जनयुद्ध : एक जागरण अभियान

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०६८       | 124 Views   ||

-[अजयदीप शर्मा]

धेरै प्रश्नहरुको चाङ र पेचिलो राजनीतिको उत्कर्षताको बीचबाट माओवादीले यसपटकको जनयुद्ध दिवस मनायो । पार्टीभित्रको अन्तरसंघर्षको समाधान निकाल्दै जनतालाई उत्साह र आशाको सन्देश दिन पनि माओवादीले यसपटकको जनयुद्ध दिवसलाई देशव्यापी सभामय बनायो र जनतासँग विगतमा गरिएका बाँचाहरु नभुलेको प्रतिबद्धतालाई पुनः दोहो¥यायो ।

जनयुद्ध शान्तिपूर्ण कालमा प्रवेश गरेको करिब छ बर्ष पुगिसक्दा पनि त्यसको परिचर्चाको स्थान घटेको छैन । गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षताजस्ता भारी महत्वका एजेण्डाहरु जनयुद्धको बाटोबाट आएकाले पनि होला यी एजेण्डाहरु सार्थक निष्कर्षमा पुग्दै गर्दा जनयुद्धको मर्मबोध पनि त्यही गहिराईबाट अभिव्यक्त हुने गर्छ र त्यसको ऐतिहासिकता पनि त्यही उँचाईबाट प्रस्तुत हुने गर्छ ।

जनयुद्धको १७ औं बार्षिकी मनाइरहँदा विगतको सम्झना कार्यकर्ताले मात्र होइन गा्रमीण भेगका जनताको ठूलो हिस्साले गरिरहेको छ । अहिलेको अत्यासलाग्दो संक्रमणकालीन परिवेशबाट त्यो एकदशक चलेको जनयुद्धका पहिला बर्षहरुलाई सम्झदै कार्यकर्ताहरु भन्छन्– मृत्युका खतराहरुभित्र पनि साँच्चिकै दुनियाँलाई बदल्ने अवसरको एक सार्थक जीवन पाएको अनुभूति हुन्थ्यो हामीलाई तर यतिबेलाका हाम्रा भौतिक जीवनले हाम्रा मस्तिष्कलाई नै प्रश्न गरिरहेका छन् । खै त सार्थक जीवनहरु ? किन उल्टो दिशाबाट रुपान्तरण हुन थालेका छन् जनयुद्धका आदर्श ? जनयुद्ध कुनै आन्दोलन मात्र थिएन यो त जागरण अभियान थियो र समाज व्यवस्थाका रुप र उज्याला भविष्यका जीवनहरु पढाउने विद्यालय थियो । यसले समाजका हरेक अङ्गलाई छोएको छ । त्यही समाजको पुरानो स्वरुपलाई बदल्नका लागि एउटा युगको निरकुंशतासँग चलेको उच्च चेतनाको आँधी थियो जनयुद्ध । जुन आँधी यो समाजको कुना–कुनामा पसेको छ र दुरदराजका क्रन्दनहरुलाई स्पर्श गरेको छ । र त यसको आयाम आज विशाल बन्न पुगेको छ । कसैले चाहेर वा नचाहेर, सकारात्मक या नकारात्मक जेबाट भएपनि आज जनयुद्ध शब्दको उच्चारण र यसका परिघटनाहरुका चर्चाबाट मानिस टाढिएर भाग्न सक्दैन र चाहेर पनि त्यसलाई इतिहासबाट अलग गराउन सक्दैन ।

जनयुद्धको पहलकर्ता नेकपा माओवादी आज मुलुकको ठूलो पार्टी मात्र बनेको छैन परिवर्तनको प्रवर्तक पनि बनेको छ । ०५२ साल अघि माओवादी सानो थियो तर जनता, राष्ट्र र राष्ट्रियताका लागि सबैभन्दा जिम्मेवार पार्टी बनेर उभिएको थियो । मुलुकका जल्दाबल्दा समस्याको हल गरिनुपर्ने ४० सुत्रीय माग माओवादीले उतिबेलै राज्यसँग राखेको थियो । तर, सुनुवाई भएन । बाध्यताको बाटो पक्डेपछि माओवादी त्यो पुरानो राज्यसत्ता भत्काउने ज्वारभाटाको एउटा संग्रामी अभियान थालेको थियो । जनयुद्ध थालिनु अघि संसदीय प्रणालीको खुल्ला राजनीतिमा बढेका नेताहरुले जति कुराले क्रान्तिको रथ दौडाइरहेका हुन्थे, युद्धको उद्घोषपछि ती किनारा लाग्दै पछाडिको यात्रा शुरु गर्न पुगे । सही विचारको बाटो पकड्ने हो भने थोरै शक्ति भएपनि त्यो ठूलो सामा्रज्य हल्लाउने अस्त्र बन्दोरहेछ भन्ने कुरा जनयुद्धले प्रमाणित गरिसकेको छ । राप्तीका पहाडी कन्दराहरुबाट बलेका विद्रोहका झिल्काहरुले छोटै समयमा देशका सीमा क्षेत्रहरुलाई समेत प्रज्वलित बनायो । त्यतिमात्र नभई देशको ८० प्रतिशत भू–भागमा जनयुद्धले जनसत्ताका संयन्त्र निर्माण गरेर चलायो । जनयुद्धका बेला राप्तीका ५ वटै जिल्लामा करिब तीनपटकसम्म जिल्ला जनसरकारका अधिवेशन चलेका छन् । ती सरकारले जनयुद्धलाई माथि उठाउन मात्र मद्दत गरेनन् गाउँ–गाउँमा विकासका औजारहरु उचाल्दै पुलपुलेसा, बाटो, नहर र चौताराहरु निर्माण गरिए भने मुद्दामामिलाका लागि जनअदालत र घरजग्गा किनबेचका लागि रजिष्ट्रेशन पास गरिनेसम्मका व्यवस्था जनताका घरआँगनबाटै गरिए । त्यतिमात्र नभई जनयुद्धले परम्परागत संस्कारलाई बदल्दै नयाँ पर्व र रीति बसाल्ने कामसमेत ग¥यो । जनताको घरमा उनीहरुको कामसँग जोडिने, जनयुद्धको खुसीयालीमा साँस्कृतिक नाचगान चलाउने, जनवादी मेलाहरु लगाउने, सहिद परिवारका घरसम्म पुगेर देश र जनताको परिवर्तनका लागि छोराछोरी, श्रीमान् वा दाजुभाइ दिदीबहिनीले गरेको बलिदानको महत्वलाई बुझाउने, जनताका पीरमर्का र गुनासा सुन्ने र समाधान खोजिने आदि कुरा जनयुद्धमा स्थापित भएका मान्यताहरु हुन् ।

पुर्खादेखि दबिएका, च्यापिएका र मान्छेविहीन बनाइएका जीवनलाई मुक्ति रस्वतन्त्रताको बाटोमा जनयुद्धले हिडायो । कुरुपताले भरिएको निसासिदो त्यो युग ढाल्ने क्रान्तिमा भएको उच्च बलिदानका कथाहरुले इतिहासलाई अझ गर्विलो बनाएको छ । युद्धभित्रका पीडा, रोदन र आँसुले दृढताका मुठ्ठीहरुलाई अझ कसिलो बनाइराखेको छ भने नौजवान युवायुवतीहरुले गरेका अन्तरजातीय प्रेमविवाहले नयाँ समाजको विम्बलाई सजाइराखेको छ । हामी अहिले परिवर्तनको जुन ठाउँमा छौं, यहाँसम्म जनयुद्धको बलबाट नै आइपुगेका हौं भन्ने भावना युवापुस्तामा जागृत भइरहेको छ र बर्षेनी मनाउने जनयुद्धको बार्षिकीले पनि त्यही शिक्षा प्रदान गरिरहेको छ । जनतामाथि भएको अत्याचार, शोषण र उत्पीडनको गर्भबाट जन्म लिएको जनयुद्ध जनताको काखमा हुर्कियो, बढ्यो र मुक्तिका सुनौला सपनाहरुमा सजियो । क्रान्तिका रफ्तारमा कयौं भीषण फौजी आक्रमणहरु गर्दै सीमान्तकृत वर्गका जनताको आर्थिक जीवनस्तरलाई माथि उठाएर सबल, सम्मुनत र नयाँ परिवर्तन भएको नयाँ मुलुक मिलेर बनाउने भन्ने सम्झौता अन्य संसदीय दलहरुसँग भएअनुसार जनयुद्धका अन्तरवस्तुलाई बोकेर माओवादी शान्तिपूर्ण बाटोको अर्को राजमार्गमा प्रवेश गरेको हो । तर, पुगिने बाटोमा निकासका अवरोधक तगाराहरु झन्–झन् बाधक बनेर उभिरहेका छन् । जनताको बलिदानपूर्ण संघर्षले अपेक्षा गरेको स्थायी शान्ति र पूर्ण अधिकारसहितको संविधानभन्दा यथास्थितिमै माओवादीलाई उभ्याएर उसको अस्तित्व मेटाउने षड्यन्त्रको राजनीति अहिले पुराना संसदीय पार्टीहरुले गरिरहेका छन् । यो मोर्चाका चुनौतीपूर्ण काँडेतारहरुलाई माओवादीले पन्छाउन कोशिस गरिरहेको भएपनि जनयुद्धबाट आएका परिवर्तनका एजेण्डाहरुलाई खतराको ट्रयापमा पार्ने जोखिम पनि पाइलैपिच्छे हुँदै आइरहेका छन् ।

जनयुद्ध र जनआन्दोलनको मर्मलाई पकडेरभन्दा स्वार्थको राजनीतिलाई प्राथमिकतामा राख्ने दलहरु यथास्थितिवादको गोलचक्करबाट अघि बढ्न चाहेका देखिदैनन् । यही तुच्छ र निच राजनीतिले जनताको सुखद भविष्यको सपनामाथि तुषारापात गरिरहेको छ । माओवादी जुन आदर्श र लक्ष्य बोकेर आयो त्यो यात्राको मध्यभागमा पुग्दा नपुग्दै आदर्श धर्मराउन थालेको जनतालाई अनुभूति हुन थालेको छ । शान्ति प्रकृयामा आएपछि पार्टी अझ विशाल त बनेको छ तर सुदृढ छैन । उही संसदीय विकृतिका गाँजाहरु माओवादीका त्यागी नेता र कार्यकर्ताका विचारहरुमा समेत मौलाउन थालेको चिन्ता मुक्ति र स्वतन्त्रता खोजिरहेका जनताले व्यक्त गरिरहेका छन् ।

माओवादीले आफ्नो घरभित्रको झगडालाई साँच्चिकै साम्य पारेर परिवर्तनको रथलाई हुँइक्याउन सक्ला या नसक्ला ? यही प्रश्न माओवादी प्रति आस्थावान जनताहरुको छ । पार्टी भत्किने चिन्ता र देश संघीय गणतन्त्रसम्म पुग्न सक्दैन कि भन्ने पीर सहिदका परिवारहरुमा छ । यी सबै–सबै समस्या र प्रश्नहरुको घेराभित्रबाट जनयुद्धको आधारलाई पकडेर माओवादी निरन्तर बढिराख्ने क्रान्तिकारी पार्टी बनिरहन सक्ला ? चुनौतीहरु छन् तर माओवादीको अघि बढ्ने बाहेक अर्को विकल्प जनताले देखेका छैनन् । यसर्थ माओवादी जनयुद्धबाट उठेका परिवर्तनका एजेण्डाहरुलाई पूरा गराउन एकढिक्का भएर लागोस् जनताको शुभेच्छा यही रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *