सम्झनामा जनयुद्ध

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०६८       | 149 Views   ||

२०६२/३/१६ अर्घाखाँची

आदरणीय दाजु अजयदीप

युद्धमोर्चाको संग्रामी अभिवादन ।

पत्र लेख्दाको मितिसम्म युद्धमैदानमा निरन्तर डटिरहेका छौं । इतिहासमा फेरि पनि बलिदानीको नयाँ किर्तिमानसहित अर्घाखाँचीमा शाही सेनाको एक कम्पनीलाई क्षतविक्षत बनाएका छौं र तपाईंको कार्यकुशलता र पूर्ण सु–स्वास्थ्यको कामनासहित फेरि पनि यही पत्रमार्फत् भेट गर्ने प्रयास गर्दैछु ।

सर्वप्रथम त यहाँको खबर सुनाऊँ, हाम्रो एनटीएफ बटालियनको आफ्नो ऐतिहासिक अभिभारालाई पूरा गर्ने प्रक्रियामा लामो मेहनत र प्रयासपछि गत आषाढ ११ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट दुइ घण्टा नजिकको दुरी खनदह गाजसको देउराली लुतेपोखरीमा आकस्मिकरुपमा आएको दुश्मनमाथि तीव्रतामा योजना निर्माण गरी बिहान साढे १० बजेदेखि साढे दुइ बजेसम्म भीषण भिडन्त भयो । आक्रमणको प्रक्रियामा लडाईंमा नयाँ युद्धकला र क्षमताको प्रदर्शन गर्दै योद्धाहरुले अत्यन्तै चमत्कारिक लडाईं प्रदर्शन गर्ने काम भयो । जसको उपलब्धिको पक्षमा इन्सास राइफल ५ थान, थ्रीनटथ्री राइफल ५ थान, ब्राउनिङ पेस्तोल १ थान, टू इन्च मोर्टार १ थान, सटगन १ थान र केही थान गोली कब्जा गरिएको छ । दुश्मनको क्षतिको यकिन ठ्याक्कै नभएपनि मर्ने, भाग्ने, घाइते हुनेगरी उसको एक कम्पनी क्षतविक्षत भएको बुझिन्छ ।

भौगोलिक प्रतिकूलताका कारण हाम्रो निश्चित आर्कबाहेक अन्यत्र सर्च गर्न त्यति मिलेन, एउटा डाँडाको भूगोलबाट भने दुश्मनलाई लखेटेर सन्धिखर्क पु¥याउने काम भयो । लडाईं त्यहीको वस्तुगत सापेक्षतामा अत्यन्तै सान्दार भएको छ, लडाईंको सेट र सिक्वेन्स अत्यन्तै राम्रो भएको छ । लडाईंको समग्र प्रभावले खासगरी हाम्रो विस्तारको एरियामा आधारइलाकाको विस्तार गर्न यसले महत्वपूर्ण योगदान पु¥याउनुका साथै प्रतिक्रियावादी तथा अवसरवादीहरुलाई राम्रो दनक दिदै प्रचण्डपथको युद्ध रणनीतिको वैज्ञानिकताको थप पुष्टि भएको छ ।

लडाईंमा उच्च साहस र वीरतापूर्वक लड्दालड्दै हाम्रो व्रिगेडका सह–कमाण्डर आदरणीय कमरेड ज्वार र एनटीएफ बटालियन भीसी कमरेड जनकले उच्च सहादत प्राप्त गर्नुभएको छ । लडाईंको सार्वभौम नियमअनुसार बलिदानीको प्रक्रिया स्वभाविक भएपनि लडाईंको मूल नेतृत्वलाई गुमाउँदा सबैलाई स्तब्ध बनाएको छ । टीम फेरि नयाँ आक्रोशसहित अत्यन्तै आक्रामक देखिन्छ । कम्पनी कमाण्डर कमरेड पेरुलगायत ११ जना कमरेडहरु घाइते हुनुभएको छ ।

अरु नयाँ समसामयिक स्थितिबारे कार्यालयसँगै भएकोले तपाईहरुलाई जानकारी भइरहेकै होला । आफ्नो सफल प्रयास हुने कुरा पनि भइहाल्यो । स्कूलिङको बारे तपाईंको चिठ्ठी र त्यहाँबाट आएका प्रशिक्षार्थीसँग भेट भयो । अहिलेको वस्तुजगतको यथार्थता प्रशिक्षणमा झल्किने कुरा स्वभाविक छ । मुख्य प्रश्न प्रशिक्षण ऐतिहासिक र सान्दार भएको बुझियो । प्रशिक्षणको सार बनाइदिनुहुनेछ भन्ने भरपुर विश्वास राखेको छु ।

कुरा फेरि लडाईंतिर जोडौं, १५/२० जना दुश्मन घरमा थुनिए । लगातार ५ घण्टासम्म फाइट गरियो । माइनलगायतका प्रविधिको अभावमा उक्त घरमा रहेको दुश्मन पूर्णरुपमा कब्जा हुन सकेन । त्यही घर कब्जा गर्ने प्रक्रियामा कमाण्डर कमरेडहरुले उच्च सहादत प्राप्त गर्नुभएको हो । इतिहासमा बलिदानीका नयाँ कृतिमान कायम गर्दै ऐतिहासिक उपलब्धि हात पार्न सकिने इतिहासको अपरिहार्य आवश्यकता वस्तुजगतको अपरिहार्यता हो ।

अन्तमा, दाजुले पूर्ण आत्मविश्वाससहित आफ्ना कामकाजलाई थप व्यवस्थित गरिरहनुभएको छ । अझैं पनि थप ढुक्कतासहित विचार, राजनीति, कला क्षमताको प्रदर्शन गर्दै आन्दोलन र हेडक्वार्टरलाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । आन्दोलनलाई हाँक्ने बाहकहरुको ढुक्कता र पूर्ण आत्मविश्वासले मात्र आन्दोलनले नयाँ गति पकड्ने कुरा तपाईं हामी सबैले बुझेकै कुरा हो ।

अहिले थप नयाँ कुरा केही छैन । भएमा अर्को पत्र लेख्ने गरी अहिलेलाई पत्र यति । हाम्रो फौजी अभियान निरन्तर चलिरहेको छ, दुश्मनलाई ट्रयापमा पार्ने प्रयासमा छौं । दुश्मन फेरि फेला परेमा हाम्रो व्रिगेडलाई आत्मनिर्भर गराउने पूर्ण विश्वास पनि लिएका छौं । दुश्मनलाई युद्धमैदानमा धुलो चटाएर तपाईसँग भेट हुनेछ भन्दै बिदा ।

उही भाइ सविन

नोट : एनटीएफ विएनका केही प्रकाशनका काम पनि सम्पन्न गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *