एसएलसी पुरक परीक्षाको तयारी पूरा

  
  प्रकाशित मितिः मङ्लबार, साउन १६, २०६९       | 121 Views   ||

दाङ, साउन १६ । बुधबारदेखि शुरु हुन लागेको एसएलसी पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । गएको एसएलसी परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि भोलि बुधबारदेखि मौका परीक्षा हुन लागेको हो ।

भोलिदेखि हुने परीक्षामा दाङलगायत राप्ती अञ्चलबाट ७ हजार ६ सय ७८ जना परीक्षार्थीहरु मौका परीक्षामा सहभागी हुँदैछन् । जिल्ला शिक्षा कार्यालय दाङमा अनुसार दाङबाट एक सय ६५ विद्यालयका दुई हजार ४ सय २७ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदै छन् ।

यसैबीच पुरक परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय दाङले चार वटा परीक्षा केन्द्र तोकेको छ । जिल्ला शिक्षा समितिको निर्णय अनुसार एसएलसी पुरकका लागि घोराहीको उच्च मावि रझेना, शान्ति सुधा उच्च मावि, माउण्ट भ्यू बोर्डिङ र पद्मोदय पब्लिक नमूना उच्च मावि भरतपुरलाई परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिनुभयो ।

यसैगरि सल्यानमा ६० विद्यालयका एक हजार चार सय २७ परिक्षार्थीहरुले पुरक परिक्षा दिदैछन् । जसका लागि त्रिभुवन उच्च मावि लुहापिङ, सल्यान बहुमुखी क्याम्पस, शिवजन उच्च मावि शीतलपाटी क र ख गरी चार वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरिक्षक मोहन दाहालले जानकारी दिनुभएको छ ।

उता रुकुममा तोकिएका चारवटा परीक्षा केन्द्रबाट १ हजार सात सय विद्यार्थीहरुले एसएलसीको पुरक परीक्षा दिने भएका छन् । यस वर्षको पुरक परिक्षा सञ्चालन गर्न त्रिभुवन जनता उच्च मावि खलंगाको माथिल्लो र तल्लो भवन, सेरीगाउँ र सोलावाङ परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

त्यस्तै, रोल्पाबाट एक हजार ८५ जना परिक्षार्थीले एसएलसीको पुरक परीक्षा दिदैछन् । जिल्लाको वालकल्याण उच्च मावि लिवाङ क र ख गरि दुई वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय रोल्पाका प्राविधिक सहायक विश्वास विकले जानकारी दिनुभयो । रोल्पामा सबैभन्दा धेरै ५ सय २१ जना परीक्षार्थीले अंग्रेजी विषयको परीक्षा दिदैछन् ।

प्यूठानमा पुरक परीक्षाका लागि एक हजार ३९ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् । परीक्षाका लागि जनता उच्च मावि बाग्दुला, महेन्द्र नमूना उच्च मावि खलंगा र मुक्ति उच्चमावि रातामाटा गरि तीनवटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी अणप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

केन्द्राध्यक्ष र निरीक्षक तोक्ने, उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लाका परीक्षाकेन्द्रमा पुगिसकेको छ । नियमित परीक्षाझैं पुरक परीक्षामा पनि होम सेन्टर नराखिएको र विद्यालय बाहिर कोचिङ ट्युसन पढाउने शिक्षकलाई समावेश नगरिएको सम्बन्धित शिक्षा कार्यालयले जनाएका छन् । पुरक परीक्षाको पहिलो दिन बुधबार अनिवार्य अग्रेजीको परीक्षा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *