माओवादी बैठकबाट अपेक्षा

  
  प्रकाशित मितिः सोमवार, पुस २५, २०६८       | 116 Views   ||

दुई साता अघिदेखि माओवादी केन्द्रीय समितिको बैठक जारी छ । माओवादी विभाजित हुन्छ या एकताबद्ध भएर अगाडि बढ्छ, अहिले सबैको मनले यही प्रश्नको उत्तर खोजिरहेको छ । देशको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी विभाजन भयो भने के होला ? एकताबद्ध भयो भने पार्टीभित्रका समस्याहरुको हल कसरी गर्ला ? यी सबै जिज्ञासाहरु मेट्न जनता, कार्यकर्ता, राष्ट्रदेखि अन्तर्राष्ट्रिय शक्तिसम्मको ध्यान यो बैठकमा केन्द्रित हुन पुगेको छ ।

पार्टीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगिरहेका बेला बसिरहेको यो केन्द्रीय समितिको बैठक सकारात्मक निष्कर्षसहित पार्टी एकताबद्ध भएर आउनेमा जनता र कार्यकर्तापंक्तिको ठूलो अपेक्षा रहेको छ । बैठक अत्यन्त पेचिलो भएको भएपनि त्यसले पार्टीलाई नयाँ उँचाईको वैज्ञानिक एकतामा लैजाने संकेत देखिनुले पार्टीपंक्तिलाई आशावादी बनाउदै लगेको छ भने पार्टी विभाजनमा पुग्न लागेको भनेर खुसी मनाउनेहरुलाई निरास बनाउँदै लगेको छ ।

माओवादी केन्द्रीय समिति बैठक जारी नै छ । बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणको फरक–फरक राजनीतिक प्रस्तावहरुमा खुलेर छलफल गरेका छन् । बैठकमा चर्काचर्कीको कुरा मात्र भएका छैनन् कि क्रान्तिको बाँकी कार्यभारलाई कसरी पूरा गर्ने भन्ने विज्ञानको खोज र सत्यको अन्वेषण गर्ने कामहरु पनि भएका छन् । बैठकमा चलेका सैद्धान्तिक र राजनीतिक छलफल र बहसलाई सकारात्मक रुपमा लिनुपर्छ । सही विधिको अन्तरसंघर्षबाट मात्र कम्युनिष्ट पार्टीहरु सही ढंगले अगाडि बढ्न सक्छन् । अहिले माओवादीभित्रको बहस कार्यदिशासँग सम्बन्धित बहस नै हो । तर, यो बहस कार्यशैली, अविश्वास र पद्धतिसँग जोडिएर अलि बढी टक्राइरहेको र बाहिरसम्म छताछुल्ल भएको छ । यसलाई विधिसम्मत ढंगले पार्टीभित्रबाट गरिने छलफलबाट नेतृत्वलाई रुपान्तरण मात्र होइन, कार्यदिशाको प्रष्ट मार्गसमेत पहिल्याउन सकिन्छ । अवश्य पनि माओवादीले उठाएको नयाँ जनवादी राज्यसत्ताको स्थापना अहिले भएको छैन । तर, उसको शान्ति र संविधानको कार्यनीतिक नाराअन्तर्गत उठाइएका केही विषयहरुले सार्थकता भने पाएका छन् । तर, त्यसलाई संस्थागत गरेर जनपक्षीय संविधान बनाउन माओवादीले जुन संघर्ष गर्नुपथ्र्यो त्यो पुगिराखेको छैन । माओवादीभित्र यतिबेला समग्र नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको अबको कार्यदिशासँग सम्बन्धित रहेर बहस हुनु स्वाभाविक छ किनभने नेपाली क्रान्तिलाई पूरा गर्ने कार्यभारसहित त्यसको मार्गचित्र माओवादीले मात्र तय गर्न सक्छ । क्रान्तिलाई बीचमा ल्याएर नेताहरु झगडा मात्र गरे भने इतिहासले उनीहरुलाई छुट दिनेवाला छैन । नयाँ परिस्थितिमा नयाँ कार्यभारलाई पकड्दै क्रान्तिलाई अगाडि बढाउने बाटो खोजिनु पर्छ । पार्टीमा नेताहरुले कार्यकर्ता र जनतालाई ढाँट, छलछाम र षड्यन्त्र गरेर होइन कि सत्य र इमान्दारीताको पाठ सिकाउनुपर्छ र सोहीअनुसार नेताहरुले कुरा र कामको सन्तुलन मिलाउनु पर्छ । जसरी जनयुद्धमा सबै नेताहरुको नीति र व्यवहारप्रति सबैको अटुट विश्वास गाँसिएको थियो । अहिले नेताहरुको मूल्य र आदर्शमाथि प्रश्नचिन्ह लागेको छ । आज पनि नेपाली क्रान्तिको प्रमुख खतरा भनेको दक्षिणपन्थी संशोधनवाद नै हो । यसका विरुद्धमा नेताहरु एकजुट भएर लड्ने र नयाँ परिस्थितिअनुसार क्रान्तिलाई अगाडि बढाउने कुरामा पार्टीभित्र छलफल र बहस चल्नुलाई आवश्यक ठान्नुपर्छ । किनकि कम्युनिष्ट पार्टीको आत्मा र जीवन भनेको नै अन्तरसंघर्ष हो । तर त्यो अन्तरसंघर्ष विधिसम्मत र मैत्रीपूर्ण हुन भने आवश्यक छ ।

पार्टी फुटको वकालत कसैले गर्न चाहदैन । अहिले समग्र पार्टीपंक्तिको चिन्ता क्रान्तिको बाँकी कार्यभारलाई कसरी पूरा गर्ने र पार्टीको छविलाई कसरी क्रान्तिकारी बनाइराख्ने भन्नेमा छ । पार्टी एकता अनिवार्य छ र यो बैठकको निष्कर्ष पनि त्यही रहेको देखिन्छ । तर, त्यसका साथै पार्टी रुपान्तरण पनि अनिवार्य छ । रुपान्तरण नभएर पार्टी एक हुनुको अर्थ त्यति हुने छैन । किनभने माओवादीलाई नयाँ ढंगको सुदृढ पार्टी बनाउनु पर्नेछ । जनता, सहिद परिवार र लाखौँ कार्यकर्ताको पसिना र रगतबाट निमार्ण गरिएको यो पार्टीको जिम्मेवारी पनि ठूलो रहेको छ । यसर्थ अहिले आएका दुई वटा राजनीतिक प्रस्तावहरुलाई एक बनाएर पार्टीको दस्तावेजलाई पूर्ण बनाउनुका साथै पार्टीलाई जीवित र उर्जाशील बनाउन आवश्यक छ । यतिबेला पार्टीका हरेक संरचनाहरु भत्किएका छन्, बिग्रिएका छन् र पार्टीमा जीवनको लगानी गरेका पुराना पंक्तिका अधिकांश कार्यकर्ता अलपत्र परिरहेका छन् । पार्टी नेतृत्वपंक्ति यो कुराबाट अनभिज्ञ छैन । तसर्थ अहिले पार्टी विभाजन होइन, रुपान्तरण गरिएको नयाँ पार्टी बनाउनुको विकल्प छैन । यसका लागि पहिला कार्यदिशा ठोस गरिनुपर्छ र दोस्रोमा पार्टीलाई व्यवस्थित गरी नयाँ बनाउने कुरामा प्रमुख नेतृत्वहरुबाटै रुपान्तरणको अभियान थालिनुपर्छ र इतिहासमा माओवादीलाई सबैभन्दा शक्तिशाली पार्टीमा उभ्याउनु पर्छ । यो माओवादी नेताहरुको यतिबेलाको ठूलो चुनौती हो । यो चुनौतीलाई सकारात्मक ढंगले हल गरेर मात्र शान्ति, संविधानसहितका क्रान्तिका आगामी कार्यभारहरुलाई पूरा गर्न सकिन्छ । यो बैठक त्यो कार्यभारलाई पूरा गर्ने इतिहासको सबैभन्दा बलियो पार्टी एकता गर्नमा सार्थक, जनताको सारथी पार्टी बन्न सफल होस् नेताहरु त्यसका अगुवा बनून् यही अपेक्षा हामी सबैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *