दुर्घटनाको बाटोमा ड्यास माओवादी

  
  प्रकाशित मितिः सोमवार, साउन ८, २०६९       | 130 Views   ||

-[निर्मल महरा ‘एटम’]

सिद्धान्तमा क्रान्ति र विद्रोहका मिठा सपना र आदर्श बोकेर वैद्य समुह जसरी क्रान्तिकारी पार्टी निर्माणको नाममा विभाजन भयो, त्यसैगरी राजनीतिमा अन्यौल, आशंका र अकर्मण्यतासहित त्यो पार्टी दुर्घटनाको गम्भीर शिकार हुने दिशामा अगाडि बढेको छ । मान्छेहरुको रहरमा निकै तीव्र र बेगवान गतिमा पार्टीलाई चोइट्याएर कथित सशस्त्र युद्ध गर्ने सपना बोकेपछि ड्यास माओवादी दुर्घटनाको त्यो दिशामा अगाडि बढेको हो । निश्चय पनि त्यो पार्टीमा लामबद्ध केही कार्यकर्ता र नेताहरु १० वर्षे जनयुद्धको रागमा खारिएका छन् र जनयुद्धका राम्रा व्यवहारिक अनुभवहरु पनि उनीहरुसँग छ, तर के जनयुद्ध भनेको पार्टी र सिद्धान्तको उन्मादमा केही नेता, कार्यकर्ताले प्रदर्शन गर्ने विरता हो ? पार्टीका सीमित युवा कार्यकर्ताको काँधमा टेकेर सशस्त्र राजनीतिको जुन बेमौसमी यात्रा नेकपा–माओवादीले तय गरिरहेको छ, त्यो देश र जनताको भावनामाथि ठूलो गद्धारी त भएको छ नै, अर्को भयानक असफलता सहितको दर्दनाक ती साथीहरुले व्यहोर्ने निश्चित छ । १० वर्षे जनयुद्धपछि पार्टीले लिएको शान्तिपूर्ण कार्यनीति नेपाली क्रान्तिको बिसर्जन थियो कि विकास ? १० बर्षे जनयुद्धका सबैखाले फौजी अनुभवसहित पार्टीले सामना गरेका योजना लगायत आजसम्मका पार्टीका महत्वपूर्ण उपलब्धिहरुको केन्द्रीय समितिमा राजनैतिक समीक्षा नै नगरि विभाजित हुनु उहाँहरुको पतनको शुरुवात नै हो । पार्टीको न्यूनतम स्थापित मान्यतालाई समेत तोडेर गराइएको विभाजनले स्वयम् ड्यास माओवादीको समूह नै थप विभाजनको दुर्दशामा जानेछ । आज पुनः सशस्त्र युद्धको सपना देख्दा, हिजोको जनयुद्धले सन्तुलनबाट प्रत्याक्रमण प्रवेश गर्दादेखि नै फौजीरुपले दुश्मनलाई पूर्ण समाप्त पार्न नसकेको र आधारइलाकाले खासगरी जनताको सहयोगको क्षमताले मात्र युद्ध थेग्न नसकेको यथार्थतालाई कमरेडहरुले गम्भीर समीक्षा गर्नैपर्छ । त्यसका अलावा आजको समग्र राजनैतिक उपलब्धि तथा चुनौतीहरुको समीक्षा नै गर्ने धैर्य नगर्नु वाम आन्दोलनको शिकार बन्नुमात्र हो ।

विद्रोह या जनयुद्ध, पार्टीको सिद्धान्त र नेताहरुको रहरले मात्र पूरा हुन सक्तैन । विश्वका कयौं देशमा क्रान्तिकारीहरुले सफल गरेका विद्र्रोहझैं नेपालमा असम्भव छ भन्ने कुरा उहाँहरुले पनि बुझ्नुभएकै कुरा हो । बरु ती सफल विद्रोहबाट प्रतिक्रान्तिमा परिणत भएका तिता इतिहासबाट शिक्षा लिएर नेपालमा नयाँ कार्यनीतिको विकास गर्ने कुरामा बहस थाल्नुपर्र्नेे हो यदि उहाँहरुलाई क्रान्ति र परिवर्तन नै चाहिएको थियो भने । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट बिकास गरिएको प्रचण्डपथको कार्यनीति, २१औं शताब्दीको जनवादको अभ्यास, सामूहिक र टिमबद्ध नेतृत्वको विकास आदि पार्टीका निर्णय नेपाली क्रान्तिका मौलिक र प्रतिक्रान्तिविरुद्धका ऐतिहासिक खुड्किलाहरु थिए, जसले मात्र जनयुद्धको अस्तित्व आजको अवस्थासम्म ल्याइपु¥याएको हो । यी निर्णयहरुमा सहीछाप ठोक्ने कमरेड किरणदेखि चुनवाङको कार्यनीतिलाई एकमुष्ठ अभिवादन गर्ने कमरेडहरु आज फेरि इतिहास कोट्याउन जाँदै हुनुहुन्छ, किन ? के उहाँहरुले कुरै नबुझेर हो त ? त्यहाँभित्रका इमान्दार कमरेडहरुले गम्भीर समीक्षा गर्नुपर्ने कुरा के हो भने कतै नेताहरुको इच्छा र विवेकमा क्रान्तिको रेखाङ्कन त कोरिदै छैन ? क्रान्ति हुनुपर्ने त जनता, पार्टी, संगठन र त्यसले बिकास गर्ने आत्मगत एवम् वस्तुगत धरातलमा होइन र ? तर, नेताहरुको चाहनामा पार्टी विभाजन गरिएको छ, उनीहरुको रहरमा सशस्त्र क्रान्तिको सपना बुनिदैछ ।

यसो तर्क गर्दा के जनयुद्ध २०५२ सालमा शुरु गर्दा पार्टीको सिद्धान्त र नेतृत्वको सचेत पहल थिएन ? पार्टीले बाटो बिराएमा क्रान्तिकारीहरुले एकपटक हैन हजारौं पटक त्यही बाटोमा हिड्ने साहस गर्नुपर्छ भनेर ड्यास माओवादीका कमरेडहरु तर्क गर्नुहुन्छ, यसरी हेर्दा २०५२ सालबाट शुरु भएको जनयुद्धको घटनाक्रमलाई मात्र आन्दोलनको मूल पाटो देख्ने संकीर्ण र अधिभूतवादी भूल उहाँहरुमा देखिन्छ । २०५२ सालको जनयुद्धको अन्तिम तयारी र समग्र १० वर्षे जनयुद्धको विकास प्रक्रिया २०५२ भन्दा अगाडि फर्केरमात्र बुझ्न सकिन्छ, जुन जोखिम पनि दक्षिणपन्थी यात्राबाट उठाइएको छ, तर माक्र्सवादको द्वन्द्ववादी प्रयोग र दृष्टिकोणबाट त्यो क्रान्तिकारी र वस्तुवादी नै पुष्टि भयो । २०४६ सालको एकता महाधिवेशनपछि कमरेड प्रचण्डले खोजी गरेका फौैजी कार्यदिशा र राजनीतिक घुम्तीमोड २०५२ सालको जनयुद्धकै तयारीका लागि थिए भन्ने कुरा कमरेड किरणले पनि प्रष्टै बुझ्नुभएको छ । २०४८ सालको संसदीय चुनावबाट पार्टीले उठाएको दक्षिणपन्थी कदम दक्षिणपन्थी हुनको लागि थिएन, जतिखेर प्रचण्डले पार्टी बिगा¥यो, दक्षिणपन्थी भयो भनेर एकथरी कमरेडहरुले पार्टी फुटाउनु पनि भयो, गालीगलौज गर्दै पार्टी र नेतृत्वलाई सत्तोसराप गर्दै हिडेको इतिहास हामी भेटाउँछौं । रिमले आफ्नो कमिटीबाट निष्कासन ग¥योे, मोहनविक्रम नै सहि क्रान्तिकारी भनेर किटान गरिदियो । दक्षिणपन्थी यात्राको जोखिम सामना गर्न नसक्ने सयौं नेता, कार्यकर्ता, तथा सांसदहरु दक्षिणपन्थी यात्राको शिकार पनि भए जसले वर्गसंघर्षका आफु हस्ती, क्रान्तिकारीहरु सम्झन्थे, सारमा ती दक्षिणपन्थी थिए । यदि यता राजनैतिक कार्यदिशा र नेतृत्व क्रान्तिकारी हुँदैनथ्यो भने के जनयुद्धको कल्पना गर्न सकिन्थ्यो ? नेतृत्व र राजनीतिक कार्यदिशा ठिक भएकै कारण पार्टी जिवित रह्यो, जनयुद्ध शुरु भयो, जनयुद्धले नयाँ–नयाँ कार्यनीति र सफलताको विकास गर्दै आयो । हजारौं पटक यात्रा तय गर्ने र सयौं पटक लड्न साहस गरिरहने त हाम्रो आदर्श हो । यदि आदर्शमा विज्ञानको प्mयुजन हुन सकेन भने के हुन्छ ? क्रान्तिमा प्रतिबद्ध हुने र लड्ने भिड्ने भनेको युद्ध र बन्दुकमा मात्र हैन, विचारमा हो, राजनीतिमा हो । दक्षिणमा हिड्डा वामलाई पकड्न सक्ने, वाममा हिड्दा दक्षिणबाट सफलता देख्ने कुरा नै आजको सही द्वन्द्ववाद हो ।

अहिले ड्यास माओवादीका कमरेडहरु १० वर्षे जनयुद्धको बिर्सजन प्रचण्डले ग¥यो भनेर आरोपित गरिरहनुभएको छ तर १० वर्षे गौरवशाली जनयुद्ध खासगरी फौजी युद्ध, खतराको कुन मोड पार गरेर आयो भन्ने कुराको समीक्षा उहाँहरुले गलत तरिकाले गरिरहनुभएको छ । कमरेड विप्लवसँग एउटा भेटमा यसै विषयमा हाम्रो समीक्षा हुँदा उहाँले हामीसँग प्रशस्त मात्रामा साहस र विरता हुँदाहुँदै दुश्मनको हवाइ आक्रमण र आधुनिक फोर्टिफिकेशन तोड्ने प्रविधि र युद्ध सामग्रीको अभाव हुँदा फौजीरुपले प्रत्याक्रमण छिचोल्न नसकेको जवाफ दिनुभएको थियो । मानौं, ती प्रविधि भए प्रत्याक्रमणमा पनि फौजीरुपले हामी फाइनलमा पुग्न सक्थ्यौं, उहाँको तर्कलाई बुझ्दा । युद्धको एउटा पक्ष यो सत्य हुँदाहुँदै समग्र जनयुद्धले एउटा ठूलो संकटबाट बच्दै अगाडि आएको कुराको सत्यतालाई स्वीकार गर्न उहाँहरु अहिले पनि असमर्थ हुनुभएको छ । म त्यो युद्धको प्रत्यक्षदर्शीको हिसाबले साहस र विरतामा जनमुक्ति सेना चुक्यो भन्दिन । पार्टी र नेतृत्वले निर्देशन गरेसम्म हामी बत्तीको उज्यालोमा पुतली हाम फालेझै हाम फालेकै थियौं । दुश्मनका बंकर र काँडेतारसँग आफ्नो जीवन साटेर हाम्रा सयौं होनहार सहयात्रीहरुले वीरता र साहसको परिचय दिएकै थिए । अन्तिम विजयका लागि भन्दै सैन्य संरचनाहरु विशाल बन्दै गएका थिए, बलिदानमा जुन गुणात्मकता (क्षति) पार्टीले व्यहोरिरहेको थियो, भर्ति र उत्पादनमा मुलतः मात्रात्मक मात्र बन्दै गएको थियो । पार्टी, जनसत्ता, सहकारी तथा जनवर्गीय संगठनमा आबद्ध हजारौं कमरेडहरु त्यो लाल फर्मेशनमा आबद्ध हुनुभयो, सबै सैन्य फर्मेशनमा लामबद्ध भएपछि उता संगठन क्रमशः खाली हुँदै थियो । तर, रगतले अझ बढी गुणात्मक संख्याको माग गरिरहेको थियो ।

आज आफूलाई पुनः क्रान्ति र जनयुद्ध गर्न तम्सिने कमरेडहरुलाई थाहा हुनुपर्ने हो जनसत्ता कसरी संकटग्रस्त हुँदै थियो, आधारइलाका र जनताको अवस्था के थियो ? जनयुद्धको निर्णायक विजय नहुने र स्थानीय आधारइलाकाहरु प्रतिक्रान्तिमा बदलिन सक्ने संकेतहरुको बीचबाट महान जनयुद्धले सुरक्षित टर्न गरेको थियो । इतिहासका यी गम्भीर राजनीतिक एवम् फौजी उतारचढावको रक्षा गर्ने पार्टी र नेतृत्वलाई आज भागेको, डराएको, दक्षिणपन्थी आत्मसमर्पणवादी आदि आरोप उहाँहरु लगाइरहनु भएको छ भने इतिहासको पुरानै ढंगले पुनरावृत्त गर्दै आंशिक सफलताहरुलाई पनि भड्खालोमा लगेर समाप्त पार्ने प्रतिक्रान्तिको बाटोमा उहाँहरु हिडिरहनुभएको छ । बरु ती ऐतिहासिक जोखिमबाट प्राप्त भएका आजका उपलब्धिहरुलाई संस्थागत गर्दै बाँकी क्रान्तिका कार्यभार पूरा गर्न नयाँ वैचारिक, साँस्कृतिक, सांगठनिक क्षेत्र बलियो बनाउन साहस गर्दै पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेको भए क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने नयाँ प्रस्थानविन्दु बन्न सक्थ्यो ।

ड्यास माओवादीका कमरेडहरुले इतिहासका यी सबै विरासतबाट पाठ सिकेर पार्टी रुपान्तरण र एकताका लागि पछिल्लो समयमा भएका छलफल र ७ बुँदे प्रस्तावका आधारमा एकीकृत र केन्द्रीकृत ढंगले हातेमालो गर्दै अगाडि बढ्ने ठाउँमा पश्चगामी निर्णय लिदै पार्टी विभाजन गरेर एक्लिनुभएको छ । फुटले कतैबाट पनि राजनैतिक हैसियत प्राप्त गर्न नसकेको कुरा घामजस्तै छर्लङ्ग छ । पार्टी विभाजन हुनबाट गरिएको प्रयास त्यसका विरुद्ध उहाँहरुले देखाएको अधैर्यता तथा फुटपछि देशव्यापीरुपमा देखिएको निराशाले के प्रष्ट पा¥यो भने फुट अवस्तुवादी, अराजनैतिक र मनोगत छ । उहाँहरु बहसमा छलफल र तर्कवितर्कमा भनिरहनुभएको छ कि आफूहरु खाँटी क्रान्तिकारी र अर्कोतिर हुने खाने र धनसम्पत्तिका माओवादी । उहाँहरु वैचारिकभन्दा पनि प्राविधिक र भावनात्मक प्रहारहरु चारैतिर सोझ्याइरहनु भएको छ । आग्रह—पूर्वाग्रह, रिस, इष्र्या, डाहा र पदीय कोणबाट आलोचनाका बौछारहरु आइरहेका छन् । क्रान्ति र विद्रोहका मिठा नारा पस्किएपनि राष्ट्रपति, कांग्रेस–एमाले गुहार्दै बाबुराम भट्टराईलाई पदच्युत गर्ने राजनीतिमा उहाँहरु केन्द्रित हुनुभएको भएको छ । यसरी सिद्धान्तको मुल जडबाट निकालिएको कमरेड किरणहरुको निष्कर्षले आजको क्रान्तिको विकास र विजयलाई धोका दिएको छ र उहाँहरु प्रत्यक्ष परोक्ष जडसुत्रीय संशोधनवादको शिकार भइरहनुभएको छ । हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी) वाम जडसुत्रीय संशोधनवादका विरुद्ध संघर्ष गर्दै दक्षिणपन्थी संशोधनवादको यात्राबाट सुरक्षित गर्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न अगाडि बढिरहेको छ । यो नै नेपाली जनताको चाहना र आजको क्रान्तिको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *