विद्यार्थी दिवस : ऐतिहासिक सन्दर्भ र वर्तमान कार्यभार

  
  प्रकाशित मितिः आइतवार, बैशाख ३१, २०६९       | 1356 Views   ||

-[रमेश मल्ल]

जेठ १, संगठनको स्थापना दिवस र विद्यार्थी एकता दिवस । यसको आफ्नो ऐतिहासिक सन्दर्भ छ । २०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित ग¥यो । फेडरेशन भूमिगत हुन बाध्य भयो । संर्घषशील विद्यार्थीहरु चुपचाप रहन सकेनन् । ०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल्याउने निर्णय भयो । २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पारीत ग¥यो । सम्मेलन भएको खुशीयालीमा जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले जंगली आक्रमण ग¥यो । आक्रमणको विरोधमा उपत्यकाव्यापी हड्ताल भयो र सरकार विद्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भयो । यही विजय भएको दिनलाई आज हामी विद्यार्थीको एकता र विजयको दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएका छौं ।

हामी अखिल स्थापनाका करीब पाँच दशक पार गर्दैछौं । यहाँसम्म आइपुग्दा नेपाली विद्यार्थी आन्दोलन थुप्रै घुम्तीमोड, उत्तार–चढाव तथा एकता र संघर्षका श्रृंखलाहरु पार गर्दै अगाडि बढेको छ । संगठनका वैचारीक, राजनैतिक, संगठनात्मक र पेशागत शैक्षिक मुद्दाहरुप्रतिको बुझाई र त्यसलाई लागू गर्ने रणनीतिक योजना, कार्यदिशा र कार्यनीतिक योजनामा हुने मतभिन्नताले कहिले संगठन दशौं र बीसौं टुक्रामा विभाजन हुने त कहिले सही विचार र नेतृत्वको कमाण्डमा एकीकृत हुने प्रक्रिया पनि निरन्तर चल्दै आएको छ । खासगरी नेपालका सबै राजनैतिक परिवर्तनको संघर्षमा विद्यार्थी आन्दोलनको उल्लेख्य योगदान भएको कुरालाई कसैले नकार्न नसक्लान् त्यसमा पनि ०३५/०३६ को एकीकृत विद्यार्थी आन्दोलन नेपालको राजनैतिक आन्दोलनकै गौरव हो भन्न सकिन्छ । जसले निर्विकल्प भनिएको पञ्चायती व्यवस्थालाई जनमत संग्रहमा जान बाध्य तुल्यायो । २०४६ र त्यसपछि नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको लागि शुरु भएको जनयुद्ध र जनआन्दोलनमा नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको कुरा स्पष्ट नै छ ।

नेपाली विद्यार्थी आन्दोलन मूलतः राजनैतिक आन्दोलनकै एक अभिन्न अंग रहदै आएको छ । नेपालका राजनैतिक पार्टीहरुका विचार, दर्शन र सिद्धान्तलाई बोक्ने, अनुशरण गर्ने, प्रचार गर्ने र लागू गर्ने काम विद्यार्थी संगठनहरुले गर्दै आएका छन् । त्यसो गर्दा स्वभावैले कतिले क्रान्तिकारी विचार, राजनीतिलाई अनुशरण गर्दै नेपाली समाजको आमूल परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदै आएका छन् भने कतिपयले यथास्थितिमा सीमित सुधारको रटान लगाउने गरेका छन् । आज मुलुक संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने दिशातिर केन्द्रीत भएका बेला संविधानमा जनताका अधिकारहरु कसरी सुनिश्चित गर्ने र शैक्षिक अधिकारहरुको ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा बहसहरु छन् । हामीले विद्यार्थी एकता दिवसको सन्दर्भमा छलफल गर्दैगर्दा यो विषयमा ध्यान केन्द्रीत गर्न जरुरी छ ।

आजका दिनसम्मको नेपालको राजनैतिक परिस्थितिलाई हेर्दा मुलुक सिद्दान्तको राजनीतिबाट विचलित हुन खोजेजस्तो देखिन्छ । यो विचलन क्रान्तिकारी, वामपन्थी र दक्षिणपन्थी सबै पार्टीमा र समाजका सबै तह र तप्कामा देखिन खोज्दैछ । यसको प्रत्यक्ष असर विद्यार्थी आन्दोलनमा हुनु स्वाभाविक छ । हामी जनयुद्धका बीचबाट स्थापित जनताका सवालहरुलाई नयाँ संविधानमा संवोधन गर्न चाहन्छौं तर कतिपय साथीहरुलाई लाग्दछ कि संविधानसभाबाट संविधान निमार्ण गर्नु दक्षिणपन्थ हुन जान्छ, मुलुक संविधानको बाटोबाट हवाई विद्रोहको बाटोमा बहकिनुपर्दछ या इतिहास पुनरावृत्तिको पश्चगामी यात्रामा धकेलिनुपर्दछ । सिद्दान्त रक्षाको आवरणमा असन्तोष र कुण्ठा, घृणा र आवेग पार्टीको कार्यदिशा बन्नुपर्दछ भन्ने सोच राख्ने राजनीतिमा देखापरेको यो जडसुत्रीय भडकाव अलगावको बाटोमा कुदिरहेको छ । आजकल यो रोग लागेका साथीहरुलाई नेतृत्वको विरोध गर्न एजेण्डा चाहिदैन, जसले जुन एजेन्डामा नेतृत्वको विरोध होस्, बन्द गरियो, टायर बालोस् त्यहाँ उहाँहरु हाजिर लगाउनुहुन्छ । जसले संविधान नबनोस् भन्ने प्रतिगामी र दक्षिणपन्थी तत्वलाई फाइदा पुगिरहेको छ । राज्यको शासकीय स्वरुप र संघीयताजस्ता जनयुद्धकालदेखि नै स्थापित एजेण्डामा देखिएको स्खलनलाई राजनीतिक भाषामा वाम खोलमा देखापरेको दक्षिणपन्थी विसर्जनको कुरुप संकेत नै मान्नुपर्दछ । आज यो विचलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई अलगावको शिकार नबनाओस् भन्ने तर्फ पनि हामी सचेत हुनैपर्दछ । विद्यार्थी एकता दिवस मनाइरहँदा केही साथीहरु अनेकताको मन्त्र जपेर बस्नुलाई आफ्नो बहादुर क्रान्तिकारीता ठान्नुहुन्छ भने यो इतिहास र आन्दोलनप्रतिको बेइमानी सिवाय केही हुन सक्दैन ।

हिजो आज विद्यार्थी आन्दोलनको प्रतिपक्षीय चरित्रको विषयमा पनि व्यापक चर्चा हुने गरेको छ । यो कुरा सत्य हो कि विद्यार्थी आन्दोलनको चरित्र प्रतिपक्षीय नै हुनुपर्दछ । तर, यसको मात्रा कति भन्ने कुराको निर्धारण समकालीन सत्ताको चरित्रमा निर्भर गर्दछ । आजको सत्ता संक्रमणकालीन सत्ता हो, यो संक्रमण अग्रगामी दिशामै रुपान्तरित हुन्छ या पश्चगामी यात्रा तय गर्छ भन्ने कुरा अझै छिनोफानो भैसकेको छैन । माओवादी क्रान्तिकारीहरुले यो सत्तामाथि तल र माथि दुवैतिरबाट हस्तक्षेप गर्ने नीति लिएर तीन ‘स’ को प्रयोग गरिरहेको कुरा स्पष्ट नै छ । परिस्थितिदेखि डराएर भाग्ने होइन, परिस्थितिलाई आफ्नो काबुमा राख्ने, उपलब्धिहरुको रक्षा गर्ने र लक्ष्य प्राप्तिको लागि निरन्तर संघर्षको रणनैतिक योजनामा अगाडि बढ्नु नै आजको हाम्रो दायित्व हो । यतिबेला क्रान्तिकारी विद्यार्थीहरुले नयाँ बन्ने संविधानमा जनताका राजनैतिक अधिकारलाई सुनिश्चित गर्न संर्घष गर्नुको अलावा शैक्षिक अधिकारको संवैधानिक ग्यारेन्टीका लागि सडकको मोर्चालाई सशक्त ढंगले सम्हाल्न जरुरी छ । मुलुकमा संक्रमणकाल जति लम्बिदैछ, त्यति नै मात्रामा अव्यवस्था र अराजकताले मौलाउने मौका पाउँदै गएको छ । जनताका अपेक्षा र राज्यको व्यवस्थापनको पक्षबीचमा ठूलो अन्तरविरोध छ । परम्परागत राज्यसंयन्त्रको चङ्गुलमा फसेको शिक्षा क्षेत्रमा पनि यही अराजकताको राज छ । अन्तरिम संविधानले शिक्षालाई नागरीकको मौलिक हक भनेर परिभाषित त ग¥यो । तर, त्यसको जिम्मा कसले र कसरी लिने भन्ने स्पष्ट गरेन । अहिले त्यही प्रयोजनको लागि कानूनको खाका त बनेको छ तर त्यसले व्यवस्थापिका संसद्बाट कहिले निकास पाउँछ केही ग्यारेन्टी छैन । लाखौं विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर छन् । विद्यालय पुगेका बालबालिकाले गुणस्तरयुक्त शिक्षा पाउनबाट वञ्चित छन् । सरकारी विद्यालय संरक्षणविहीन बन्दै गएका मात्र छैनन्, विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा पुगेका छन् । त्यसको संरक्षण, गुणस्तर र स्तरोन्नतीको लागि तुरुन्त अभियान थालिएन भने के विद्यालय के विश्वविद्यालय ती सार्वजनिक क्षेत्र धरासायी हुने अवस्थामा छन् । यतातिर पनि विद्यार्थी आन्दोलनको ध्यान जान जरुरी छ । तसर्थ आजको सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र रचनात्मक र व्यवहारिक पनि बन्न जरुरी छ ।

शिक्षालाई मौलिक अधिकारको रुपमा सम्बोधन गरिनुपर्दछ भन्ने सवालमा सबै विद्यार्थी संगठनहरु एकै स्थानमा छन् तर शिक्षामा भएको निजीकरण र माफियाकरणलाई नियन्त्रण र निर्मूल गर्ने कुरामा केही दक्षिणपन्थी मार्काका संगठनहरु हामीसँग सहमत देखिदैनन् । मुलुक र मुलुकको शिक्षालाई यथास्थितिको चक्करमा फसाउन चाहने तत्वहरुका विरुद्धको संघर्ष गर्ने संकल्प नै आजको विद्यार्थी दिवसको मूलमन्त्र बन्नुपर्दछ ।

बैसाख २९, २०६९
लेखक अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *