न गर्ने, न बाटो छोड्ने

  
  प्रकाशित मितिः बिहिबार, साउन ३२, २०६९       | 107 Views   ||

-[गणेश ओली]

सबैले भन्ने गर्छन् देश यतिबेला गम्भीर प्रकारको संक्रमणमा फसेको छ । सबै राजनीतिक दलका नेताहरु यसको निकासको सम्बन्धमा आफू अनुकूल व्याख्या गर्ने गर्छन् । उनीहरु देशले निकास नपाउनेमा आफू र आफ्नो पार्टी चोखो भएको दावी गर्दै सबै दोष अर्कोलाई लगाउँछन् । तर, वास्तविक दोषी को हो त ? जनताले छुट्याउनुपर्ने बेला आएको छ । हामी १२ बूँदे समझदारीदेखि यहाँसम्म आउँदा कहाँ–कहाँ चुक्यौं ? कसले कहाँ–कहाँ देशलाई अनिर्णयको बन्दी बनाएर राख्यो ? जनताले हिसाब किताब गर्न जरुरी छ ।

बाह्र बूँदे आन्दोलन अघिसम्म काङ्ग्रेस र एमालेले देशलाई कसरी खत्तम पारेका थिए सो कुरा जगजाहेर नै छ । वास्तवमा त्यसपछि पनि सत्ता र कुर्सीभन्दा अरु नदेख्ने उनीहरुको पुरानो प्रवृत्ति, देशले माग गरेको नयाँ–नयाँ परिस्थितिमा नयाँ–नयाँ भूमिका र निर्णय लिन नसक्ने असक्षमताका कारण देशले निकास पाउन नसकेको हो । बदलिदो परिस्थितिमा सबै राजनीतिक दलहरुले संविधानसभा, शान्ति, गणतन्त्र, संघीयता, जनताको अधिकार र देशको विकासजस्ता कुरामा छिटो–छिटो र राष्ट्रिय हितअनुकूल निर्णय लिने अवस्था थियो । काङ्ग्रेस एमालेले यी सबै कुरामा सही र समयमा निर्णय दिन सकेनन् । जसका कारण देशले कुनै पनि निर्णय लिन सकेन । संविधानसभाको ४ बर्षे कार्यकाल पनि सोही कारण खत्तम भयो भने देशले कुनै पनि उपलब्धि हासिल गर्न सकेन । संविधानसभाले काम गरेको ४ वर्ष राजनीतिक दलहरु जुहारी खेलेर नै बिताए । उनीहरु संविधान निर्माण, शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउनेभन्दा सत्ता निर्माण र एकले अर्कोलाई गलाउनेमा ध्याउन्नमा देखिए । जसले गर्दा नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदानपछि आएको संविधानसभाको बिना उपयोग मृत्यु भयो । यसले नेताहरुलाई भन्दा जनतालाई घाटा भयो । पार्टीलाई भन्दा देशलाई नोक्सान पुग्यो । यो समयमा काङ्ग्रेस एमालेले छिटो निर्णय दिन सकेको भए देशले यतिबेला अर्को कोर्शमा छलफल गरिरहेको हुने थियो तर आज हामी ५ बर्ष पहिले जुन विषयमा छलफल गरेका थियौं अहिले पनि त्यही छलफल गरिरहेका छौं । देशको विकासको अवस्था पनि त्यही छ । जनताको स्तर उठाउने कुरा पनि त्यही छ । अनि कसरी हुन्छ देशको अग्रगामी विकास ?

दलहरुले यो अवधिमा सबैभन्दा राम्रो काम भनेको राजामा रहेको शक्ति संसदको मातहतमा ल्याउने र राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने हो । जब दलहरु एक थिए त्यतिबेला उनीहरुले यस्ता धेरै महत्वपूर्ण काम गरे । जब दलहरु जनताभन्दा आफ्नो र पार्टीको स्वार्थमा लागे तब देशले पाउने हैन गुमाउने धेरै भए ।

नेपाली काङ्ग्रेस विशेषगरी गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् एउटा चलायमान पार्टीभन्दा स्थिर पार्टीको रुपमा रुपान्तरण भएको छ । उसले नयाँ कुनै पनि निर्णय दिन सक्दैन । यसले न त कुनै नयाँ सोच र कार्यक्रम लिन सक्दछ न त अरुको योजनामा नै अघि बढ्न सक्छन् । यता एमाले जहिले पनि प्रतिपक्षजस्तो कुरा गर्छ । उसमा वास्तविकता के हो भन्दा पनि एउटाले पूर्वको कुरा गर्दा आफुले पश्चिमको कुरा गर्नु एमालेको धर्मजस्तो भएको छ । एमाले र काङ्ग्रेसजस्तो देशको ठूलो पार्टीले संघीयताको स्पष्ट खाका दिन नसक्दा देशले एकात्मक राज्यबाट संघीय राज्यमा जानबाट वञ्चित भयो । शान्तिप्रक्रिया टुङ्गोमा पुग्न सकेन । उनीहरुले शान्तिप्रक्रियाको सन्दर्भमा निष्कर्षमुखीभन्दा माओवादीलाई फुटाउने नीति लियो । जसका कारण अहिले शान्तिप्रक्रिया जस्तो महत्वपूर्ण पाटो अहिले अलपत्र भएको छ । यदि एनेकपा माओवादीका नेताहरुको सुझबुझ र जनमुक्ति सेनाको धैर्यता नहुँदो हो त देशमा ठूलो गृहयुद्ध मच्चिरहेको हुन्थ्यो । काङ्ग्रेस–एमालेलाई देशमा शान्ति आओस हैन माओवादीले, अझ जनसेनाले हारोस भन्नेछ । जनसेनालाई हराउने हैन उसका माग सम्बोधन गरेर शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने हो । खैं काङ्ग्रेस–एमाले यस बारेमा कहिले सोच्यो ? त्यसैगरी उनीहरु जहिले पनि हरेक कृयाकलापमा सत्ताकै वरिपरि केन्द्रित रहे । जब संविधानसभाको निर्वाचन भयो काङ्ग्रेसले माओवादी ठूलो दल हुँदासम्म पनि सत्ता छाडिदिएन । जब माओवादी सत्तामा जाने स्थिति आयो । बलपूर्वक सहमति सरकार बनाउने प्रावधान हटाएर बहुमतका आधारमा सरकार बनाउने निर्णय गर्न बाध्य पा¥यो । जसका कारण देशले कहिल्यै पनि सहमतीय सरकार पाएन भने संकटको निकास पनि निस्कन सकेन । देश सधै नेताहरुको सत्ताको गोलचक्करमा घुमिरह्यो ।

पछिल्लो पटक फेरि संविधानसभा विघटन भएको छ । संविधानसभा विघटन हुने बेलासम्म पनि काङ्ग्रेसले कुनै विकल्प दिन सकेन । अदालतले दिएका सबै विकल्प सकिदासमेत काङ्ग्रेस एमालेको कारण माओवादी सरकारले बाध्य भएर चुनाव घोषणा गर्नुप¥यो तर काङ्ग्रेस एमालेले चुनावको पनि विरोध गरे । त्यसपछि उनीहरुको अनिर्णयको कारण मंसिर ७ मा चुनाव हुन सकेन । अहिले फेरि चुनाव पनि विकल्प हुन सक्छ भन्दै आएका छन् । यसरी मौकामा निर्णय गर्न नसक्ने बेमौकामा पछुताउने र देशलाई पनि निकास नदिएर पछि धकेल्ने काङ्ग्रेस एमालेको निर्णयले देशलाई अझै कति दिन अन्योलमा पार्ने हो केही थाहा छैन् । उनीहरुको सत्ताबुद्धि अझै फर्कने सम्भावना देखिएको छैन । काङ्ग्रेस म्याद टरिसकेपछि संविधानसभाको पुनःस्थापना वा चुनाव भन्दैछ । माओवादीले भन्नेबित्तिकै यो कुरा स्वीकार गरेको भए अहिले देशले यो फगतको गोलचक्कर काट्ने थिएन । उहिल्यै निष्कने निकासको कुरा अहिले आएर बल्ल गर्दैछ । उता एमाले नेता केपी ओली भारत गएर प्रधानमन्त्रीको निम्ति आशिर्वाद मागेर आएका छन् । स्रोतले जनाएअनुसार भारतले आशिर्वाद थाप्न अझै समय नभएको बताएपछि अहिले उनी युवा संघको नाममा वितण्डा मच्चाउँदै हिड्न थालेका छन् । यसरी आफ्नो सत्ताको स्वार्थको लागि जनतालाई दुःख दिने ओलीको पुरानै बानी हो । जनयुद्धको समयमा पनि देशलाई निकास दिनुभन्दा जनतालाई हिरासतमा कुहाउने र सडाउने कार्यमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

यसरी काङ्ग्रेस एमालेको जनताप्रति उत्तरदायी, निष्ठापूर्ण र सिद्धान्तको राजनीतिभन्दा स्वार्थ र सत्ताको राजनीतिले गर्दा देश सधैं अनिर्णयको बन्दी बन्दै गएको छ । यदि यस्तै अवस्था रहे देश अनिर्णयको बन्दी बन्ने र जनताले चाहेजस्तो निकास पाउने सम्भावना छैन । गाउँघरमा ‘न …………गर्ने न त बाटो छाड्ने’ भन्ने उखान प्रचलित छ, काङ्ग्रेस एमालेको यसखाले प्रवृत्तिका कारण देश र जनताले कति दिन दुःख पाउने हुने हाम्रो देश अझै कति शताब्दी पछाडि धकेलिने हो केही भन्न सकिदैन । तसर्थ जनताले को जनविरोधी हो को जनपक्षीय राजनीतिक दल र नेता हो बुझेर खबरदारी गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *