साँस्कृतिक आन्दोलन र हाम्रो नियति

  
  प्रकाशित मितिः बुधबार, बैशाख २७, २०६९       | 118 Views   ||

प्रमोद धिताल

हामी वर्गको कुरा गर्छौं, वर्गीय पक्षधरताको कुरा गर्छौं अनि संसार बदल्ने पनि कुरा गर्छौं । त्यसैगरि छरिएर, बाँडिएर अनि आफ्नो कित्ता छुट्याउन नसकेर अलग थलग हुन पुगेको वर्गलाई संगठनको एउटै सूत्रमा बाँधेर वर्गसंघर्षमार्फत् मुक्तिको कुरा पनि गर्छौं । यति हुँदाहुँदै पनि हामीभित्र कति ठूला अजंगका पर्खालरुपी समस्याहरु छन् भनेर कमै घोत्लिन्छौं । किनकि त्यो मामिलामा हामी ढुक्क छौं कि समस्याहरु भनेको त अरुभित्र मात्र खोज्ने कुरा हो । म त सबै हिसाबले इमान्दार, प्रष्ट र प्रतिबद्ध छु । हामीले आफ्नो जिद्धी र अहम्ताबोधलाई प्रतिवद्धता ठान्दारहेछौं । आत्मकेन्द्रित बुझाईलाई प्रष्टता मान्दारहेछौं, समस्या खोज्ने भनेको त अरुमा मात्र हो । अनि अरुको विरोध गरेर गरिने तुष्टिकरणलाई नै इमान्दारिता बुझ्दारहेछौं ।

मैले बुझेको साँस्कृतिक आन्दोलन भनेको केवल नाचगान मात्र होइन, यो कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा मानिसहरु जुटाएर नेताहरुलाई मञ्च प्रदानको लागि सहजीकरण गरिदिने माध्यम पनि होइन । यो न त अभिव्यक्ति मात्र हो । गीत, कविता, गजल, आख्यान लगायतका साहित्यिक रचनाहरुको सृजना गरेर अनि समालोचना लेखेरमात्र पनि साँस्कृतिक आन्दोलनप्रतिको दायित्व पूरा हुने भए त्यो काम सयौं वर्षदेखि हजारौं मानिसहरुले गर्दै आएका छन् । यो भनेको त विचार पनि हो, व्यवहार पनि हो अनि जीवन पनि हो । विचार, व्यवहार र जीवन यी तिनै पक्षहरुबाट साँस्कृतिक आन्दोलन र रुपान्तरण अगल थलग हुनै सक्दैन । त्यस अभियानको निम्ति सबैभन्दा ठूलो र सशक्त हतियार भनेको मेरो विचारमा कम्युनिष्ट पार्टी नै हो । किनकि रुपान्तरणको समग्र अभिव्यक्ति हुने माध्यम संगठन नै हो । यसको कारण पहिलो त एउटा कम्युनिष्ट पार्टीसँग संसारलाई ठीक ढंगले बुझ्नु, व्याख्या गर्नु र बदल्नु नै सही दर्शनको मुख्य काम हो भन्ने माक्र्सवादको वैज्ञानिक प्रस्थापनालाई आत्मसात गरेको हुन्छ । अर्को कुरा समाज रुपान्तरणको लागि सचेत प्रयत्नको आवश्यकता पर्दछ । त्यसैगरि सचेत प्रयत्नलाई पनि सामूहिक अभियानसँग जोड्न सकियो भने मात्र त्यो प्रभावकारी हुन्छ । विचारबिनाको व्यवहार अनि व्यवहारबिनाको विचारको कुनै अर्थ छैन । त्यसो त हरेक मानिसँग विचार हुन्छ नै बिना विचारको मानिस हुन सम्भव नै छैन । तर, कसको विचार अनि कस्तो विचार ? यो महत्वपूर्ण कुरा हो । हाम्रा हरेक विचारहरु हाम्रो आधारभूत घोषित आदर्श अनि दर्शन अनुकूलको हुनुप¥यो, प्रतिकूल होइन । त्यसैगरि हाम्रा प्रत्येक व्यवहारहरु पनि घोषित आदर्श र विचारअनुरुपको हुनुप¥यो । तर, ठूलै पाखण्ड सावित भएको छ आज विचारको प्रश्न । विचार व्यापारमा परिणत भएपनि विचारलाई बुझ्ने र व्यवहार गर्ने सवालमा पनि संकटग्रस्तता छाएको छ हाम्रो साँस्कृतिक आन्दोलनमा ।

एकचोटी साँस्कृतिक आन्दोलनमा स्थापित पात्र र प्रवृत्तिहरुकै विषयमा कुरा गरौं । कृष्णसेन ‘इच्छुक’ नेपाली जनवादी साँस्कृतिक आन्दोलनका ज्यूँदा जाग्दा पात्र हुन् । आदर्श र व्यवहार दुवै हिसाबले कृष्ण सेन त्यो उँचाईको नाम हो जसलाई हामीले इमान्दारीपूर्वक पछ्याउने कोशिशमात्र ग¥यौं भने पनि आन्दोलन धेरै समृद्ध बन्न सक्छ । उनले हामीलाई जेजस्तो आदर्श छोडेर गएका छन्, त्यसलाई अगाडि बढाउने काम त बाँचेकाहरुले नै गर्ने हो । कृष्ण सेनको बारेमा धेरै गुणगाथाहरु लेख्ने र उनको सच्चा अनुयायीहरु आफूलाई मात्र दाबी गर्नेहरुको अवस्था देख्दा कृष्ण सेनप्रति नै व्यङ्ग्य गरेझैं अनुभूति हुन्छ । कहाँ कृष्ण सेनको नम्रता, उदार र चौडा छाति अनि कहाँ कथित अनुयायीहरुको संकीर्णता, छुद्रता र हीनग्रन्थीबाट निर्देशित व्यवहार ! आफूलाई मात्र सिंगो आन्दोलनको एकमात्र प्राधिकार, सिद्धहस्त समालोचक आधिकारिक सौन्दर्यशास्त्री अनि क्रान्तिकारी कित्ताको स्रष्टा आफूमात्र क्रान्ति र रुपान्तरणप्रति इमान्दार अरु सबै भ्रष्ट संशोधनवादी र गद्दार ! यतिखेर भित्रबाट पनि र बाहिरबाट पनि धेरैबाट धेरै प्रश्नहरु उठिरहेका छन् । अब त कतिपय भित्रबाटै उठ्ने प्रश्नहरुले पनि उदेकको अवस्था सृजना गर्न थालेका छन् । व्यक्तिगतरुपमा सबैभन्दा धेरै सामन्तवाद, व्यक्तिवाद र अराजकतावादको पक्षपोषण गर्नेहरुले नेतृत्वले सबैथोक बर्बाद पारेको, आन्दोलनलाई रसातालमा पु¥याएको घोषणापत्र जारी गर्ने महाअभियान नै चलाएका छन् । तर अन्तर्यमा पुगेर उनीहरुको अभिव्यक्तिभित्र निहित यथार्थलाई केलाउने भने उनीहरुको इमान्दारीतामाथि ठूलै शंका गर्ने छिद्रहरु फेला पर्छन् । एउटा इमान्दार क्रान्तिकारीले आन्दोलनको हितसँग बाझिने व्यक्तिवादलाई बलिदान दिनुमा गर्व गर्छ । तर, आज अगुवा भनिएका पात्रहरुमा विद्यमान व्यक्तिवादको सामू वर्गीय स्वार्थ, आन्दोलनको स्वार्थ र सामूहिक स्वार्थ आज पराजित भएको अवस्था छ । त्यही कुरा आफ्नो व्यक्तिगत स्वार्थ र अनुकूलतामा भए सबै ठीक नत्र सबै बेठीक भन्ने मान्यता स्थापित भएको छ । सामन्तवाद र बुर्जुवा व्यक्तिवादको नमूना पात्र क्रान्तिकारीताको अब्बल नमूना बनेको अभिनय गर्दैछ । व्यभिचार, नैतिकताको व्यापार र सांस्कृतिक रुपमा सबैभन्दा तल गिरेको मानिसले आज पार्टी बिग्रियो त्यसको एक नम्बर जिम्मेवार फलानो नेता हो भनेर कुर्लिदैछ । आफ्नो व्यक्तिगत क्यारिएरलाई सबैभन्दा माथि राखेर हिड्ने र राजनीतिक आदर्शलाई झण्डै झण्डै व्यापार र बार्गेनिङ बनाएर हिडेको पात्रले ऊ पनि बेठिक हो, फलानो पनि बेठिकै हो, म मात्र ठीक हुँ भन्ने खालको भ्रम बाँड्ने धृष्टता गर्दैछ । कम्युनिष्ट आन्दोलन, साँस्कृतिक आन्दोलन र रुपान्तरणको निम्ति योभन्दा ठूलो उपहास अरु के हुन्छ ?

आखिर जतिसुकै महान भने पनि नेता भनेको कमीकमजोरीसहितको मानव हो । आज आफू पूरै पानीमाथिको ओभानो बनेर पार्टीको मूल नेतृत्वलाई मानवभन्दा तल झारेर दानव घोषणा गर्ने धृष्टता तिनै पात्रहरुले गर्दैछन्, जसले कुनै बेला नेतृत्वलाई मानवभन्दा परको देवता घोषणा गर्न पनि पछि परेका थिएनन् । फेरि आ–आफ्नो ठाउँमा त आन्दोलनका सबै सहयात्रीहरु नेता नै हुन् । आत्मनिरीक्षण र परीक्षणको कसीमा राख्दै रुपान्तरणको यात्रामा आफूलाई होमिराख्नु नै महानता हो । तर, यतिखेर त्यो अभ्यास धेरै कमजोर भएको छ । माओवादी पार्टीको अध्यक्ष प्रचण्डलाई जति नाङ्गेझार पार्न सक्यो त्यति क्रान्तिकारी भइन्छ भन्ने मान्यता पार्टीभित्रका ‘क्रान्तिकारीहरु’माझ बेसरी मौलाएको छ । कतिपय सवालमा त यस मान्यताका अनुयायीहरुले वर्गविरोधीहरुलाई समेत उछिनेको अवस्था छ । त्यसैसँग जोडिएको भर्खरैको एउटा प्रसंगले ‘क्रान्तिकारीहरु’को नियतलाई अझैँ सतहमा ल्याइदिएको छ । हिजोसम्म कार्यकारी राष्ट्रपति हुने शासन प्रणालीमा एककदम अघि उभिएकाहरु यतिखेर दुई कदमपछि हट्दै कार्यकारी राष्ट्रपति हुने शासन प्रणालीले देशमा निरंकुशता निम्त्याउने भन्दै विरोध गरिरहेका छन् । आङ कन्याएर छारो उडाउने या जाडो लाग्यो भन्दैमा घरै सल्काएर न्यानो तात्ने यो भन्दा आत्मघाती संस्कृति अरु केही हुन सक्दैन । हरेक विषयहरुमा सैद्धान्तिक संघर्षको रटान गरेर नथाक्नेहरुको संघर्षभित्र कुन ध्येय र स्वार्थले काम गरेको छ भनेर बुझ्न यस्ता दृष्टान्तहरु काफी छन् । त्यसैले के भन्न सकिन्छ भने कतिपय नेताहरुको गैह्रजिम्मेवार नियत, रुपान्तरणको स्तर, अभिव्यक्ति तथा व्यवहारबीचको खाडललाई देश र दुनियाँसामू राम्रोसँग उजागर गरिदिएको छ । एक अर्थमा यो हुनु आवश्यक र सकारात्मक दुवै हो । कम्युनिष्ट आन्दोलनको यो कोणबाट हेर्दा जबर्जस्ती शुद्धिकरण हुन अनिवार्य छ । अन्यथा रुपान्तरणका बाधकहरुलाई काँधमा बोकेर रुपान्तरणको बकबास गर्दै हिड्नु जति हाँस्यास्पद व्यंग्य अरु केही हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *