शान्ति र संविधान निर्माण हाम्रो दायित्व

  
  प्रकाशित मितिः सोमवार, पुस २५, २०६८       | 112 Views   ||

-[नारायण प्रसाद श्रेष्ठ]

नेपाल र नेपालीको चाहना विश्व परिवेशमा नेपालको छवि उच्च बनाउने रहेको छ । प्रत्येक नेपालीको ढुकढुकीले निम्त्याएको शान्ति र संविधान निर्माण अहिलेको आवश्यकता हो । नेतृत्वप्रति विश्वास राख्दै अस्तित्वको पहिचानसँगै गौरवमय इतिहास विश्वसामु प्रदर्शन गर्न सक्षम नेपाली आफ्ना मन, वचन र कर्मले राष्ट्रियतालाई शिरोधार्य गर्दै अघि बढ्न चाहन्छन् । तसर्थ हाम्रो नेतृत्वपंक्तिका अग्रजले जनताका यी चाहनालाई विश्वास र असल आचरणको माध्यामबाट नेपालीको गौरवमय इतिहासलाई जीवन्त राख्न आफूलाई सक्षम प्रदर्शन गर्न सक्नुपर्दछ ।

जबसम्म आफ्नो पौरख र बाहुबलले नेतृत्वपंक्तिबाट गौरवमय इतिहासलाई आत्मसाथ गरि कर्तव्यतर्फ आकृष्ट हुँदैन तबसम्म त्यहाँ चारित्रिक प्रदर्शन हुने वातावरण बन्न सक्दैन । जहाँ असल विचार प्रवाह हुँदैन, त्यहाँ राष्ट्रियताको कुनै मूल्य रहदैन । जहाँ राष्ट्र र राष्ट्रियतालाई शिरोधार्य गर्ने मन, वचन र कर्मले सोचिदैन, तबसम्म त्यहाँ नेपाली भई बाँच्न पाउने वातावरण बन्न सक्दैन । जहाँ नेपाली भइई बाँच्न पाउने वातावरण बन्दैन, त्यहाँ नेपालीको अस्तित्व धरापमा पर्न सक्छ । तसर्थ राजनैतिक उच्च विचारका धनी जसलाई जनताले आफ्नो मातृभूमि र स्वाभिमानी नेपालीको लागि विचारको बहस गरी निक्र्योल गर्न छानेका छन्, उनीहरुको दायित्व जनजिविकासँग प्रत्यक्ष गाँसिएको शान्ति र संविधान निर्माणमा खट्नु अपरिहार्य विषय बनेको छ । नेतृत्वपंक्ति राष्ट्रिय अस्मिता बचाउने जिम्मेवारीबाट अलिकति पनि विचलित हुने हो वा पछि हट्ने वा स्वार्थपरक राजनैतिक वृत्तचित्रको नाइके बन्न खोज्ने हो भने देशले कस्तो काँचुली फेर्ने हो यो गम्भीर विषय हो र यो संक्रमणकालीन राजनैतिक अवस्थाको चुनौती पनि हो । वर्तमान समयमा नेपालको संक्रमणकालीन राजनैतिक परिस्थितिलाई कम गरी स्वच्छ र समुन्नत शान्ति क्षेत्र नेपालको गरिमालाई कायम गर्न सहमतीय राजनैतिक सुझबुझबाट मात्र सम्भव हुने हुँदा सहमतीय राजनीतितर्फ आकृष्ट भइरहेको यस अवस्थामा राजनैतिक दलहरुको भावना सोही आचरण अनुकूल मुखरित हुन आवश्यक छ ।

हालै दिन प्रतिदिन विभिन्न दलका उच्च नेताबाट सकारात्मक चिन्तनका साथ सहमतिको निर्विकल्पलाई बढावा दिएर आएका अभिव्यक्तिले अन्तिम पटक थपिएको म्यादभित्र संविधान निर्माण हुने कुरामा नेपाली जनता ढुक्क र आशावादी देखिएका छन् । परिस्थिति अनुकूल बन्दै गरेको र राजनैतिक दलहरुबीच यसभन्दा अघि देखिएको साँघुरो सोंचमा फराकिलो दायरा बनेको यस अवस्थामा जनताको प्रतिनिधिले निभाउनुपर्ने दायित्वबोध भएको छ । सकारात्मक चिन्तनका साथ बढिरहेको राजनैतिक सुझबुझमा अब कुनै कतैबाट धमिरा लाग्न दिनुहुँदैन । हुन त नेपालको गरिमामय इज्जतलाई विश्वसामु चिनाउन र शान्तिक्षेत्र कायम गर्न अवरोध गर्ने केही तत्वले नेतृत्वकर्ताहरुलाई आफ्नो मुठ्ठीमा बसिरहेको अवस्था पनि देखिन्छ । सार्वभौम नेपालको अस्तित्वसँग सौदाबाजी गरी आफ्नो हैकम चलाउने परिस्थितिको जन्म गराउन उद्दत छन्, उनीहरु चाहन्छन् नेपालमा अराजकता फैलिरहोस् आफु त्यसको नाइके बनिरहूँ । अहिलेको जटील परिस्थितिमा राजनैतिक वृत्तचित्रमा थोरैमात्र विचलन आएमा राष्ट्रिय खतरा निम्त्याउने स्थिति रहन्छ, त्यसैले नेतृत्व वर्गले आफ्ना निहित स्वार्थ र आकांक्षालाई तिलाञ्जली दिई राष्ट्रिय स्वार्थमा आफ्नो इमान्दारीता प्रदर्शन गर्न सक्षम बनुन् । अहिलेको अवस्था भनेको नेपालीको शान्ति र संविधान निर्माण गर्ने चाहनाको निक्र्योल गर्ने समय हो । कसरी शान्ति कायम गरी जनताको संविधान निर्माण गर्ने भन्ने विषय हो । सबै जात, धर्म, वर्ण र लिङ्गको समष्टि नेपालको साझा फूलबारीको गरिमा विश्वसामु परिचित गराउनु हो । त्यसैले यस अवस्थामा समयको प्रवाहसँगै नेपालीको अस्तित्व कायम गर्ने दिशामा सबै लागि पर्नुपरेको छ । मानिस बलवान् हुँदैन, समय बलवान् हुन्छ । यो धु्रवसत्यलाई बंग्याउन खोजे परिस्थितिले अर्कै मोड लिन नसक्ला भन्न सकिन्न । पद र प्रतिष्ठालाई आफ्नो उद्देश्य ठान्नु, मलाई कसैले उछिन्यो र उ मभन्दा ठूलो भयो भन्नेजस्ता अति निम्न विचार प्रदर्शन गर्न नेतृत्वपंक्तिलाई सुहाउने विषय होइन ।

आजभोलि एकातिर सहमतिको कुरा भन्दै हिड्ने अर्कोतर्फ यो वा त्यो भन्दा घटिबढी हाम्रो मान्यता होइनजस्ता अभिव्यक्तिहरु पनि दिदै जाने परिस्थिति जन्माउन खोज्नु छोरा कुटी बुहारी तर्साउन खोजिएकोजस्तो देखिन्छ । अब जनता निकै बाठा भइसकेका छन्, कसैलाई गलाउँछु र आफ्नो स्वार्थपूर्ति गर्छु भनी दिवास्वप्न देख्नु उसको लागि दुर्भाग्य निम्त्याउनु ठहर्छ । तसर्थ सहमतीय कुरामा गणितीय खेलको पुनः राजनैतिक चरित्र प्रदर्शन गरिने खेलको शुरुवात हुन लाग्यो भने अब विडम्बना नै मान्नुपर्दछ । हाम्रा नेता जनअभिमतका हैनन् पद, पैसा र हैकमका पहरेदार बन्न जनता झुक्याउने खेलका चाटुकार हुन भन्न सकिने स्थिति रहन्छ । पार्टीका अमुक व्यक्तिलाई स्वीकारिने भनि एकले अर्कालाई निशाना बनाउँदै जाने, सहिदको सपना पटाक्ष हुने घडिमा यो वा त्यो भनी विभिन्न दलहरुबाट यो वा त्यो ठाउँमा राख्दा वातावरण बन्न सक्छ भनी बहुमत र अल्पमतको किनारा लगाउनु उचित हुन्छ र ? बन्द सधैँको लागि बन्द गरौँ भनि प्रतिबद्धता जाहेर पनि गर्दै जाने अर्कोतर्फ साँघुरो विचारभित्र प्रवेश गरी निर्णयमा ल्याप्चे पनि लगाउँदै जाने हो भने सहमतीय राजनीति स्वीकारेको देखिन सक्ला र ? तसर्थ कोही कसैको लचकतालाई उसको कमजोरी नठान्न हामी सबैलाई आग्रह गर्दछौँ । शान्ति र संविधानको जसअपजस त्यो वा यो पार्टीप्रति इंकित नगरी साझा दायित्व भनि ठानी वैमनस्यता जन्मने ठाउँ विशेषलाई केही समय थाँती राखी नेपालीको भाग्य निर्माण हुने नेपाली चाहनाको शान्ति र संविधान निर्माणमा सबै लागि पर्नु अहिलेको आवश्यकता हो ।

जति–जति समय नजिकिदैछ, त्यति–त्यति पार्टीको जिम्मेवारी पनि टड्कारो देखिदैछ । त्यसैले प्रायः पार्टीभित्र देखिएको अन्तरकलहले वर्तमानको राजनैतिक अन्योल निम्त्याउने खतरा देखिदैछ । पार्टीभित्र शान्ति र संविधानको विषयभन्दा विषयान्तर भई अन्य विषयलाई प्राथमिकीकरण दिन खोजिएको आभाष देखिदैछ । सबै के र कसरी शक्ति हत्याउने भनि दाउमा लागिरहेको देखिन्छ । यस्तो अवस्थामा सहमतीय डम्फु बजाएरमात्र हुँदैन, त्यसको लागि आफ्नो आदर्शलाई छताछुल्ल बनाएर अहम्वादी चिन्तन हैन, शान्ति र संविधान हाम्रो एजेण्डा भनि सबै लागि पर्नुपरेको छ । समय घर्किसकेको छ, अब पनि आज र भोलि भन्दै गम्भीर सोच गरेको भनी समयलाई अलमल्याउन खोज्नु आफैमा पछि पर्नु हो । त्यसैले यो र यस्तो विकराल रुप लिन्छ भनि कुर्लनुको साटो सबै जनप्रतिनिधिको एउटै साझा उद्देश्य बनाएर को तल को माथि कसका कुरा हावी, कसका कुरा कम भनि मूल्याङ्कन गरी टिकाटिप्पणी गर्नुभन्दा जनअभिमत दिनुपूर्व त्यसले पार्ने दुरगामी चिन्तनतर्फ लाग्न सबै दलका नेतृत्व वर्गमा हामी आह्वान गर्दछौँ । वर्तमान समय अप्ठ्यारो परिस्थितिलाई सजिलोमा परिणत गरी, कुर्सी दौडको चक्करभन्दा शान्ति र संविधान निर्माण गरी जननेता बनी सधैँको सबैको नेता बन्न हामी अग्रजलाई आह्वान गर्दछौँ । शान्ति र संविधान हाम्रो दायित्व हो भनि आफ्ना विचारहरु प्रवाह गरी भावी पुस्तालाई नयाँ दिशानिर्देश गगर्न अहिलेको आवश्यकता छ र जरुरी पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *