आन्दोलन कमजोर गराउने षड्यन्त्रलाई विद्यार्थी एकता दिवसले चक्नाचुर पार्नेछ

  
  प्रकाशित मितिः आइतवार, बैशाख ३१, २०६९       | 105 Views   ||

यस वर्षको विद्यार्थी स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

२०२२ सालमा स्थापना भई यतिबेला हाम्रो संगठनले ४७ बसन्त पार गरेको छ । हाम्रो संगठनको स्थापना दिवस जेठ १ गते हो । त्यो दिन संगठनको केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा भव्य चियापान समारोह सम्पन्न हुँदैछ । त्यसको लगि भव्य तयारीमा जुटेका छौं । कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्था, शैक्षिक सरोकारवाला र राजनीतिक पार्टीका नेताहरु, जनवर्गीय संगठनहरु, उच्च पदस्थ कर्मचारी तथा युवा विद्यार्थीहरुको विशाल उपस्थिति हुनेछ । उक्त दिन विद्यार्थी एकता दिवस पनि भएकाले हाम्रो संगठनलाई अरु सशक्त, जुझारु र एकताबद्ध बनाउने प्रतिवद्धता जनाउँछौ र फुटपरस्त चिन्तनलाई खारेज गर्नेछौं । मोफसलमा आ–आफ्नो सापेक्षतामा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर विद्यार्थी स्थापना र एकता दिवस मनाउनेछौं ।

स्थापना दिवसलाई एकता दिवसका रुपमा त मनाउँदै हुनुहुन्छ तर तपाईको विद्यार्थी संगठन नै टुटफुटको अवस्थामा पुगिसकेको छ । यस्तो अवस्था किन आयो र संगठनलाई एकतावद्ध बनाउन अध्यक्षका नाताले के कस्तो पहल गरिरहनुभएको छ ?

हो, जेठ १ गते वामपन्थी, देशभक्त, प्रगतिशील र गणतान्त्रिक विद्यार्थीहरुको लागि ठूलो पर्व हो । उक्त दिन हामी क्रान्तिकारीहरुको लागि प्रेरणाको श्रोत हो । जेठ १ ले दिने सन्देश भनेको आपसमा टुटेर फुटेर शैक्षिक आन्दोलनलाई निश्कर्षमा पु¥याउन सकिदैन बरु एकतावद्ध भएर अघि बढ्ने आवश्यकताको बोध गराउने सन्दर्भ पनि हो । आन्दोलन कमजोर गराउन खोज्ने केही तत्वहरु हाम्रो संगठन टुक्रा–टुक्रा पार्न चाहन्छन् । तिनीहरुका षड्यन्त्रलाई विद्यार्थी एकता दिवसले चक्नाचुर पारिदिनेछ ।

यत्रो ठूलो संगठन छ, एकाध सीमित व्यक्ति बाहिरिने वा संगठन छोड्ने कुराले खासै अर्थ राख्दैन । यस्तो प्रवृत्ति आन्दोलनमा कहिलेकाँही देखा पर्ने गर्दछ । हामीकहाँ पनि यतिबेला कही कतै त्यो प्रवृत्ति देखापरेको छ । अध्यक्ष हुनुको नाताले मैले एकतावद्ध बनाउन हजार कोशिश गरिरहेको छु । अरु थप प्रयास हुनेछन् । विश्वास छ हामी एकतावद्ध हुनेछौं र संगठनलाई अरु मजबुत बनाइनेछ ।

यतिबेला अखिल (क्रान्तिकारी)को शैक्षिक आन्दोलनको दिशा कतातिर केन्द्रीत भइरहेको छ नि ?

हामीले विगतदेखि उठाउँदै आएका हाम्रा शैक्षिक एजेण्डाहरु संस्थागत गर्न दबाब सिर्जना गरिरहेका छौं । नयाँ संविधानमा हाम्रा मुद्दा कहाँ, कसरी ठोस गर्ने भन्ने विषयमा केन्द्रीत छौं यतिबेला । मूलतः नयाँ संविधानमा १२ कक्षासम्म विद्यालय तह हुने भएपछि त्यो तहसम्म निःशुल्क र निजीकरणबाट मुक्त गराउने जोडमा छौं ।

विद्यालय शिक्षा आधारभूत शिक्षा, जनताको पहुँचमा विश्वविद्यालय शिक्षा भन्ने जस्ता सवाल उठाइरहनुभएको छ, यसको कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रमहरु तय गर्नुभएको छ कि ?

विद्यालय शिक्षा १२ कक्षासम्म भएपछि त्यो तहसम्मलाई आधारभूत शिक्षा कायम गरिनुपर्छ भन्ने हाम्रो जबर्जस्त मत हो । आधारभूत भएपछि सबै राज्यको दायरामा आउने कुरा स्वतः हुन जान्छ । विश्वविद्यालय शिक्षा झन् महङ्गो हुने मुलतः प्राविधिक शिक्षामा देखिएको व्यापारीकरणको कारणले जनताका छोराछोरीहरुको सहज पहुँच छैन । तसर्थ ती सबै क्षेत्रमा जनताका छोराछोरीको सहज पहुँच पु¥याउन जनताको विश्वविद्यालय त्रिविलाई बचाउने, बिकास गर्ने कुरामा लडिरहेका छौं । त्यसैले त्रिविका क्याम्पसलाई स्वायत्ततामा लैजाने कुराको विरुद्धमा छौं ।

शिक्षामा भइरहेको निजीकरण, व्यापारीकरण लगायतका विकृति विसंगतिका विरुद्धको क्रान्तिकारी विद्यार्थीहरुको आन्दोलन सुस्ताएको जस्तो छ नि ?

क्रान्तिकारी विद्यार्थी आन्दोलन सुस्ताएको कदापि छैन बरु यतिबेला नीति निर्माणको तहमा हाम्रा मुद्दाहरु कसरी समावेश गराउने भन्ने हेतुले माथिबाट हस्तक्षेप र तलबाट दबाब र जागरण पैदा गराइरहेका छौं । कसै–कसैले शैक्षिक आन्दोलनलाई नारामा मात्र औंल्याउने जनयुद्धकालमा जस्तो बोर्डिङहरु पोलेको खै भन्न सक्लान्, विषय त्यो होइन ।

यतिबेला हामीले रणनीतिको कुरा उठाएर जनवादी शिक्षा भनेर भित्तामा लेखेर मात्र सुख पाउदैनौं, त्यो प्राप्तिको लागि कार्यनैतिक श्रृंखलामा ढालेर लैजानु पर्दछ । त्यसको सुरुआत शिक्षाको व्यापारीकरणको अन्त्य कसरी गर्ने विषय प्रधान बन्न पुगेको छ । हाम्रो आन्दोलनको कारण नेपाल सरकार शिक्षा मन्त्रालयले निजी विद्यालय दर्तामा रोक लगाएको छ । यो निजीकरण अन्त्य गर्ने एउटा कडी मान्न सकिन्छ ।

निजीकरण अन्त्य गर्ने कुरा रटेर मात्र पनि पुग्दैन, सार्वजनिक शिक्षालाई स्तरोन्नति गर्नुपर्छ । निजीलाई नियन्त्रण र नियमन गर्ने प्रभावकारी योजना हुनुपर्छ । त्यसो गर्न पहुँचको लागि सार्वजनिक शिक्षा मूलतः विद्यालय तहको शिक्षालाई निःशुल्क गर्ने र गुणस्तरको लागि ५० वर्ष उमेर पुगेका र २० वर्ष स्थायी सेवा गरेका पुराना शिक्षकलाई सम्मानजनक अनिवार्य अवकाश दिलाई शिक्षक सेवा आयोगमार्फत् फ्रेस जनशक्तिलाई खुल्ला प्रतिस्पर्धाबाट सेटिङ गर्नुपर्दछ । पाठ्यपुस्तक समान, शिक्षण विधि वैज्ञानिक, कुशल व्यवस्थापन गरी सरकारी विद्यालयलाई आमूल सुधार गर्ने कार्ययोजना ल्याउन हामीले दबाब दिएका छौं । तसर्थ यतिबेला हामी स्कूल जाऔं अभियानमा केन्द्रीत छौं । विश्वविद्यालय तहमा कडा अनुगमन आन्दोलनमा होमिएका छौं ।

नयाँ संविधानमा शिक्षाको अन्तरवस्तु के हो र शैक्षिक मुद्दालाई कसरी समेटिनुपर्छ ? संगठनको धारणा बताइदिनुहोस् न ।

संविधान मूल कानून हो, यसमा सबै उल्लेख गर्न सकिदैन । शिक्षा मौलिक अधिकार हो र विद्यालय तहको शिक्षा निःशुल्क र अनिवार्य गराउने र त्यो तहसम्म समान शिक्षाको लागि निजीकरणबाट मुक्त राख्ने भन्ने विषयलाई सूत्रवद्ध गर्न सकियो भने ठूलो उपलब्धि हुनेछ । त्यसैको अन्तरवस्तुमा कानून र ऐन निर्माण गर्दा ठोस ढंगले अधिकारहरु किटान गर्ने कुरा आउँछ ।

विद्यार्थीका शैक्षिक मुद्दामा केन्द्रीत हुनुपर्ने बेलामा आफैभित्र लड्न थालेपछि कसरी सम्भव छ त यहाँहरुले भनेको शैक्षिक परिवर्तन ?

अहिले आपसमा लड्ने बेला होइन, मिलेर हाम्रो आन्दोलनलाई निष्कर्षमा पु¥याउने हो । विडम्वना मातृ पार्टीभित्रको अन्तरसंघर्ष हाम्रो संगठनमा हुबहु प्रवेश गराउने कुरा आन्दोलन फुटाउने र विसर्जन गराउने बाहेक अरु केही हुन सक्दैन । यस्तो प्रवृत्ति विरुद्ध हामी एकजुट भएर प्रतिकार गर्न जरुरी छ ।

तपाईको माउ पार्टी एकीकृत नेकपा (माओवादी) भित्र चर्किएको अहिलेको अन्तरविरोधलाई यहाँले कसरी हेरिरहनुभएको छ ? र, पार्टीलाई एकतावद्ध बनाउन युवा विद्यार्थीहरुको के भूमिका हुनसक्छ ?

हाम्रो पार्टी एनेकपा माओवादीभित्र ठूलै अन्तरसंघर्ष चलेको छ । वैचारिक संघर्ष हुनु जायज हो । तर, माथि गर्ने वहस जनतासमक्ष पु¥याउने र भित्र गर्ने संघर्ष सडकमा छरपस्ट गर्ने कुराले कम्युनिष्ट आन्दोलनको आधारभूत मान्यता र मूल्यसँग मेल खाएको छैन । यो बहसले पार्टीको जीवन बलियो बनाएको छैन बरु कमजोर बनाएको छ । यत्रो आन्दोलन छिन्नभिन्न, लथालिङ्ग हुने हो कि भन्ने चिन्ता हामीलाई छ । हामी सधैं पार्टी एकतावद्ध होस् भन्ने चाहन्छौं, फुटाउने विरुद्ध खबरदारी गरिरहेका छौं । यदि कसैले आवेग र आक्रोशमा आएर पार्टी फुटाएको घोषणा गर्दछ भने त्यस्ता अपराधीलाई अखिल क्रान्तिकारीले नाङ्गेझार पार्नेछ । पार्टी र आन्दोलन निरन्तर अगाडि बढिरहन्छ । यसमा म विश्वस्त छु । अहिले पार्टीले अंगालेको शान्ति र संविधानको कार्यनीति वस्तुनिष्ठ छ । यो आमूल परिवर्तनको प्रस्थानविन्दु हुनेछ । आवश्यकतामा विद्रोहको हतियार बन्नेछ । अहिले क्रान्तिकारी कुरा गरेर मात्र सुख पाइदैन मुख्य कुरा बदल्ने हो ।

अन्त्यमा, नौलो जनउभार साप्ताहिकमार्फत् युवा विद्यार्थीहरुलाई केही भन्नु थियो कि ?

हाम्रो पार्टीले विगतदेखि उठाउँदै आएका मुद्दाहरु नयाँ संविधानमा संस्थागत गर्नुपर्नेछ । जनताको पक्षमा संविधान लेखिएमा हामी विद्यार्थीका शैक्षिक मागहरु पनि सही ढंगले सम्बोधन हुन पाउने थिए । तसर्थ वर्तमान अवस्थामा शान्ति र जनसंविधानको पक्षमा हाम्रा आवाजहरु बुलन्द गर्ने, यो प्रकृया विथोल्न खोज्ने र जनतालाई अधिकार दिन अन्कनाउने प्रतिकृयावादीहरुको षड्यन्त्रहरुलाई च्यात्नु पर्दछ । हामीलाई फुटाउन खोज्नेहरुको गोटी हामी आफै बन्नु आत्मघाती काम हो । एकतावद्ध भई क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई अरु तेज पार्दै लैजाने बाटोमा हामी लागौं म सबै क्रान्तिकारी युवा विद्यार्थी साथीहरुलाई यही आग्रह गर्न चाहन्छु ।

अन्त्यमा, संगठनका र मेरा आफ्ना विचारहरु राख्ने मौका दिनुभएकोमा नौलो जनउभार साप्ताहिकलाई धैरै धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिन चाहन्छु ।

प्रस्तुति : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *