अब लुगा लगाउँदैनन् उनीहरु
त्यसैमा थियो उनीहरुको अभीष्ट रुचि
सफलतापूर्वक सफल भए उनीहरु ।
अब लुगा लगाउँदैनन् उनीहरु
सोंच विचारले सेलाएर
बल्खुको कुलोमा सेलाइसके लुगा
बल्खु अब बल्खु रहेन
झुटमुटको, अनावरणको बिम्ब बनेपछि बल्खु
अब कतै छोपिएको छैन
त्यसभित्रको अधातु ।
हातले जमीन समातेर आकाशमा
खुट्टा फालेर झुण्डिसके उनीहरु
अब लुगा लगाउँदैनन् उनीहरु
हातमा झुण्डाइएको
नौरङ्गी रुमाललाई
लुगा भनेर झुक्किने समय थोरै भएपनि
जुन थियो मनको कोठरीमा
ढोका फोरेर बगिसकेपछि
मनमा छाम्नु अब कुनै अर्थ रहेन
अब लुगा लगाउँदैनन् उनीहरु ।
पुराना पात झरेर फेरि
हरियाली बन्ने रुखहरु होइनन् उनीहरु
रुख भएपनि उनीहरु
हाँगा जमीनमा गाडेका
जरा आकाशमा फालेका
रुख भए अब उनीहरु ।
सुकेको रुख जत्तिको पनि
अब हरियालीमा आउँदैनन् उनीहरु
धेरै भित्र पसिसके अँध्यारोमा
अब उज्यालोमा आउँदैनन् उनीहरु ।
दुइदलीय दाल मसुरोको
एक दल यता थियो
अर्को दल उता थियो
जात खोजेर जोडिएपछि अब
अब ढुङ्गोमा परिमिलन भइसके उनीहरु
ढुङ्गोजत्तिको पनि अब टुसाउँदैनन् उनीहरु ।
टुक्रा–टुक्रामा थिए
नापनक्साअनुसार चकबन्दीमा गए उनीहरु
ताजुपलाई धेरै तताउनु किन
अब लुगा लगाउँदैनन् उनीहरु
निकै भगिरथ प्रयासबाट प्राप्त कुरो
बगेको खोलाजत्तिको पनि
अब फर्कदैनन् उनीहरु
लासजत्तिको पनि
अब चेतनामा आउँदैनन् उनीहरु
लाटोको रिसमा गइसके उनीहरु
अब लुगा लगाउँदैनन् उनीहरु ।
०६८ भाद्र ११, दाङ
dherai man pryo.
good more interesting