आठ मार्च र महिला आन्दोलन

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २४, २०६८       | 321 Views   ||

-[सुशीला आचार्य]

न्युयोर्कको कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरुले ‘समान कामका लागि समान ज्याला’ भन्ने मुल नारासहित गोलबन्द भई आफ्नो अधिकारलाई प्राप्त गर्न गरिएको आन्दोलनले केहीरुपमा मुक्ति पाएको दिन ८ मार्चलाई विजयको प्रतीकको रुपमा लिने गरिन्छ । जसमा १८ घण्टा कामको सट्टा १० घण्टा कामलाई मान्यता दिन थालियो । सन् १९०९ मा अमेरिकाको समाजवादी पार्टीले महिला दिवसको घोषणा गरेको थियो । सन् १९१० मा कोपनहेगनमा सम्पन्न अन्तर्राष्ट्रिय बैठकबाट श्रमिक महिला दिवसको रुपमा ८ मार्चलाई मनाउन थालिएको हो । १९११ देखि श्रमिक महिला दिवस अथवा ८ मार्चलाई मनाउँदै आएको पाइन्छ ।

समान अधिकार, समान हक, समान अवसरजस्ता कुराहरुलाई ८ मार्चले विशेष महत्व राख्दछ । १७ वटा राष्ट्रहरुको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सभामा एक सय जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो । महिला नेतृ क्लारा जेट्किनको नेतृत्वमा रहेको श्रमिक महिलाहरुले मुक्ति पाएको दिनको रुपमा स्मरण गर्दै यो दिवस नेपालमा पनि मनाउँदै आएको पाइन्छ । महिला आन्दोलनको विकाससँग प्रत्यक्ष सम्बन्ध रहेको ८ मार्च मनाउन थालेको १ सय २ बर्ष पुगिसक्दा पनि महिला आन्दोलनले गति लिन नसकिरहेको यस अवस्थामा ८ मार्चले नेपाली महिला आन्दोलनभित्रका कठिनाई र यसका चुनौतिहरुका बारेमा सोच्न बाध्य बनाउँछ ।

यसैगरी यो बर्ष मार्च ८ फागुन २५ गते श्रमिक महिला दिवस विश्वभरका महिलाहरुले जस्तै नेपाली महिलाहरुले पनि विविधखाले कार्यक्रमहरु गरेर मनाउँदैछन् । जसले गर्दा महिलाहरुमा ८ मार्चबारे विभिन्न कार्यक्रमहरु ल्याउने होडबाजी नै छ । तर पनि यसको वास्तविकता केही फरक छ । अहिले पनि असमानता र अन्यायका खाडलहरु नेपाली समाजमा प्रशस्तै छ । जसका कारण महिला हिंसा, उत्पीडन, अवरोध कुरीति, रुढीवादी मानसिकता पितृसत्तात्मक सामन्ती संरचना पछौटे यथास्थितिवादी सोच आदि कारणले महिलाहरु अझैं पनि स्वतन्त्र जीवन जीउन सकिरहेका छैनन् र उनीहरु पराधीन मानसिकताबाट माथि उठ्न नसकेको यथार्थता हो । यस बर्षको अन्तर्राष्ट्रिय नाराको रुपमा ‘महिला हिंसा अन्त्य गरौं, सहिष्णुता कायम गरौं’ भन्ने विषयलाई विशेष गरि अगाडि सारिएको छ । जसबाट पनि प्रष्ट हुन्छ कि विश्वमा कुनै न कुनै रुपमा महिला हिंसा भइरहेको छ । लैङ्गिक विभेदले नराम्ररी जरा गाडेको छ । लैङ्गिक विभेदको अन्त्यबिना सहिष्णुता कायम हुन सक्दैन भन्ने कुरा विश्वले स्वीकार गरेको अवस्थामा पनि महिलामाथिको हिंसा किन कम हुन सकेको छैन भन्ने सवालमा सबै गम्भीर हुनु जरुरी छ ।

नेपाली महिला आन्दोलनलाई नजिकबाट हेर्दा धेरै वीरविरङ्गनाहरुको सपना जोडिएको छ । स्वतन्त्रताको लागि आत्मदाह गर्ने योगमाया न्यौपानेको त्याग, समर्पण, बलिदानी, २००७ सालमा भएको आन्दोलनमा महिलाहरुको सहभागिता, पञ्चायतविरुद्ध लड्दै गर्दा मारिएका महिलाका सपना, २०४६ सालको जनआन्दोलनको सहभागिता २०५२ सालपछि जनयुद्धमा कोरिएका वीरगाथा र अहिले संवैधानिक स्थापित गर्न लागि परेका महिलाहरुका सपनालाई जोडेर हेर्दा नेपाली महिला आन्दोलनले निकै उँचाइ लिइसकेको छ । तर पनि उपलब्धिका हिसाबले आन्दोलनले निर्णायक मोड लिन नसक्दा कतिपय सवालमा अहिले पनि महिलाका समस्या साझा समस्या बन्न सकेका छैनन् । महिलाहरुको न्यायालयसम्म पँहुच पुग्न सकेको छैन । महिला भनेको कमजोर जात र पछौटे व्यक्तिको रुपमा ग्रहण हुने गर्छ । यस्ता गलत तत्वहरुका विरुद्ध महिलाहरु साझा सवालमा एक हुन नसक्नु पनि आन्दोलनको चुनौतीका रुपमा थपिएको छ ।

यस बर्ष ८ मार्चमा दाङ जिल्लाले केही ऐक्यबद्धता र केही सन्देश दिने तयारी गरेको पाइन्छ । जसमा दाङ जिल्लामा रहेका राजनैतिक पार्टीहरुका महिला संगठनहरुको अगुवाईमा दाङ जिल्लामा क्रियाशील संघसंस्था, पत्रकार, सञ्चार संस्था मानवअधिकारवादी संस्थाहरु सम्पूर्णको आयोजनामा ८ मार्चलाई संयुक्तरुपमा मनाउने घोषणाले महिलाहरुमा केही सामीप्यता बढाउनका साथै साझा सवालमा एक भएर जानुपर्ने धारणाको विकास गर्न सक्षम भएको छ । यसबाट के आशा गर्न सकिन्छ भने दाङले सिङ्गो नेपालीहरुमा एकताको सन्देश दिन सफल भएको छ । सुधा रेग्मीको संयोजकत्वमा निर्माण गरिएको सचिवालय समितिबाट नै ८ मार्चको तयारी भइरहेको छ ।

समानताको लागि उठेका हातहरुले विश्व महिला दिवस मनाउन सफल भएपनि संविधान निर्माणको यस घडिमा महिलामैत्री संविधानको अर्को विकल्प महिला अधिकारका लागि छैन । त्यसकारण नेपाली महिला आन्दोलन र त्यसको बलिदानीलाई राजनैतिक दलहरुले समयमै अपनत्व दिन सक्ने संविधान नेपाली जनतालाई दिनसकेपछि मात्र ८ मार्चको १०२ औं अन्र्तराष्ट्रिय श्रमिक दिवसले सार्थकता पाउने छ ।

हाम्रो जस्तो कृषिप्रधान देशमा औद्योगिक क्रान्ति भएको छैन । जसले गर्दा पुरानो शैलीको जीवन गुजाराले महिलाहरुको मुक्ति सम्भव छैन । त्यसैले पैतृक सम्पत्तिमाथिको हकले महिलाहरुलाई मानवअधिकारसम्पन्न गर्न मद्धत गर्ने भएकाले प्राप्त अधिकारहरुलाई लागू गर्दै लैजानु पनि अर्को महत्वपूर्ण कुरा भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कुराहरुमा पनि महिलाहरुको समानुपातिक प्रतिनिधित्व दिन सकेपछि मात्र वास्तविक ८ मार्चको उँचाईलाई माथि उठाउन सकिन्छ । अन्त्यमा १०२ औं श्रमिक दिवसको सार्थकताका लागि सबैले पहल गरौं, हिंसारहित समाजको निर्माण गरौं सामाजिक सेवामा सर्मपित बनि संवैधानिक हक स्थापित गर्दै अगाडि बढ्नका लागि यो बर्ष दङ्गाली महिलाले दिन खोजेको एकतालाई मुक्ति ढोकासँगै डो¥याउने सफलता मिलोस्् भन्दै ८ मार्चको अवसरमा सम्पूर्ण श्रमिक महिलाहरुमा एकताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *