हाम्रो एकताले अवसरवादी, प्रतिक्रियावादी र संसदवादीहरुमा चिन्ता थपिदिएको छ

  
  प्रकाशित मितिः मङ्लबार, माघ १७, २०६८       | 108 Views   ||

[मोहन वैद्य ‘किरण’ (वरिष्ठ उपाध्यक्ष), एकीकृत नेकपा (माओवादी)

पार्टी केन्द्रको लामो बैठकले खासमा के निर्णय ग¥यो संक्षिप्तमा बताइदिनुस् न ?

खासगरी केन्द्रीय समितिको बैठकमा दुइओटा राजनीतिक प्रस्ताव प्रस्तुत भएकोमा ती दुवै प्रस्तावलाई तल्लो तहसम्म लैजाने भन्ने एउटा निर्णय भएको छ । अर्को, दुवै प्रस्ताव यथास्थितिमा रहेको अवस्थामा एउटा साझा प्रस्ताव बनाउने भनेर साझा प्रस्ताव पास गरिएको छ । त्यो साझा प्रस्तावलाई दृढतार्पूवक कार्यान्वयन गरेर जाने भन्ने कुरा गरिएको छ । यस सन्दर्भमा विधिगत रुपमा केही कुराहरु थप गरिएको छ । अहिलेको केन्द्रीय समितिको बैठक एउटा गम्भीर प्रकारको दुइलाइन संघर्षका बीचबाट अगाडि बढ्यो र त्यो अन्ततः एकताबद्ध रुपमा एउटा निष्कर्षमा पुगेको छ ।

तपाईहरुले जनपरिचालनका कार्यक्रम गर्र्ने पार्टी निर्णय गर्नुभएको छ, जनपरिचालन गर्दा सडक आन्दोलनलाई कसरी संयोजन गर्ने सोचाइमा हुनुहुन्छ नि ?

हामीले केन्द्रीय समितिमा जनपरिचालन गर्ने निर्णय लिइसकेका छौँ । सेना समायोजन, जनसंविधान निर्माण र सम्बन्धित विषयका साथसाथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाका जल्दाबल्दा समस्याहरुलाई पनि हामीले उठाउँछौं । अर्को कुरा राष्ट्रिय स्वाधीनताको रक्षा, असमान सन्धि–सम्झौताहरुको खारेजी, सीमा अतिक्रमण, प्राकृतिक स्रोतसाधनहरुमाथि हुँदै आएको हस्तक्षेपहरुका विरुद्ध पनि परिचालन गर्ने काम गर्छौँ ।

यसका साथसाथै अन्य विषयहरु पनि छन् । सेनामा घाइते अपाङ्गहरुको निम्ति विशेष व्यवस्था हुनुप¥यो, बहिर्गमनमा परेकाहरुको निमित्त विशेष व्यवस्था हुनुप¥यो, उनीहरुले उठाएका समस्याहरुको समाधान गर्नुप¥यो । वाइसिएलमा जनमुक्ति सेनाबाट आएका साथीहरुको समस्याहरुलाई पनि समाधान गर्दै जानुप¥यो । यी कुराहरुलाई पनि हामीले जोडदाररुपमा उठाउने भनेर बुँदागत रुपमा निर्णय लिएका छौँ । त्यस्तै, माओवादीमाथि जनयुद्धकालमा लगाइएका मुद्दाहरु फिर्ता गर्ने भनेर उहिल्यै भनेपनि कार्यान्वयन भएको छैन । यसका लागि पनि जनपरिचालन गर्नुपर्र्ने हुन्छ ।
यस्तै कार्यकर्ता परिचालन, उत्पादन सहकारी लगायतका विविध विषयहरु छन्, त्यसलाई लिएर हामीले जनसंघर्ष र जनपरिचालनको कार्यक्रम प्रभावकारी ढंगले लैजान्छौँ । यसको ठोस कार्यक्रम के बनाउने भन्ने विषयमा कार्यालयमा रुपरेखा तयार पार्छौँ, स्थायी समितिको बैठक बसेर पूर्णता दिन्छौँ र बाहिर ल्याउँछौँ ।

बैठकले लिएका निर्णयको अर्थ र महत्वलाई कसरी अभिव्यक्त गर्नुहुन्छ ?

केन्द्रीय समितिले लिएका निर्णयको महत्वलाई हेर्दा हामीले मूलतः दुइओटा कुरामा ध्यान दिन जरुरी हुन्छ । पहिलो दुइलाइन संघर्ष बीचबाट पार्टी एकताबद्ध भएर अगाडि बढ्यो । दोस्रो, पार्टीले मूलतः एउटा सही र क्रान्तिकारी निर्णय लिन समर्थ रह्यो । यसको अर्थ र महत्वलाई यी दुइओटा मूलभूत विषयमा अभिव्यक्त गर्न सकिन्छ जस्तो लाग्छ ।

पार्टीभित्र तपाईहरु दुइ अलग विचार समूहबीच भएको एकताको आधार के हो ?

एकताको आधार भनेको एउटा सैद्धान्तिक वैचारिक राजनीतिक कुराहरु पनि छ । अब कसरी अगाडि बढ्ने ? जस्तो सैद्धान्तिक, राजनीतिक कुराहरुमा समान समझदारी भएका छन् । कार्यनीतिको सवालको कुरा गर्दा यसमा दुइओटा विषय छन् । एउटा मूल राजनीतिक कार्यनीति जनताको सङ्घीय गणतन्त्रको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न छ ।

अर्को, संविधान निर्माण र शान्ति प्रक्रियाको विषय छ । अब यसलाई कसरी लिने ? हामीले शान्ति र संविधानको विषयमा हाम्रो मूल कार्यनीति जे हो, त्यसका विषयमा पनि सही निर्णय लिएका छौँ । यसको अर्थ भनेको, हामी शान्ति र संविधान चाहन्छौँ । कस्तो शान्तिभन्दा सम्मानजनक सेना समायोजन गरेर जाने भन्ने कुरा हो । यद्यपि सेना समायोजनसँग सम्बन्धित कुराहरुमा कैयौँ गल्ती, कमीकमजोरीहरु भएका छन् । त्यसबारेमा हामीले आफ्ना भिन्न मतहरु दर्ज पनि गर्दै आइरहेका छौँ । यो कुरा प्रष्ट नै छ, तैपनि यसलाई कति सच्याउन सकिन्छ भन्ने बारेमा मेहनत गरेर जानुपर्छ भन्ने एउटा समझदारी भएको छ । खासगरी संविधान निर्माण कसरी गर्ने भन्दा एउटा लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनुपर्छ भन्ने कुराहरु आइरहेको छ ।

हाम्रो बैठकमा गम्भीर छलफल हुँदै गइसकेपछि हामीले भन्दै पनि आइरहेका छौँ, सामन्तवाद–साम्राज्यवादीविरोधी सारतत्व भएको जनताको सङ्घीय गणतन्त्रमा आधारित संविधान बनाउनुपर्छ भनेर हाम्रो पार्टीले आधिकारिक निर्णय लिएको छ । त्यहीअनुसार जाने भन्ने प्रस्तावमा प्रष्टरुपमा उल्लेख गरियो । हाम्रो त्यसप्रकारको दृष्टिकोणप्रति पूर्ण प्रतिबद्धता जाहेर गरियो । यदि हामीले शान्ति प्रक्रियालाई अथवा सेना समायोजनको प्रक्रियालाई सम्मानजनक ढंगले अगाडि बढाउन प्रयास गर्दागर्दै, हामीले जनताको सङ्घीय गणतन्त्रमा आधारित सामन्तवाद–साम्राज्यवादविरोधी सारतत्व भएको संविधान निर्माणमा जोड दिदादिदै त्यसखालका कामहरु हुन सकेनन् भने एउटा आन्दोलनमा जानुपर्ने हुन्छ । त्यो अवस्थामा एउटा सशक्त आन्दोलन वा विद्रोहमा जाने भनेर हामीले मौखिक मात्र होइन, लिखितरुपमै प्रतिबद्धता जाहेर गरेका हौँ ।

तर, कतिपयले पार्टीभित्र तपाइहरुबीचको एकतालाई माओवादीइतर संसदवादी दलहरुको धु्रवीकरणको कारण बनेको बाध्यकारी गठबन्धनको रुपमा समेत चित्रित गरेका छन नि ? के भन्नुहुन्छ ?

भन्न त मान्छेहरुले धेरै कुरा भन्छन् । मूल कुरा यो हाम्रो स्वीकृत नीति हो । जनताको संघीय गणतन्त्रमा आधारित नयाँ संविधान बनाउने र त्यो बनाउन नसकिएको खण्डमा जनविद्रोहमा जाने भन्ने कुरा हाम्रो स्वीकृत मान्यता हो । यो प्रक्रियामा कतिपय कमीकमजोरी भएका छन्, वार्ता सम्झौताहरुमा हामीले ती कमीकमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने कुरा हो । त्यसकारणले यो हाम्रो बाध्यता होइन, यो हाम्रो आवश्यकता हो । हामीले जुन निर्णयहरु गर्दै आइरहेका छौँ, ती निर्णयहरुको कार्यान्वयनतिर जाने प्रतिबद्धता जाहेर गरिएको निर्णय हो ।

त्यसो हो भने पार्टीका घोषित नीतिविपरित संविधानसभाको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा लिइएका निर्णयहरु के अब उल्टिन्छन् त ?

विभिन्न विषयहरुमा विवाद भएर छलफल भएका छन्, ती विषयहरुलाई फेरि सूत्रबद्ध गरेर केन्द्रीय कार्यालयमा पनि हामीले प्रस्तुत गर्दै आइरहेका छौं । यी विषयहरुलाई एकातिरबाट हामीले समीक्षा गर्दै जान्छौँ, अर्कातिर अब कसरी अगाडि बढेर जाने भन्ने हो । वार्ताको प्रक्रियामा, सेना समायोजन सम्बन्धी विषय संविधान र सरकारका विषयमा पनि हामीले सामूहिकरुपमा निर्णय लिएर अगाडि बढ्छौं । यसरी जाँदा हाम्रा कमीकमजोरीलाई पनि सच्चाउँदै अगाडि बढ्ने कुरा हुन्छ ।

पार्टीभित्र तपाइहरुको एकतादेखि संसदवादी दलहरु सशंकित देखिएका छन् । यो अवस्थामा संसदवादी पार्टीहरुका बीचमा भइरहेको धुव्रीकरण र माओवादीमा भएको एकताले के परिणाम दिने ठान्नुभएको छ ?

प्रतिक्रियावादीहरु र संसदवादीहरुले चाहेको माओवादी पार्टी फुटोस् भन्ने हो । हामी एकताबद्ध भएर क्रान्तिकारी नीति कार्यक्रम पास गरेर अगाडि बढेको हेर्दा उनीहरुले अपेक्षा गरेअनुसार नदेख्दा चिन्तित छन् । हामीले अवसरवादी र प्रतिक्रियावादीहरुलाई खुसी हुन दिने कुरा भएन । अर्का कुरा एकताको लागि एकता भनेर पनि जाने कुरा हुँदैन । देशको निम्ति, जनताको निम्ति, क्रान्तिको निम्ति र नयाँ संविधान बनाउँदै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अगाडि बढ्ने उद्देश्यले हामीले एकता गरेका छौँ । हाम्रो एकताले अवसरवादी, प्रतिक्रियावादी र संसदवादीहरुमा चिन्ता थपिदिएको छ । यसलाई हामीले स्वाभाविकरुपमा लिएका छौँ ।

पार्टीभित्रको अन्तरसंघर्षलाई हल गर्ने विषयमा विगतमा तय गरिएको पाँच बुँदे विधिमा फेरि केन्द्रीय समितिको बैठकबाट केही विधिहरुको विकास गर्नुभएको हो ?

विगतका पाँच बुँदे विधिका विषयमा त स्पष्ट नै छ । अहिले हामीले कतिपय कुराहरु थप गरेका छौं । पहिलो, हरेक कुराको निर्णय गर्ने प्रक्रियामा सामूहिक आधारमा होस् एक्लै कसैले पनि कुनै कुरा गर्न नपाओस भनेर सामूहिक निर्णयलाई बढी जोड दिएका छौँ ।

दोस्रो कुरा, यदि सामूहिक निर्णय हुन सकेन भने के गर्ने भन्दा सहमतिको आधार तय गरेर अगाडि जाने भनेर ‘सहमति’लाई प्राथमिकता दिएका छौं । अल्पमत र बहुमतको प्रणाली जहाँसुकै लागू हुन्छ तर हामीले यो जटिल र संक्रमणकालीन अवस्थामा अल्पमत र बहुमतबाट नजाऔं । यसले पार्टीलाई एकताबद्ध बनाउने कुरामा नोक्सानी नपु¥याओस भनेर अहिले नयाँ विधी खोजौं भनेर सहमतीय प्रणालीको नयाँ विधि खोजेका हौं । सायद यो विधिको विकास हो जस्तो लाग्छ । किनभने हामीले छलफल, बहस गर्न, सामूहिकरुपले निर्णय गर्न यदि सामूहिक रुपमा निर्णय लिन सकिएन भने त्यसलाई बहुमतीयमा नलाने र सहमतिका आधारमा निर्णय गर्न महत्वपूर्ण निर्णय लिएका छौं ।

अर्को हाम्रा विवादका हिजोका विषयहरु र आउँदा दिनमा आउने विवादका विषयहरु होला, यस्तो प्रक्रियामा कतिपय महत्वपूर्ण पक्षमा सार्वजनिकरुपमा पनि जान सक्ने हिजो पनि केही थियो, त्यसलाई अलिक परिमार्जन गरेका छौं । परिमार्जनमा के भनेका छौँ भने, कतिपय विषयहरुमा सार्वजनिकरुपमा जान सकिन्छ, त्यसो गर्दा सल्लाह नै गरेर जाने, सल्लाह गर्दा पनि कुरा मिलेन भने हामी यसो गर्दैछौँ है भनेर जानकारी दिएर अगाडि बढ्ने कुरा पनि हामीले नयाँ ढंगले सोचेका छौँ, अर्थात् हाम्रा जुन गतिविधिहरु भइरहेका छन्, यी सम्पूर्ण गतिविधिलाई पार्टी निर्णयको दायराभित्र ल्याएका छौं । यो पनि एउटा नयाँ अभ्यास हो । सधँभरि यस्तै त नहोला, त्यसकारण यो एउटा संक्रमणकालीन विधि विशिष्ट अवस्थामा लागू गर्दै जाऔँ, विश्वासको वातवारण तयार पार्दै जाऔँ, पार्टीलाई एकताबद्ध बनाउँदै जाऔँ, त्यसपछि फेरि कसरी जाने हो भन्नेमा विधिको विकास गर्नुपर्ने हुन्छ । अन्ततोगत्वा लेनिनद्वारा विकसित विधि काम कारबाहीमा एकरुपता, अभिव्यक्तिमा स्वतन्त्रता अहिलेको विधिलाई अझ विकास गरेर जानुपर्छ भन्नेमा हामी छौँ ।

अन्त्यमा पार्टी कार्यर्ताहरुको परिचालन र व्यवस्थापनको विषयमा के सोचाइ बनाउनुभएको छ ?

कार्यकर्ताको व्यवस्थापनको सवालमा उत्पादनमूलक कामहरुमा पनि लाग्ने भन्नेछ । सहकारीका कुराहरु पनि छन् । कार्यकर्ताहरुलाई उत्पादनका केही कामहरुमा लगाउँछौँ । अर्को पार्टीमा रहेका स्रोतसाधन जे जति छन्, त्यसको समुचित, समान र न्यायपूर्ण वितरणजस्ता कुराहरुमा हामी जोड दिन्छौँ । त्यसरी जान सकियो भने कार्यकर्ताहरुको व्यवस्थापन र रेखदेख गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *