चेक बुझ्दै शिविर छोडे जनसेनाले

  
  प्रकाशित मितिः शनिबार, माघ २८, २०६८       | 127 Views   ||

चन्द्रा बस्नेत
संक्राम (दाङ), २८ माघ । बिहानैदेखि झिमझिम पानी परिरहेको छ । माघ महिनाको चिसो, पानीको झरिका बीचमा पनि जनसेनाहरु निकै व्यस्त देखिन्छन् । बिहानैदेखि कोही चेक बुझ्ने लाइनमा लागेका छन् त कोही वर्षौँसम्म सँगै बसेका साथीहरु छुट्टिने बेला सुख दुःखका अनुभव साटिरहेका छन् ।

हो, यस्तै दृश्य देखिएको थियो गत बुधबार दाङको संक्रामस्थित माओवादी जनसेनाको अस्थायी शिविरमा । शिविरमा स्वेच्छिक अवकाश रोजेका जनसेनाहरुलाई चेक वितरण गर्ने कार्यक्रम थियो । चेक वितरण कार्यक्रममा स्वेच्छिक अवकाश रोजेका जनसेनाहरुले पानीको झरि र चिसोका बीचमा पनि चेक बुझेका थिए ।

आठ वर्ष पहिले जनयुद्धमा लागेकी सल्यान शिवरथकी एञ्जिलाले शिविरमा आएका विेशेष समितिको टोलीबाट साढे दुइलाखको चेक बुझिन् । चेक बुझेसँगै आफ्नो शिविर बसाइ सकिएकोमा भने उनी चिन्तित भएकी थिइन् । १८ महिनाको बच्चा काखी च्यापेर साढे दुइलाखको चेक बुझेकी उनले बाँकी जीवन कसरी बिताउने भन्नेमा चिन्ता लागेको बताइन् । ‘बच्चासँग ठूलो काम गर्न सकिदैन, पढाइ पनि छैन, उनले भनिन्– ‘आफ्नो सैन्य जीवन सधैँका लागि सकियो, के गर्ने गर्ने ?’ शिविर बसाइकै क्रममा दाङ घर भएका जनसेनासँग बिहे गरेको र अहिले श्रीमान्ले समायोजन रोजेको उनले जानकारी दिइन् । एञ्जिलाजस्तै संक्रामस्थित शिविरमा स्वेच्छिक अवकाश धेरैजसो बच्चाबच्चीका आमाहरु र घाइतेहरुले आफ्नो सैन्य जीवनलाई सधैँका लागि अन्त्य गर्दै चेक बुझेका थिए ।

चेक बुझेपछि अवकाश लिएका जनसेनाहरु घर फर्किने र समायोजन रोजेकाहरु शिविरमै रहने भएकाले लामो समयसँगै बसेका उनीहरु छुट्टिने भएका छन् । सुख दुःखमा सँगसँगै रहेका जनसेनाहरु युद्धकालमा सँगसँगै मृत्युसँग खेल्दै आएको र शान्तिकालमा छुट्नुपर्दा दुःख लागेको बताउँछन् । ‘सैन्य जीवनका एकदशक सँगै बिताइयो, अहिले छुट्टिनुपर्दा कस्तो–कस्तो नरमाइलो लागेको छ, घर फर्किने तयारी गरिरहेकी एञ्जिलाले भनिन् ।

त्यसो त युद्धकालमा घाइते भएका अपाङ्ग जनसेनाहरुले अवकाशअनुसारको चेक बुझेपनि शिविर नछोड्ने बताएका छन् । आफूहरुको उपचार, आजीवन पेन्सन र राज्यको सम्मान पत्र हुनुपर्ने भन्दै घाइते अपाङ्गहरुले शिविर नछोड्ने बताएका हुन् ।

युद्धकालमा एउटा खुट्टा गुमाएका रुकुम खाराका आभाषले आफूहरुलाई जीवन जीउने आधारको व्यवस्था नगर्दासम्म दुइ÷चार लाख लिएर घर नफर्किने बताए । देशमा गणतन्त्र ल्याउनका लागि आफूहरुले आधा शरीर गुमाएको भन्दै उनले आफूहरुलाई राज्यले उचित सम्मान र पेन्सन दिनुपर्ने माग गरे । शिविरमा आभाषजस्तै कोही खुट्टा गुमाएका, कोही दुवै आँखा त कोही शरीरभरि गोली बोकेर घाइते अपाङ्ग जीवन बिताइरहेका जनसेनाहरु रहेका छन् । उनीहरु सबैले आफूहरुको उचित व्यवस्था नहुँदासम्म शिविर नछोड्ने बरु आन्दोलन चर्काउने घोषणा गरेका छन् । त्यस्तै, अवकाश रोजेका माथिल्लो स्तरका कमाण्डरहरुले पछिल्लो समयमा बढुवा भएअनुसारको रकम दिनुपर्नेमा अनमिनले प्रमाणिकरण गर्दाको दर्जाअनुसार नै चेक दिएको भन्दै आन्दोलन गर्ने बताएका छन् । सेना समायोजनको प्रक्रिया अवरुद्ध हुने भएकाले अहिले चेक बुझेका छौँ तर हाम्रो दबाबमुलक आन्दोलन जारी रहनेछ, अवकाश रोजेका व्रिगेड सह–कमाण्डर सविन पोख्रेलले भन्नुभयो ।

पाँचौँ डिभिजनबाट स्वेच्छिक अवकाश रोजेका डिभिजन सह–कमाण्डर मदन, व्रिगेड कमाण्डर हिमाञ्चल, व्रिगेड सह–कमाण्डरहरु मिलन, सविन, दिनेश, एटम, टार्जन, पर्वतलगायतका कमाण्डरहरुले सैन्य जीवनबाट अवकाश लिएपनि पार्टीको निर्णयअनुसार राजनीतिमा सक्रिय रहने प्रतिक्रिया दिएका छन् ।

रोल्पाको दहवनमा मुख्यालय रहेको जनसेनाको पाँचौँ डिभिजनमा जम्मा ८ सय ९८ जनाले स्वेच्छिक अवकाश रोजेका थिए । त्यसमध्ये ३ जनाको कागज प्रमाण नमिलेकाले चेक नपाएको र ८ सय ९५ जनामध्ये ८ सय ८० जनाले चेक बुझेको विशेष समिति सचिवालयले जनाएको छ । गत बुधबार नै चेक वितरण गर्ने कार्यक्रम सिध्याएर समितिको टोली फर्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *