महामारी र विपत नियन्त्रणका लागि हामी हाइएलर्टमा बसेका छौं

  
  प्रकाशित मितिः सोमवार, साउन ८, २०६९       | 95 Views   ||

जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ “]

निकै तनावमा देखिनुहुन्छ किन ?

देउखुरी डुबान क्षेत्र जान भनेर हिडेको खोलाले छेकेर बीचबाटै फर्किएँ । तर पनि तयारी अवस्थामै बस्ने कुरा छ । जतिबेला सम्भव हुन्छ हिड्ने हो । एलर्ट अवस्थामा बस्नुपरेको छ । अन्य सबै कार्यक्रमलाई स्थगित गरेको छु । क्षेत्रीय कार्यालयमा पनि त्यही खालको रिपोर्टिङ गरिरहेको छु । आपत विपद र महामारीमा त त्यहीअनुसारको सचेतता अपनाउनु परिहाल्यो नि ।

आर्थिक वर्ष भर्खर सकिएको छ, समीक्षा गर्नुभयो ?
असारभित्र गर्नुपर्ने सबै कार्यक्रम गरी सकेका छौं । सबै निकायबाट साउन सात गतेसम्म सबै रिपोर्ट आउनुपर्छ । त्यो आउने प्रकृयामा छ । अन्तिम रिपोर्ट बनाउने काममा जुटेका छौं । मोटामोटी भन्नुपर्दा गत वर्ष १ करोड ५६ लाख ५८ हजार रुपैयाँ बजेट फ्रिज भएको छ ।

यति ठूलो बजेट किन फ्रिज हुन पुग्यो ?
हामीले नियमानुसार हरेक चौमासिकमा गरिने काम पूरा गरेका छौं । पटक–पटक समीक्षा पनि हुन्छ । तर, केही योजनाहरु समयमा आई दिदैनन् । केही वैदेशिक सहयोगमा चल्ने कार्यक्रम सरकार र दातृ निकायबीच तालमेलको अभाव हुनुपर्छ । जस्तो : कालाजार मलेरिया सम्बन्धीको बजेट खर्च हुन सकेन । केही रकम असारको तेश्रो सातामा आयो भने केही रकम असाध्यै ढिलो फुकुवा भयो, जतिबेला हामी कुनै हालतमा काम गर्न भ्याउँदैनथ्यौँ । तर्जूमा गर्न, कार्यक्रम सम्पन्न गर्न सकिएन । हचुवाको भरमा कार्यक्रम गर्ने पक्षमा म छैन । कार्यक्रमहरु जुध्न जाने स्थिति आयो । बजेट फ्रिज हुन पुग्यो । त्यसैले असारमा नियमित आउनुपर्ने तलब भत्ताबाहेकको बजेट कार्यक्रम नपठाइदिन पटक–पटक माथिल्लो निकायमा अनुरोध गरेका छौं । यसपटक समीक्षा बैठकमा जोडदार रुपमा उठाउने छौं । जसरी पनि गर्ने भनेर दबाबमा म काम गर्दैन ।

कार्यक्रम कसरी कहिले गर्ने भन्ने ठोस नीति नभएको हो ?
धेरै कार्यक्रम यो चौमासिकमा गर्ने भनेर तोकिएको हुन्छ । साधारण कार्यक्रम नियममै सक्छौं । अलि बढी तालिम हुन्छ । लजिस्टिक, उपकरण र औषधी वितरण व्यवस्थापनको काम हुन्छ । धेरै औषधी यही खरीद हुने भएकाले टेण्डर आव्हान गरेर फागुनमै सकियो । सुत्केरीको यातायात खर्च, समुदायमा आधारित शिशु स्याहार भत्तालगायतका कुरा असारमा सकियो ।

प्रसंग बदलौँ, वर्षा लाग्यो अब त विभिन्न महामारी र विपत आउलान्, पूर्वतयारी के कस्तो छ ?
महामारी र विपत नियन्त्रणका लागि हामी हाइएलर्टमा बसेका छौं । केही जोखिममा परेका गाविसलाई गत वर्षको अनुभव ख्याल गरी बढी जोखिममा राखेका छौँ । जस्तो– गोलटाकुरी, फूलबारी, पुरन्धारा लगायतका गाविसहरु । ती गाविसमा विगत वर्षहरुमा पानी दुषित भएका कारण झाडापखाला, आउँलगायतको महामारी देखिएको थियो । जिल्ला तथा प्रत्येक इलाकाहरुमा ¥यापिड रेस्पोन्स टिम बनाएका छौं । पश्चिममा श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र मानपुर, पहाडमा स्यूजा, देउखुरीमा लमहीमा औषधिसहितको स्वास्थ्यकर्मीको टोलीलाई एलर्टमा राखेका छौं । हरेक दिन नियमित रिपोर्ट हुन्छ । राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीसँग निकट रहेर समन्वयका साथ अघि बढ्ने व्यवस्था मिलाएका छौं । महामारीकै लागि औषधिहरु कार्टुनमा प्याक गरेर तयारी अवस्थामा राखेका छौं । केही भयो भने तुरुन्तै पठाउन सक्छौं ।

मौसमअनुसार सिजनल खालका रोगहरु पनि त खतरनाक हुन्छन नि ?
हो, झाडापखाला, आउँमासी, भाइरल ज्वरोका बिरामी वर्षामा अलि बढी देखिन्छन् । पेटसम्बन्धी रोगहरु धेरै छन् । त्यसको लागि पनि पानी शुद्धिकरण गर्ने विधि सिकाएका छौं । औषधिहरु वितरण भएको छ । खासै समस्या आउन दिदैनौं ।

पानीको गुणस्तर कसरी जाँच्नुहुन्छ ? शौचालयको खाडल र पानीको कुवाँ संगै भएको समाचार आएको छ ?
हाम्रो जिल्लामा पानीको गुणस्तर टेष्ट गर्ने प्रविधि छैन । यो महंगो प्रविधि हो । यसमा सबैलाई चासो छ पहल गर्न आवश्यक छ । पानी उत्पादक कम्पनीले रजिष्टार कार्यालयको शर्त पालना गरेर पानी उत्पादन गरेका छन् । त्यसलाई मान्नैपर्ने हुन्छ । पानीको सतहनजिक भएका ठाउँहरु धेरै छैनन् । त्यसैले शौचालयको पक्की खाडल बनाउँदा राम्रो हुन्छ । गरीबीका कारण भनेजस्तो सजिलो छैन । तर पनि न्यूनतम पानीको श्रोत र शौचालयको ट्याङ्की ५० मिटरको फरकमा हुनैपर्छ । अहिले बिरामी बढेका छन् । पानी दुषित भएर नै हो खुला दिसामुक्त क्षेत्र बनेमा ७० प्रतिशत रोग स्वतः हराउँछन् ।

यस्तै अन्य चुनौती र मृत्युका कारणहरु के–के छन् ?
यो जिल्लामा नपुगेको कुरा जनचेतनाको हो । हामीकहाँ हुने सिजनल रोगमा समेत भ्रमित हुन्छौं र मृत्युको मुखमा पर्छौं । स्वास्थ्य संस्थामा गएर सेवा नलिनु प्रमुख कारण हो । मलाई एउटा घटना निकै पछुतो लागेको छ । स्यूजातिर एक आमाको प्रसुतिपछि निकै रगत बगेछ आफन्त छिमेकीले उपचारमा जाउँ भन्दाभन्दै श्रीमान्ले प्राथना गरेर ठीक हुन्छ भन्नुभएछ । त्यही क्रममै उहाँको मृत्यु भयो । जिल्लाभर ३९ मध्ये २४ स्वास्थ्य संस्थामा २४ घण्टे प्रसूति सेवा दिएका छौं । तर त्यसको पूरा उपभोग हुन पाएको छैन । क्रमिक सुधार भने नभएको होइन । जुन दरमा अपेक्षा गरिएको हो हुन सकेन । सरकारको यो लगानी हेर्दा उच्च दरमा हुनुपर्दथ्यो । खतरा आयो भने अन्तिम विकल्पको रुपमा स्वास्थ्य संस्थामा आउने गरेको छ । नत्र भने धामी झाँक्री झारफुक लगायत थुप्रै संस्कारमा अल्झिने काम भएको छ । जडिबुटी वा अन्य तरिकाबाट घरमै उपचार गराउने धेरै छन् । विभिन्न तरिकाले जोखिम मोलेर सुत्केरी गराउने चलन छ । यसमा सुधार ल्याउने गरि चेतना विकास हुन अनिवार्य छ । जसले मृत्युबाट मात्रै बचाउने होइन स्वस्थसमेत राख्दछ ।

स्वास्थ्य संस्थामा डाक्टर नभेटिने गरेको गुनासो छ । दिउँसो २ बजेसम्म बस्नाले समस्या ल्याएको छ भन्छन् नि ?
यो गुनासो हामीकहाँ पनि आइरहेको छ । म के भन्छु भने नेपाल सरकारको कर्मचारी भएपछि पूरा समय बस्नैपर्छ । कसैलाई पनि १० बजेदेखि ५ बजेभन्दा अरु छुटै समयको व्यवस्था छैन । त्यससँगै हामीसँग २४ घण्टे प्रसूति सेवा झन् खुला नहुने कुरै हुन्न । अरुको हकमा ओपीडी सेवा २ बजे र इमर्जेन्सी सेवा र प्रशासनिक कार्य अन्य समयमा गरी १० देखि ५ सम्म बस्नैपर्छ । अब साउनदेखि अनुगमन सुपरीवेक्षण कार्य अघि बढाउँदैछौं । पूरा अवधि बस्ने र सेवा दिने कुरामा स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिले पहल गर्नुपर्छ । त्यसमा मिडिया र अन्य नागरिकहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

शहरीकरण बढिरहेको छ । अव्यवस्थित बसोबासका खबर आउने गरेका छन्, जनसंख्या नीति छ छैन ?
जनसंख्या आकार प्रकार अवस्थाको अध्ययन गर्ने कामको अभाव छ । सामान्य छलफल र सचेतनाका कार्यक्रमहरु हुने गरेका छन् । विभिन्न कार्यक्रम गरेर दिवसहरु मनाउने गरिएको छ । त्यसबाहेक व्यवस्थित नीति बनेको छैन । मन्त्रालयदेखि नै यसको अभाव छ । विभिन्न अभ्यास भइरहेको छ । आवश्यकता पनि त्यत्तिकै छ । अव्यवस्थित बसाई र बढ्दो शहरीकरणले वातावरणमा प्रभाव पारेकै छ । जिल्लास्तरमा छलफल चलाएका पनि छौं । यो विषय पछिल्लो चरणमा मन्त्रालयमा गाभिएको हो व्यवस्थित हुने क्रममा छ । जनसंख्याको आकार, प्रकार, परिवर्तन आदिलाई ख्याल गरेर योजना तर्जुमा गर्नुपर्ने हो । यसमा ख्याल पु¥याउनुपर्छ भनेर सबै स्वाथ्य प्रमुखलाई भन्ने गरेका छौं । आगामी वर्षमा यसलाई थप सूचीकृत गरेर लैजान्छौं ।

औषधीको गुणस्तर कस्तो छ ? स्थानीय मेडिकलहरुको अनुगमन सम्बन्धी कुनै कार्यक्रम छ ?
यो औषधि व्यवस्था विभागले गर्ने हो । यसको शाखा नेपालगञ्जमा रहेको छ । खासमा अनुगमन प्रणाली मन्त्रालयदेखि नै फितलो अवस्थामा छ ।

मातृशिशुको अवस्था नि ?
स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम बढ्दो छ । उनीहरुलाई निःशुल्क जाँच र सुत्केरी हुँदा यातायात खर्च दिने गरिएको छ । घुम्तीकोष पनि चलाएको छ । बिना व्याज उनीहरुले गाउँमै ऋण पाउँछन् । तर, पनि अपेक्षा गरेअनुरुप पुगेको छैन । हामीले समीक्षा गरिरहेका छौं । कतै सामाजिक परिचालनमा कमजोरी भयो कि ? वा परम्परागत संस्कारबाट माथि उठाउन सकिएन कि । त्यसकै कारणले ज्यान गुमाउने अवस्था अहिले पनि छ । यसका लागि सबै क्षेत्रबाट जनचेतनाका कार्यक्रम चलाउनुपर्छ भन्ने लागेको छ ।
म दाङमा आएको ६ महिना जति भयो सञ्चारकर्मी साथीहरुको भूमिका राम्रो पाएको छु । विभिन्न समस्यालाई उठाएर सचेतना फैलाउने कार्यक्रम असाध्यै राम्रो हो । महामारी वा रोगका बारेमा दिइने सन्देशमूलक कार्यक्रमले जनमानसमा ठूलो रोल खेल्छ ।

यहाँले जिल्लामा देखेको अवस्था र सुधार्नुपर्ने पक्ष के छ ?
केही कार्यक्रम राम्रा छन्, जुन नियमित चलिरहेका छन् । जस्तो, खोप नियमित लाउने गरिएको छ । सबै संस्थाहरुले चलाएका छन् । यो क्षेत्रमै दाङ राम्रो खोप दिने जिल्लामा पर्छ ।
तर, यसका बाबजुद समस्या पनि त्यत्तिकै छन् । मुख्य त सडक दुर्घटनाबाट हुने घाइते, अंगभंग हुने क्रम दैनिक डरलाग्दो छ । सडकमा गलत तरिकाले हिड्ने र गाडीको छतमा बस्ने अवस्था यो वर्ष पनि खासै बदलिएन । विश्वमा मृत्युको तेश्रो ठूलो कारण सडक दुर्घटना हुने गरेको छ भने दाङमा पनि दैनिक यसको समाचार सुन्नु परिरहेको छ । गत वर्षलाई हेर्ने हो भने प्रमुख मृत्युका कारणहरुमा आउने गरेको छ । यस्तै सर्पले टोकेको धामी खोज्ने, जंगली च्याउ खाएर गम्भीर अवस्थामा स्वास्थ्य संस्थामा आउने क्रम जारी छ । धुम्रपान रोक्न कानून बनाएर जारी गरेको छ तर प्रभावकारी कार्यान्वयन गराउन बाँकी छ । मुख्य समस्या जनतालाई स्वास्थ्य संस्थासम्म ल्याइ पु¥याउने नै हो ।

जनतालाई सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नै छैन भन्ने आरोप छ त ।
जनताबाट पूर्णरुपमा विश्वास गुमाइसकेको अवस्था होइन । अहिले टाढाका गाउँमा सबै जनताको स्वास्थ्य सेवा दिने संस्था सरकारी नै हो । निजी अस्पताल र मेडिकल सदरमुकाम र मुख्य शहरमा नै केन्द्रित छन् । यसो हुँदाहुँदै पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिएको छैन । अहिलेका स्वास्थ्य संस्था ०४८ सालको स्वास्थ्य नीतिको आधारमा चलेका छन् । पछिल्लो २१ वर्षमा यत्रो परिवर्तन भयो जनसंख्याको वृद्धि कहाँ पुग्यो । स्वास्थ्यको जनशक्ति र आधार उही पुरानै छ । नयाँ प्रविधि, थप जनशक्तिको विकास गर्नुपर्छ । जसले अहिलेका नयाँ रोगहरु, विकसित अवस्थालाई धान्न सक्नुपर्छ । त्यही अनुसाको क्वालिटी बढाउनुपर्छ ।

उही दर्जाको एउटै डाक्टर निजीमा लोकप्रिय, सरकारीमा बस्दा जनविश्वास गुमाउने अवस्था किन भएको होला ?
केही वर्षअघि स्वास्थ्य र शिक्षा सेवाको अर्थमा बुझिन्थ्यो । मान्छेहरु दान दिन्थे, आफ्नै लगानीमा विद्यालय खोल्थे । अस्पताल बनाउँदा खुशी हुन्थे, लगानीमा सहयोग गर्थे । अहिले त्यो अवस्था रहेन । स्वास्थ्य शिक्षा व्यापार भएको छ । लगानी गर्ने नाफा खाने थलो भएको छ । तर पनि व्यवसायिक धर्म निर्वाह गर्न चुक्नुहुन्न भन्ने हो । नियम पालना गरे समस्या चाहिँ हुँदैन । अहिले देशको संक्रमणकालीन अवस्थाले राज्यसंयन्त्र कमजोर छ । अनुगमन प्रकृया केन्द्रदेखि फितलो छ । अझ थप फितलो जाने क्रममा छ । यसले केही समस्या भने ल्याएको देखिन्छ ।

अन्तमा नौलो जनउभारमार्फत् केही भन्नु छ कि ?
मलाई लाग्छ, सबै सरोकारवाला निकाय र मिडिया नै एकजुट भएर लाग्ने हो भने जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ । स्थानीय स्तरसम्म गठन भएका अस्पताल व्यवस्थापन समितिहरु आफ्नो स्तरमा मुद्दा उठाउनुपर्छ, छलफल गर्ने कर्मचारीलाई नियमित बस्ने वातावरण बनाउने, आवश्यक परे जनस्वास्थ्य कार्यालयमा सूचना दिने गरेमा थप प्रभावकारी हुने देखिन्छ ।

निजी क्षेत्रले सरकारीले सेवा दिन नसकेका दूरदराजका गाउँमा जानुपर्छ । सेवा नपुगेका नागरिकलाई लक्षित गरेर कार्यक्रम लैजानुपर्छ । यसले प्रभावकारी बनाउँछ । शौचालय बनाउने अभियानजस्तै खानेपानीको पनि अभियान आउन जरुरी छ । मुख्य कुरा चेतनाको कमी हो । साबुन पानीको प्रयोग गर्ने बानी बसाल्न निकै धौ भएको देखिन्छ । यसमा राजनैतिक दल, मिडिया, नागरिक समाज, सबै क्षेत्रले भूमिका खेल्नुपर्छ । अहिले सञ्चार जगतले राम्रो भूमिका निर्वाह गरेको छ । अन्तमा, अझैं पनि सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गरिदिनुहुन म अनुरोध गर्दछु ।

प्रस्तुति : गोविन्द खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *