मृत्यु तोड्दाको त्यो क्षण

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २४, २०६८       | 154 Views   ||

-[मुलधन रोका ‘अर्जुन’]

यतिबेला मलाई अनौठो लागिरहेको छ सयौं सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको इलाका प्रहरी चौकीबाट म कसरी फुत्कन सकें ? मलाई अझैं पनि आफैमाथि विश्वास गर्न पनि कता–कता अप्ठ्यारो लागिरहेको छ । तर, पाठकवृन्द म यहाँ तपाईहरुलाई साँचो घटनाबारे जानकारी गराउँदैछु । मलाई पनि अनुभूति भइरहेको कुरा के हो भने हामीले विवेकलाई गुमाएनौं र साहसलाई दह्रो बनायौं भने जस्तोसुकै चुनौतीसँग पनि सामना गर्न सक्छौं ।

मालेमावादी वैज्ञानिक हतियार बोक्ने योद्धाहरुले मनोबल गुमाएनन् र हरेक प्रतिकूलताभित्र पनि अनुकूलता खोज्न थाले भने त्यहाँ दुरदर्शी योजनाहरु आफै तयार हुँदारहेछन् । मलाई झल्झली सम्झना आइरहेछ मेरो हत्या गर्ने अन्तिम समय आइसकेको थियो । मलाई प्रहरी चौकीमा रहेको ट्वाइलेटमा बाहिरबाट ताल्चा लगाएर थुनिएको थियो । साँझ ८ बजिसकेको थिएन । म जुरुक्क उठें, बुरुक्क उफ्रेर ड्रममा चढें र झ्याललाई तीनचोटीसम्म हिर्काएर फुटाएँ । त्यसपछि त्यहीबाट हाफ फालेर सुइकुच्चा ठोकिहालें । मेरो पछि आउने प्रहरीलाई ढुङ्गाले हिर्काउँदै जंगल पसेपछि त प्रहरीले मलाई भेटाउन नै सकेनन् ।

०५७ बैसाखको ३१ गते । सहयोद्धा कमरेडहरुसँगै दाङको लक्ष्मीपुर गाविसको सेल्टरमा बसिरहेका थिएँ । अकस्मात् एकजना कमरेड हतार–हतारमा प्रवेश गर्नुहुन्छ र एकजना अर्को कमरेड जीप दुर्घटनामा परेको खबर दिनुहुन्छ । कमरेडको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर भएको जानकारी दिनुहुन्छ । के गर्ने ? के नगर्ने ? आत्तिएर सम्भव थिएन । संयमता, धैर्यता लिन पनि आवश्यक थियो । जिम्मेवार कमरेडहरुसँग सरसल्लाह भयो । उहाँको उपचार दुश्मनको आँखामा धुलो छ्यापेर जानुपर्ने जिम्मेवारी ममाथि आयो । आवश्यक पैसा सामग्री लिएर जिम्मेवार कमरेडसँग बिदाइ भएरु दाङको घोराही बजारतिर लागेँ, जहाँ दुश्मन जताततै थिए ।

घडिले साँझको ठीक ५ बजेको घण्टी हान्दै थियो । सूर्य क्षितिजपारि पुगेर रातो रुमालले छोपिएझैं रातो देखिन्थ्यो । म सरासर महेन्द्र अस्पतालको गेटभित्र छिरेँ । बेडमा घाइते कमरेडको हालत देख्दा अत्यन्त पीडा महसुस भयो । उहाँ होसमा हुनुहुन्थेन । मुखभरि, टाउकोभरि रगतै रगत थियो । अत्यन्तै विभत्स रुप त्यो स्थिति देख्दा मलाई छटपटाहट र पीडा महसुस भयो । जसको कारण त्यहाँको स्थितिप्रति गम्भीर ख्याल गर्नुपथ्र्यो तर मैले त्यसो गरेनछु । सरासर कमरेडलाई राखेको बेडनजिक गएँ । थाहा भएन कि उहाँ पहिले नै दुश्मनको कब्जामा परिसक्नुभएको रहेछ । सिआइडी बसेका रहेछन् । मैले घाइते कमरेडको खल्ती छामें, उहाँको स्थितिको जानकारी लिएँ । बस मेरो पछाडि सिआइडी लागिसकेछन् । उनीहरु पिछा गरेको मलाई याद भएन । एउटा पत्रिका पसलनेर चारजना सिभिलमा आएर मलाई गिरप्तार गरि छाडे । वरपरको स्थितिलाई ध्यान दिएँ । सारा मान्छेहरु मलाई हेर्दै थिए । इन्स्पेक्टरले भन्दै थियो– ‘खबरदार तँ भागिस् भने सुट गरिदिन्छौं । फेला परिस् साला माओवादी’ आदि इत्यादि भन्दै मेरो कन्चनमा पेस्तोल ताकेको थियो । कति त्रसित थिए उनीहरु यो भाग्छ अनि मेरो प्रमोशन…सायद यही सोच्दै थियो होला त्यो इन्स्पेक्टर ।

त्यसपछि मलाई हस्पिटलभित्र लैजान्छन् मलाई र घाइते कमरेडलाई देखाउँदै त्यो तिम्रो मान्छे हो ? भन्छन् । मैले होइन भन्छु । त्यत्तिकैमा एउटा भ्यानभरि पुुलिस आइपुग्छन् र शरिर तलासी लिन थाल्छन् । केही कागजपत्रका साथमा मसँग भएको २० हजार जति रुपैयाँ लुटेर मलाई भ्यानमा चढाउँछन् । त्यो बेला म अत्यन्त दोमनमा परें । सोंचे– अब रगत पिउने हत्याराहरुले सिध्याउने निश्चित छ । वरपर हेर्छु, सोच्छु भाग्ने कुनै उपाय छैन । १३ सय महान सहिदहरुलाई सम्झें । सुरेश वाग्लेलगायतका सयौं सहिदहरुले जीवन उत्सर्ग गरेको बाटोमा अब म पनि जाँदैछु । नारा लगाउँ कि ? भएन भाग्ने झन् सम्भव पनि थिएन । अन्ततः उनीहरुको पञ्जामा नै बस्नुपर्ने भयो । साँझको रिमझिमसँगै जिल्ला प्रहरी कार्यालयको गेटभित्र भ्यान छिराएर सोधपुछको क्रम शुरु गरे उनीहरुले । मैले आफु माओवादी भएको परिचय दिएँ, घर रोल्पाको थवाङ पनि बताएँ । पोख खुलाउने झिनो प्रयास गर्छन्, म निडर बन्छु र दाङको बारेमा केही थाहा छैन मलाई जे गर्छौ गर भनेपछि अर्को कोठामा लिन्छन् र शुरु हुन्छ– कुटपीटको काम ।

स्वयम् इन्स्पेक्टरले सयौंपटक कोर्रा लगाउँदै पोल खोल्न आग्रह गर्छ । एक दुइजनालाई पारेर तिमी बाँच्छौ भने धेरै राम्रो हुनेछ ल देखाइदेऊ तिम्रो कार्यालय कहाँ छ ? फलानो को हो ? कहाँ बस्छ ? आदि इत्यादि । तर, मबाट उक शब्द पनि उनीहरुले पाउन सकेनन् । सोंचे– यातनाले मुटु चुडाउन खोज पनि झुक्नुहुन्न । अझ मर्नु परेपनि मृत्युलाई स्वीकार गर्नुपर्छ तर पार्टी क्रान्तिलाई क्षति हुने गरी एक शब्द पनि खोल्नु क्रान्तिप्रति गद्धारी गर्नु हो र यसो गर्नु कम्युनिष्ट नैतिकताले दिदैन । बेला–बेलामा होस गुम्छ फेरि ब्यूँझन्छु । यातनाको बारेमा त के पो लेखौं र ? महासमरको यात्राबाट दुश्मनको कब्जामा परेका थुप्रै कमरेडहरुलाई थाहा छ कति पीडा हुन्छ यातनाको क्षण ? मुटु चुँडिएझैं हुन्छ, होस गुम्छ । कहिले पैतलामा कहिले झुण्ड्याएर, कहिले भकुण्डो बनाएर लगातार पिटिरहे, पिटिरहे । दिन जान्छ, रात आउँछ लाग्छ– नरपिचासहरु आज मलाई मार्दैछन् । तर, आदेश आउँछ– सोच, भोलि बताइस भने बाँच्छस् । अर्को दिन फेरि यातना लगातार चार÷पाँच घण्टा बितेपछि हार्छन् उनीहरु । फेरि आदेश आउँछ–अझैं सोच तँ बाच्न पाउँछस् । म आफू बाँचेर पार्टी र क्रान्तिलाई क्षति पु¥याउने एकरति पनि सोच्दै सोचिन, कठोर भइरहें । महान सहिदहरुलाई सम्झिरहें ।

यातनाका कारणले म धेरै गलिसकेको थिएँ । रगतै रगतको बीचमा सुनसान कोठामा राती एक्लै हुन्थें । वरपरका कडा सेन्ट्रीको बीचमा मलाई राखिएको थियो । उपियाँ, उडुस, लामखुट्टेका हुल भएपनि यो मेरो निम्ति सामान्य थिए । कुनै दिन बेहोसमै रात जाँदोरहेछ । कुनै दिन कल्पनाको सागरमा डुब्दाडुब्दै रात कटाउँथे र यातनाका कोर्राहरु सहन विवश हुन्थें । कहिले आमाबाबुलाई मार्ने धम्की दिन्थे भने कहिले जहान परिवारलाई । मसँग एकजना भुपबहादुर घर्ती नामको व्यक्ति राखिएको थियो । उसले आफू माओवादी भएको भनी केही कुरा पुलिसलाई दिन सफल भयो । पछि मात्र यो सिआइडी हो भन्ने बुझेँ । झन् झन् मलाई नरपिचासहरुले मार्ने निश्चित बन्दै थियो । नभन्दै अन्तिम प्रश्नको रुपमा सोधे– तँ के चाहन्छस् ? मैले सोझो जवाफ थियो, यातना होइन् मृत्यु । तब उनीहरु ‘ल मर’ भनेर डोरी लिएर छातीमा बेरेर सुर्काउन थाल्छन् । जसबेला रातो कपडाले मेरो मुख छोपिदिएको थियो । सँगसँगै खुट्टामा पनि बाँधेर पल्टाए । डोरी सुर्काउन शुरु गरेपछि प्राण गुम्दै गएजस्तो भयो । तर, क्रमशः डोरी फुकाउँछन् र यातनाका अन्य रुपको शुरुवात गर्न थाले ।

दिनको तीनपटकसम्म पिटाइ खानुपथ्र्यो । यसरी यातनामय दिनहरु बित्दै गए । यातनामय दिनहरुमा खाना पनि राम्ररी खान सकिएन । खानु पनि कसरी ? कहिले जलेको भात, कहिले काँचै चामल त कहिलेकाँही झिनो प्राण धान्न खाने गर्थे । मलाई मेरो गृह जिल्ला रोल्पामा दुइवटा ज्यान केससम्बन्धी मुद्दा थियो । घर्तीगाउँ, तकसेरा, रामपुरको कमाण्डर भन्दै यातना दिइएको थियो । त्यसैले पनि मलाई सिध्याउने भन्ने निश्चित थियो । नरपिसाचहरुले हत्या गर्ने ग्यारेन्टी गर्छन् । तर, घर्तीगाउँ, तकसेरा र रामपुरमा उनीहरु कहिल्यै छापामारसँग भिड्न सक्दैनन् । निशस्त्र व्यक्तिलाई हत्या गर्नु, गायव पार्नु, उनीहरुको पराजित मानसिकताको उपज हो मलाई यस्तै यस्तै लागिरह्यो ।

गिरप्तार भएको चार दिन भएको थियो । त्यसदिन दिनभरि यातना दिइयो । साँझ पर्दासम्म पनि नरपिचासहरुले पिटिरहे । रातको आठ बज्यो तर त्यो दिन कोठाभित्र लगेनन् । म पूर्ण विश्वस्त भएँ आज नै मेरो अन्तिम दिन रहेछ । सबै कमरेडहरुलाई सम्झिएँ । खाना ल्याइदियो, खान मन लागेन । राती १० बजे हत्कडी लगाएर गाडीमा राख्यो । जिल्ला प्रहरी कार्यालयको गेटबाट गाडी बजारलाई चिर्दै सुनसान रातमा अघि बढ्यो । वरपर सुनसान थियो । कुकुर भुकिरहेका थिए । सोचें, अब जोडले नारा लगाउँछु, जनतालाई मेरो मृत्युको खबर दिन्छु । तर, सम्भव भएन । कम्बलले मलाई छोपेका थिए । जोडले क्यासेट घन्काएर अघि बढ्दै थिए । एकपटक पार्टी जीवनलाई सम्झेँ– जीवनका उकाली ओरालीलाई सम्झेर सर्वहारा वर्गीय विजयको निम्ति लडेका योद्धाहरुलाई सम्झेँ । तर, फेरि आज पनि दुश्मनले बचायो । पहिलो पोष्टबाट अर्को पोष्टमा अर्थात् तुलसीपुरको इलाका प्रहरी कार्यालयमा सारेका रहेछन् । त्यो सिआइडीलाई त्यो दिन मसँगै सुताए । रातभरि अनेक कुरा खोल्ने प्रयास ग¥यो । एकछिन त लाग्यो त्यही सिध्याइदिउँ कि ?

पीडामय रात बितेपछि बिहानीले ब्यूँझायो । गौथलीको चिरबिरले बिहानीको संकेत दिइरहेको थियो । ०५७ जेठ ३ गतेको बिहान पाँच बजेतिर कसैले नदेख्ने गरी ट्वाइलेटमा लगेर थुनियो । यसो आँखा लगाएँ, झ्यालमा एउटा फुटेको सिसा रहेछ । जसबाट बाहिर हेरेँ र झ्यालको अवस्थालाई हेर्दा कमजोरझैं देखियो । अकस्मात् दिमागले योजना निर्माण ग¥यो । योजनाले भन्दै थियो– तँ उनीहरुको योजनाभित्र पर्दैछस् हेर अब तँ आफ्नो योजनाबाट मर्न सक्नुपर्छ, उनीहरुको योजनाबाट होइन । योजना व्यापक अध्ययन गरेँ, बाहिर भूगोल हेरेँ, सेन्ट्री पोष्ट हेरेँ । आज राती ७ देखि ८ को बीचमा म मर्नुपर्छ । सके उम्किउँला, नसके मरौंला । योजना निश्चित भएपछि योजनाप्रति दृढ भएँ । आज राती निश्चितरुपमा यिनीहरुले मार्दैछन् भन्ने पक्का भइसकेको थियो । गैटी बेल्चा जम्मा गरेको देखेको थिएँ । त्यो दिन चान्सले मलाई यातना दिएनन् । बिहान जलेको भात पानीसँग निले । हातखुट्टा छामेँ जे होस् शरिरले साथ देलाजस्तो लाग्यो । पुलिसहरु कानेखुसी गर्दै आज राती यो मान्छे मर्दैछ भन्दै थिए । त्यो दिन असाध्यै लामो लाग्दै थियो । यदि मलाई सबेरै निकाले भने योजना विफल हुनसक्छ कि भन्ने डर लागिरहेको थियो । तैपनि योजनामा थुप्रै अनुकूलता भेटाएका ले दृढ थिएँ । किन–किन शरिर एकदमै तातेको थियो । कि मर्छु, कि जित्छु भन्ने कुरा मानस्पटलमा घुमिरहेका थिए । साँझ प¥यो, सात पनि बज्यो । तर, उता मैले जताबाट भाग्ने भनेको थिएँ, त्यही प्वाइन्टमा पुलिसहरु नुहाउन थाले । ममाथि छटपटी शुरु भयो । साढे सात भयो । अझैँ नुहाउँदै थिए नरपिचासहरु । यातना खपेको शरिबाट पसिना आउँदै थियो, छटपटी बढ्दै थियो ।

पुलिसहरु क्रमशः नुहाइ सिध्याएर खाना खानपट्टि लागे । शरिर बेस्सरी तातेको थियो तर पनि काम छिट्टै फत्ते गर्नु थियो । दह्रो आँटका साथ योजना कार्यान्वयनपट्टि लागेँ । बाहिर हेरेँ सेन्ट्री पोष्ट खालीझैं लाग्यो । वरपर पुलिसहरु पनि थिएनन् । मौका यही हो भन्ने लाग्यो । योजनामुताविक सर्ट फुकालेँ । बत्ती निभाएँ । त्यसपछि बुरुक्क उफ्रेर ड्रममा चढे । लगातार तीनपटक सिसाको झ्यालमा हिर्काएँ तर झ्याल फुटेन । अलिपरको सेन्ट्रीले करायो– ‘ए केटा के गर्छस् हँ ?’ उफ योजना विफल भएकोमा पसिना आयो । झण्डै बेहोस भएँ । केही क्षणपश्चात् पुलिसहरु चुप लागे । बत्ती बालेर हेरे, दुःख लाग्यो । किन फुटेन भनेर जिज्ञासाकासाथ झ्याललाई यसो छामें, हेरें– भाग्यवश झ्याल त फुटिसकेको रहेछ । छिटो–छिटो बत्ती निभाएर फुटेको सिसा निकालेर भुँइमा राखे बन्दकोठरीबाट मुक्त भएँ । योजनामुताबिक पुलिस बंकरको दक्षिण साइडबाट दगुरेर पर्खाल नजिक पुग्दा एउटा निशस्त्र पुलिसले देखिहाल्यो र कराउन थाल्यो– ‘चोर भाग्यो, चोर भाग्यो, गाडी चलाऊ, राइफल ल्याऊ ।’ हतियारविहीन पुलिसहरु मेरो पिछा लाग्न थाले । पातुखोलाको बगरै बगर म दौडिरहेँ– पछि–पछि उनीहरु अघि–अघि म । मलाई ढुङ्गाले हिर्काउँदै थिए उनीहरु । क्षणभरमै थाहा पाएँ उनीहरुसँग राइफल छैन भन्ने र प्रत्युत्तरमा ढुङ्गा हिर्काउन थाले मैले पनि । वरपर हेरेँ, नजिकै जंगल रहेछ एक सासमै जंगलभित्र छिरेँ । अब पछाडि फर्केर हेरेँ– उनीहरु हारिसकेका थिए, मैले जितिसकेको थिएँ ।

दुश्मनको पञ्जाबाट फुत्किसकेपछि एकछिन उफ्रेँ, खुसीको मुठ्ठी उठाएँ । एक्लै भएपनि खुसीले गद्गद् भई जंगलका रुखहरुलाई अनि सालका पातहरुलाई अङ्कमाल गरे । धेरै बेर त्यहाँ बस्न उचित थिएन । यात्रा शुरु गरेँ, एउटा घरमा पुग्दा चारवटा चकलेट खान दिनुभयो र त्यहाँबाट अघि बढेँ । शरिर थाक्दै थियो, कतिखेर खोला बगर, कतिखेर खेतको आलिबाट, कतिखेर भीरबाट हिडिरहेँ । अघि बढ्ने क्रममा बिजौरी गाविसको अक्कासी गाउँमा एउटा घरमा उपरिचित परिवारजनबाट चप्पल र हाफपाइन्ट पाएको घटना मेरो लागि जीवनभरि नभुल्ने परिघटना बनेको छ ।

यसरी चार दिनपछि सम्पर्क सेल्टरमा पुग्न सफल भएँ । मृत्युको मुखबाट फुत्किएर यतिबेला पुनः सहयोद्धा कमरेडहरुसँग युद्धमैदानमा रमाइरहेको छु । सयौँ जनताको अमर मायाबाट शक्ति सञ्चय गर्दैछु । यातनाको कारण अझैं अस्वस्थ नै छु । शरिर दुखिरहेको छ । तर पनि तीव्र आक्रोश छ, पीडा विल्कुलै छैन किनभने जनताको विजयलाई दृष्टि क्षितिजमा देखिरहेको छु, यहाँ लालीगुराँसझैं सहिदको रगत बोकेर आइरहेछ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *