-[भीम कुमाखी] विचित्र छ यो दुनियाँ अमूर्त यो परिवेशमा कोही हाँसिरहेछन्/कोही रोइरहेछन् मझधारमा अल्झिरहेछन् कयौँ अभियात्रीहरु समयको बेग्लै अवस्थामा अलपत्र मरिरहेछन् अस्तित्व खोज्ने जिन्दगीहरु । अस्तित्वविहीन हरपलहरु चपरीमुनिका मूर्दा हुन् संस्कारको अन्तिम चितामा जब अन्त्य हुन्छ अस्तित्व सत्यतामा बाँच्न छोडेर केवल अंशबण्डामा अवैध मुकुण्डो पहिरिएर आफ्नै स्वार्थको डङ्का पिट्दै हिडिरहेछन् अस्तित्व खोज्ने जिन्दगीहरु । वर्गीय पक्षधरता गोजीमा पट्याएर सर्वहारा अधिकार बन्द पिजडामा कैद गर्ने यथार्थताहीन तर्क गरेर केवल स्वार्थको बलेसी चुहाउने आशाको क्षितिज उघार्न आँट र साहस नभएकाहरु एकोहोरिएर पाइला चालिरहेछन् र, आफ्नै मात्र डम्फु बजाइरहेछन् अस्तित्व खोज्ने जिन्दगीहरु । युग बुझ्नुमा छ अस्तित्व दुनियाँ बदल्नुमा छ जिन्दगी संसार जित्नुमा छ अस्तित्व सही बाटो हिड्नुमा छ जिन्दगी जिन्दगी अस्तित्वमा बाँच्छ र, अस्तित्व जिन्दगीमा वास्तविकताका पारखी हुन् यी सत्यको मानहानी गर्ने कुलङ्गारहरुको प्राण होइनन् अस्तित्व र जिन्दगी ।
२०६८ पुस २१, ललितपुर