माओवादीभित्र हुर्किदै गएका गलत संस्कार र समाधानबारे

  
  प्रकाशित मितिः सोमवार, पुस २५, २०६८       | 106 Views   ||

-[सविन पोखरेल]

आज एकीकृत नेकपा माओवादी पार्टीको जीवन अत्यन्तै संगीनपूर्ण स्थितिबाट गुज्रिरहेको छ । नेपाली जनयुद्धको महान आदर्श र यसले ठूलो बलिदान गरेर स्थापित गरिसकेका एजेण्डाहरुको दिन प्रतिदिन अपहरण भइरहेको छ । यही कुरालाई कसैले मौलिक क्रान्तिका कुरा गरेर दुनियाँलाई ढाँटिरहेका छन् भने कोहीले माओवादीले अब सबै सकियो बर्बाद भयो, हाम्रो व्यक्तिगत जीवन समेत धरापमा प¥यो भन्दै हिजो जनयुद्धमा गरेको बलिदान र योगदानको समेत गम्भीर समीक्षा गर्दै कस्तुरी मृगझैँ बासना खोज्दै भनिरहेका छन्– आफूले केही गर्न सकिएन दुनियाँले के–के गरिसके, सबै बर्बाद भयो आदि आदि । दुनियाँको मुक्तिको लागि मृत्युको कसम खाएर युद्धमा हाम फालेका योद्धाहरुले यसरी सोच्नुपर्ने स्थिति कसरी आयो ? यसको जवाफ र हल माओवादी पार्टीका नेताहरुले दिन सक्छन् या सक्दैनन् यो प्रश्न आज माओवादीको आन्तरिक जीवनमा छताछुल्ल भएर पोखिएको छ ।

विषयको उत्थान यहाँबाट शुरु गर्दा कसैलाई नमिठो र कसैलाई केही राहतको अनुभूति होला तर वास्तविक जीवनको यर्थाथ भोगाईको तीतो अनुभूतिबाट माओवादी पार्टीको हाल विद्यमान तीनवटै गुटलाई समर्थन गर्ने फरक–फरक विचारलाई समात्ने सबै गुटका इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ताको हालत उस्तै–उस्तै छ । यहाँ विचार कुन ठीक कुन बेठिक भनेर लगातार बहस भइरहेकै छ, जो पार्टी र क्रान्तिका लागि अति आवश्यक कुरा हो । साथसाथै के कुरा पनि साँचो हो भने विचारमा आएको विचलनको परिणाम यी समस्याको चङ्गुलमा फसिएको हो । यहाँ उल्लेख गर्न खोजिएको कुरा भने अलि फरक छ । जस्तो कि कुनै अमुक समुहलाई समर्थन गर्दैमा मान्छे क्रान्तिकारी र अर्को कुनै समुहलाई समर्थन गर्दैमा गैरक्रान्तिकारी भइहाल्ने भन्ने कुरै होइन । मुल कुरा जसले जसलाई समर्थन गरे पनि जसले दलाली गर्छ त्यो दलाल नै हो । जसले कमिसन खान्छ त्यो कमिसनखोर नै हो । जसले भ्रष्टाचार गर्छ त्यो भ्रष्टाचारी नै हो । जो जमिन्दारसँग मिल्छ त्यो नवसामन्त नै हो । त्यसैले यी गम्भीर खालका विचलनलाई समयमै नसच्याउने हो भने माओवादी पार्टीको भविष्य कता जाला सजिलै आँकलन गर्न सकिन्छ । आज माओवादी पार्टीका केही नेता र कार्यकर्ताहरु कुनै पनि विचार/गुटका किन नहुन, कोही नयाँ धन कुबेरको रुपमा उदाउँदै र पार्टीकै कभरमा भव्य महलमा आलिसान भइरहेका छन् भने कोही साँझबिहानको छाक टार्न नसकेर निरास भइरहेका छन् । भनिन्छ– राजनीति गर्नेले सुखसयलको जीवन जीउने सपना देख्नु भनेको गरीब जनतालाई धोका दिनु नै हो । तर, विडम्बना ! गरीब जनतालाई मुक्तिको सपना देखाएर हजारौं योद्धाहरुको बलिदान गर्न प्रेरित गर्ने कतिपय नेता, कार्यकर्ताहरु नयाँ सामन्त, दलाल र कमिसनखोरको मार्गमा हिडेर आफूलाई नवधनाढ्य वर्गमा बदल्नु इतिहासप्रतिको ऐतिहासिक धोका हो । त्यसैले आज यी धोकेबाजहरुसँगै सति जानेका यी धनकुवेरहरुका विरुद्ध जेहाद छेडेर जनयुद्धका सपनाहरुलाई अन्तिमसम्म साहसका साथ अगाडि बढाउने आफूलाई क्रान्तिकारी सावित गर्दै अहिलेको स्थितिमा पनि अत्यन्तै दुःख कष्टको जीवन बिताइरहेका योद्धाहरुका अगाडि समेत गम्भीर प्रकारको प्रश्न खडा हुन पुगेको छ । के कुरा साँचो हो भने आफ्नो परिवारको सामान्य दिनचर्या निर्वाह गर्न कुनै न कुनै काम अवश्य गर्नुपर्छ । यसमा संकीर्णताको भारी बोकेर हिड्नु आवश्यक छैन् । बरु धनकुबेरहरु सँगै पोइल जाने गरी एक्लाएक्लै खुसखुस गर्नुभन्दा सबै साथीहरुलाई समेट्ने गरी पारदर्शी खालको नमुनायोग्य आर्थिक उत्पादनको काम गर्न भने सबै तयार हुनैपर्छ । जसले मात्र सबै योद्धाहरु सन्तुष्ट बन्ने स्थिति बन्छ ।

यही सन्दर्भमा कतिपय इमान्दार साथीहरुमा फरक खालको विचलन आउने सम्भावना दिनप्रतिदिन बढिरहेको देखिन्छ । जस्तो कि अमुक विचारलाई समर्थन गरेकाले उपेक्षित भइयो कि भनेर आफ्नो राजनैतिक काँचोपन देखाइरहेको पनि पाइन्छ । विचार भन्ने चिज कसैले समर्थन गर भन्दैमा समर्थन गरिदिने अनि कसैले तर्साउँदैमा पुच्छर सेपिहाल्ने भन्ने कुरा हुँदैन । अनि कहिलेकाँही आफूलाई अमूक विषयमा चित्त बुझेन भने छलफल बहसबाट भाग्दै–भाग्दै जता पनि ठिक्क पर्ने दहीचिउरे चलनले व्यक्तिगत जीवनमा समेत गम्भीर प्रकारको घाटा परिरहेको छ भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी छ । समस्यालाई छलफल गरेर हल गर्नुको साटो भित्रभित्रै गुम्सिएर रन्थनिदै हिड्ने पंक्ति पनि ठूलो मात्रामा देखिन्छ । कार्यकर्ताको पारिवारिक समस्या यति चरमचुलीमा पुगिसक्यो कि जसलाई थेग्न समेत निकै धौ भइरहेको छ । जनताको जीवन केही सुधार हुन्छ कि भनेर गरेको त्यागको मूल्यबोधको त कुरा छोडौँ मजुदर, किसान, ज्यामीहरुको समस्या दिन प्रतिदिन घट्ने होइन लगातार थपिरहेकै छ । समस्याको हल खोज्ने प्रयास सबैले गरिरहेकै छन् तर निकास कतैतिरबाट पनि आउन सकिरहेको छैन । अब यी तमाम समस्याको हल के ? यी कुरा सबैको अगाडि अजङ्गको पहाडजस्तै बनेर उभिएको छ । अब यो पहाडलाई कसरी पन्छाउने ?

अहिले नेपाली क्रान्तिको मार्गचित्र कुहिरोको कागजस्तै हराइरहेकोले सर्वप्रथम यसको दिशा स्पष्ट हुनैपर्छ । अझ पनि क्रान्तिको जीवनमा आफ्नो र गरीब जनताको जीवन देख्ने कार्यकर्ताको ठूलो पंक्ति माओवादी पार्टीको भर परेर बसिरहेकै छ । यही सेरोफेरोमा माओवादी पार्टीले आफ्नो आन्तरिक जीवनलाई सुदृढ गर्दै क्रान्तिको अबको मार्ग स्पष्ट गर्न भनेर बैठक बसिरहेको छ । बैठकले के गर्छ त्यो पनि सबैको प्रतिक्षाको विषय रहेको छ । शान्ति र सविधान कि र तत्काल जनविद्रोह भन्ने विषय माओवादीमा विवाद भयो भनेर मिडियाहरुले आफ्ना समाचारका पानाहरु भरिरहेका छन वास्तविकता त्यो होइन । वास्तविकता भनेको शान्तिको कुरा गर्दै आत्मसमर्पण गर्ने, संविधानको कुरा गर्दै गणतन्त्र नेपालमा पनि नयाँ सामन्तहरुले रजाइ गर्ने खालको संविधान बनाउने वा जनताका आवाजहरुलाई सम्बोधन गरेर सम्मानपूर्ण शान्ति र जनयुद्धका एजेन्डालाई सम्बोधन गर्ने गरी संविधान बनाउने बहस यहाँ केन्द्रित छ । साँच्चिकै मूर्दाशान्ति र एकसरो संविधानका लागि मात्र के नेपाली जनताले यत्रो बलिदान गरेका हुन र ? छातीमा हात राखेर आत्मैदेखि सोच्ने हो भने सबैको मन दुखेकै छ । जनविद्रोहको भुत देखाएर नेपाली जनतालाई आतंकित पार्दै माओवादीको अमुक पक्ष जंगल पस्न खोज्यो भनेर माओवादी भित्रकै नयाँ धनकुवेरहरु सामन्त दलालहरुकै तालमा नाचिरहेका छन् । ठिक छ नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने भनेर नेताहरुले आ–आफ्ना मोडेलहरु प्रस्तुत गरिरहेका छन् तर, मोडेलको कुरा गर्दै क्रान्तिको आधारभूत कुरा सजिलै छाडिदिने कुरालाई नयाँ मोडेल होइन, त्यसलाई विचलन नै भन्नुपर्दछ । त्यसैले गरीब नेपाली जनता र माओवादी पार्टीका हजारौं इमान्दार कार्यकर्ताहरुको समस्या हल गर्न क्रान्तिको मार्ग प्रष्ट गर्नैपर्छ । अर्को व्यवहारिक कुरा गर्दा हिजोसँगै युद्ध यात्रामा समर्पित योद्धाहरुमध्ये कोही नयाँ धनाढ्यको रुपमा देखिदैछन् । आखिर ती नयाँ सामन्तहरुले न त विदेश गएर पैसा कमाएका हुन् न त तिनीहरुको कुनै पुख्र्यौली सम्पत्ति नै यस्तो सान झार्नेस्तरको थियो । त्यसैले तिनीहरुप्रति शंका गर्नैपर्छ । हिसाब किताब इतिहासले आफै गर्छ । इमान्दारहरु कहि कतै आत्तिनु पर्दैन । फेरि अर्को ध्यान दिनलायक कुरा के छ भने कसैले आफ्नो श्रम र पसिना बगाएर पारिवारिक जीवन व्यवस्थापन गरेको छ भने त्यसलाई सहयोग गर्नुपर्दछ र अरुले पनि त्यस्तो कामको अनुशरण गर्नुपर्छ ।

दोस्रो, समस्याको हल भनेको नयाँ धन कुवेरहरुको भण्डाफोर गर्दै जनता र कार्यकर्ताको समस्यालाई हल गर्ने खालको वस्तुनिष्ठ आर्थिक कार्यक्रम निर्माण गर्नु हो । पार्टीका हजारां कार्यकर्तालाई कामविहीन बनाएर राख्ने परिपाटीको अन्त्य गरिनुपर्छ । राजनीतिले हल गर्न नसकेका समस्यालाई आर्थिक कार्यक्रमले मात्र हल गर्न सकिन्छ भन्ने मानसिकता पनि संशोधनवादी दृष्टिकोण हो । कुरा यति मात्र फरक के हो भने बाँच्नका लागि गरिने आर्थिक कार्यक्रमले क्रान्तिलाई समेत फाइदा गर्छ । विलासितालाई लक्ष्यमा राखेर पैसा कमाउन तँछाडमछाड गर्ने प्रवृत्तिको समापन अन्तत्वगत्वा बिसर्जनमा गएर टुङ्गिन्छ । यो प्रवृतिप्रति पनि विशेष सतर्कता अपनाउनै पर्दछ । अहिलेको अवस्थामा मान्छेले सामूहिक स्वार्थलाई लत्याउदै व्यक्तिगत आकांक्षाहरुलाई उचालेर अगाडि बढिरहेको स्थितिमा सामूहिक भावनाको विकास गराउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । अहिले पार्टीमा हुर्किदै गइरहेको गलत संस्कारले एकले अर्कालाई सजिलै विश्वास गरिहाल्ने स्थिति पनि छैन । हिजो प्रशिक्षणकै आधारमा मर्नसमेत तयार हुने योद्धाहरु आजकाल तिनै नेताहरुप्रति सशंकित बनिरहेका छन् । नेताहरुको गलत क्रियाकलापले अविश्वासको पर्खाल खडा भएको छ । यसलाई भत्काउनै पर्छ । कुरामा विश्वास गर्ने जमाना गइसके, व्यवहारमा कसले के गर्छ, त्यसको मूल्याङ्कन सबैले गरिरहेका हुन्छन् । त्यसैले कतिपयको सन्दर्भमा साँच्चिकै कुरा आशंकाको रुपमा मात्र उठेका हुन् भने यसलाई विश्वासमा बदल्ने कोशिस किन नगर्ने त्यो गर्नुपर्छ, हैन साँच्चिकै भनेजस्तै हो भने त्यसको पर्दाफास इतिहासले आफै गर्छ । क्रान्तिकारी आदर्शलाई बचाइराख्ने नेता, कार्यकर्ताको धु्रव्रीकरणलाई कसैले चाहेर पनि रोक्न सक्दैन । खाना नपाएर भौतारिरहेका योद्धाहरुको आर्थिक व्यवस्थापन गर्दा धेरै लक काट्नुपर्ने जरुरी नै छैन । बरु राजनीतिक उद्देश्यमा आधारित वैज्ञानिक आर्थिक कार्यक्रम बनाउन अब कत्ति पनि ढिला गरिनु हँदैन ।

तेस्रो, समस्याको हल भनेको माओवादीले युवा मनोविज्ञानलाई केन्द्रीत गर्ने गरि योजना निर्माण गर्नुपर्दछ । परिवर्तनको एजेन्डालाई काँधमा बोकेर मृत्युयात्रामा समर्पित युवाहरु परिवर्तनको अनुभूति नभइकन यताउता गर्ने भन्ने प्रश्नै रहदैन् । यहाँ एउटा भ्रम के परेको छ भने मृत्युको दस्तावेजमा हस्ताक्षर गरिसकेका योद्धाहरुलाई अन्त कतै अल्झाएर आफ्नो स्वार्थपूर्ति गर्न तिनै युवाहरुलाई गलत ढंगले प्रयोग गर्ने अभिलाषा अझै केही मान्छेहरुले राखेकै छन् । अहिलेको सन्दर्भमा के कुरा साँचो हो भने साँच्चिकै जनताले सोचे अनुसारको परिवर्तनलाई बीचमै तुहाउने षड्यन्त्र भए षड्यन्त्रकारीहरुको चिहान खन्न युवाहरु अझै तयार छन् । युवा भनेपछि प्रत्येक बिहानीको उदयसँगै नयाँ सम्भावनाको खोजी गर्ने र नयाँ कामको प्रयोग गर्न हरसम्भव प्रयास गर्ने विशेषता बोकेको मानवहरुको महासमर पनि हो । त्यसैले अहिलेको समस्याको हल भनेको युवा मनोविज्ञानको वैज्ञानिक केन्द्रीकरण र व्यवस्थित परिचालन पनि हो ।

One Comment

  • lekhak lai hridaya dekhi nai avar prakat garda6u kina maobadi neta haru le yesh lekhlai atmashat garnai prar6a ra antar sangarsha ko bastabik vitri pato yo pani ho.hijo yinai netako pa6i lagda janahit ra apno pani unnati hola vanne ashale lageka karntikari karyakarta ko bichar ra vawana sametna naskdha pakistani netri benejir bhutto,rajiv gandi ko itihas nepalma pani dohorina sak6a ra netriwa lai yo thulo chunauti nai 6a tasartha pphutera hoina jutera janta ka man jitne ra karyakarta ko sanman garne kam neta harule bastama garnai par6a.lekh sarai stariya 6a lekhak lai badhai suvakamana bichar uteejak lekh dinu vayeko lagi

Leave a Reply

Your email address will not be published. Required fields are marked *