सहिदमार्ग, जेनेरेटर र ढिकपुरको माड

  
  प्रकाशित मितिः सोमवार, पुस २५, २०६८       | 152 Views   ||

-[हिरालाल केसी]

जनगणन्त्र रेडियो बजाउनका लागि हामीलाई विद्युतको कमी भएपछि नयाँ विकल्पको खोजी ग¥यौँ । रेडियो सञ्चालन गर्दा विद्युतीय सामग्रीहरु कर्डलेस मोबाइल, कर्डलेस बेस, स्याटेलाइट मोबाइल, तीन थान कम्प्युटर, चार्जर ब्याट्री प्रयोग गर्न थालेपछि हामीलाई विद्युतको कमी भयो । रेडियो कार्यालयले मलाई दाङ पुगेर जेनेरेटर ल्याउने जिम्मेवारी दियो । जाँदा–आउँदा दुई हप्ता लाग्ने भयो । म घोराही बजारमा पुगेर जेनेरेटर ल्याउनुपर्ने भयो । निर्देशकको निर्देशनअनुसार म लागेँ दाङतिर ।

२०६२ असारको पहिलो हप्ता थियो । वर्षातको समय वारिपारि कुहिरोले डमक्कै ढाकेको छ । मिरुल खोला सकिनै लाग्दा वारिपारि ठुल्ठुला पहरा र बीचमा साँघुरो भएर बगेको खोला आयो । त्यो साँघुरो ठाउँमा कमरेड असारे काकाले कम्मरसम्म आउने खोलाको पानीसँग संघर्ष गरिरहेको देख्दा अचम्म लाग्यो । कुन जिल्लाको, कुन ठाउँ र कुनाको मान्छे र यस्तो बुढ्यौली उमेरमा क्रान्तिको आवश्यकताले गर्दा रोल्पाको यो कहालीलाग्दो भिरसँगै खोला तर्दै हुनुहुन्थ्यो । मेरो यात्रा सिस्ने खोलाबाट घर्तीगाउँतिर अगाडि बढ्यो । बाटो विभिन्न छहरा छाङ्गा, भिरपहरा, खोलामा असारे भेल बाढी पहिरोका बीचमा थियो । शहीदमार्ग निर्माण गर्दा वर्षातमा खल्बलिएका पहराका ढुङ्गाहरु टाउकैमा बज्रिन्छन् कि जस्तो लाग्ने । कतै खेतमा असारे हिलोसँग रमाउँदै थिए रोल्पालीहरु । एवम् प्रकारले म घर्तीगाउँ बजार पुगेँ । घर्तीगाउँ जनसंघर्षका हिसाबले निकै नै चर्चित ठाउँ थियो । जनसेनाले बजारकै छेउमा रहेको इलाका प्रहरी कार्यालय कब्जा गरि दर्जनौँ हतियार प्राप्त गरेको थियो । म घर्तीगाउँमा कहिल्यै पुगेको थिइन । त्यो ठाउँ मेरो लागि नयाँ थियो । बजार पुगेर एउटा होटेलमा आराम गर्न थालेको थिएँ, अहो ! लालसलाम कमरेड भन्ने शब्द सुनेँ । उहाँ मगर मोर्चाका नेता बसन्त हुनुहुन्थ्यो । लाल सलाम साटासाटपछि भलाकुसारी भयो । म रेडियो बजाउनका लागि चाहिने जेनेरेटर ल्याउन घोराही जान लागेको र एक्लै हिडेको जानकारी दिएँ । बसन्त कमरेडसँग निकै रमाइला कुरा पनि भए । उहाँको सरल स्वभावबाट म प्रभावित भएँ । मैले ‘असारको महिना कमरेड असारे काका दुईखोलीमा खोला तर्दै गर्दा भेट हुनु र घर्तीठाउँमा बसन्त घर्तीसँग भेट हुनु कस्तो संयोग हो कमरेड’ भनिरहँदा उहाँ खित्का छोडेर हाँस्नुभयो । युद्धको बेला अध्ययन भ्रमणमा आउने स्वदेशी तथा विदेशी पत्रकार, मानव अधिकारकर्मीको घर्तीगाउँमा भीडभाड नै देख्न सकिन्थ्यो । नेपालको माओवादी जनयुद्ध र विकास हुँदै गएको जनसत्ताप्रति विशेष चासो रहन्थ्यो उनीहरुको ।

म खाना खाएर घर्तीगाउँमै रहेको जनादेश पत्रिकाको कार्यालयमा गएँ । युद्धकालमा रेडियोमात्र बजेको थिएन । आधारइलाकाबाटै जनादेश पत्रिका पनि प्रकाशित भइरहेको थियो । कम्प्युटर, छापाखाना सबै सामान गाउँमा राखेर हिरामणि दुःखी सम्पादक रहनुभएको पत्रिका निस्कीरहेको थियो । पत्रिका कार्यालयमा दुःखी सरसँग भेट भयो । कार्यालयमै आएको बेला एउटा कविता दिनुस् छापौँला भन्नुभयो । मैले एउटा कविता लेखेर दिएँ । हामी क्रान्तिकारी र युद्धपत्रकारको पीडा सामुहिक खालको हुने भएकाले लामो भलाकुसारी ग¥यौँ । ज्योती, रामु र कुशलसँग पनि कुराकानी भयो । कुशल र रामु निकै रमाइला मान्छे । गफ गर्दागर्दै दिन बितेको थाहै नहुने ।

पत्रिकामा काम गर्ने साथीहरुबाट बिदावारी भएर म लागें तिलाबजारतिर । तिलाको रौनक नै बेग्लै । धमाधम सहिदमार्ग निर्माण भइरहेको थियो । माओवादी नेता, कार्यकर्ता, जनसेना मिलिसिया, विभिन्न जनवर्गीय संगठन, विभिन्न जिल्लाबाट आएका सर्वसाधारण सबैले अभियानकै रुपमा सडक निर्माण गरिरहेका थिए । तिला बजारमा विदेशी पाहुना र पत्रकारहरुको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । केही दिनपछि तिलामा ठूलो कार्यक्रम आयोजना गरी बस ल्याएर सडकको उद्घाटन गर्ने तयारीका साथ निर्माणको काम युद्धस्तरमा भइरहेको थियो । काँधमा राइफल भिरेका जनसेना (जो देशको लागि रगत र पसिना खर्चिरहेका थिए) उनीहरुले त्यहाँ बन्दुकसँगै गैँटी बेल्चा उचालेर पहरा खोलिरहेका थिए । कठीन र असम्भवजस्तै लाग्ने सो काम उनीहरुले फत्ते गरिरहेका थिए । त्यो सबै देख्दा मेरो मनमा बेग्लै खालको उत्साह र हौसला पैदा भयो । बाटोमा हिड्दै गरेको यात्री भएपनि मलाई सो सहिदमार्गमा गैँटी चलाउन मन लाग्यो । केहीबेर माओवादी नेता र जनतासँगै सडक निर्माणमा सरिक भएँ । निकै गौरव लाग्यो र रमाइलो पनि । सडक निर्माणमा आउनुभएका सल्यानका सेतीराम वली ‘दिनेश’, टिका बुढाथोकी ‘झरना’, विश्वासलगायतका कमरेडहरुसँग पनि भेट भयो । त्यसपछि म लागेँ दहवनतिर ।

एकदिनको दहवन बसाइपछि दाङ जिल्लामा रहेको जोशिलो पोष्टमा गएँ । घोराही–तुलसीपुरबीचको पक्की सडक पार गर्नुपर्ने र सोही दिन ढिकपुर गाविस पुग्नुपर्ने थियो । सेना, प्रहरी र सुराकीको आँखा छल्दै दिउँसै हामीले दुधरास नजिकैबाट सडक पार गरेर सिधै दक्षिणतिर लाग्यौँ । केही मिनेटपछि हामी ढिकपुर पुग्यौँ । त्यसदिन ढिकपुरका साथीहरुले जनसत्ता घोषणा कार्यक्रम राख्नुभएको रहेछ । मलाई पनि त्यस कार्यक्रमम बोल्ने अवसर मिल्यो ।

ढिकपुर पुगेको भोलिपल्ट दाङको थारु समुदायलाई नजिकबाट चिन्ने मौका मिल्यो । युगौँदेखि उत्पीडित थारु समुदायको जनयुद्धमा आकर्षण बढ्दो छ भन्ने कुरा सुनेको मात्र थिएँ तर यसपालिको दाङ यात्राबाट मैले प्रत्यक्ष रुपमा देख्न र भोग्न पाएँ । स्थानीय साथीहरुले मलाई एउटा थारु बस्तीमा लगे । खानपानको व्यवस्था पनि त्यही गरेका रहेछन् । दुई दिनअघि घर्तीगाउँमा भेटिनुभएका जनादेशमा काम गर्ने कु्शल पनि आउनुभयो ।

दिउँसोको समय ! असार महिना भएपनि पानी नपरेकाले जताततै सुख्खा खडेरी परेको छ । उखरमाउलो गर्मी लागेको बेला थारु आमाबा, दाइभाई र दिदीबहिनीहरु घरभित्रै बसी झोलिलो र चिसो पदार्थ सेवन गर्दा रहेछन् । माटोको घैँटोबाट कटौरामा जाँडजस्तो देखिने झोलिलो चीज मेरो अगाडि राखिदिए । ‘मैले जाँड खान्न फिर्ता लिनुस्’ भन्दा त्यहाँ बसेका सबै हाँस्न थाले । हाँस्नुको कारण मैले सितिमिति बुझ्न सकिन । रोल्पा रुकुम बस्दा मगर समुदायको खाम भाषा बुझ्न गाह्रो, दाङ झर्दा थारु भाषा बुझ्न गाह्रो । चौधरी साथीहरुले आफ्नो भाषामा के–के भने अनि हाँसे, मलाई थाहै भएन । कमरेड कुशलले मलाई जाँड होइन गर्मी भएको बेला पिउने माड हो पिउनुस् भनेपछि मैले दुई हातले कटौरा उचालेर माड पिएँ । शितलताको अनुभव भयो । एकदिन एउटा गाउँ, अर्को दिन अर्को गाउँ गर्दै हामीले ढिकपुरका विभिन्न वडा र टोलहरु धायौँ । सुरक्षाको कारण र जनताको बीचमा पुग्नुपर्ने कारणले एकै ठाउँ बस्न सकिएन । त्यो एरियाका जिम्मेवार कमरेडहरु र कुशलले घोराहीमा राखिएको जेनेरेटर रोल्पा पठाउने पहल थाल्नुभयो । जेनेरेटरका लागि घोराही फोन गर्न म र कुशल नारायणपुर गएका थियौँ । बजारमै यसरी दिउँसै हिड्नुपरेको थियो संकटकालको बेला । व्यापक रुपमा शहरमात्रै होइन गाउँहरु समेत सेना प्रहरीको अप्रेशनले आक्रान्त थिए । घोराहीमा फोन गरेपछि त्यहाँका एक व्यापारीले तिलासम्म जिप रिजर्व गरी पठाइदिने सल्लाह भयो । म घोराही जानुनपर्ने भएपछि खुसी भएँ ।

सोही दिन साँझ खैरा बजारनजिकै साथीहरुले जनताको घरमा खानाको अर्डर गर्नुभएको रहेछ । साथीहरुले मलाई अलि मध्यम वर्गीय, शिक्षित र माओवादी समर्थकजस्तै लाग्ने एउटा घरमा खाना खानका लागि पठाउनुभयो । घरका सबैसँग नमस्कारपछि कुराकानी शुरु भयो । परिचय नहुँदै घरबेटी दिदीले तपाई हिरालाल केसी हो ? भनेपछि झसङ्ग भएँ । सही परिचय कही पनि नदिनु र आवाज पनि बदल्नु भन्ने रेडियोका साथीहरुको सुझाव सम्झिएँ । परिचय नदिदै उहाँले मलाई चिनेकोमा अचम्म लाग्यो । कसरी चिन्नुभयो भनेर मैले उहाँलाई सोधेँ । उहाँले ‘रोल्पाबाट बज्ने जनरेडियो सुन्ने गरेको र समाचार पढ्ने बेलाको आवाज र अहिले बोलेको आवाज ठ्याक्कै मिलेकोले चिनेकी हुँ’ भन्नुभयो । रेडियो बजेको सुन्दा अचम्म लागेर आउँछ, कसरी बजाउनुहुन्छ ? केही खतरा हुँदैन ? आदि कुराहरु मलाई सोध्नुभयो उहाँले । मैले ‘कसैले थाहा नपाउने ठाउँमा लुकेर रेडियो चलाउनुपर्छ खतरा मोलेर काम गर्नुपर्छ’ भन्ने जवाफ दिएँ । रेडियो सुनेको आधारमा परिचय नहुँदै चिन्न सकेकोमा र शहर बजारनजिक बसेर पनि त्यसरी बिना डर त्रास रेडियो सुनेकोमा मैले उहाँलगायत स–परिवारलाई धन्यवाद दिएँ । खानपिन खाइवरी हामी त्यस घरबाट बिदावारी भयौँ र अर्को गाउँमा गएर सुत्यौँ ।

भोलिपल्ट सडक पार गरेर जोशिलो पोष्ट हुँदै तिला जाने खबर आयो । बिहानको खाना खाएर सबै कमरेडहरुसँग बिदावारी भएर एक स्थानीय साथीको सहयोगमा ढिकपुरबाट रोल्पा प्रस्थान गरियो । संकटकालमा यसरी बजार र रोडलाइनमा दिउँसै मोटरसाइकल चढेर यात्रा गर्दा वनको बाघले नखाएपनि मनको बाघले खालाजस्तो भइरहेको थियो । मोटरसाइकलबाट ओर्लिएर व्यापारी मित्रलाई धन्यवाद दिई एक्लै–एक्लै जोशिलो पोष्टतिर लागेँ । त्यहाँ एक रातको बसाईपछि लागियो तिला बजारतिर । तिलामा पुग्दा घोराहीबाट जिपमा रिजर्व गरी पठाएको जेनेरेटर सचिनलगायतका साथीहरुले एउटा घरमा राखिसक्नुभएको रहेछ ।

तिलामा कुनै ठूलो कार्यक्रमको तयारीझैँ लाग्थ्यो । निकै रमझम र चहलपहल थियो । माओवादीका नेता, कार्यकर्ता विदेशी शुभचिन्तक, बौद्धिक वर्ग, विभिन्न जिल्लाका किसान, महिला, मजदूर सहिदमार्गमा काम गर्दै गरेका जनसमुदायको उपस्थितिले तिला बजार भरिभराउ थियो । स्वदेशी र विदेशी पत्रकारहरुको पनि ठूलै जमघट थियो । नवनिर्मित सहिदमार्गको दहवन–तिला सडकखण्डमा बस चलाएर उद्घाटन गर्ने कार्यक्रमको तयारी हुँदै थियो । उद्घाटनका लागि मगराँत स्वायत्त जनसरकारका प्रमुख सन्तोष बुढामगर लगायतका माओवादी नेताहरु सहभागी हुनुहुन्थ्यो । सहिदमार्ग उदघाटन कार्यक्रमका लागि हाम्रो रेडियोबाट निर्देशक सचिन, सम्वाददाताहरु अम्बिका र मनोज पनि तिलामै आउनुभएको थियो । तिला बजारले मानौँ युगौँपछि आज उन्मुक्ति पाएझैँ थियो ।

२०६२ असार १० गते दिउँसो दुई बजेतिर तिलामा एकैचोटी तीनवटा बस हरण बजाउँदै आएपछि जनता र माओवादी कार्यकर्ता खुसीले उफ्रेका थिए । बस उद्घाटन कार्यक्रममा निकै उल्लास थियो । हुन पनि सहिदमार्ग ठूलो राजनीतिक लडाई थियो । त्यत्रो कार्यक्रम तिलामा हुँदा पुरानो सत्ताका मतियारहरु सदरमुकाम लिवाङमै केन्द्रीत भएका थिए । कार्यक्रमका मुख्य अतिथि जनसरकार प्रमुख सन्तोष बुढामगरले रिबन काटेर तिलामा सडकको उद्घाटन गर्नुभयो । उहाँले रिबन काट्दै गर्दा कार्यक्रममा सहभागी हजारौँको तालीले तिला बजार गुञ्जायमान भयो । पत्रकार भोजराज भाट, रुद्र खड्का, नरेन्द्र केसी, खेम बुढा, उजीर मगरलगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय पत्रकारहरुले सो कार्यक्रमको रिपोर्टिङ गरे । सहिदमार्गले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पायो ।

कार्यक्रम सकिएको भोलिपल्ट आफ्नो कार्यफिल्डतिर लाग्नुपर्ने भयो । स्थानीय पार्टीको सहयोगमा १५ जना युवाहरुलाई परिचालन गरी जेनेरेटर घर्तीगाउँ पु¥याइयो । एवम् प्रकारले एकहप्ताको समय लगाएर ठाउँ–ठाउँमा जनपरिचालन गर्दै माओवादीको सम्पर्क पोष्ट हुँदै जेनेरेटर रेडियो स्टेशनसम्म पु¥याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *