-[विवश यात्री]
दाङ, ६ फागुन ।
जुन दिन हाँस्लान् सारा दुःखीहरु
फुल्नेछन् हाम्रा सबै खुसीहरु
जोडौंला अनि सुन्दर घरबार
रचौंला एकसाथ सुनौलो संसार
थाहा छैन, सारा दुःखीहरु हाँस्ने दिन कहिले आउला ? तर, समाचारको साँघुरो घेराबाट गीतसङ्गीतको उन्मुक्त संसारमा हामफालेका सञ्चारकर्मी के. एल. पीडितको सङ्गीतयात्राको पहिलो पाइला भने अब छिट्टै आउने भएको छ । गीतका हरफहरुमा आफ्नो जीवनजस्तै कथाव्यथा लेख्ने सञ्चारकर्मी पीडित अब नयाँ पहिचानका साथ झुल्किदैछन्– गीति एल्वम ‘आह्वान’का साथमा ।
सङ्गीत, रेकर्डिङलगायतका सबै काम सकिएसकेकाले अब छिट्टै गीति एल्बम बजारमा आउने गीतकार पीडितले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गीतहरुको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङको काम सबै सिध्याइसकेको र केही प्राविधिक काम मात्र बाँकी रहेकाले छिट्टै एल्वम बजारमा आउँछ ।’
एल्वममा सङ्गीत र स्वरमा ख्यातिप्राप्त र चर्चित गायक/गायिका र संगीतकारदेखि उदीयमान नयाँ प्रतिभाहरुको उत्कृष्ट संयोजन रहेको पीडितको भनाइ छ । अहिलेका चर्चित गायक गायिकाहरुको कर्णप्रिय स्वर तथा चर्चित संगीतकारहरुको सङ्गीत रहेको गीतिएल्बम ‘आव्हान’मा ७ वटा गीतहरु समेटिएको पीडितले जानकारी दिनुभयो ।
भौतिक सुखसुविधामा रमाउन खोज्ने प्रियसीलाई राम्रै गरी सम्झाएको ‘नमाग सुनका चुरा मसँग, नगर उनका कुरा मसँग’ बोलको गीतमा सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन् भने पछिल्लो समयमा निकै रुचाइएका युवा गायक प्रमोद खरेलले स्वर दिएका छन् । उपयोग गर्ने र काम सकिएपछि अलपत्र छोड्ने स्वार्थी समाजप्रति तिखो प्रहार गरिएको ‘हर दिलसँग सँधै छलछाम ग¥यौ तिमीले, हामीसँग त झन खुलेआम ग¥यौ तिमीले’ बोलको गीत एल्वमको राम्रो गीतमा गनिन्छ । खोला तरेर लौरो बिर्सने वर्तमान राजनीतिकवृत्त र नक्कली मायाको स्वाङ रचेर स्वार्थ लुट्ने प्रेमीप्रेमिका दुवैलाई झटारो हानेको उक्त गीतको सङ्गीत डा. गोविन्द आचार्यले दिनुभएको छ भने दाङकै चेली सुधारत्नको स्वर रहेको छ ।
त्यस्तै, करीब ३ दर्जन नेपाली चलचित्रहरुमा सङ्गीत दिइसकेका प्रतिभाशाली सङ्गीतकार विकास चौधरीको सङ्गीतमा ‘ए वीर सहिद’ बोलको गीत पनि आह्वानमा समेटिएको छ । यो गीतमा नेपाल टेलिभिजनको ‘भ्वाइस अफ टिन’को उपाधि विजेता बेदु सारु मगर, निर्मला घिसिङ र दीपा महर्जनले स्वर दिएका छन् । चर्चित जनवादी गीतकार तथा सङ्गीतकार माइला लामाको सङ्गीतमा ‘जबसम्म उल्टा सारा चलन सकिँदैन’ बोलको मार्मिक गीत पनि आह्वानमा समेटिएको छ । त्यो गीत पनि बेदु सारु मगर, निर्मला घिसिङ र दीपा महर्जनले गाएका छन् ।
त्यस्तै, एल्वममा दाङकै उदीयमान सङ्गीतकार यादव योगीको सङ्गीत र चर्चित गायक शिशिर योगीको स्वरमा ‘मान्छे मान्छे बीचका भेदभाव मास्न पाए, कति जाती हुन्थ्यो बरै सबै हाँस्न पाए’ बोलको गीत रहेको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको ‘मागेको छ माटोले हाम्रो सीप पसिना, खोजेको छ देशले नयाँ–नयाँ सिर्जना’ बोलको गीतमा नेपाली सुगम सङ्गीतका धरोहर रामकृष्ण ढकालले आफ्नो सुमधुर स्वर दिएका छन् । त्यस्तै, युवा सङ्गीतकार माधव चौधरी ‘अनुरागी’को सङ्गीत र रुपक डोटेलको स्वरमा रहेको ‘भोको छु म त रोटीको कुरा गर, नाङ्गो छु म त भोटीको कुरा गर’ बोलको गीत पनि उत्तिकै सन्देशमूलक रहेको छ ।
जीन्दगीको महत्वपूर्ण र लामो समय पत्रकारिता र साहित्य साधनामा बिताएका पीडितले थारु भाषाको चलचित्र ‘भुइँह्यार’को लेखन, निर्देशन र निर्माण पनि गर्न भ्याएका थिए । उसो त ‘शहर पसेपछि’ कविता संग्रह (२०५२), ‘झोला र सपना’ कवितासंग्रह (२०६२), ‘समयको कथा’ कथासंग्रह (२०६२), ‘हृदयका सरगमहरु’ गीतसंग्रह (२०६५) गरी चारवटा कृतिसमेत प्रकाशित गरिसक्नुभएका पीडितले दुई दर्जन बढी नाटकको निर्देशन साथै अभिनय गरिसक्नुभएको छ ।
समाचारको खोजी, सभा/सम्मेलनमा सहभागिता र समाजलाई सुसूचित गर्नुपर्ने सञ्चारकर्मीको (अस्त)व्यस्तताका बीचबाट सञ्चारकर्मी पीडितले अलिकति भएपनि सङ्गीतयात्रामा केही समय खर्चिनुभएको छ । त्यही मेहनत, लगाव र परिश्रमले पत्रकार, साहित्यकार, चलचित्र निर्देशक हुँदै पछिल्लो समयमा उहाँलाई गीतकारको पहिचानसमेत दिलाएको छ । उहाँका गीतमा देशप्रेम, सहिदप्रति सम्मान, समाजमा उत्पीडनमा परेका वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको मुक्तिप्रति सचेतता र विद्रोही भावना भरिएको छ ।
best of luck kl pidit sir
malai pani hunxa vane hajur ko song send gari dinu hola