लेख्छु भन्छु
आलस्यले समय टार्दा–टार्दै
धेरै समय खर्च भयो
अब टर्न पाउने छैन समय
लेख्नेछु–
‘अब माओ जयन्ती मनाउँदैनन् उनीहरु’
यो खबर कुनै न कुनै दिन जरुर लेख्नेछु ।
व्यक्तिपूजासँग जुन लपेटिएको छ गन्ध
त्यो दुर्गन्ध हो
बाँकी व्यक्ति र विचारको बीचको भूमिबाट
जुन गीतको संगीत आइरहेको छ
त्यो हाम्रै जीवनको सा–रे–ग–म हो
सुनिरहेछन् सारा ग्रह, उपग्रह र नक्षत्रहरु
कठिनता हाम्रै जीवनको संगीत हो
दीर्घता हाम्रै जीवनको हिज्जे हो
कठिन र दीर्घ हिडाईको समर्थनमा
कयौं नाम उल्लेखनीय हुनेछन्
उपरान्त उनीहरु हुनेछन्
यतिखेर
न जीवनको संगीतबाट फर्केका छन् उनीहरु
न त त्यसप्रति उत्सुक छन् उनीहरु
जब अजबका साथ केवल
हात बाँधेर झोक्रिनेछन् उनीहरु
तब लेख्नेछु–
‘अब माओ जयन्ती मनाउँदैनन् उनीहरु’ ।
खोपडीको खोपामा चुपचाप लुकाइएको
मन्द जहर मन्द–मन्द फैलिदै गर्दा
जब ग्रस्तलाई थाहा हुँदैन त्यसको असर
वर्षौं पुरानो ठाउँमा पुग्न सघाउनेछ उनीहरुलाई
उपरान्त पुग्ने छैनन् कतै
तब लेख्नेछु–
‘अब माओ जयन्ती मनाउँदैनन् उनीहरु’ ।
रुप अनुरुपले गलत भएपनि
जब गलत मान्ने छैनन् गलतलाई
र सुल्टो हिड्न सक्ने छैनन् उनीहरु
तब लेख्नेछु–
‘अब माओ जयन्ती मनाउँदैनन् उनीहरु’ ।
आरामदायी सिरानीमा शिर टेकाएर सुत्नुमा नै
सुकिरहेछन् उनीहरु
अब उनीहरुको उँचाई बढ्दैन भन्ने
वास्तविक शंका भित्र–भित्रै भरिदैछ मभित्र
जब सानो बालकले पनि नाघ्न सक्नेछ उनीहरुलाई
तब लेख्नेछु–
‘अब माओ जयन्ती मनाउँदैनन् उनीहरु’ ।
लेख्नेछु
कुनै न कुनै दिन जरुर लेख्नेछु
बलिदानीका स्तम्भहरु चुम्दै चलिरहेछ हावा
शहीदका संस्मरणहरु पढ्दै चम्किरहेछ सूर्य
अझै उज्यालो हुन बाँकी छ
त्यसपछि पढ्नु मलाई ।
२०६८ पुस ११, दाङ