प्रिय साथी !
जाऊ, तिमी जाऊ साथी
तोडेर यी बेइमान आदर्शका
क्रुर बन्धनहरु
तीखा तारबारहरु
र, कडा पर्खालहरु ।
जहाँ,
सपनाहरु अभिशापमा फेरिन्छन्
जीवनहरु मृत्युमा बदलिन्छन्
जहाँ,
जिजीविषामा अपमानको राज हुन्छ
स्वतन्त्रतामा जञ्जीर बेरिन्छ
जहाँ,
कोमल भावनामा नीतिका काँडा घोचिन्छ
हार्दिकता गुलामीमा फेरिन्छ
त्यहाँ बस्नुको कुनै अर्थ छैन
त्यसैले जाऊ, तिमी जाऊ साथी ।
हिजो–आँखामा आगो बालेर आएथ्यौँ सँगसँगै
आज–अलिकति खरानी लिएर जाँदैछौ तिमी
हिजो–मनमा विहान बोकेर आएथ्यौँ सँगसँगै
आज–निरस निरस साँझ बोकेर जाँदैछौ तिमी
हिजो–उत्साहमा भेल उराल्दै आएथ्यौँ सँगसँगै
आज –खाली खाली बगर छाडेर जाँदैछौ तिमी
अथवा,
कुनै जमिन्दारको घरबाट निकालिएका
निरीह कमैया जस्तो रितो रितो भएर, वा
कुनै निर्दयी श्रीमानले कुमारीत्व खोसेर
सम्बन्ध बिच्छेद गरिदिएको अबला नारी जस्तो भएर
आज तिमी जाँदैछौ यहाँबाट
यो कस्तो बिडम्बना !?
यो कस्तो विवशता !?
साथी ! प्रिय साथी !
साझा बगैँचाका बनमारा जलाएर
हामीले रोपेका साझा गुराँसमा
ऐजेरु पलाएपछिको परिणाम हो यो
हामीले बोकेका विहानीमा
काला बादल मडारिएपछिको नतीजा हो यो
त्यसैले जाऊ, तिमी जाऊ साथी
हाम्रो कसमको छुट्टै संसारमा
फेरि अर्को गुराँस हुर्काउन
फेरि अर्को बिहानी बोलाउन
जाऊ, तिमी जाऊ साथी ।
अनन्य साथी !
अन्यथा सम्झन्नौ भने यदि
बिछोडका पीडाले निचोरेका
मेरा अलिकति आँशु पनि लिएर जाऊ
र, हाम्रो वर्गको छुट्टै अस्पताल बनाऊ
जहाँ, अपमानले चिथोरेका
हाम्रा घाइते सपनाहरुका उपचार गर्न सकौँ ।
०६८ माघ २९, उँघा रोल्पा
अनन्य साथी !
अन्यथा सम्झन्नौ भने यदि
बिछोडका पीडाले निचोरेका
मेरा अलिकति आँशु पनि लिएर जाऊ
र, हाम्रो वर्गको छुट्टै अस्पताल बनाऊ
जहाँ, अपमानले चिथोरेका
हाम्रा घाइते सपनाहरुका उपचार गर्न सकौँ ।