाउँमा संघात्मक राज्यव्यवस्थाको स्थापना भएको सन्दर्भमा समेत दलित समुदायहरुका समस्या जटिल र विकराल रहेका छन् । साँस्कृतिक क्षेत्रमा सामाजिक अन्तर्घुलनलाई तीव्र पार्दै अगाडि बढ्नुपर्छ । राजनीतिक क्षेत्रमा व्यापक राज्यको पुनर्संरचना गर्दै विशेषाधिकारको ग्यारेन्टी गर्न संघर्ष अगाडि बढाउन आवश्यक छ । आर्थिक क्षेत्रमा भूमिहीन दलितहरुको लागि जमीन तथा आवासको व्यवस्थाको लागि संघर्ष गर्न आवश्यक छ भने शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँचको लागि संघर्ष गर्न आवश्यक छ । उपरोक्त समस्याहरुको समाधान गर्नको लागि दलितहरु केन्द्रीकृत रुपमा आन्दोलनको उठान गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *