स्थिर नेपाली समाजमा हस्तक्षेपको राजनीतिको महत्वपूर्ण दिन हो– फागुन १ गते । द्वन्द्व थिए, आक्रोश थियो, ती विद्रोहका भुल्कामा देखिन्थे । तर, योजनाबद्ध आन्दोलनले रुप लिएको थिएन । वर्ग टक्राहटहरु प्रत्यक्ष भिडण्तमा भने यही दिन अर्थात् २०५२ फागुन १ जनयुद्धको शङ्खघोष भएको दिन हो । त्यसपछाडि नेपाली समाजमा प्रत्यक्ष टक्राहट १० वर्ष दुइ महिना १२ दिन द्वन्द्व अवधिको रह्यो । र, अहिले पूर्णविराम लागेको भने छैन शीतयुद्धमा फेरिएको मात्र छ । दशक लामो अवधिमा राजनीतिक र फौजी अभ्यास भए । म यस आलेखमा घटनाहरुको फेहरिस्त दिनुभन्दा पनि ऐतिहासिक कसीमा युगीन सन्देश र इतिहासको निरन्तरताबारे नै केन्द्रित हुनेछु । वर्गपक्षधरताको आधारमा यसका सकार वा नकार समीक्षा हुँदै रहला ।
घटना घटिरहेको र प्रत्यक्ष भिडण्त भइरहेको अवस्थाका लिखतहरु रिपोर्ताज हुन सक्छन् । इतिहासका सन्दर्भ सामग्री बन्न सक्छन् । राजनीतिक ज्योतिषहरुले भविष्यवाणी गरिरहन सक्छन् । पक्षधरता र सोचअनुसार मिडियाहरुले आग्रह पोखिइरहेका हुन सक्छन् । तर, समयलाई के भएको छ भन्दा पनि इतिहास निर्माण गर्दै अघि बढिरहेको हुन्छ । त्यो अवधिमा इतिहास लेखिइरहेको भने हुँदैन । पात्र, प्रवृत्ति र सन्दर्भ सामग्रीको निस्पक्षता इतिहासकारको वर्गपक्षधरतामा निर्भर रहन्छ । जनयुद्धको दशकलाई हेर्ने, बुझ्ने, लेखिने र धारणा बनाउने विषय पनि यसैमा निर्भर रहनेछन् ।
गद्दीबाट ओरालिएको एउटा वर्ग छ र घटनाले मर्माहत भएको इतिहासका कुलीन व्यवस्थापकहरु त छँदैछन् । नूनको सोझो गरेर मालिकको भजन गाउने लम्पट वर्ग पनि छ । अझ अहिले विकासेहरु लोकप्रिय नारामा अस्तित्व, पहिचान, भूमिका र सुविधाका कारखाना लगाएका छन् । उनीहरु सबैको सञ्जाल बनेकै छ । उनीहरुले फागुन एकलाई विभत्स चित्रण गर्नेछन् भने पुस्तौंपुस्ता कुल्चिदै अपमान नै जीवनको अर्थ बाध्यात्मक रुपमा व्यहोरेका र पहिचानको खोजी, स्वाभिमानको भोकले सताइएको भुइँमान्छे र उनीहरुका आर्गेनिक बुद्धिजिवीहरुले भने यसको ओजन, मर्म र सन्देशको सौन्दर्यकरण गर्नेछन् । कसैले चाहोस् या नचाहोस् विद्रोह रोकिदैन, क्रान्तिको पूर्णविराम कहिल्यै लाग्दैन भन्ने मानव समाजको अग्रगामी प्रवृत्ति हो । तर, आक्रमक बजार, मिडियाको स्वामित्व र कुलीन आङ्गिक वौद्धिक तप्कालाई फागुन १ गते पोटासियम साइनाइड बनेको छ । त्यसैले विभत्स चित्रण गरेर इतिहासलाई खारेज गर्नु, विषयान्तर गरिदिनु वा न्यूनीकरण गर्नु उनीहरुको कुलधर्म बन्छ । अग्रगामी सोचहरुको लागि भने वैश्विक अध्ययनमाला बन्नेछ फागुने सङ्क्रान्ति ।
इतिहासका महत्वपूर्ण घटनाहरु कहिले पनि पात्रोले तय गर्दैन तर युगान्तकारी छाप छोडदै क्यालेण्डरको महत्वपूर्ण दिन भने बन्छन् । त्यस्ता घटना छप्ल्याङ्ग आउँछन्, आफ्ना अमीट पदचापहरु छोड्दै अगाडि बढ्दै जान्छन् । त्यस वेगलाई तपाई घृणा गर्नुस्, किनारामा बसेर रमिते बन्नुस्, छतमा बसेर तमासे बन्नुस्, भागेर पलायन हुनुस् वा सहभागी बन्नुस् वा प्रतिकार गर्नुस् तर, त्यसले तपाईको जीवनमा प्रभाव नपारिरहँदैन । त्यो प्रभाव राजनीतिक सिमानालाई तोड्दै अगाडि बढदै जाँदा वैश्विक अर्थ राख्छ । राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक जे पनि उथलपुथलमा देख्न सकिन्छ, छाप हुन सक्छन् । दुःख, सुख, पीडा, घाटा–नाफा, आँसु–हाँसो जे पनि हुन सक्छन् । तपाईको चाहेर वा नचाहेर अछुतो र असहभागिता भने हुने छैन । टाढा रहन चाहेपनि रहन पाउनुहुन्न । पलायन भएर जोगिन पाउनुहुन्न । संसारकै इतिहास यसैगरी आफ्नो बाटो तय गरिरहेको हुन्छ ।
हरेक ऐतिहासिक घटना र युगीन घटनाहरुको समीक्षा हुनसक्छ तर आइसकेको परिणाम भने जो कोहीले चाहेर वा नचाहेर अनिवार्यरुपले व्यहोर्नुपर्ने हुन्छ । तर, समय घर्कदै जाँदा भने आन्दोलनले माथ खाएका शक्तिहरुले आग्रहलाई आवेगको खलाँती फुक्दै उपलब्धिलाई ध्वस्त पार्ने अभियान शीतयुद्धमा फेरेका हुन्छन् । यो अवधिमा वर्ग टसलहरु अझ सशक्त हुन्छन् । अभियानकर्ताहरुलाई नै स्वयम्ले पैदा गरेका समस्याहरुको चक्रव्यूह भेदन गर्नुपर्ने कला र क्षमताको आवश्यकता पर्न जान्छ । परिणाम सधैँ सोचेजस्तो नहुन सक्छ । राजनीतिक विज्ञान कुनै अंकगणितीय खेल हैन । उपलब्धि र घाटा जे भएपनि व्यहोर्नुपर्ने हुन्छ । सचेत र अग्रगामी सामाजिक शक्तिहरुले ऐतिहासिक घटनाहरुलाई सकरात्मक दिशामा लाने र युगान्तकारी परिणाममा फेर्ने प्रयत्न गर्छन् । तर, शक्तिहरुको उपस्थिति, कलामय व्यवस्थापन, आपूmलाई र दुश्मन शक्तिको सही–सही ठम्याइ र भलो नहेरी जोखिम उठाउनेलाई नै युगान्तकारी नेतृत्व भनिन्छ ।
फागुने संक्रान्तिका पक्षधर भनेका वर्गसंघर्षका अनुयायीहरु, पहिचान र सामथ्र्यको खोजी गर्नेहरुलाई उत्पिडित राष्ट्रियता र मानवीय समाजका निर्माता, शुभचिन्तकहरुको उत्सवको पर्व हो भने यसका विपक्षलाई कालो दिन । यस हस्तक्षेपको शंखघोषले सुुषुप्त चेतनालाई जागृत चेतमा फेरिदियो । स्वाभिमानको भोक जगाएर परम्परागत सत्ता र सोंच भत्काइदियो । विचारको अन्त भयो भन्नेलाई विचारसँग सोंच र शक्ति निर्माण गर्ने ताकत हुन्छ र त्यो आन्दोलन फेरिन्छ भन्ने अर्कोपटक पुष्टि गरिदियो । सनातनी समाजमा हलचल ल्याएर आफ्नो मुक्ति निम्ति अरुले लडि दिदैनन् अँध्यारोको विरुद्ध आफैँ जलेर उज्यालो छर्नुपर्छ भन्ने सार्वभौम मान्यतालाई अर्कोपटक चरितार्थ ग¥यो ।
हरेक उत्पादनसँगै वाइप्रोडक्ट हुन्छ । कचरा आए भनेर उत्पादन र आविस्कारको मुल्य र ओजन कम हुँदैन । फागुने संक्रान्ति पछाडि पनि यो नकार पक्ष छैन भन्ने हैन । गम्भीर समीक्षा निर्मम इतिहासले गर्दै आफ्नो यात्रा जारी राख्नेछ । भूतपूर्व क्रान्तिकारीहरुको लेखाजोखा राख्नेछ । थेग्न नसकेका ज्यूँदा सहिदहरुको लिखत संगाल्नेछ । वर्गसिफ्ट भएका पात्र र प्रवृत्तिको हिसाब–किताब गर्नेछ । फेरिएका सम्बन्ध र त्यसले बनाएको संस्कृतिको सौन्दर्यशास्त्रको जाँचपड्ताल गर्नेछ । फागुने संक्रान्ति अर्को अवस्थासम्म पुग्दा सबैका योग्यता, क्षमता र दक्षताले अर्कोचोटी परिक्षामा बसेका छन् । बाउले घ्यू खाएका थिए मेरो हात सुँघ भनेर इतिहासको व्याज खाएर वर्तमानमा सान्दर्भिकता देखाउने कसैलाई छुट दिने छैन भने अब फागुने संस्कृतिका हकवाला फेरिए भनेर कस्तै प्रतिक्रियावादी सोचले आफ्ना कु–कार्य बेरोकटोक चालु हुन्छ भन्ने नसोचे हुन्छ । इतिहासको यात्रा अत्यन्तै निर्मम हुन्छ । सबैको हिसाब हुन्छ र सबैले हिसाब चित्रगुप्तलाई हैन वर्तमानलाई नै अनिवार्य बुझाउनुपर्ने हुन्छ ।
फागुने सङ्क्रान्ति–जिन्दावाद ।
महान जनयुद्ध–जिन्दावाद ।
महान सहिदहरु–जिन्दावाद ।