नेपाली राजनीतिको विडम्वना

  
  प्रकाशित मितिः आइतवार, पुस १०, २०६८       | 107 Views   ||

-[सुशील गौतम]

नेपालको समग्र राजनीति अहिले अचम्मको विरोधाभास र विडम्बनामा छ । मुलतः राजनीति राजनीतिक दल र राजनीतिक नेतृत्वकै अगुवाईमा मुलुकमा अकल्पनीय जस्ता लाग्ने परिवर्तन भएका छन् । सधैँ अजम्बरी हुने सपना देख्ने राजतन्त्र फ्याँकिएको छ । संघीयतालगायत थुप्रै महत्वपूर्ण राजनीतिक परिवर्तनतर्फ मुलुक उन्मुख छ । यस्तो बेला मुलुक र आम जनतामा उत्साह, सपना र आशाको बेला हुनुपर्ने थियो । तर, परिदृश्य त्यसको ठिक विपरित छ । यति महान् परिवर्तनपछि आम जनतालाई परिवर्तनले सम्बोधन गर्न सकेको छैन, जनतामा निरासा छाएको छ । कष्टकर परिवर्तनको अगुवाई गर्ने राजनीतिक दलहरु र तीनका नेतृत्वले ०६२÷०६३ को परिवर्तन पछि अहिले चरम अविश्वासको स्थिति भोगिरहेछन् । समग्र राजनीतिप्रति एक प्रकारको अनास्था र वितृष्णा बढिरहेछ । यो स्थिति अहिलेको कालखण्डको विस्मयकारी विरोधाभास र चरम विडम्बना दुवै हो ।

आखिर यस्तो किन भइरहेको छ ? हिजो तिनै दल र नेताहरुको एक वचनले आफ्नो जीवनको बलिदानसम्म गर्न नहिच्किचाउने आम जनता तिनै नेताहरुका बोलीप्रति किन विश्वसनीय हुन सकिरहेका छैनन् ? किन जनताले आफ्नो काँधमा राखेर उँचाईको शिखरमा पु¥याएका नेताहरुलाई उँचाईबाट धेरै स्खलन भइसकेको अनुभूति गरिरहेछ ? आफ्नो भाग्यको रेखा आफै कोर्ने बलियो आँट र आत्मविश्वास बोकेका आम जनता आज नेपालीहरुको नियति यस्तै हो भनेर भाग्यवादमा चाहेर पनि नचाहेर बिर्सजन गरिरहेछन् ? सत्ता र शक्तिमा बस्नेहरु र आम जनता पुसको यो जाडोमा मुटु छेड्ने चिसो भोगिरहेको बेला सत्ताको न्यानो पाएकाहरुबाहेक सबै राजनीतिक शक्तिका इमान्दार कार्यकर्ताहरुले असाध्यै जटिल मनोवैज्ञानिक समस्याबाट किन ग्रस्त छन् ? यति महान् परिवर्तनपछि गौरवबोध गर्नुपर्नेमा त्यो स्थिति किन कतै देखिदैन ?

कतिका लागि यी प्रश्न निरासाजनक लाग्न सक्छन् वा अझ कतिका लागि वाहियात पनि लाग्न सक्छन् । तर, यी प्रश्न अहिलेका यक्ष प्रश्न हुन् । यी प्रश्नहरुको जवाफ र जवाफले रेखाङ्कित गरेको गोरेटोबाट नेपाललाई अघि बढाउन सकिएन भने हामी निरन्तर पुनरावृत्तिको पुरानै कथा व्यथाबाट बाहिर निस्कन सक्ने छैनौं । इतिहास साँक्षी छ, हामीले २००७ देखि २०६२/०६३ सम्मका महान परिवर्तनहरु उत्साहका साथ सम्पन्न ग¥यौँ । आशाका असंख्य विरुवा रोपेपनि हामीले निरन्तर रुपमा निरासाका फल पायौं । परिवर्तनले उत्पन्न गरेको फल परिवर्तनपछि कुहिन थाल्यो । हामीले भोगेको यो गोलचक्करले नै आज हामीलाई गरीब र कमजोर बनाएको छ । हामी फेरि त्यही प्रवृत्ति विरुद्ध लड्छौँ, विजय हासिल गर्दछौँ तर जुन प्रवृत्तिविरुद्ध लड्यौँ अन्ततः त्यही प्रवृत्तिमा लाजै नमानी बडो ‘गौरवसाथ समाहित हुन्छौँ । अहिलेका भोगाई र प्रश्नहरुको उत्तर यही प्रवृत्तिमा निहित रहेको छ ।

राजनीति मुलतः सिद्धान्तको कुरा हो । मुलुकलाई कुन दिशातर्फ लग्ने त्यसको बाटो खोल्ने पनि राजनीतिक सिद्धान्तले नै हो । त्यही नै सबैभन्दा निर्णायक कुरा हो । तर, सिद्धान्तलाई व्यवहारमा जोड्न नसक्ने राजनीति सबैभन्दा खतरनाक हुनेरहेछ भन्ने बलियो उदाहरण अहिलेको नेपाली राजनीति हो । मुलुकका प्रमुख राजनीतिक शक्ति कांगे्रस र कम्युनिष्ट हुन् । कांग्रेसले आफ्नो घोषित सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई मानेको छ भने कम्युनिष्टहरुले साम्यवाद । तर, उनीहरु आफ्नो त्यो सैद्धान्तिक आदर्शलाई व्यवहारमा कति लागू गर्न सके भन्ने प्रश्नको जवाफ पछिल्लो महान् राजनीतिक परिवर्तनपछि पनि नकारात्मक आउनु नेपाली राजनीतिको सबैभन्दा चर्को र दुःखद विडम्बना हो । यही नै अहिलेको निरासा, गतिहीनता र जडताको प्रमुख कारण हो ।

नेपालको राजनीतिक नेतृत्वले परिवर्तनको पक्षमा ऐतिहासिक र गौरवमय भूमिका निर्वाह गरेको छ । तर, जब परिवर्तनपछि ती शक्तिहरु सत्ताको नजिक पुग्छन् उनीहरु आफूलाई आफै बिसर्जन गर्न थाल्छन् । अरुले पराजित गराउन खोज्दा अजय भएका शक्तिहरु आफैद्वारा पराजित हुन्छन् । अभाव दुःख, कष्ट र बलिदानमा अडिग हुनेहरु समेत सुख सुविधा, अवसर र सम्पन्नतामा हल्लीन पुग्छन् । नेपाली राजनीतिको यो डरलाग्दो रोगबाट सामान्य सुधारवादी शक्तिदेखि प्रखर क्रान्तिकारी शक्तिहरुसम्म एक–एक गर्दै फसिरहेका छन् । आजसम्मको भोगाईबाट के देखियो भने साँस्कृतिक रुपमा बलियो जग नभएको राजनीतिको भीमकाय महल बनाएपनि त्यो टिक्न सक्ने रहेनछ । त्यसैले अहिलेका यावत समस्याहरुमा अधिकांश नेताहरुले भनेझैँ संक्रमणकाल मात्र होइन, न त विदेशीहरुको चलखेलले गर्दा मात्र हो नेताहरुमा साँस्कृतिक रुपले लोभीपापी भएकाले भएको हो । त्यसलाई सच्याउन राजनीति र राजनीतिक व्यवहारबारे आजसम्मको सोचाईलाई परिवर्तन गर्नुपर्दछ । त्यो आँटबिना न अहिलेको निरासा चिर्न सकिन्छ न भविष्यबारे आशा जगाउन सकिन्छ । अहिलेका भोगाईको जवाफ यही नै हो ।

यहाँ सत्ताको सुखसयलमा मदमस्त राजनीतिक नेतृत्व राजनीति जोगी हुन गरिदैन भन्दै आफ्नो नाङ्गो साँस्कृतिक विचलनलाई ढाकछोप गर्ने असफल प्रयास गरिरहेका छन् । वास्तवमा राजनीति जोगी हुनका लागि नै गरिन्छ । एउटा साँचो जोगीको अन्तिम लक्ष्य कष्टकर जीवन बिताएर पनि ‘ईश्वर’ भक्ति नै हो । यसैगरी साँचो राजनीतिक नेतृत्वको अन्तिम लक्ष्य सत्ताको विलासिता होइन आम जनताप्रतिको भक्ति नै हो । आदर्शहरु सपनाका व्यापार होइनन् र जीवन्त यथार्थ हुन् ती सत्तामा पुग्ने भ¥याङ होइनन्, जीवन चरित्रका यथार्थ हुन् भन्ने कुरा व्यवहारमा लागू नहुँदासम्म्म सिङ्गो राजनीति र राजनीति नेतृत्वप्रति वितृष्णा घट्ने होइन झन् बढ्ने मात्र छ । त्यसले राजनीतिलाई मूल्यहीन मात्र पार्दैन राजनीतिक नेतृत्वलाई समेत पाखण्डी बनाउँछ । अहिले नेपालमा त्यही भइरहेको छ र आम जनतालाई यति महान परिवर्तनपछि पनि झन् निरास पार्दैछ । यो नै नेपाली राजनीतिको विडम्बना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *