शहीदको सम्झनामा उद्योग सञ्चालन

  
  प्रकाशित मितिः मङ्लबार, पुस १२, २०६८       | 165 Views   ||

जनयुद्धकालमा शहीद भएका आफन्तको स्मृतिमा कुनै गाउँ, बजार, उद्योग वा अन्य सार्वजनिक संस्थालाई शहीदको नामबाट नामाकरण गरेर उनीहरुको सम्मान गर्ने प्रचलन बढेको छ । रोल्पाबाट फर्किएपछि गोविन्द खड्काको रिपोर्ट

रोल्पा जनयुद्धको उद्गम थलो मानिन्छ । लामो वर्गसंघर्षको भुक्तभोगी बनेको रोल्पामा अहिले त्यहाँका गाउँ, बजार, घरेलु उद्योगका साथै विभिन्न सार्वजनिक संस्थाहरुलाई शहीदहरुको नामबाट स्थापना गरिएको छ । यसले शहीदहरुको सम्मान र बलिदानको गौरवलाई सधैँ सम्झना गराइरहनुका साथै जनयुद्धको मर्म पुस्तान्तरसम्म राख्न महत्वपूर्ण भूमिका खेल्ने रोल्पालीहरुको भनाई छ ।

यही यथार्थतालाई आत्मसाथ गर्दै सीप विकास र आत्मनिर्भर बन्दै इरिवाङ गाविस बागमाराका महिलाहरुले उद्योग सञ्चालन गरेका छन् । उद्योग स्थापना गरेर उनीहरुले आर्थिक लाभका साथै जनयुद्धका बेला ज्यान गुमाएका शहीदहरुको सम्झना र सम्मान पनि गरिरहेका छन् । यही भूमिकामा बागमारास्थित आमा समूहका महिलाहरुले ‘परिवर्तन अल्लो धागो तथा कपडा उद्योग’ सञ्चालन गरेका छन् ।

रोल्पाको इरिवाङ गाविसमा पर्ने बागमारा बजारलाई आजभोलि परिवर्तन नगर भनेर चिनिन्छ । सोही ठाउ“का नेपबहादुर केसी ‘परिवर्तन’ जनमुक्ति सेनाका माथिल्लो तहका कमाण्डर थिए । जनयुद्ध क्रममा उनको शहादत भएपछि उनकै सम्झनामा बाघमारा बजारलाई परिवर्तननगर भनेर नामाकरण गरिएको हो । उनै परिवर्तनको नामबाट त्यहाँका महिलाहरुले उद्योगको नाम पनि ‘परिवर्तन अल्लो धागो तथा कपडा उद्योग’ राखेका हुन् ।

शहीद परिवर्तनकी श्रीमती कलादेवी खत्रीसहित गाउँका महिलाहरु लक्ष्मी डाँगी, चन्द्रमाया रिजाल, नन्दा वली, कमला केसीलगायतले उक्त उद्योग स्थापना गरेर अरुलाई पनि रोजगारीमा संलग्न गराएका छन् । गत बैसाख ११ गते इरिवाङको बागमारामा स्थापना गरिएको उद्योगमा पाँच जनाको व्यक्तिगत शेयर लगानी रहेको छ । शेयरधनी कलादेवी खत्रीका अनुसार २५ हजारका दरले संकलन गरिएको शेयर रकम र गाविसको केही सहयोगबाट २ लाख २० हजार रुपैयाँ उद्योगमा लगानी गरिएको छ । पाँच वटा तान र छाप्रोजस्तो देखिने घरमा उद्योग स्थापना गरिएको छ । उद्योग सञ्चालन भएको एक बर्ष नबित्दै पाँच सय बढी झोला र दुई सय बढी पटुका उत्पादन गरिएको उद्योगी कलादेवी खत्रीले बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समिति रोल्पाको सहयोगमा तालिम लिएपछि आमा समूहमा आवद्ध महिलाहरुले व्यक्तिगत शेयर लगानी गरी गाउँमा उद्योग चलाउने निर्णय गरेका थिए । एक पटकमा पाँच जनाले काम गर्न सकिने उक्त उद्योगमा ऊनी झोला, पटुका, सुती कपडा, अल्लो तथा हेमका कपडाहरु तयार पार्ने गरिएको छ ।

उद्योगमा उत्पादित सामानहरु किन्न टाढा–टाढाबाट ग्राहकहरु आफै आउने गरेको र निश्चित मुल्यमा सामानहरु लिने गरेको उद्योग सञ्चालक खत्रीले जानकारी दिनुभयो । गाउँको उद्योगमा तयार पारिएका सामग्रीहरु ग्राहकले महत्व दिएर किन्नुका साथै उद्योगी आमा समूहलाई प्रोत्साहित गर्ने गरेको उहाँले बताउनुभयो । ग्राहकको माग र रोजाई अनुसारको डिजाइनमा झोलाहरु तयार पारिने भन्दै उहाँले झोला र पटुकाको माग धेरै भएको बताउनुभयो ।

उद्योग सञ्चालन गरिरहेका आमा समूहमा आबद्ध कतिपय महिलाहरु माओवादी कार्यकर्ताहरु हुन् । जनयुद्धका क्रममा घरछोडी आन्दोलनमा लागेकाहरु अहिले उद्योगतिर जोडिएका छन् । हलो जोत्दासमेत अड्याउन नसक्ने भनेर हेपिने महिलाहरुले यसरी समाजमा उद्योग चलाएर बस्न पाउँदा खुसीको अनुभूति गरेको उनीहरुको भनाई छ । उद्योग सञ्चालक लक्ष्मी डाँगी भन्नुहुन्छ– ‘हामीले उद्योगको शुरुवात गर्दा कसैले पनि पत्याएका थिएनन्, यी महिलाहरुले कसरी उद्योग चलाउन सक्छन् भन्थे । तर, अहिले उद्योगबाट राम्रो फाइदा भएपछि भने नपत्याउनेहरु लजाएर भाग्ने गर्छन् ।’ लक्ष्मीका अनुसार उद्योग राखिएको जमीनको मासिक पाँच सय रुपैयाँ भाडा र उद्योगका लागि चाहिने कच्चा पदार्थ खरिदमा मात्रै खर्च हुने भएकाले राम्रो आम्दानी भइरहेको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *