जनयुद्धको मर्म आत्मसाथ गर

  
  प्रकाशित मितिः शनिबार, माघ २८, २०६८       | 119 Views   ||

आम शोषित, उत्पीडित जनताको मुक्ति र स्वतन्त्रताका लागि छेडिएको जनयुद्ध १७ बर्ष पुगेको सन्दर्भ जोडिएका बेला देशको राजनीति पनि पेचिलो बन्दै गइराखेको छ । जुन परिवर्तनका लागि जनताका छोराछोरीले बलिदानी गरे सोहीअनुसार मुलुकलाई अगाडि लैजानमा पुराना दलहरुले अवरोध पु¥याउँदै आएको दृश्य जनताले केही बर्षदेखि देख्दै र भोग्दै आइरहेका छन् ।

पुरानो राज्यव्यवस्थाको जग हल्लाएर नयाँ जनसत्ताको अभ्यास समेत गरिएको जनयुद्धको उद्देश्य, मर्म र भावनाअनुसार आधा हिस्सा पनि परिवर्तन भएको अनुभूति हुन सकेको छैन । तैपनि भएको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नमा पुराना संसदवादी दलहरुले अवरोध पु¥याउँदै आइरहेका छन् र राजनीतिक द्वन्द्व बढाउँदै लगेका छन् । नेपालमा दश बर्ष चलेको जनयुद्ध क्रान्तिकारी परिवर्तनको एउटा महाअभियान थियो । यसले राजनीतिक मात्र होइन मानिसको चेतना, सामाजिक र साँस्कृतिक जीवनमा समेत ठूलो परिवर्तन ल्याइदिएको छ । जनयुद्धको जगबाट मात्र जनआन्दोलन उठ्न सम्भव भएको हो र आजको गणतन्त्र स्थापना भएको हो । शासन व्यवस्था परिवर्तनका लागि चलेको जनयुद्धमा लाखौँ जनता र कार्यकर्ताको सहभागिता रहदैनथ्यो भने आज सामन्ती राजतन्त्रात्मक युगको अन्त्य हुने कुरा असम्भवजस्तै थियो । जनयुद्धको मूल्यमान्यतालाई अन्य दलहरुले जतिसुकै अपमानित र आग्रहका आँखाले हेरेपनि त्यो सत्य र जनताको पक्षमा थियो भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । जनयुद्धबाट स्थापित हुँदै आएका एजेण्डाहरु नै अहिले मुलुक परिवर्तनका साझा एजेण्डा बन्न पुगेका छन् । जनयुद्धबाट उठेका एजेण्डाहरु संस्थागत बनेपनि त्यसको पहलकर्ता पार्टी र त्यसका नेताहरुले भने यतिबेला अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिराखेको छ । जनयुद्ध शान्तिपूर्ण बाटोमा प्रवेश गरेलगत्तै यसको पार्टीगत र विचारगत संरचनालाई भत्काएर सिध्याउन अनेकन प्रयास र षड्यन्त्रका खेलहरु हँुदै आइरहेका छन् । जनयुद्धको मर्मलाई गहिरोसँग आत्मसाथ गरेर स्थायी शान्ति र जनमुखी संविधानको बाटोमा अग्रसर हुनेभन्दा माओवादीलाई नै गिराउने र पछार्ने मोर्चाबन्दी गरेर यथास्थितिमै झुकाउन अन्य शक्तिहरु लागिपरेका छन् । पुराना यथास्थितिवादी दलहरुको घेराबन्दी र हमलाको सामना गर्दै आइरहेको माओवादीको आन्तरिक जीवन भने निकै अस्तव्यस्त र संकटपूर्ण बन्दै गइरहेको छ । मुक्ति र स्वतन्त्रताका लागि क्रान्तिको झण्डा बोकेर हिडेको पार्टी र त्यसका नेताहरु अहिले थुपै्र प्रश्नहरुले घेरिएका छन् । जनयुद्धबाट सृजित उर्जा, आदर्श र निष्ठा यतिबेला मर्दै जान थालेको छ भने अन्य शक्तिहरु यसलाई खण्ड–खण्डमा विभक्त पारेर बिसर्जन गराउन योजनाका साथ लागिपरेका छन् ।

यतिबेला जनयुद्धमा हजारौं सहिदहरुको बलिदान, सयौं बेपत्ता योद्धा र लाखौं कार्यकर्ताहरुको त्याग भताभुङ्ग हुने अवस्थामा पुगेको छ । बढ्दै गरेका विकृति, विसंगति, लोभ, मोह र सुखसयलले जनयुद्धको गरिमामय उँचाइलाई होच्याउँदै लगिरहेको छ । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक हाम्रो मुलुकमा जनयुद्धको औचित्य अझै समाप्त भइसकेको छैन बरु नयाँ ढंगबाट त्यसको लक्ष्यलाई पूरा गर्न माओवादीभित्र सुदृढ र बलियो एकताको खाँचो छ । यसका लागि नेतृत्वलाई एउटा जटिल चुनौतीको सामना गर्नु अनिवार्य हुन जान्छ र उनीहरु राजनीति र विचारका दृष्टिले रुपान्तरण हुन पनि अनिवार्य नै छ । माओवादी नेतृत्वबिना देश परिवर्तनको दिशामा अगाडि बढ्नै सक्दैन । यसकारण जनयुद्धको नेतृत्वले पार्टीको उच्च छविलाई जोगाइराख्न जनयुद्धका विषयहरुलाई आत्मसातीकरण गरिरहन आवश्यक छ । जनयुद्धको बार्षिकीको अवसर नजिकिदै गर्दा माओवादीमा देखिदै गएको एकता र त्यसको सन्देशसहित फागुन १ गते देशव्यापी गरिन थालेका जनसभाले जनतामा नयाँ आशा र भरोसा पलाउँदै जान थालेको छ । माओवादी आफैभित्र स्पष्ट बाटो तय गर्दै सुदृढ र एकताबद्ध बन्न सक्यो भने यसलाई जनताबाहेक अन्य कुनै शक्ति र तागतले पन्छाउन र सिध्याउन सक्ने छैन । जनताको आशाबमोजिम माओवादी पार्टी जनयुद्धको जगमा उभिएर अग्रगामी परिवर्तनको नेतृत्व गरिराखोस् मुक्तिकामी जनताको बलियो शक्ति उदाइराख्ने पार्टी बनाउन नेताहरु आफैमा रुपान्तरण भएर जनसंविधानमार्फत् देशलाई स्वाधीन, सम्मुनत र आत्मनिर्भर बनाउनतिर अग्रसर बनून् जनयुद्धको १७ बार्षिकोत्सवको अवसरमा यही शुभ–कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *