१३ देशको लोकसंस्कृति एकै थलोमा

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०६८       | 144 Views   ||

-[डिल्ली मल्ल]
दाङ, ६ फागुन । नेपाली लोकसंस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने मुख्य उद्देश्यका साथ दाङको घोराहीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक पर्यटन महोत्सवको लागि व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । आगामी फागुन २९, ३० र चैत्र १ गते घोराहीमा हुने महोत्सव सफल बनाउन मूल समितिका साथै विभिन्न उप–समितिहरुले व्यवस्थापनको कामलाई तीव्रता दिएका हुन् ।

राप्ती अञ्चलकै हकमा पहिलोपटक दाङमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको लोकसाँस्कृतिक महोत्सवमा नेपाललगायत विश्वका १३ देशले भाग लिने आयोजक पक्षले जनाएको छ । महोत्सवमा भाग लिन मेक्सिको, इटली, फिनल्याण्ड, ग्रीस, पोल्याण्ड, स्टोनिया, टोबो, घाना, लिथुवानिया, श्रीलंका, बंगलादेश र भारतका दुइ सय २० जना कलाकारहरुले आ–आफ्नो देशका विभिन्न लोक नृत्य र साँस्कृतिक झाँकी प्रस्तुत गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव डा. गोविन्द आचार्यले बताउनुभयो ।

काठमाण्डौँमा रहेको एभरेष्ट नेपाल कल्चरल गु्रपको मुख्य आयोजना र पहलमा हुन लागेको अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक पर्यटन महोत्सव यो वर्ष नेपालका चार स्थानमा हुन लागेको आचार्यले जानकारी दिनुभयो । शुरुमा काठमाण्डौंमा महोत्सव गरिसकेपछि वुटवल, दाङ हुँदै अन्त्यमा पोखरामा महोत्सव गर्ने कार्यक्रम तय भएको उहाँको भनाई छ । मुख्य आयोजक एभरेष्ट कल्चरल गु्रपले आर्थिक तथा कलाकारहरुको व्यवस्थापन गर्ने भएकाले आफूहरुलाई त्यति धेरै आर्थिक भार नपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर दाङमा १३ देशका कलाकारहरुको खानपिन, बसोबास, वुटवलदेखि दाङ आउने र पोखरासम्म जाने बस भाडालगायतका स्थानीय स्तरमा व्यवस्थापनको मात्र खर्च लाग्ने भएकाले करिब १४ लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा बाहिरी देशका लोकनृत्य र झाँकीहरुका साथै राप्तीको पहिचानको रुपमा रहेका थारु, मगर, अवधि जातिको पहिचान, यहाँको पर्यटकीय सम्पदाहरुको चिनारी र नजिकका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण मिलाउने महोत्सव सचिवालय उपसमितिका संयोजक नित्यानन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दाङको थारु समुदायको लोकसंस्कृतिमा आधारित सख्या, पैया र बड्का नृत्य, रुकुम रोल्पाका मगर समुदायको लोकसंस्कृतिका आधारित भुमे नाच र मगर भेषभुषा र पहिरन, देउखुरीमा रहेका अवधि (यादव) समुदायको फर्साह नृत्य र रुकुमबाट महिलाहरुको मात्रै सरिङ्गे (लठ्ठी) नृत्य नेपालको तर्फबाट प्रस्तुत गरिने तयारी गरिएको छ ।

त्यस्तै, दाङलगायत राप्ती अञ्चलभरिकै पर्यटकीय स्थल, धार्मिक तथा ऐतिहासिक सम्पदा र मठमन्दिरहरुको जानकारी दिन तस्वीर, ब्रोसरलगायतका सामग्री बनाएर परिचय दिन छुट्टै स्टलको व्यवस्था गरिने शर्माले बताउनुभयो । एभरेष्ट नेपाल कल्चरल गु्रप नेपाल मुख्य आयोजक रहेको महोत्सवको स्थानीय मूल आयोजक समितिमा नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ ‘भारी’ को संयोजकत्वमा निर्माण व्यवसायी संघ, उवासंघ, पत्रकार महासंघ, जिल्ला पर्यटन विकास समितिलगायतका विभिन्न संघ संस्थाहरुको आबद्धता रहेको छ ।

त्यस्तै, महोत्सवको मुख्य प्रायोजकमा लक्ष्मीपुर–४ गोग्लीस्थित घोराही सिमेन्ट्स उद्योग प्रा.लि. रहेको छ । सिमेन्ट उद्योगले महोत्सवको सफलताका लागि एक लाख, एक हजार, एक सय ११ रुपैयाँ सहयोग गरिसकेको छ । त्यसैगरि त्यस्तै, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति दाङले २५ हजार रुपैयाँ सहयोग गरी महोत्सवको प्रायोजक बनेको छ । महोत्सवलाई आर्थिक सहयोग गर्ने क्रममा राप्ती अञ्चल ट्रक व्यवसायी समितिले १० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको महोत्सव मूल समितिका सह–संयोजक बलिभद्र रानाले बताउनुभयो । सह–संयोजक रानाका अनुसार २५ हजारसम्म रकम सहयोग गर्नेलाई प्रायोजक र १५ हजारसम्म सहयोग गर्ने संस्थालाई महोत्सवको सह–प्रायोजक बनाइने भएको छ । आयोजक समितिले महोत्सवलाई प्रभावकारी बनाउन जिल्लास्थित विभिन्न क्षेत्र, पेसा र वर्ग र समुदायमा रहेका संघसंस्थाहरुसँग छलफल गरिरहेको छ ।

फागुन २९ गते उद्घाटन सत्रमा सबैलाई प्रवेश दिइएपनि फागुन ३० र चैत्र १ गते टिकट काट्नुपर्ने आयोजक पक्षले जनाएको छ । साधारण टिकटलाई ३० रुपैयाँ, विशिष्ट श्रेणीको टिकटलाई पाँच सय र अति विशिष्ट श्रेणीको टिकटलाई एक हजार रुपैयाँ पर्ने बताइएको छ । महोत्सव परिसरमा खाजा, नास्ता र चिया होटेल एवम् किराना तथा फुटकर सामानको स्टल राख्नेलाई तीन हजार र अन्य ठेलाजस्ता घुम्ती व्यापार गर्नेहरुलाई स्टल भाडादरअनुसार एक हजार तिर्नुपर्ने महोत्सव मूल समितिका सदस्य सचिव डा.गोविन्द आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *