ठाकुरज्यूको चुच्चे हिमाल पुग्दा

  
  प्रकाशित मितिः बिहिबार, साउन ३२, २०६९       | 136 Views   ||

-[दिल महरा]

पुग्नु थियो हामी– १६ हजार फीटको उँचाई । नाघ्नु थियो हामीले ठूल्ठूला हिमालहरु । दौड्नु थियो हामीलाई भञ्ज्याङे हिमालहरु । आँटेपछि नपुगिने होइन रहेछ । हामीले पुगेरै छाड्यौं ठाकुरज्यूको त्यो चुच्चे हिमाल– दुई दिन लगाएर । आखिर पुग्न त पुगियो नि चुचुरामा ।

‘म चुचुरामा चढेरै फर्किए ।’

एघार बजेको छ बिहानको । साउनको मध्यभाग । डाँडाभरि बादलको घुम्टो । निष्पट्ट सफा छ आकाश । जनकपुरे रामभगत महतो (कृषि विभाग जुम्लाका नायवसुब्बा), वैतडीका मोहन ठगुन्ना, बर्दियाली शेरबहादुर शाही (दुवै नायक सुब्बा जुम्ला हस्पिटल) लाई पहिल्यैदेखि उस्काइरहेको थिए ठाकुरज्यू जानलाई मैले ।

स्लीपिङ व्याग, ज्याकेट, गलबन्दी टोपी, पञ्जा साथमा ड्राइफुड खादिएका झोला छन् सबैसँग । छाता सबैले बोकेकै छौं । म सबभन्दा अगाडि क्रमशः त्यसपछि रामजी, मोहनजी र शेरजी । बाटो ठाडै उकालो लाग्यौं हामी ।

यात्रा भनेपछि हुरुक्कै हुन्छु म । अझ हिमाल–प्रकृति, वनस्पति । यात्रामा कुस्ती गर्न अति नै रमाइलो ।

केही समय पहिले एकदुई रैथानेले भनेथे– ‘ठाकुरज्यू जनैपूर्णिमाको समयमात्र जान मिल्छ । अरु दिन जान मिल्दैन कसैलाई ।’

हामीले त्यसै ग¥यौं । भोलि जनैपूर्णिमा थियो । सुनेअनुसार मेला पनि लाग्दोरहेछ ठाकुरज्यूमा ।

ठाडो बाटो उक्लिरहेछौं हामी । छिलाङ्ने उकालो । सल्ला, देवदार, भोजपत्र सुशेली रहेछन् हिमाली हावा । नितान्त शान्त लागिरहेछ हाम्रो यात्रा । केही पारि डोरीजस्तै बगिरहेछ तिला । आकाशमा हवाइजहाज हामीभन्दा हतार गरिरहेछ ओहोर–दोहोर । छिनमै बसिदिन्छ जुम्ला, कहाँबा आयो ? तुरुन्तै उडिदिन्छ । कहाँ जाने हो ? प्रष्ट देखिरहेछौं हामी । एयरपोर्ट निकै सुन्दर लागिरहेछ पारि । फन्को छ हरियाली । श्रृंखला छ सुन्दरताको । खोरियाको कान्लामा ओहो लट्टरम्म स्याउहरु । उही समय चिरबिराउँछन् चराहरु । नजिकै जंगली गुलाबमा कराउँछ झ्याँउकीरी । हामी मनोरमले मात्तिएका छौं बेस्मारी ।

‘कुन ब्राह्मणले कुन साइतमा न्वारान गरिदियो छिलाङ्ने उकालो– चिलाउने उकालो राख्नुपर्ने । जानेन ब्राह्मणले ।’ एकाएक हाँसोको खित्का । पेट मिचिमिची नहाँसी के सुख । हाम्रो हाँसो प्रतिध्वनी भएर फैलियो रनवन । पसिनाले थोरै–थोरै थिलथिल पारिरहेथ्यो हामीलाई । चारै शरीर एकैनासले तन्काइरह्यौं हामी । आकाश अलि अँध्यारो छायो । सरक्क कुइरोले छोपिदियो वन ।

हामी छिलाङ्ने उकालोमा आखिरीमा थियौं । एकहुल महिलाहरु घाँस बोकेर झरिरहेछन् ओरालो । तिनका तिघ्रा कति बलिया । घोडाजस्तै छम्किदै हिडिरहेछन् ओरालो । पछाडि केटाकेटी पनि रहेछन् कलिला । स्कूले ड्रेसमा दाउराको भारी बोकेका । बुढीऔंला देखिने फाटेको खाकी जुत्ता । सर्ट उस्तै मैलो । टाँक चुडिएका । बिचरा केटाकेटी । फरक–फरक रंगको टालो हालेछन् १०/१२ ठाउँ । सिंगानको लत्को लामै चुहाइरहेछन् उनीहरु ।

साथीहरु भोजपत्रको फेदमा विश्राम लिनुभो एकछिन । म पनि छेऊमै बसें । आँखाहरु बरालिरहे । एकपटक फेरि तिलामा पुग्यो आँखा । तिला सललल बगिरहथ्यो तल–तल । हिमालमा कुइरो सिमलको भुवाजस्तै सेतै । धेरै पर काञ्जिरोवा देखिरहेछ अटल । म आत्मैदेखि मनाइरहेछु खुसी । साँच्ची जीवनमा रमाइलो मात्र हुने भए ….. ?

म बरालिन थालेछु भावनामा । रामजी बोल्नुभो त्यहीबेला । थोरै थोरै च्यूरा चपाएर हिड्यौं । रैथाने साथी भेट्नुपर्छ अघि फेरि दुःख पाइएला, हिमालको यात्रा छ ।

हामी त्यसै ग¥यौं । भुटेको दुई÷चार मुठ्ठी चपाइयो च्यूरा । घाँटी तन्काएर भरियो पानी । भुँडी धुम्धुमियो । हाम्रा पाइलाहरु चल्न थाले लुरुलुरु फेरि । हिमाली सिरेटो चलिरहेछ एकतमास । हेर्दाहेर्दै वनभरि कुइरो झुरुप्प । छिनमै बिलायो उस्तै गरी ।

छकालेपानी पुगेपछि भेटिए रैथाने लस्कर । हामी देखिरहेछौं– बुढाबुढी, युवायुवती, केटाकेटी, ती सब ठाकुरज्यू पुग्ने नै हुन पक्कै । हामी पिछामा हिड्यौं उनीहरुको । बाटो थोर–थोरै चिप्लै रहेछ । हामीले क्रमशः देवदार, सल्ला देख्न छोड्यौं । चोया कता बिलायो –विलायो । भोजपत्र पूरै हराए । रुखको नाममा पोथ्रा बिलाए । सिंगै नाङ्गो । खौरिएको तालुमा हिडिरहेछौं हामी । जताततै नांगै छ हिमाल–पातने हिमाल ।

शेरजीलाई खुब मन परेछ दुई/चार सिन हुल्नु भो क्यामरामा । उत्तरतिर रंगीन देखिरहेछ हिमाल । हिड्दा हिड्दै पश्चिममा बास बसिदियो सूर्य । हाम्रो ध्याउन्न एउटै भयो अब– बास कहाँ बस्ने ? सवाल–जवाफ हुँदैथ्यो हाम्रो ।

एकहुल युवा आइपुगे पछाडि । दुईजना फटाफट निफ्रिए अगाडि । सायद अगाडिको हुल भेट्न हतारिएको होला । छल्याङ्ग–बल्याङ्ग उनीहरु ठाकुरज्यूको चुच्चे हिमालकै कुरामा रमाइरहेथे । पछाडिका बाँकी पनि निफ्रन खोजेअघि ।
समयले कति धाप मात्यो होला । पुग्ने हिमाल गइरहेछ पर ।

ए, मनप्रसाद सर । त्यही हुलमा आउनुभएछ । उहाँले नै चक्काएको मलाई ठाकुरज्यू उक्लन । हामीबाट निफ्रनै लाग्दा चिनुहाल्नुभो ।

यात्रा त अब पो रमाइलो । उकालोले चुम्बन गरिरहेछ सबैलाई । मनप्रसाद सर । त्यसैमा स्थानीय । उता एउटै गाउँमा पढाउँथ्यौं म र उहाँ । रातको चिन्ता कम भयो हामीलाई । त्यत्तिकैमा मै आफैले पढाएका ६÷७ जना विद्यार्थी भाईहरु देखिए । यात्रा अझैं खुकुलो लाग्न थाल्यो । बोझ भइरा’थे झोला । हाम्रो झोला उनीहरुले नै बोकिदिए । चम्केर बढिरहेछ चिसो । ज्याकेट, टोपी, गलबन्दी, पञ्जा सब काम लागे अहिले ।

जुनेली रातको चुम्बन छ हिमालमा । उज्यालोको अभावै भएन हामीलाई । ह्वारह्वारी हिडिरह्यौं एकनास । मनप्रसाद सर ठाकुरज्यूकै चर्चामा डुब्नु भो ।

‘चुचुरोमा सानो छ मन्दिर । अर्को सानो धर्मशाला । हाम्रा पुर्खाले भन्दै आएको । जनैपूर्णिमा बाहेक अरु दिन आउन नमिल्ने ठाउँ हो । आए के हुन्छ ? पत्ता भएन मलाई । संस्कार हो, हामीले संस्कार मिच्न सकेका छैनौं सर । रामजीलाई घत लागेछ कुरो । एकतमासले चुपचाप सुनेको सुन्यै । बीचबीचमा जिज्ञासा पनि थिए रामजीका । मोहनजी, शेरजी र मलाई उकालोले लरखराइरहेथ्यो । अगाडि मान्छेहरु लुईलुई लम्किरहेछन् । जुनेली रातमा ठूलैको ताल देखियो पानीको । मान्छेहरु कराए– ‘विष्टज्यूको जय ।’

विष्टज्यूको दह आइपुगेछौं हामी । झण्डै २० मिनेट आराम भो विष्टज्यूमा । थोरथोरै सबले भोक प्यास मेटे । हामी पनि मेटियो भोक प्यास । अब फेरि हिड्नु छ आधा घण्टा कडै । युवाहरु तिखो स्वरमा कराए । साथीहरु हिड्न थाले ।

‘हुड्केदहको जय ।’

विष्टज्यूको दहछेऊमै रहेछ हुड्के दह । टिलटिल सेतो पानी देखियो रातमा । एकछि एकलास भो हिडाई । चिसोले ठटाउन लाग्यो बढी ।

‘जय हरिराम…..।’

भजन गाउन थाले मान्छे । रातको १ बजे टङरङे टुप्पोमा पुगियो ठाकुरज्यूको चुच्चे हिमाल । थकाइले फत्तुर थियौं हामी । रातमा केही हेर्ने जाँगर चलेन हाम्रो । अतिथिको नाममा धर्मशालामा सुताइयो हामीलाई । चिसो हिमालमा के निद्रा पथ्र्यो होला ? थकाइले तप्ताएछ बेस्मारी । स्लीपिङ ब्यागको सहयोगमा निदाइएछ छिट्टै ।

बिहान उठ्दा सूर्य उदाइसकेको थियो । हामी १६ हजार फीट माथि थियौं–ठाकुरज्यूको चुच्चे हिमालमा । हिमाली सौन्दर्य छताछुल्ल थियो आँखाभरि । छेऊको हुड्के दह, विष्ट दह, केही परको गिरीदह लोभ्याइरहेथे हामीलाई । बोलाइरहेथे मलाई ।
ठाकुरज्यू पुगेको त्यो समय । ठाकुरज्यूको चुच्चे हिमाल पुगेको त्यो दिन । म अति चंगा थिएँ बेजोडको खुसीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *