मदानीमा क्षितिजले भन्नुभयो– ‘दुःख नै जीवनको सौन्दर्य’

  
  प्रकाशित मितिः सोमवार, साउन १५, २०६९       | 114 Views   ||

Madanima_ramesh_6itiz-[उदय जीएम]

दाङ, साउन १३ । ‘कहिलेकाहीं हामी जे चीजलाई दुःख ठानिरहेका हुन्छौं, त्यही चीज जीवनको सौन्दर्य बन्छ भन्ने कुरा बिर्सिरहेका हुन्छौं ।’ हो, शनिबार घोराहीमा मदानी साहित्य समूह नेपालले आयोजना गरेको ‘मदानीमा रमेश क्षितिज : कवि, व्यक्तित्व र कविता’ विषयक मन्थन कार्यक्रममा मथिदै यी कुरा बोल्दै हुनुहुन्थ्यो गीतकार एवम् कवि रमेश क्षितिज ।

‘त्यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ पात्रहरु फेरि देखिनेछन् रङ्गमञ्चमा
आउनेछ एउटा अर्कै नयाँ मोड
मध्यान्तरपछि– फेरि झुल्किनेछ नयाँ रङ
र तिम्रो शिरमाथि खस्नेछ प्रकाशको फोहरा
कथा अझै बाँकी छ,

निराशाको हुस्सुले छोपेको टाकुराको ठिक माथिबाट
बादलको काक्रोलाई चरक्क चिर्दै निस्कनेछ चुलेसीजस्तो सूर्य
र तिम्रो ओठमा फक्रिनेछ मृदु मुस्कानको कोपिला
फेरिनेछ आँखा हुँदै बगिरहेको बर्सादी दिन
थामिनेछ गड्याङगुडुङ चट्याङहरुको जनयुद्ध
चैतको प्रचण्ड गर्मीमा बेला बेलामा सुम्सुम्याएर जाने चीसो बतासजस्तो
एउटा नयाँ चेतना बौराउनेछ वरिपरि’

Madanima_ramesh-6itiz‘बाँकी कथा’ शीर्षकको यो कवितासहित क्षितिजले मदानीमा आफ्ना पाँच कविता वाचन गर्नुभयो दर्जनौं स्रोतामाझ । फाइन प्रिन्टद्वारा छिट्टै बजारमा ल्याउन थालेको ‘घर फर्किरहेको मानिस’ कवितासंग्रहबाट उहाँले पाँच कविता मदानीमा सुनाउनुभएको हो । आफ्ना ४५ वटा कविता समेटिएको ‘घर फर्किरहेको मानिस’ कवितासंग्रहमा रहेका टोकियो शहर, बेपत्ता, नयाँ सपना र साँझपख शीर्षकका कविता सुनाउनुभएको थियो क्षितिजले । रुख, पातजस्तै गलेर जाने नभई इतिहासमा एउटा थोप्लोजत्तिकै भए पनि परिचय बनाउनका लागि आफूले कविता लेख्ने गरेको कवि क्षितिजको भनाई थियो । ‘एकताकाका संघर्षका दिनहरुमा यो सारा संसारमा मैमात्रै दुःखारी हो कि जस्तो लाग्थ्यो’, क्षितिजले भन्नुभयो– ‘तर मानिसलाई संघर्षले बलियो बनाउँदो रहेछ । हामीले दुःख ठानिरहेको चीज नै जीवनको सुन्दरता हुँदोरहेछ ।’

‘मान्छेलाई भगवान बनाउनु हुँदैन’, कवि क्षितिजले थप्नुभयो– ‘मान्छेलाई मान्छे नै रहन दिने हो भने मान्छे वास्तवमा सुन्दर हुन्छ ।’ कुनै औपचारिकताबिना चलेको मदानी साहित्य समूहको पहिलो कार्यक्रममा स्रोताहरुको राम्रो सहभागिता रहेको थियो ।

आफूले साहित्य लेख्न थालेपछि गुरुहरुको पहिलो प्रतिक्रिया थियो रे, ‘फलानोको छोरो बिग्रियो ।’ तर कवि रमेश क्षितिजले दावी गर्नुभयो– ‘लोकसेवामा सफल भएपछि कसरी सफलता मिल्यो भनेर एउटा कार्यक्रम भएको थियो । त्यसमा मैले एउटै जवाफ दिएको थिएँ, म साहित्य लेख्छु ।’ साहित्यकारले समाजलाई बुझ्ने, पर्गेल्ने र विश्लेषण गर्नसक्ने भएकाले सफलता प्राप्त हुने उहाँको दावी थियो । पठन–संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै गीतकारको अर्को परिचयसमेत बनाइ–सक्नुभएका कवि क्षितिजले आशा जगाउनुभयो– ‘अब साहित्य पनि व्यवसायिकरुपमा अघि बढ्न थालेको छ । साहित्यको विकासका लागि वातावरण बन्दै गएको छ ।’ उहाँले सूचना प्रविधिको विकासले अबका स्रष्टाहरुले पहिलेजस्तो दुःख नपाउने पनि उल्लेख गर्नुभयो ।

कवि तथा गीतकार रमेश क्षितिजको प्रस्तुतिपछि समीक्षकत्रय टीकाराम उदासी, कृष्णराज डीसी र हरिलाल पौडेलले कवि रमेश क्षितिजको कवि, व्यक्तित्व र कविताबारे समीक्षा गर्नुभएको थियो । समीक्षकहरुले क्षितिजका कवितामा कला, भाव, बिम्ब, प्रतीक, लय र चेतनाका कोणबाट हेर्ने प्रयास गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो भने मदानी साहित्य समूहका अभियन्ता श्रीधर भावुकले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुका जिज्ञासाको जवाफ कवि क्षितिजले दिनुभएको थियो ।

मदानीको आगामी श्रृंखलामा ‘लू’

मदानी साहित्य समुह नेपालले दोश्रो श्रृखलाअन्तर्गत सीमामा रहेका नेपालीहरुले खेप्नुपरेको ज्यादतीका बारेमा लेखिएको अहिलेको चर्चित उपन्यास ‘लू’ को बारेमा पनि चर्चा गर्ने भएको छ । समूहले श्रावण २० गते ुलूुका लेखक नयनराज पाण्डेसँग अन्तक्र्रिया गर्ने समूहले जनाएको छ । सो कार्यक्रमको संयोजन समूहका अभियन्ता आस्था केसीले गर्नुहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *