बाढीपीडितलाई राहत वितरण

  
  प्रकाशित मितिः सोमवार, साउन ८, २०६९       | 123 Views   ||

जनउभार समाचारदाता
देउखुरी, साउन ६ । दाङ देउखुरीका बाढीपीडितहरुलाई शनिबार र शुक्रबार विभिन्न सामाजिक संघ संस्थाहरुले साढे पाँच लाख बढीको राहत सामग्री वितरण गरेका छन् । शनिबार दाङ जिल्ला उद्योग वाणिज्य संघको पहल र समन्वयमा देउखुरीका सिसहनिया, सोनपुर र लालमटियाका बाढीपीडितहरुलाई ३ लाख २८ हजार बढी मुल्य बराबरको खाद्यान्न र लत्ताकपडा नेपाल रेडक्रस सोसाइटीमार्फत् वितरण गरिएको हो । यसअघि शुक्रबार देउखुरी उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, सत्यसाई सेवा केन्द्र लमही, जेसीज लमही, रोटरी क्लव तुलसीपुर र लमहीस्थित शीतल नमकिन उद्योगले गरी करीब साढे दुई लाख मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेका थिए ।

शनिबार बाढी प्रभावित क्षेत्रमा पुगेको दाङ जिल्ला उद्योग वाणिज्य संघको टोलीले १ लाख ५६ हजार ३ सय १२ र नेपाल उद्योग वाणिज्य महासंघले ५१ हजार गरि २ लाख ७ हजार ३ सय १२ रुपैयाँ मूल्य बराबरको ४९ क्वीन्टल चामल, ४० लिटर तेल, ३ क्वीन्टल च्यूरा, १८ पेटी चाउचाउ, ५० किलो गहुँ, ३ बोरा फेन्सी कपडा, जुत्ता चप्पल, ५ किलो नुन प्रदान गरिएको संघका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभयो । त्यस्तै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले ५९ हजार ८ सय २० रुपैयाँ बराबरको १३ क्वीन्टल २५ किलो चामल, ९० किलो दाल, ५० लिटर तेल र ५० किलो नुन प्रदान गरेको छ । यस्तै लाइन्स क्लव देउखरीका पदाधिकारीहरुले संकलन गरेको ३५ हजार मुल्य बराबरको ८ क्वीन्टल चामल, १ बोरा सोयाविन, १२ जोडा तयारी कपडा पीडितहरुलाई प्रदान गरिएको क्लवका अध्यक्ष हरिसिंह बिडारीले जानकारी दिनुभयो । त्यसैगरि भालुवाङ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १० हजार मुल्य बराबरको ३ क्वीन्टल चामल, साढे १२ किलो दाल प्रदान गरेको संस्थाका अध्यक्ष कमल केसीले जानकारी दिनुभयो । त्यसै दलित सचेतना अभियान र छहारी बचत लमहीले पनि साढे १ क्वीन्टल चामल र ६ किलो सोयाबिन गरि ६ हजार मुल्य बराबरको खाद्यान्न वितरण गरेका छन् ।

वितरण गरिएकामध्ये सिहसनियाको वडा नम्बर ४ पिपरीका ५३ घर, वडा नम्बर ५ पहरुवाका ४ सय ९३ घर, वडा नम्बर ६ कहलुवाका ९० घर र वडा नम्बर ७ लठ्ठहवाका ५ सय १० घरका बाढी पीडितहरुलाई संकलन भएकोमध्ये ७० प्रतिशत राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका प्रमुख गंगाराम भटराईले जानकारी दिनुभयो । त्यस्तै सोनपुरको नर्तीमा वडा नम्बर १ का १० घर, ३ का ६२ घर, ४ का २६ घर र ७ का १४ घरपरिवारलाई शनिबार संकलन भएको ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी दाङका सदस्य नुमराज पौडेलले जानकारी दिनुभयो । उता लालमटिया–३ मा रहेका बाढीपीडित एक दर्जन घरपरिवारलाई पनि शनिबार केही खाद्यान्न वितरण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षतामा लालमटियामा एक कार्यक्रमको आयोजना गरी राहत प्रदान गरिएको हो । राहत वितरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ पनि पुग्नुभएको थियो ।

यसैबीच बाढीबाट विस्थापित सिसहनिया गाविसका करीब ५ सय घरपरिवार र सोनपुरका ६१ घरपरिवारलाई शुक्रबार चामल, दाल, तेल, नुन, सोयाविन चाउचाउ, च्यूरा, नमकिन, भुजालगायतका खाद्य सामग्री प्रदान गरिएको थियो । देउखुरी उद्योग वाणिज्य संघले करिब एक लाख, लमही जेसीजले ७० हजार, शीतल नमकिन उद्योगका शितल गुप्ताले व्यक्तिगतरुपमा २० हजार, तुलसीपुर उद्योग वाणिज्य संघले १५ हजार, सत्यसाई सेवा केन्द्रले १५ हजार र रोटरी क्लवले १२ हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलाराम खनालले जानकारी दिनुभयो ।

उता घटना भएको तीन दिन बितिसक्दा पनि सरकारी तवरबाट कुनै राहत नपाएको भन्दै पीडितहरुले स्थानीय प्रशासनको आलोचना गरेका छन् । तर, क्षतिको विवरण आउने क्रम जारी रहेकाले छिट्टै क्षतिअनुसार कम्तीमा ५ हजार रुपैयाँसम्म राहत दिने प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले बताउनुभयो ।

भीषण वर्षापछि बुधबार राती देउखुरीका सिंगै खोला, दोलही खोला, करन्दी खोला र सानी नदीमा आएको बाढीका कारण सिसहनिया, लालमटिया र सोनपुर गाबिसका २१ सय घरधुरी डुबानमा परेका थिए । डुबानमा परेकामध्ये ६ सय घरपरिवारको बासस्थान सहित घरमा रहेका सबै सामान गुमेका छन् भने करिब ३ सय घरपरिवार अहिले पनि विभिन्न विद्यालय, वन समुहको भवन, आफन्तको घर र जंगलको छेउमा पाल टाँगेर बसेका छन् । आफूहरुलाई सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *