सफलतासँगै नयाँ–नयाँ आविस्कार

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०६८       | 128 Views   ||

जनउभार समाचारदाता
दाङ, ६ माघ । रेडियोमा एक ठाउँ बोलेको कुरा सबैको रेडियो सेटमा कसरी सुनिन्छ भनेर घोत्लिदा घोत्लिदै १५ वर्षीय मार्शल र शुभम्ले एफ. एम. रेडियो ट्रन्सफर्मर बनाए । तीन वर्ष पहिले रेडियो ट्रान्सफर्मर बनाएर उत्साहित भएका मार्शल रोका र शुभम्सिंह गुप्ताको यात्रा अहिले नयाँ–नयाँ प्रयोग र सफलतासँगै अगाडि बढिरहेको छ ।

पछिल्लोपल्ट गत माघ २७ र २८ गते काठमाण्डौँमा आयोजित राष्ट्रव्यापी कलेजस्तरीय ‘हिमालयन साइन्स फेयर २०१२ मा ६० भन्दा बढी कलेजहरुलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेपछि त झन् उनीहरु निकै उत्साहित भएका छन् । ‘हामीलाई अवसर दिनुपर्छ, विज्ञानको क्षेत्रमा केही नयाँ आविस्कार गरेर देखाउन सक्छौँ– मार्शलले भने– ‘स्रोतसाधन र आर्थिक अभावका कारण हामीलाई अलि समस्या परेको छ, तैपनि सबैको सहयोग भएमा केही गर्न सक्छौँ भन्ने आत्मविश्वास छ ।’

यसो गरे के होला भनेर सामान्य तर अलि फरक तरिकाले काम गरिरहन मन पराउने उनीहरुले तीन वर्षकै बीचमा ४० वटा विभिन्न आविस्कार गरिसकेको बताउँछन् । भ्यालीटप बोर्डिङ स्कूलमा कक्षा १० मा पढिरहेका मार्शल र दाङभ्याली कलेजमा आइ एस्सी दोस्रो वर्षमा पढिरहेका शुभम्लाई उनीसँगै आइ एस्सी दोस्रो वर्षमा पढिरहेका पङ्कज न्यौपाने र शिवम् वैश्यले खोज अनुसन्धान र निर्माणमा सघाइरहेका छन् ।

पछिल्लोपटक उनीहरुले धाराको अगाडि हात लैजानेबित्तिकै पानी आउने र हात हटाएपछि पानी बन्द हुने प्रविधिको आविस्कार गरेका छन् । ‘धाराको मुनि जडान गरिएको सेन्सरका कारण हात लिएपछि धारा खुल्ने र हात हटाएपछि धारा बन्द हुने गरेको शुभम्ले बताए । उसो त आफूहरुले पछिल्लोपटक बनाएको उक्त प्रविधि बनाइदिन तीन दर्जन बढीले माग गरिसकेको मार्शलले बताए ।

त्यस्तै, उनीहरुले मान्छे ढोका छेऊमा जाँदा आफै खुल्ने र भित्र पसिसकेपछि आफै बन्द हुने ‘अटोमेटिक डोर कन्ट्रोल’, धारामा पानी आउनेबित्तिकै साइरन बजाउने र मोटरमा विद्युत आपूर्ति गर्ने ‘ड्रिंकिङ वाटर आलराम’ निर्माण गरेका छन् । त्यस्तै, उनीहरुले ताली बजाउँदा स्वीच अन हुने र अर्कोपटक ताली बजाउँदा स्वीच अफ हुने ‘क्ल्याप अप्रेटर स्वीच’, कसैले ढोकाको ताला छोएमा साइरन बजाएर संकेत दिने ‘टच सेक्युरिटी सिस्टम’लगायतका प्रविधिहरु निर्माण गरेका छन् ।

आफूहरुले निर्माण गरेका सबै आविस्कारहरु मान्छेको दैनिक जीवनमा काम लाग्ने भएपनि आर्थिक अभावका कारण आफूहरुले विक्री वितरणका लागि निर्माण गर्न नसकेको मार्शलले बताए । आफूहरुले निर्माणका मध्ये दृष्टिविहीनलाई बाटो देखाउनसक्ने यन्त्र आफूलाई बढी प्रभावकारी हुनसक्ने मार्शलको भनाइ छ । दृष्टिविहीनले सो यन्त्र लिएर हिडेमा अगाडि जस्तोसुकै अवरोध छ भने त्यसले साइरनमार्फत् संकेत दिने र दृष्टिविहीन व्यक्ति लठ्ठीको सहारा लिएरभन्दा छिटो हिड्न सक्ने उनले बताए । पछिल्लोपटक आविस्कार गरेका यिनै १० वटा प्रविधिलाई प्रतियोगितामा प्रस्तुत गरेको मार्शलले बताए । अब छिट्टै व्याट्रीबाट चल्ने हेलिकोप्टरको परिक्षण उडान गर्ने उनको भनाइ छ ।

यसैबीच राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई गत शुक्रबार एक कार्यक्रमको दाङभ्याली कलेजले सम्मान गरेको छ । कलेजका प्रिन्सिपल दानबहादुर केसीलगायत शिक्षक, विद्यार्थी र पत्रकारहरुको टोलीले उनीहरुलाई अविर लगाएर स्वागत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *