पार्टी एकता, रुपान्तरण र विजयको ऐतिहासिक बैठक

  
  प्रकाशित मितिः शनिबार, साउन ६, २०६९       | 145 Views   ||

अध्यक्ष प्रचण्डको दस्तावेज एकमतले पारित ।
केन्द्रीय समिति विघटन, महाधिवेशन आयोजक समिति गठन ।
अध्यक्ष, दुई उपाध्यक्ष र सचिव सम्मिलित केन्द्रीय कार्यालय गठन ।
आगामी माघभित्र महाधिवेशन गरिने ।
अध्यक्ष र उपाध्यक्षको सचिवालय पार्टीको संस्थागत निर्णयमा हेरफेर गरिने ।
केन्द्रमा आर्थिक समिति र लेखा समिति बनाउने
अध्यक्ष र उपाध्यक्षहरूको जिम्मामा रहेका सबै चल–अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र सो समितिमार्फत् वितरण गर्ने व्यवस्था मिलाइने  ।
आइतबार तीन बजे पेरिसडाँडामा पत्रकार सम्मेलन ।

जनउभार समाचारदाता
काठमाडौं, साउन ६ । पार्टीका सबै कमिटी भंग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नेसहितका महत्वपूर्ण निर्णयहरु गर्दै काठमाण्डौंमा जारी एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनदेखि जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज एकमतका साथ पारित गर्दै बैठक सम्पन्न भएको हो ।

साउन दुई गतेबाट शुरु भएको बैठकको अन्तिम दिन शनिबार दस्तावेजमाथि उठेका जिज्ञासाबारे अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आ–आफ्नो संश्लेषण मन्तव्य प्रस्तुत गर्नुभएको थियो । विस्तारित बैठकले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति निर्माण गरेपछि पार्टी काम र अन्य राजनीतिक निर्णयका लागि हालको पदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय बनाउने भएको छ । जसमा पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ एवम् सचिव पोष्टबहादुर बोगटी ‘दिवाकर’ रहनुहुने भएको छ । त्यसैगरी, माओवादीले सबै राज्यसमिति इन्चार्ज, सह–इन्चार्ज र सेक्रेटरीहरु परिवर्तन गर्ने निर्णय पनि गरेको छ । महाधिवेशन आयोजक समिति समावेशीता र विशिष्टताका आधारमा निर्माण हुने र त्यसका लागि महिला, दलित, मुस्लिम, मधेशी, उत्पीडित क्षेत्र र सिनियर नेताहरुबाट थप्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको छ ।

विस्तारित बैठकको समापनका अवसरमा पार्टी अध्यक्ष प्रचण्डले गरेका घोषणा पार्टी उपाध्यक्ष प्रकाशले हलसमक्ष प्रस्तावका रुपमा पेस गर्दा हलले एकमतले पारित गरेको विस्तारित बैठक प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलाल ‘आहुति’द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्तै, माओवादीले माघभित्रै महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष प्रचण्डले दस्तावेजमा फागुनभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेको भएपनि बैठक समापन बोल्दै उहाँले महाधिवेशन माघमा गर्ने र संघर्षलगायतका सबै तयारी गरी फागुनमा नयाँ योजनामा जुट्ने घोषणा गर्नुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईको सहमतिमा गुट अन्त्यका लागि आ–आफ्ना निजी सचिवालय पनि परिवर्तन गर्ने निर्णय विस्तारित बैठकले गरेको छ । अध्यक्ष र उपाध्यक्षको सचिवालयमा आमूल हेरफेर गर्ने, सचिवालयका स्टाफ पनि साटफेर गर्ने र त्यो निर्णय व्यक्तिले नभई पार्टीको संस्थागत निर्णयमा हुने विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी, एकीकृत माओवादीले पार्टीभित्रको आर्थिक पारदर्शीताका लागि नेताहरूले निजी सम्पत्ति पार्टीमा बुझाउने तथा केन्द्रीयस्तरको आर्थिक र लेखा समिति निर्माण गर्ने भएको छ । दुवै समिति केन्द्रीय कार्यालयको मातहत रहने बताइएको छ । पार्टीले हाल अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरु लगायतसँग भएका सम्पूर्ण चल–अचल सम्पत्ति समितिलाई बुझाउने र खर्च आवश्यक परेमा उक्त समितिको सिफारिसमा मात्रै लिने निर्णय पनि गरेको छ ।

पार्टीमा राजनीतिक र वैचारिक प्रशिक्षणको अभाव खड्किएको भन्दै माओवादीले नियमित पार्टी स्कुल सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै गत वर्ष फागुन १ गते जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गर्नुभएका अखिल नेपाल लेखक संघका अध्यक्ष घनश्याम ढकाललाई साँस्कृतिक शहीद घोषणा गर्दै सम्मान र राहत उपलब्ध गराउने साथै घनश्याम ढकाल स्मृति प्रतिष्ठान स्थापना गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, विस्तारित बैठकमा सहभागी हुन आउँदै गर्दा बस दुर्घटनामा परी निधन भएका राज्यसमिति सदस्यहरु अनन्त अधिकारी ‘प्रविण’, काशी घिमिरे र रुकु मगरलाई पनि शहीद घोषणा गरेको छ ।

विस्तारित बैठक पार्टी एकता, रुपान्तरण र विजयको बैठक भएको निष्कर्ष निकालिएको छ । बैठक समापनमा विस्तारित बैठकमा उठेका सबै विषयहरूको प्रष्टिकरणसहित दस्तावेजबारे थप भनाइ राख्दै अध्यक्ष प्रचण्डले सातौं विस्तारित बैठक संघर्ष–रुपान्तरण–एकता र विजयको बैठक भएको घोषणा गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले सहभागीहरुले उठाएका विषयहरुलाई दस्तावेजको मूल भाव नबिग्रने गरी समावेश गर्ने बताउनुभएको छ । बैठकमा पारित दस्तावेजले आगामी माघमा सम्पन्न हुने महाधिवेशनमा पूर्णता पाउने र त्यसले नेपाली क्रान्ति पूरा गर्ने विश्वास अध्यक्षले दिलाउनुभएको थियो ।

बैठक समापनपूर्व उपाध्यक्ष बाबुराम भट्टराईले विस्तारित बैठकबाट निस्कदा पार्टी रुपान्तरित भएर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यदिशा र विचारमा कुनै पनि विवाद नभएको बताउँदै अध्यक्ष प्रचण्डले पेस गरेको क्रान्तिको नयाँ कार्यदिशाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताउनुभयो । विस्तारित बैठकमा देखिएको अराजकतातर्फ संकेत गर्दै उहाँले नकारात्मकताको पराकाष्ठाले अन्ततः सकारात्मक परिदृश्यमा फड्को मारेको बताउनुभएको थियो । सरकारबाट सोचेअनुसार जनताको पक्षमा काम गर्न नसकिएको स्वीकार गर्दै उहाँले आगामी दिनमा पार्टी र सरकारका काम कारबाहीको तालमेल राम्रोसँग मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष भट्टराईले सेना समायोजनका क्रममा भएको त्रुटी सच्याएर त्यसलाई सम्मानजनक बनाउन अझै पहल गर्ने बताउनुभयो ।

त्यसैगरी, बैठकमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यकर्ताहरुको आलोचनात्मक चेतना उच्च रहेकाले पार्टीलाई रुपान्तरण गर्नमा मद्दत पुगेको धारणा व्यक्त गर्नुभयो । विस्तारित बैठकमा नेता र कार्यकर्ताबीच द्वन्द्वात्मक सम्बन्ध स्थापित भएको भन्दै श्रेष्ठले आलोचनात्मक दृष्टिकोण अंगाल्ने कार्यकर्ताको टिमले पार्टीलाई रुपान्तरण गर्ने विश्वास प्रकट गर्नुभएको थियो । सामूहिक नेतृत्व, संस्थागत निर्णय र व्यक्तिगत जिम्मेवारीको मान्यता दह्रोसँग लागू गरेमा पार्टी क्रान्तिकारी हुने उहाँको धारणा थियो ।

विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमाथि २७ जनाले आ–आफ्नो समूहको धारणा पेस गरेका थिए । एक समूहको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने भनिएपनि भोजपुरा राज्यमा केही विवाद देखिएपछि त्यसपछि धारणा राख्ने समूहबाट दुई र तीन जनासम्मले बोलेका थिए । दस्तावेज अध्ययन गरी सुझावहरू प्रस्तुत गर्न बैठकमा सहभागी करिब पाँच हजार राज्यसमिति सदस्य बीचमा १४ समूहहरु निर्माण गरिएको थियो । समूहहरूले बुधबार र बिहीबार दस्तावेजमाथि छलफल गरेका थिए ।

अध्यक्षबाटै त्यागको शुरुवात

काठमाडौं, साउन ६ (जस) । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूबाटै रुपान्तरण र त्यागको शुरुवात गर्ने घोषणा गर्नुभएको छ । पार्टीको सातौं विस्तारित बैठकको समापनका अवसरमा बोल्दै प्रचण्डले आफूले चढिरहेको सुविधासम्पन्न प्राडो गाडी बैठकबाटै छाडेको घोषणा गर्नुभएको हो ।

करिब दुई करोड पर्ने उक्त प्राडो सरकारले सुविधाबापत आफूलाई दिएको बताउँदै उहाँले दिने नै भए सरकारले आफूलाई सामान्य गाडी दिन प्रधानमन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘अब म पनि अरु सरहकै सुविधा मात्रै लिन तयार छु ।’ सरकारले आवासको व्यवस्था गर्ने निर्णय गरिसकेको सन्दर्भमा आफूले लाजिम्पाटस्थित निवास छाड्न तयार रहेको उहाँको भनाई थियो ।

घरबारे अनावश्यक चर्चा परिचर्चा भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसले आफूलाई दुखित बनाएको बताउनुभयो । नयाँबजार हुँदा पनि वैद्य पक्षले मुक्ति टावर र अन्य विषय आफूसँग जोडेर विभिन्न आरोप लगाई आफूलाई लगातार तनाव दिएको बताउँदै उहाँले आफू पार्टी र क्रान्तिका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता दोहो¥याउनुभयो । केन्द्रीय लेखा र आर्थिक आयोगलाई आफूसँग रहेको सबै नगद, चलअचल सम्पत्ति बुझाउन तयार रहेको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *