साँघुरिएको आकाश

  
  प्रकाशित मितिः सोमवार, पुस २५, २०६८       | 93 Views   ||

-[नविन लोचन मगर]

धुम्म कुहिरो छ
उकुस–मुकुस छु म
देखिन्न आकाश
छुद्र बादलहरु
घरि अंगालोमा
घरि भंगालोमा
फ्याँक्छु, फ्याँकिन्छु
म लाजमर्दो छु
र, नतमष्तक पनि
आमा बोलाउँदैछिन्
नजा छोरा त्यहाँ
मृत्यु दगुर्दैछ अघि–अघि ।

धमिलो देखिन्छ बाटो
गुलेली छ दाईको हातमा
थोरै छन् मटेङ्ग्रा
गुलेली परिक्षामा त
अङ्क थोरै आउँथ्यो उनको
बादल हटोस् वा नहटोस्
तर अरुको काँधमा टेकी
दाई भन्छन्– गुलेली हानौँ
यो कुहिरो छिट्टै हट्छ

यता सेतो पहिरन छ भाईको
हातमा एक थान परेवा
चहल पहलमा छन्
सेलाएका चिसा रातहरु
भाई भन्छन् परेवा छोडौँ
धपाउँछ त्यो कुहिरोलाई
केही देख्दैनन् यी दाजुभाईहरु
तर, म देखिरहेछु– धमिलो बाटो
डाँडापारि के छ थाहा छैन
त्यो यात्रामा
कसैको नजर परेको छैन
पाइला छैनन् त्यहाँ प्राणीका
मात्र कस्सिएका छौँ हामी
निकै कालो छ– केही उज्यालो पनि
त्यसैले,
त्यहाँ परेवा र गुलेली दुवैको खाँचो छ
एक यात्रामा
सबै मान्छेका एकमुष्ट कदम चले
अवश्य खुल्छ
यो कुहिरोले साँघुरिएको आकाश ।

१८ मंसिर, २०६८ दहवन, रोल्पा
प्रकाशोन्मुख कृति ‘आगोको भावुक यात्रा’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *