साँस्कृतिक आन्दोलनमा देखापर्ने विचलनहरु

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०६८       | 121 Views   ||

-[हिरामणि दुःखी]

सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनकै एउटा महत्वपूर्ण पक्ष भएकाले राजनीतिक आन्दोलनमा देखापर्ने विचलनहरू नै सांस्कृतिक आन्दोलनका विचलनहरू हुन्छन् । राजनीतिक र सांस्कृतिक दुवै कुरा निश्चित विचारधाराबाट सञ्चालन हुन्छन् । यसकारण विचारधारात्मक सङ्घर्ष कुन रूपमा कसरी सञ्चालन भएको छ भन्ने कुराले सांस्कृतिक आन्दोलनमा देखापर्ने विचलनहरूको निर्धारण गर्दछ ।

प्रवृत्तिगत हिसाबले तीनवटा वैचारिक धारामा सांस्कृतिक आन्दोलनमा विचलनहरू देखा परिरहेका छन् । ती हुन् अवसरवाद, सुधारवाद र संशोधनवाद । यी तिनवटै विचारधाराको केन्द्रमा रहेर सांस्कृतिक विचलनका पक्षहरू देखा परिरहेका हुन्छन् । यी सर्वहारा सांस्कृतिक आन्दोलनका मुख्य समस्याहरू हुन् ।

विचलनका बारेमा वरिष्ट माक्र्सवादी संस्कृतिकर्मी ऋषिराज बराल भन्नुहुन्छ ‘विचलन स्थान छोड्नु हो र हाम्रो अर्थमा क्रान्तिकारी धार, विन्दु वा केन्द्रवाट यताउति, दायाँवायाँ हुनु नै विचलन हो । विचलनको प्रमुख कारण नै मनोगतता हो । यो खुला र सचेत रूपमा, छद्म वा थाहै नपाई पनि हुने गर्छ । क्रान्तिका आधारभूत मूल्य मान्यता, नियम र पद्धति, समयको आवश्यकता र यथार्थबोधबाट विमुख भई आफ्नो चाहना, इच्छा, भावनात्मक तरङ्ग र सनकका आधारमा जब समय र वस्तु परिस्थिति आदिको विश्लेषण, व्याख्या र निश्कर्ष निकाल्न थालिन्छ । अनि विचलनका प्रारूपहरू देखापर्न थाल्दछन् ।’ यहाँ विचलनको श्रोत मनोगतवाद बताइएको छ ।

वास्तवमा मनोगतवाद वर्गसङ्घर्ष उत्कर्षतातिर गएको बेला दुस्साहसवादी प्रवृत्तितर्फ उन्मुख भइरहेको हुन्छ भने शान्तिकालमा अकर्मन्यतावाद, सुधारवाद र आत्मसमर्पणवादी प्रवृत्तितर्फ उन्मुख भइरहेको हुन्छ । यस्तो प्रवृत्तिले क्रान्ति उत्कर्षमा पुगेको बेला कहिलेकाहीँ देखा पर्ने साँच्चिकै बाघको रूपमा आएको दुश्मनलाई कागजी बाघ नै देख्न पुग्दछ । जसले गर्दा दुस्साहसिक योजना बनाउने र भिड्ने गर्दछ, त्यसले क्रान्ति, पार्टी र जनतालाई फाइदा भन्दा नोक्सान पु¥याएको हुन्छ । त्यसैगरी शान्तिपूर्ण कालमा कागजीबाघको रूपमा आउने दुश्मनलाई साँच्चिकै बाघ ठानेर त्यससँग सम्झौतापरस्त दृष्टिकोण अपनाउँछ र सुधारवादी कार्ययोजना बनाउँछ । त्यतिबेला उसले जनताको ताकत, सैन्यकृत कार्यकर्ताहरूको ताकतलाई गौण ठान्न पुग्दछ । नेपाली कम्युनिस्ट आन्दोलन यही गतिबाट अघि बढेको छ ।

जहाँसम्म एकीकृत नेकपा माओवादी र उसको नेतृत्वमा भएको जनयुद्ध र शान्तिपूर्ण अवधिका चारवर्षका वैचारिक एवम् राजनीतिक सङ्घर्षको समीक्षा तथा उसका नेता कार्यकर्ताहरूको जीवन व्यवहारको प्रश्न छ, त्यहाँ केही भिन्न प्रकारले विचलनका लक्षणहरू देखा परेका छन् । जस्तो कि जनयुद्धमा निर्माण गरिएका उपलब्धि, संस्कार, संस्कृति, रहनसहन, जीवनशैली, कार्यप्रणाली, जनतासँगको सहकार्य, जनतामा भर पर्ने र सादा जीवनशैली अपनाउने, खानपान, प्रेम, यौन, विवाह, चाडपर्व र धर्मप्रतिको दृष्टिकोण, मदिराजन्य पदार्थको सेवन आदिजस्ता कुराहरूमा जसरी जनयुद्धकालमा नयाँ संस्कृतिको विकास गरिएको थियो, आज ती कुराहरू क्रमशः बिर्संदै जाने र छोड्दै जान थालेको पाइन्छ । नेताहरूले निर्माण गरेको उच्च आदर्श अहिले आफैले भत्काउन थालेको देखिन्छ । यद्यपि यी र यस्ता कमजोरीहरू अंशगत हुन् ।

समग्रमा मूल्याङ्कन गर्दा एकीकृत नेकपा माओवादी नै नेपालको मूलधारको क्रान्तिकारी विचारधारा, योजना, लक्ष्य एवम् उद्देश्य बोकेको कम्युनिस्ट पार्टी हो । नेपालको जनवादी आन्दोलनको ध्वजावाहक शक्ति पनि यही हो ।

अवसरवादी प्रवृत्ति रूपमा क्रान्तिकारी आवरणमा देखा पर्दछ तर सारमा त्यो दक्षिणपन्थी विचलनतिर वा उग्रवामपन्थी संर्कीणतातर्फ विचलित भएको हुन्छ । यो सारसंग्रहवादका रूपमा पनि देखा परेको हुन्छ । धर्म, चाडपर्व, रीति, परम्पराजस्ता आध्यात्मिक अन्धसंस्कार र संस्कृतिहरूलार्ई जनताले छोडेका छैनन्, समाजलाई चित्त बुझाउन पनि मानिदिनुपर्छ वा अर्को विकल्प दिन नसक्दासम्म त्यसलाई प्रगतिशीलकरण गरेर मान्नुपर्छ भनेर कतिपय कम्युनिस्ट क्रान्तिकारी नेता कार्यकर्ताहरूले तर्क गर्छन् । यस्तो तर्क गर्नु अवसरवादी प्रवृत्ति हो ।

जस्तो क्रान्तिकारी गीत नृत्य गरेर तीज मनाउनु, क्रान्तिकारी देउसी भैलो भन्नु, दसैंमा सबैसँग भेटघाट हुने भएकाले पनि घरमा जानुपर्छ भन्दै बुढाबुढी बाबा आमाहरूबाट टीका जमरा लगाउनु आदि कुराहरू अवसरवादी विचलनहरू नै हुन् । पुरानो चाडपर्वहरूको विकल्प तयार नभएकाले धेरै भड्किलो र खर्चिलो नगरिकन मनाउँदा हुन्छ भनेर तर्क गर्नु गैरमाक्र्सवादी चिन्तन हो । जनयुद्धका क्रममा परम्परागत चाडपर्व, धर्मकर्म, पूजापाठ नगर्ने, विवाहमा जनवादी संस्कार गर्ने गराउने, महिलाहरूले चुरापोते र गरगहना त्यागेकाहरूले अहिले शान्तिकालमा चाडपर्व मनाउने, यज्ञ होममा सहभागी भएर चन्दा सङ्कलन गर्ने, चुरापोते र गहनाले सजिसजाउ हुने, मदिरा सेवन गर्ने आदि कैयौँ आचार व्यवहारका संस्कारहरूमा विचलन आएको छ । यही हो नाङ्गो अवसरवाद ।

त्यसैगरी सुधारवादी चिन्तन पनि सांस्कृतिक आन्दोलनको अर्को वैचारिक विचलन हो । यसले पार्टी, संगठनका नीति, विचारधारा, व्यवहार, कार्यदिशा र कार्यशैलीमा समयानुकूल परिवर्तन हुनुपर्छ भनेर सुधारवादी नीति, विचार र संस्कृति अपनाउन पुग्दछ । अन्तरविरोधहरूको समाधान वर्गसमन्वयबाट खोज्छ । जनपक्षीय विचारको कुरा गर्नु आफैमा सुधारवादी दृष्टिकोण हो । यसले जनकल्याण वा कल्याणकारी राज्यको स्थापना चाहन्छ ।

समाजमा चल्ने गरेका परम्परावादी संस्कार, संस्कृति, धर्म, चाडपर्व, नैतिकता, मूल्य आदिलाई सुधार गरेर प्रगतिशील संस्कारको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्नु सुधारवाद हो । सुधारवादको सम्बन्ध संशोधनवादसँग हुन्छ । सुधारवाद सांस्कृतिक क्षेत्रमा देखा पर्दा यो मात्रात्मक सुधारबाट क्रमशः समयक्रमसँगै परिवर्तन गर्नुपर्छ भन्ने दृष्टिकोण हो । यो संसदवादी चेतना पनि हो । यसले क्रमभङ्ग र छलाङमा फड्को हान्नु गलत ठान्दछ ।

तेस्रो विचलनको प्रवृत्ति भनेको संशोधनवाद हो । यो अवसरवादकै अन्तिम रूप हो । यसले मालेमावादी विचार, दर्शन र सांस्कृतिक मूल्यहरूलाई समायानुकूल सिर्जनशील ढङ्गले लागू गर्नुपर्छ र विकास गर्नुपर्छ भन्ने मान्यता राख्दछ । अन्ततः सिर्जनशीलताको नाममा माक्र्सवादका आधारभूत कुराहरूलाई नै परित्याग गर्न पुग्दछ । पछि गएर यसले द्वन्द्वात्मक भौतिकवादको होइन कि आध्यात्मिक आदर्शवादको सहारा लिन पुग्दछ । यो वर्गसमन्वयवादी धारा हो ।

अहिले नेपालको सन्दर्भमा संविधान बनाउनु पर्छ भन्ने नाममा काङ्ग्रेस, एमाले र अति दक्षिणपन्थी विचारलाई पनि समेटेर लैजानुपर्छ भन्ने र सेना समायोजन गर्ने नाममा कुनै न कुनै रूपले विघटन गराई संसदीय निर्वाचनबाट बहुमत हाँसिल गरेर शान्तिपूर्ण तरिकाले परिवर्तन गर्नु पर्छ भन्ने चिन्तनधारा नै संशोधनवाद हो । यसले वर्गसङ्घर्षलाई तिखो र धारिलो बनाउने भन्दा पनि बोधो बनाउने र अन्ततः सहमतिको कुरामा बढि जोड दिन्छ । यो विचारधाराको रूपमा माक्र्सवादका मूलभूत विषयलाई जड्सुत्रवादी बताउँदै आउँछ भने सांस्कृतिक रूपमा जनताको संस्कृति, देश, काल परिस्थितिअनुसार आफ्नो पहिचान छोड्नु हुँदैन भनेर आउँछ ।

जस्तो कि जनयुद्धकै क्रममा भएका सर्वहारा जीवन पद्धती, आचार–विचार, व्यवहार, धर्म, चाडपर्व आदिमा आएको परिवर्तनलाई अहिले क्रमशः छोड्ने काम भएको छ । आर्थिक रूपमा भ्रष्ट बन्नु आवश्यकताको नाममा भड्किलो जीवन पद्धती अङ्गाल्नु, वर्गउत्थानतर्फ आकर्षित हुनु, कुटनीतिक भेटघाट, सम्बन्ध आदिका नाममा मदिराजन्य पदार्थमा लिप्त बन्नु आदि कुरा संशोधनवादी संस्कृतिका उपज हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *