माडीचौरमा हुँदैछ बृहत रोल्पा महोत्सव तथा कृषि प्रदर्शनी

  
  प्रकाशित मितिः बिहिबार, पुस २८, २०६८       | 290 Views   ||

जनउभार समाचारदाता
दाङ, २८ पुस । ‘रोल्पालीको गौरव– परिश्रमी, त्याग, तपस्या र बलिदान, रोल्पाको पहिचान– कृषि, जडिबुटी, खनिज, जलस्रोत र पर्यटन’ भन्ने मूल नाराका साथ यही माघ १ गतेदेखि ४ गतेसम्म रोल्पाको माडीचौरमा बृहत रोल्पा महोत्सव तथा कृषि प्रदर्शनी हुने भएको छ । बुधबार दाङको घोराहीमा पत्रकार सम्मेलन गर्दै महोत्सव मूल आयोजक समितिले जिल्लाको कृषिजन्य उत्पादनको पहिचान र प्रवद्र्धन तथा जिल्लाको विकास निर्माणमा राज्यको ध्यानाकर्षण गराउन रोल्पा महोत्सव तथा कृषि प्रदर्शनीको आयोजना गरिएको जनाएको छ ।

महोत्सवमा जिल्लाका ५१ गाविसका नमूना कृषि उत्पादनलाई ५१ वटा स्टल राखेर प्रचार प्रसार गर्नुका साथै जिल्लाका ऐतिहासिक मठमन्दिर, पर्यटकीय स्थलहरु र साँस्कृतिक सम्पदाहरुको तस्बीर प्रदर्शनी, साँस्कृतिक पहिचान झल्किने झाँकीलगायतको आकर्षण रहेको महोत्सव मूल आयोजक समितिका संयोजक दिपेन्द्र पुनले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै संयोजक पुनले महोत्सवमा वहालवाला तथा पूर्वमन्त्रीहरु, पञ्चायतकालदेखि अहिलेसम्मका जिल्लाका हस्तीहरुलाई बोलाएर समग्र रोल्पाको विकासका लागि प्रतिबद्ध बनाउन पनि महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा प्रत्येक गाविसको नमूना कृषि उत्पादनलाई छुट्टाछुट्टै स्टल बनाउन लागिएको भन्दै संयोजक पुनले भन्नुभयो– ‘प्रत्येक गाविसको छुट्टाछुट्टै स्टल राखेर कुन गाविसको कुन उत्पादन नमूना हो भन्ने पहिचान गरेर त्यसलाई थप प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले यसबाट कृषि क्षेत्रलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा लिएका छौँ ।’

अहिले प्रत्येक गाविसबाट तीनदेखि पाँचसय युवाहरु विदेश जाने गरेको उल्लेख गर्दै उहाँले स्वदेश फर्केपछि उनीहरुलाई कसरी कृषि पेशामा आवद्ध बनाउन सकिन्छ भन्ने सम्भाव्यता पहिचान गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । त्यस्तै विगत दश वर्षे जनयुद्धको क्रममा रोल्पाले अग्रणी भूमिका निर्वाह गरे पनि अहिलेसम्म रोल्पाको विकास राज्यको प्राथमिकतामा नपरेकाले राज्यको ध्यानाकर्षण गराउन पनि महोत्सव आयोजना गरिएको उहाँको भनाई थियो । विकासमा रोल्पालाई उपेक्षा गरिएको भन्दै पुनले सरकारले बजेट भाषणमार्फत् सहिदमार्ग घोराही–घर्तीगाउँ सडकखण्ड कालोपत्रे गर्ने भने पनि बजेट नछुट्याएको दुःख व्यक्त गर्नुभयो ।

१५ देखि २० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवबाट रकम बचेमा रोल्पाका द्वन्द्वपीडित बालबालिकाको अध्ययनका लागि विद्यालय स्थापना गर्ने महोत्सवको उद्देश्य रहेको पुनले बताउनुभयो । त्यसका लागि देशविदेशमा रहेका शुभचिन्तक र स्टलहरुबाट सहयोग लिइने उहाँको भनाई छ ।

महोत्सव मूल आयोजक समितिका सदस्य मानबहादुर बुढाका अनुसार कृषि उत्पादनसँगै महोत्सवमा जिल्लाका सहकारी संस्था, स्थानीय र राष्ट्रियस्तरका बैंकहरुले पनि स्टल राख्नेछन् भने युवा स्वरोजगार कार्यक्रम, धितोपत्र बोर्डलगायतका चेतनामूलक स्टल पनि रहनेछन् । त्यस्तै जिल्लाका ५१ वटै गाविसका ऐतिहासिक, मठमन्दिरका तस्वीर, साँस्कृतिक पहिचान झल्किने झाँकी, खनिज र जडीबुटी, जलस्रोतका पहिचानको प्रचारप्रसार गरिनेछ भने खेलकूद र साँस्कृतिक कार्यक्रम पनि राखिएको बुढाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विभिन्न सहकारी संस्था, क्लवलगायतका १० वटा संस्थाको संयुक्त आयोजनामा हुने महोत्सव माघ १ देखि ४ गतेसम्म चल्नेछ । महोत्सव उद्घाटन पूर्वप्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने संयोजक पुनले जानकारी दिनुभयो । महोत्सव उद्घाटनमा पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, पर्यटन तथा नागरिक उड्यनमन्त्री लोकन्द्र विष्ट लगायत जिल्लास्थित बहालवाला तथा भूतपूर्व जनप्रतिनिधिहरु सहभागी हुने महोत्सव मूल आयोजक समितिका संयोजक दिपेन्द्र पुनले बताउनुभयो । महोत्सव आयोजनाको सन्दर्भमा केही असन्तुष्टि देखिएपनि सबैलाई मिलाएर लैजाने संयोजक पुनको भनाई थियो ।

दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मूल समारोह समितिका संयोजक दिपेन्द्र पुन ।
जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पाको थवाङ
रोल्पाको परिचित जलजला पहाड ।
रोल्पाको परिचित जलजला पहाडबाट देखिएको रुकुमको सिस्ने हिमाल  तस्वीरहरु : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *