बन्दुक बोक्दाका बीस महिना

  
  प्रकाशित मितिः आइतवार, पुस १०, २०६८       | 120 Views   ||

-[प्रतिकइच्छुक शर्मा]

०६१ साउनको अन्तिम साता ! मेरो हातमा सैन्य क्षेत्रमा सरुवा भएको पत्र परेको छ । जनयुद्ध आफैमा एउटा सैन्य विज्ञानमा आधारित युद्ध हो । गाउँ हुँदै शहर घेर्ने दिर्घकालीन रणनीति पनि त सैन्य विज्ञान हो । त्यसैले राज्यबाट प्रतिबन्धित संगठनको एक कार्यकर्ता हुनुले पनि भोगाई र दिनचर्याहरु आफै फौजी मानसिकता र क्रियाशीलताका प्रतिविम्बन हुन् ।

०६१ श्रावण ३० गते सल्यानको स्यानीखाल तिर्थपोलेमा संगठनले विदाई कार्यक्रमको आयोजना गरेको छ । विदाईका पात्र छौँ– अध्यक्ष गणेश शाही र म । केही साथीहरुमा हाम्रो सैन्य मोर्चामा भएको सरुवासँगै कोण प्रतिकोणका तर्क गरिरहेका थिए । बिदाई कार्यक्रममा त्यस्ता पात्रहरु पनि फेला परे जसले नजान पनि सल्लाह दिए । मैले ‘नयाँ घर’ उपन्यासबाट शब्द सापटी लिदै भनेँ– ‘म चाहन्छु कि तपाई बुझ्नुहोस्, वर्गसंघर्ष कुनै चियापानको खेल होइन् यो त भयानक पीडामय आगोबाट गुज्रिनुपर्ने युद्ध हो । यदि तपाई आफुलाई सँगसँगै दुनियाँलाई बदल्न चाहनुहुन्छ भने हर यातनाका दस्तावेजहरुमा तपाईले हस्ताक्षर गर्ने आँट गर्नैपर्दछ । हुन सक्छ– तपाईको भाग्यमा अकाल मृत्यु किन नपरोस् ।’

आफ्नो जिम्मेवारी परिवर्तनसँगै हाम्रो यात्रा सल्यानको दमाचौर बुराँसे हुँदै रोल्पातिर हानियो । एक सातापछि थवाङ पुगियो । जनयुद्धको उद्गम थलो थवाङ । थवाङको नजिकै रहेको फुन्टीवाङमा माओवादी केन्द्रीय समितिको बैठक चलिरहेको थियो । जनयुद्ध रणनैतिक प्रत्याक्रमणको दिशामा अघि बढ्ने बहसमा थियो । पार्टीमा विचार श्रृङ्खला प्रचण्डपथ र विचारको विकासलाई बुझ्ने सवाल, व्यक्तिवादका विरुद्ध संघर्ष, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अध्ययन र प्रयोगमा देखिएका कोण जोडमा तीव्र बहस भएका खबरहरु बाहिर आएका थिए । थवाङ पुगेको तेश्रो दिन साँझ पाँच बजे अध्यक्ष प्रचण्डसहितका नेताहरु थवाङमा आइपुग्दा म द्रविभुत भएको थिएँ । नेपाली क्रान्तिका नायकहरु, मुक्तियात्राका योद्धाहरुलाई भेट्दा जनयुद्धको आँधिबेहरीका ज्वारभाटामा आफूलाई समर्पित गर्न उर्जा पैदा हुँदोरहेछ । मनभित्र पैदा भएको वर्गसंघर्षप्रतिको लगाव कसरी व्यक्त गरुँ ? आफ्नो जीवनको प्रवाह नै थिएन ।

हामी सैन्य मोर्चा आएका नयाँ साथीहरु प्यूठान पुग्नुपर्ने खबर आयो । भोलिपल्ट बिहान उघ्रिन नपाउँदै हामी मिर्मिरेमा नयाँ जोश जाँगरका साथ थवाङबाट प्युठानतिर लाग्यौँ । रोल्पा फुन्टिवाङ, उवा, गाम हुँदै हामी निरन्तर यात्रामा छौँ । कर्म क्षेत्र बदल्दा मनमा अनगिन्ती जिज्ञासाहरु जन्मदा रहेछन् । संगठक भएर जिम्मेवारी सम्हाल्दा र सैन्य अभ्यासमा आफूलाई होम्दा अन्तिमसम्म समर्पित हुन सकुँला नसकुँला । विद्यार्थी संगठनको जिम्मेवारी पूरा गर्दै आएको विगतझैँ निरन्तरता दिन सकिएला कि नसकिएला ? क्रान्ति, परिवर्तन र मुक्तिको आजादी गगनमा आस्थाको पखेटा हालेर निरन्तर उड्न सकुँला कि नसकुँला ? यी र यस्तै प्रश्न प्रतिप्रश्न मनमा ज्वारभाटाझैँ उर्लिएर आउँथे । बाटोभरि कुनै भोक, थकान थिएन । रोल्पाको गाममा एक रातको बसाईपछि भदौ १२ गते प्युठानको स्याउलीवाङ पुगियो । रुट गाइडर साथीले स्याउलीवाङमा मंगलसेन बिग्रेडको प्रथम बटालियनको एक टुकडी बसेको जानकारी गराए । स्याउलीवाङ निकै रमाइलो ठाउँ छ । बाक्लो बस्ती, गाउँको छेवैबाट बगेको खोला । मेरो लागि स्याउलीवाङ नयाँ होइन । २०६० साउनमा यही गाउँ भएर एकीकृत जनप्रतिरोध अभियानमा अर्घाखाँची गएको थिएँ । तर, यसपालि मलाई स्याउलीवाङ नयाँ लागिरहेको छ । किनकि नयाँ जिम्मेवारीको उत्साहमा मैलै स्याउलीवाङमा उपस्थिति जनाएको छु ।

सैन्य मोर्चामा कुन टीममा परिने हो ? कुन जिम्मेवारी पाइने हो ? कुनै पत्तो छैन । हामी बसेको घरमा कम्पनी कार्यालय बसेको छ । फौजी हिसाबले अनुकूल भूगोल छ । घाम अस्ताउनै लागेको परिवेश । हामीले रोल्पाबाट बोकेर लिएको पत्र एकजना अपरिचित कमाण्डरको हातमा थमायौँ । अपरिचित कमाण्डरको नाम सरोज रहेछ । स्याउलीवाङमा रहेको टुकडीको नेतृत्व सरोजले गरेको जानकारी पाइयो । मैले विद्यार्थी राजनीतिबाट सैन्य क्षेत्रमा आएको बताउन के थालेको थिएँ, कमाण्डर सरोजले नेताहरु सिद्धान्तमा लैस हुन्छन्, उनीहरुको परिक्षा व्यवहारमा हुन्छ भन्दै लडाईबाट मात्र को कस्तो हो निधो हुने बताउन भ्याए । मलाई निकै उकुसमुकुस महसुस भयो । लेनिनले एक पुस्तकमा लेखेको वाक्य ‘कुनै मान्छेले मौसमको स्वाद कस्तो हुन्छ भनेर थाहा पाउन उसले स्वयम् मौसम नै खानुपर्छ । यसरी नै क्रान्ति कस्तो हुन्छ र क्रान्तिकारी बन्न चाहनेले स्वयम् आफै क्रान्तिकारी युद्धमा होमिनु पर्दछ ।’ भन्ने सम्झना भयो । आफू र आफैसँग अरुको मुक्तिका लागि मुत्युको मार्ग नहिडी गन्तव्यमा पुग्नै सकिन्न । त्यो रात आफ्नै जिम्मेवारी र क्रान्तिको समग्र चिन्तनका साथ बित्यो ।

उज्यालो हुने कुनै सुरसारै छैन । तर, एकजना कमरेड उठाउन आइहाले । अनि उनले ‘ए तपाई त छिट्टै उठ्नु हुँदोरहेछ’ भने । हजुर मात्र के भनेको थिएँ, कमरेडहरु अब पेट्रोलिङ जाऔँ भनेर ज¥याक जुरुक उठे । आ–आफ्ना सामान झोलामा कोच्दै बाहिरिए । त्यसमा म पनि मिसिए । एक घण्टापछि पेट्रोलिङको समय सकियो । पेट्रोलिङ बिहानको सैन्य अभ्यासमा बदलियो । स्याउलीवाङस्थित माविको आँगनमा पुग्दा भदौ १३ गते बिहानको ६ बजिसकेको थियो । अनि सरोजको सिठ्ठीसँगै हाम्रो सैन्य अभ्यास शुरु भयो । मैले २०५८ मा नै एरियामा गठित स्क्वायडका लागि आयोजित सैन्य प्रशिक्षण लिइसकेको थिएँ । नयाँ त लागेको थिएन । दुश्मनसँग बन्दुक बोकेर प्रत्यक्ष मुकाबिला गर्नुपर्ने सीप र क्षमता सिक्नु आफैमा रमाइलो विषय थियो । तर, संगठन गर्नु, दुईचार विचारका कुरा गर्नु, आदर्श, सपना र आस्थामा चर्चा गर्नुजस्तो सहज लागेन । मनभित्र अन्तरसंघर्षका ज्वारभाटाहरु निकैबेर चलिरहे । बिहानको रोलकल सकियो । खानापछि हतियारसम्बन्धी कक्षा शुरु भयो । थ्रीनटथ्री राइफल, एसएलआर, एसएमजी, म्याग्नम राइफल, एलएमजी लगायतका आधुनिक हतियारबारे जानकारी पायौँ । प्रशिक्षणको पहिलो दिनमै मलाई एउटा थ्रीनटथ्री राइफल दिइयो । मलाई निकै गौरवको अनुभूति भयो । एकनासले मैले राइफललाई हेरेँ । निकै भर लागेको थियो । जब बन्दुक मेरो हातमा प¥यो, मैले गमे– सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी जनवादी क्रान्ति पूरा गरी समाजवादी क्रान्तिमा अघि बढ्ने अनि सर्वहारा साँस्कृतिक क्रान्ति चलाउँदै मानवजातिको अन्तिम र स्वर्णिम सपना साम्यवादसम्मको उद्देश्यमा पुग्न पार्टीले गरेको संकल्प । एकपटक हतियार उठाएपछि अन्तसम्म लैजाने दृढता । म निकै गम्भीर बने, जुन बन्दुक मैले समातेको छु मेरो जीवन र मृत्यु दुवै हो । बन्दुकसँग नेपाली जनताको आस्था, विश्वास र सपना पनि गाँसिएको छ । त्यसैले यो बन्दुक अन्याय अत्याचारविरुद्धको मशाल पनि हो । जसले जनताको रक्षा गर्नेछ । आँधी चलेको बेला जीन्दगी रक्षा गर्ने मात्र होइन्, विजय प्राप्त गर्ने गतिलो माध्यम पनि बन्दुक बन्नेछ ।

अनगिन्ती दुःख कष्ट र आरोह अवरोहका बीचमा बन्दुक समात्दाको समयका निकै घुम्तीहरु काटिसकिएको छ । अनेकौँ कष्टसाध्य दिनरातहरु गुजारियो जीवनमा । जीन्दगी च्याँखे थापेर वर्तमानमा उभिदा विकट सम्झनाका स्मृतिहरु सम्झाउनीमा हाजिर हुन्छन् । हिड्दै अघि बढ्दाका राप्ती, लुम्बीनी, गण्डकी, धौलागिरी र नारायणीका थुप्रै–थुप्रै स्थानका युद्धमोर्चाहरु, मोर्चामा बन्दुक, बमगोलाहरुका बीचमा खरोरुपमा प्रस्तुत गर्दा साँच्चैको गौरव छ । आजको यो परिवेश, कति भिन्न छ । बन्दुकसँगको सहयात्राका दैनिकी, जति पीडादायिक छन् त्यतिकै रमाइला पनि । नवलपरासीका चोरमारा, पाल्पा हुमिन, गोठादी, स्याङ्जा चित्रेभञ्ज्याङ, मनकामनाका कालजयी मोर्चामा विजय प्राप्त गर्दाका क्षण ! कसरी सबै बताउन सक्छु र यी थोरै शब्दमा । जनसेनाको विभिन्न तह हुँदै कम्पनी कमाण्डरको जिम्मेवारी पूरा गर्दा कहिले पनि भविश्यप्रति प्रश्न उठेन । आफैले आफैलाई मृत्युको बलिबेदीमा होम्दाको अवस्था कति आनन्द ! आखिर वर्गसंघर्ष अग्रगामी रुपान्तरणको कोशेढुङ्गा सावित भयो । आन्दोलनको आँधीहुरीले दुश्मनहरु क्षतविक्षत बनेका दृश्यहरु ताजा भएर आउँछन् । आज मसँग बन्दुक छैन । क्रान्ति भिन्न तरिकाबाट अघि बढाउने क्रममा मेरो हातमा कलम छ । मलाई सम्झना छ– विचारले लैस बन्दुक बोक्दा र जनमुक्ति सेना बन्दाको गर्व अहिले स्मृतिमा ताजै छ । मेरो प्रिय जनमुक्ति सेना र मेरो प्रिय आस्था जनताको मुक्ति र बन्दुक कहिल्यै छुट्टिनेछैन मलाई जुनसुकै निर्जन टापुमा पु¥याइएपनि । आफुले आफैलाई विच्छेद नबनाएसम्म जीवनसित मान्छेका मनहरु कहाँ अलगिन्छन् र ।

२०६३ भाद्र १२ बुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *