माओवादी फुट अनिवार्य परिघटना कि विडम्बना ?

  
  प्रकाशित मितिः मङ्लबार, असार १२, २०६९       | 137 Views   ||

-[अपार]

विगतदेखि माओवादी पार्टी र यसको नेतृत्व राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चाको शिखरमा रहँदै आएको छ । वर्गसंघर्षको कोणबाट हेर्दा कहिले वैधानिक संघर्ष, कहिले सशस्त्र संघर्ष त कहिले वार्ता र टेबुलको संघर्षको उत्कर्षले चर्चाको आकाशमा पु¥यायो । विचारधारात्मक संघर्षको कोणबाट हेर्दा कहिले दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध संघर्ष, कहिले वाम विसर्जनवादी प्रवृत्तिका विरुद्धको संघर्ष त कहिले मध्यपन्थी अवसरवादका विरुद्धको संघर्षको उत्कर्षले चर्चाको आकाशमा पु¥यायो । पार्टीभित्रको कुडाकर्कट बाहिरिने प्रक्रियाको उत्कर्षले होस् या राष्ट्रव्यापी रुपमा पैदा भएको धु्रवीकरण, एकीकरण र केन्द्रीकरणले होस् पार्टी र नेतृत्व अविछिन्न रुपमा चर्चाको उत्कर्षमै रहिरह्यो । ठिक यतिबेला पनि माओवादी पार्टी र यसको नेतृत्व चर्चाकै शिखरमा छ तर प्रसङ्ग अलिक भिन्न छ– पार्टी फुटको ।

कमरेड प्रचण्डको सही र वैज्ञानिक एवम् भगिरथ प्रयत्नका बाबजुद माओवादी पार्टी गत असार ४ गते फुटिसकेको छ । यतिबेला माओवादी पार्टीको फुट अनिवार्य परिघटना हो कि विडम्वना ? यो फुट विचारधारात्मक फुट हो कि आवेगात्मक र भावनात्मक ? यो फुट ऐतिहासिक आवश्यकता हो या रहर र रोमान्स ? यो फुट वर्ग, राष्ट्र र क्रान्तिप्रतिको गहिरो जिम्मेवारीबोध हो या आशंका वा तीव्र महत्वाकांक्षा र बदलाभाव ? यो फुट आत्मनिर्भर स्वतन्त्र हो कि कसैको निर्देशन ? यी र यस्ता केही प्रश्न छन् जसको उत्तर आफूतिर निर्मम र विज्ञानप्रति इमान्दार भएर मात्र दिन सकिन्छ । इतिहास धेरै निर्मम र कठोर हुन्छ यी सवालहरुको फैसला भविष्यले अवश्य पनि गरि छाड्नेछ ।

निश्चय पनि एकता सबैलाई मन पर्ने विषय हो भने फुट कसैलाई पनि मन नपर्ने विषय हो । किनकि संसारभरि सत्य कुरा सबैलाई निर्विवाद रुपमा मन पर्छ र असत्य कुरा कसैलाई पनि मन पर्दैन । सामान्यतः मान्छेहरुको बुझाई एकतामा सत्य हुन्छ भने फुटमा असत्य भन्ने रहेको हुन्छ । यो निरपेक्ष सत्य होइन बरु सापेक्षित सत्य हो । सामान्यतः एकतामा सत्य हुन्छ तर कहिलेकाही विशेषतः फुटमा पनि सत्य हुँदैन भन्ने चाहिँ हैन । समय परिस्थिति अनुसार कहिलेकाही फुट, विद्रोह, विघटन र विभाजन पनि जरुरी हुन्छ । माक्र्स र एंगेल्सले प्रथम अन्तर्राष्ट्रियको विघटन गर्न जरुरी र आवश्यक दुवै थियो । लेनिनको नेतृत्वको पार्टीलाई मेन्सेविकहरुले फुटाए त्यो फुट क्रान्तिकारी फुट थियो । माओले थुप्रै गलत प्रवृत्तिहरुलाई कार्वाही गर्नुभयो, त्यो पनि सही थियो । फुट र एकता कुनै रहर, रोमान्स र व्यक्तिगत सनकका आधारमा भयो भने त्यो बेठिक मात्र हैन जनता, राष्ट्र र वर्गप्रति गद्दारी र अपराध हुन्छ तर फुट र एकता वैचारिक, राजनैतिक आधारमा भयो भने त्यो पार्टी, जनता र क्रान्तिको पक्षमा हुन्छ ।

कम्युनिष्ट लिगहरुको एकताबाट प्रथम अन्तर्राष्ट्रिय बन्नु रुसमा भएका थुपै्र माक्र्सवादी डफ्फाहरुबाट रुसी कम्युनिष्ट पार्टी बन्न करिब ९० बर्षको इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीले आफूलाई एकताबद्ध गरिरहनु, भारतमा एमसीसी र पीडब्लु गरि मिलेर भा.क.पा. माओवादी बन्नु आदिका पछाडिको आधार भनेको सही राजनीतिक विचार नै हो । पार्टी भनेको क्रान्तिको साधनबाहेक केही हैन । किनकि माक्र्सवादी मान्यता भनेको ‘सत्ता बाहेक अरु सबै भ्रम हो ।’ यही सत्ता प्राप्त गर्ने साधन पार्टी हो र विधि क्रान्ति हो । पार्टी भनेको कुनै मिश्रण नभएर यौगिक हो, जो जटिल तत्व पनि हो । पार्टी एकता र पार्टी फुटलाई बुभ्mने र बदल्ने सवाल वर्गदृष्टिकोणमा भर पर्दछ । एकता र फुट वर्ग पक्षधर हुन्छन्, त्यसैले क्रान्तिकारीहरुमा फुट पैदा गर्नु प्रतिक्रियावादीहरुको धर्म हो भने प्रतिक्रियावादीहरुमा फुट पैदा गर्नु क्रान्तिकारीहरुको कर्तव्य हो । संशोधनवादीहरु र सुधारवादीहरु एकता र संघर्षबाट समन्वय निकाल्छन्, जडसुत्रवादी र विसर्जनवादीहरु एकता र संघर्षबाट फुट निकाल्छन् र क्रान्तिकारीहरु एकता र संघर्षबाट रुपान्तरण निकाल्छन् । विचार राजनीतिमा आधारित संघर्षमात्र रुपान्तरणमा पुग्छ । यस दृष्टिकोणबाट हेर्दा कमरेड मोहन वैद्यले पार्टीभित्रको संघर्षबाट रुपान्तरण हैन फुट निकाल्नुभयो र पार्टीको मुल नेतृत्वलाई वर्ग आत्मसमर्पणवादी, राष्ट्रिय आत्मसमर्पणवादी र नवसंशोधनवादीको आरोप लगाउनुभयो । यो आरोप उहाँहरुको तर्क अवश्य हो तर कुनै पनि तथ्यले यसलाई पुष्टि गर्दैन । बरु तथ्यले यो पुष्टि गर्दछ कि फुटवादी उहाँहरु नै हो । पार्टीले केही समय पहिले गरेको विश्लेषण वैचारिकरुपमा जडसुत्रवादी, मनोगत, यान्त्रिक संकीर्ण, राजनीतिक रुपमा क्रान्तिकारी लफ्फाजीका रुपमा वाम विसर्जनवादी र संगठनात्मक रुपमा निम्नपूँजीवादी अधैर्यता र अराजकता अहिले आएर सही प्रमाणित भयो । क्रान्ति र विचारको रक्षा र संसदवादबाट सतर्क रहने नाममा जडसुत्रीय संसोधनवादको शिकार भएर जनतामा निराशा पैदा गर्ने, कार्यकर्तालाई निरुत्साही बनाउने, पार्टी विभाजन गर्ने र क्रान्तिको विसर्जन गर्ने बाहेक अन्य कुनै भूमिका खेल्न सक्दैन । वर्तमानमा भएको पार्टी विभाजनले किरण र प्रचण्ड बिग्रिएको गम्भीर आशंका कमरेड बादल र कमरेड गौरवको कुण्ठा र बदलाभाव र कमरेड विप्लवको चरम महत्वाकांक्षी प्रवृत्ति नै पार्टी फुटको मुख्य श्रोत हो । जुनसुकै कोणबाट विश्लेषण गर्दा पनि उहाँहरुको फुटको औचित्य पुष्टि हुँदैन । यो भोलिका घटनाक्रमहरुले पनि प्रमाणित गर्दै जानेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा प्रायः फुटहरु नेता विशेषको व्यक्तिगत सनकका आधारमा भएका छन् । एकाध फुटहरुमात्र विचार राजनीतिमा आधारित छन् । यतिबेलाको फुट सहि कि गलत ? निम्न अनुसार विश्लेषण गर्न सकिन्छ ।

पहिलोः वैचारिक कार्यदिशाका हिसाबले कुनै मतभेद र अन्तरहरु थिएनन । हाम्रो पार्टीको मार्ग निर्देशक सिद्धान्त मालेमावादी सिद्धान्त, अधिकतम लक्ष्य र उद्देश्य समाजवाद, साम्यवाद, न्युनतम लक्ष्य र उदेश्य नयाँ जनवाद र नयाँ जनवादी क्रान्तिको रणनीतिमा मतभेद र अन्तरहरु छैनन । निश्चय पनि क्रान्तिको कार्यदिशा भनेको कुनै एउटा अंश हैन बरु समग्र अंशहरुको कुल योग हो । केन्द्रीय सत्ता कब्जा क्रान्तिको कार्यदिशा हो तसर्थ विद्रोह, चार आधारको तयारी, वार्ता र टेबुलको संघर्ष एवं कुटनीति आदिको कुल योग नै आजको क्रान्तिको कार्यदिशा हो । यो अवश्य हो, यो समग्र प्रक्रियाको विकास हामीले विगतमा भनेको जसरी हुबहु भएको छैन, हुन पनि सक्तैन । नेपालकै मौलिकतामा विकास भएर आएको छ ।

दोस्रो : राजनीतिक नारा र एजेण्डाका हिसाबले, अन्तरवस्तु र सारतत्वमा जाँदा हाम्रा अन्तर छैनन् । जनयुद्धले स्थापित गरेका ५ वटा मुद्दा हुन वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र छुवाछुतको उत्पीडन । यसैलाई संविधानसभा मार्फत् वर्गीय प्रतिनिधित्व र पहिचान एवं संघीतामा आधारित संविधानमा अभिव्यक्त गर्न अन्तिम सम्म कोशिश भयो । यी राजनीतिक नारा र एजेण्डामा कतै मतभेद छैन । बिडम्वना नै भन्नुपर्छ उहाँहरुले जेष्ठ १४ गते राती कमरेड प्रचण्डले वर्गीय प्रतिनिधित्व र पहिचान एवं संघीयतामा आधारित संविधानमा धोका दिनेछ भनेर निष्कर्षमा मात्र पुग्नु भएन बरु पार्टी फुटाउने निर्णयसमेत गर्नुभयो । त्यही निर्णयलाई राष्ट्रिय भेला मार्फत् अनुमोन गराउनु भयो । अध्यक्ष क. प्रचण्डले सबै छोड्यो र बुझाई सक्यो भन्ने आरोप १४ गतेको घटनाले शत प्रतिशत मनोगत भएको प्रमाणित ग¥यो । उहाँहरुले भने जस्तै सबै छाडेर बुझाइसकेको भए यतिबेला ०४७ सालको जस्तो संविधान आइसकेको हुन्थ्यो र उहाँहरु यही एजेण्डाहरु लिएर आन्दोलनमा हुनुहुन्थ्यो होला । घटनाक्रमले सुनारको सय चोट बराबर लोहारको एकै चोट हुन्छ भनेझैँ धेरै अडान छोडेको देखिएपनि केही यस्ता अडान थिए जसले छोडेको पनि व्याजसहित चुक्ता गर्न सक्थ्यो ।

तेस्रो : विधि र पद्दतिका हिसाबले हेर्दा एक पटक केन्द्रीय समितिको बैठकनै नबसी औपचारिक रुपमा छलफल नै नगरी पार्टी फुटाइयो । पार्टीभित्र पार्टी, संगठनभित्र, संगठन र योजना भित्र योजना बनाएर उहाँहरु गइरहनु भएको थियो । कम्तिमा महाधिवेशनको आयोजना गरेर त्यहाँसम्म सँगै जान सकिने प्रयाप्त आधारहरु थिए । छलफल र जनवादको अभ्यासबाट पछि हटेर हतार–हतार पार्टी फुटाउने दालमा कालो स्पष्ट रुपमा देखिन्छ । कमरेड प्रचण्डले नेतृत्वको एजेण्डा राखेर वहस गर्न तयार रहेको दुबै पक्षले आयोजना गरेका कार्यक्रम स्थगित गरेर एउटै संयुक्त कार्यक्रम आयोजना गर्न अपिल गरेको दुवै कार्यक्रम रोक्न नसकिने स्थितिमा दुवै पक्षका राष्ट्रिय कार्यक्रमबाट पार्टी एकताको प्रस्ताव पारित गर्ने र यो पनि सम्भव भएन भने युद्धविराम गरेर एकताको पहल गर्ने लगायतका असाध्यै लचकदार र जिम्मेवारी बोधका साथ प्रस्तावको पहल गर्दा पनि पार्टी फुटाएरै छोड्नु भयो । तसर्थ यो फुट न विधि संगत छ न पद्धतिसंगत ।

चौथो : समय र सन्दर्भका ‘हिसाबले हेर्दा यतिबेला छातिमाथि ढुङ्गा राखि हाँस्नु प¥या छ’ भन्ने गीतको भावजस्तै झन बढी एकताबद्ध हुनुपर्ने आवश्यकता थियो । संविधान नबनाएरै संविधान सभाको विघटन भएको स्थितिले एकतिर आम जनतामा निरासा छाएको स्थिति छ भने अर्कातिर वर्गीय प्रतिनिधित्व र जनतालाई अधिकारसम्पन्न पहिचानको मुद्दा र एजेण्डाले सिङ्गो देशमा नयाँ जागरण र ध्रुव्रीकरण पैदा गरेको छ । यो जटिल स्थितिको सामना गर्दै अगाडिको सुन्दर संम्भावनालाई वास्तविकतामा बदल्न एकताबद्ध पार्टीनै यो समयको केन्द्रीय माग थियो । यतिबेला देशी विदेशी प्रतिक्रियावादीहरु कुनै पनि हालतमा पार्टी फुटाउने खेलमा थिए त उत्पीडित जनसमुदायहरुको पार्टीलाई एकतावद्ध गर्ने चाहना थियो । बिडम्वना क्षणिकरुपमै भए पनि यो परिघटनाले जनता हारेको र दुश्मनले जितेको स्थिति पैदा गरिदियो । त्यसकारण यो फुट असान्दर्भिक, अनावश्यकबाहेक केहि पनि होइन ।

पाँचौं : आचरण र कार्यशैलीका हिसावले हेर्दा हाम्रो पार्टीमा केही गम्भीर समस्या अवश्य पनि विकास भएका छन् तर यसको समाधान पार्टी फुट किमार्थ हैन । बरु आफैप्रति निर्मम भएर दृढतापूर्वक संघर्ष र रुपान्तरण नै हो । निश्चय पनि एकता क्रान्तिका लागि हुनुपर्छ न कि सुनिएको जस्तै ठुलो र वृहत पार्टी बनाउने रहर र रोमान्सको निम्ति हैन । तर भोलि क्रान्ति हुने भएन भने त्यसको विकल्प पर्सी हुन सक्छ तर फुट विकल्प होइन । विगत केही बर्षयता पार्टीमा आचरण र कार्यशैलीको सही व्यवस्थापन हुन सकेन, जसको परिणाम सिङ्गो पार्टीमा अराजकता र असमानता विकास भएको सत्य हो तर यसको सम्पूर्ण ठेकेदार क. प्रचण्डमात्रै होइन, सिङ्गै पार्टी बिग्रिएको छ । यसका दोषी सबै नेता हुन् । बिग्रिएको यो सिङ्गो पार्टीलाई रुपान्तरण गर्ने आधार, उपाय र सम्भावना छन् । क्रान्तिको कार्यदिशालाई नयाँ ढंगले विकास गरेर सोहीअनुरुपको आचरण र कार्यशैलीको विकास गर्न सकिन्छ । भागो नहि दुनियाँको बदलो भनेझैं यही पार्टीलाई बदल्ने र रुपान्तरण गर्ने साहस गर्न छाडेर भाग्नु माक्र्सवादी आचरण र कार्यशैली होइन ।

अन्त्यमा नयाँ पार्टी निर्माणको हवाला दिदै बलात् ढंगले फुटाइएको पार्टीले देश, जनता र राष्ट्रको हित त गर्दैन, गर्दैन स्वयम् फुटवादीहरुको समेत हित गर्ने छैन । पार्टी बिग्रिएको आंशिक सत्य र राष्ट्रिय स्वाधीनताको नारालाई अतिरञ्जित ढंगले उरालेर क्षणिकरुपमा केही मान्छेलाई भावावेशमा ल्याउन अवश्य सकिन्छ तर टिकाउ राजनीति गर्न सकिन्न । छलफल वहसबाट सिङ्गो पार्टीलाई रुपान्तरण गर्न र कार्यनीतिक श्रृङ्खलाको विकास गर्दै क्रान्तिको समग्र रणनीति र कार्यनीतिलाई विकास र परिमार्जन गर्न आवश्यक र पूरै सम्भावना हुँदाहुँदै आशंकाकै भरमा पार्टी फुटाउनु गम्भीर अपराधबाहेक केही हुन सक्दैन् । पार्टी नेतृत्वलाई लगाइएका भयानक र संगीन खालका आरोपहरु तथ्य र घटनाक्रमहरुले एकपछि अर्का खण्डन गरिरहेको यथार्थलाई नबुझेर बिलकूल मनोगत ढंगले पार्टी फुटाउनु नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मकताको पुनरावृत्तिबाहेक केही भएको छैन । तत्काल संविधान–सभाको कार्यनीतिलाई छाडेर न जनयुद्धको जगमा जनविद्रोह सम्भव छ न ०४६ साल र ०६२/६३ सालजस्तै जनआन्दोलन सम्भव छ । विचारको रक्षा गर्ने नाममा मोहनविक्रमले जस्तै क्रान्तिको आत्मरति मात्र सम्भव हुन सक्ला । पहिलो कुरा संविधानसभाकै कार्यनीतिको बलमा सहमति गरेर पहिचान एवं संघीयतासहितको संविधान निर्माण सम्भव छ । दोस्रो कुुरा, यदि यस्तो सहमति हुन सकेन भने पहिचान र संघीयता पक्षधरहरुको बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनको आँधीबेहरी श्रृष्टि गर्न सम्भव छ । केन्द्रीय सत्ता कब्जा अर्थात् विद्रोहका आधार पनि यसरी नै तयार हुन्छन् । सिधा, सही र जनअनुमोदित उपरोक्त दुई विकल्प छोडेर दायाँ वायाँ लाग्ने नियत जतिसुकै राम्रो भएपनि परिणामले विघटन, विसर्जनबाहेक अन्यत्र कही पुगिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *