नयाँ गठबन्धनको अग्रगामी कार्यभार

  
  प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०६९       | 93 Views   ||

-[गोविन्द आचार्य]

पहिचानसहितको संघीयता, गणतन्त्र र राज्यको आमूल परिवर्तनका पक्षमा रहेको एकीकृत नेकपा माओवादीसहितका २१ राजनीतिक दलले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै शक्ति र स्वतन्त्र व्यक्ति समेतलाई ढोका खुल्ला रहेको बताइएकाले गठबन्धनले आगामी दिनमा अझ ठूलो आकार लिने अनुमान गरिएको छ । यो गठबन्धनमा देशकै सबैभन्दा ठूलो दल एकीकृत माओवादीसहितका प्रमुख परिवर्तनकारी शक्तिहरु सामेल छन् । यसले ८० प्रतिशतभन्दा बढी जनताको समर्थन प्राप्त गर्ने अपेक्षा गरिएको छ । संघीय गणतन्त्रका पक्षधर लोकतान्त्रिक शक्तिहरु एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा एउटै गठबन्धनमा आबद्ध भएपछि आम जनतामा नयाँ आशाको सञ्चार भएको छ भने संघीयता विरोधी शक्तिहरुमा थप छटपटाहट पैदा भएको छ । उनीहरु अहिले कुनै राजनीतिक वैचारिक बहसभन्दा एमाओवादी पार्टी र अध्यक्ष प्रचण्डसहितका नेताहरुमाथि गालीगलौजको बौछार गरिरहेका छन् ।

पुरानो संसदीय व्यवस्थाको घेरा नाघेर अघि बढ्न तयार नदेखिएका कांग्रेस, एमालेसहितका संसदीय शक्तिहरु मोर्चाबद्ध भएर एकीकृत माओवादी, मधेशवादी दल र जनजातीलगायत उत्पीडित समुदायमाथि लगातार आक्रमण गर्दै आइरहेका छन् । ती दलले अग्रगामी शक्तिविरुद्ध संयुक्त आमसभा, राष्ट्रपतिलाई उकास्ने, सडक संघर्ष र भातृ संगठनहरुलाई बन्द, तोडफोडजस्ता कार्यक्रममा परिचालन गरिरहेका छन् । उनीहरुका कार्यक्रममा आफ्ना कार्यकर्ता बाहेक जनताको सहभागिता र समर्थन देखिन्न । देशमा कायम राजनीतिक संकटको गाँठो फुकाउन सहमतिको प्रयास गर्नुको साटो ती शक्तिहरु प्रधानमन्त्रीको राजीनामालाई एक मात्र शर्त बनाइरहेका छन् । यसले कांग्रेस र एमाले जस्ता दलहरुको प्रमुख उद्देश्य जसरी हुन्छ प्रधानमन्त्रीको कुर्सी कब्जा गर्ने अनि देशलाई २००७ सालदेखि २०१५ सालकै अवस्थामा पु¥याउनु रहेको छ । २००७ सालमा संविधानसभाको चुनाव घोषणा गरिएपनि कांग्रेसकै कारण त्यो पूरा हुन पाएको थिएन । ०१५ सालसम्म कांग्रेस र राजा मिलेर सत्ता चलाए तर संविधानसभा चुनाव नै गराएनन । ०१५ सालमा आएर संसदीय निर्वाचन गरियो । अहिले पनि कांग्रेस र एमालेले संविधानसभालाई आफ्नो काम सम्पन्न गर्न नदिएरै विघटनको अवस्थामा पु¥याए । अब उनीहरु संविधानसभा चुनाव होइन संसदीय चुनावको पक्षमा छन् । उनीहरुले पहिचानसहितको संघीयता नस्वीकार्ने निर्णय गरिसकेका छन् । त्यस्तै गणतन्त्र, राज्यको पुनःर्संरचना, धर्म निरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली र समावेशी सिद्धान्त एमाओवादी, मधेशवादी र जनजातिको मात्र एजेण्डा भएको बताउँदैछन् । कांग्रेस र एमालेको यथास्थितिवादी धारका विरुद्ध सोही पार्टीभित्रका आदिवासी जनजाति नेताहरुले विद्रोह बोलिरहेका छन् र धमाधम पार्टी छाड्दैछन् । कांग्रेस, एमालेसहितका यथास्थितिवादीहरु संघीयता, गणतन्त्र र राज्यको पुनःर्संरचना जस्ता प्रमुख एजेण्डालाई ध्वस्त पार्ने अभियानमा लागेको वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु बीचमा सुदृढ एकताको खाँचो छ । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोलनका बलमा जे जति उपलब्धिहरु प्राप्त भएका छन् तीनलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्न अग्रगामी शक्ति बीचमा साझा मोर्चा अहिलेको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।

आम नेपाली जनता, विश्वभरका परिवर्तनकामी र हामी सबैले बुझेको देखेको सत्य के हो भने हाल नेपालमा जे जति परिवर्तन सम्भव भएको छ त्यसको असली हकदार कांग्रेस, एमाले र राप्रपाहरु होइनन् । संविधानसभा, लोकतन्त्र, गणतन्त्र, संघीयता, राज्यको अग्रगामी पुनःर्संरचना, समावेशीता लगायतका एजेण्डा एकीकृत माओवादी, मधेशवादी र जनजातिले अघि सारेका हुन् । यी एजेण्डा पूरा गराउन एकीकृत माओवादी सहितका शक्तिहरुले जीवनमरणको संघर्ष गरेका छन्, हजारौंको बलिदान गरेका छन् र ठूलो त्याग, तपस्याको किर्तिमान कायम गरेका छन् । कांग्रेस, एमाले र राप्रपाहरु त यी एजेण्डा पूरा हुन नदिन हत्या दमनमा लागेका शक्ति हुन् । ती दलका नेताहरुले राजाको सरकार (श्री ५ को) मा बसेर गणतन्त्र, संघीयता र संविधानसभा माग्ने १३ हजार योद्धाको कत्लेआम गरेका छन् । ३ हजार योद्धालाई वेपत्ता पारेका छन् र हजारौंलाई जेलनेल, यातना र उठीबास लगाएका छन् । ती दलका नेताहरु रामचन्द्र पौडेल, माधव नेपाल, सूर्यबहादुर थापा र कमल थापाहरुले पटक–पटक परिवर्तनका एजेण्डा आफ्ना होइनन् भन्ने कुरा खुल्ला ढंगले स्वीकारसमेत गरिसकेका छन् । उनीहरुले आफूहरुले ०४७ सालकै संविधानमा संशोधन गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखे पनि माओवादी राजी नभएपछि उसका एजेण्डा स्वीकार्न बाध्य बनेको बताउने गरेका छन् । यसरी बाध्यतापूर्वक संविधानसभा, गणतन्त्र, संघीयताजस्ता एजेण्डा स्वीकारेको बताउने दलहरुले यी एजेण्डालाई संस्थागत गर्न भूमिका खेल्छन् भन्ने सोच्नु मात्रै पनि मूर्खता सिवाय केही हुन सक्दैन । अहिले कांग्रेस, एमाले र राप्रपाले आफ्नो असली चेहरा देखाएरै छाडेको छ । ती दल जसरी हुन्छ अस्थिरता सिर्जना गराएर आफ्ना एजेण्डा लागू गराउने र पुरानै संसदीय व्यवस्था ब्यूँताउने योजनामा छन् । त्यसैले उनीहरु अब कांग्रेस नेतृत्वमा सत्ता हत्याउने, संविधानसभाको चुनाव हुन नदिने र संसदीय चुनाव गर्नुपर्ने कुरा गरिरहेछन् । यस्तो अवस्थामा परिवर्तनका लागि जसले एजेण्डा अघि सा¥यो र आन्दोलनको अगुवाई ग¥यो त्यो शक्ति फेरि आन्दोलनको नेतृत्वका लागि तयार रहनुपर्ने भएको छ । अहिले एकीकृत माओवादीको नेतृत्वमा जुन गठबन्धन बनेको छ परिवर्तनका एजेण्डा संस्थागत गर्न यो एक बलियो हतियार बन्न पुगेको छ । यो गठबन्धनले पहलकदमीलाई आफ्नो हातबाट अन्त जान दिएन भने राजनीति यसकै वरिपरी केन्द्रित हुनेछ ।

एकीकृत माओवादी नेतृत्वमा नयाँ मोर्चा गठनसँगै पहिचानसहितको संघीयता, वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय समस्याको समाधान एवम् राष्ट्रिय स्वाधीनता र मुक्ति चाहने परिवर्तनकारी शक्तिहरु एउटा ध्रुवमा र पुरानै संसदीय व्यवस्थालाई निरन्तरता दिन चाहने संघीयता विरोधी शक्तिहरु अर्को ठाउँमा ध्रुवीकृत हुने क्रम तीव्र भएको छ । सबै मुद्धामा एक नभएपनि प्रमुख एजेण्डाका आधारमा नजिक रहेका शक्तिहरुबीच ध्रुवीकरण हुनु जायज हो । यस्तो गठबन्धनले नेपालको राजनीतिमै नयाँ अध्यायको सुरुवात गराउन पुग्नेछ । गठबन्धनलाई दीर्घकालीनरुपमा अघि बढाउन सकियो भने यो सत्ता, सडक र चुनावका लागि एक सशक्त साधनका रुपमा प्रयोग हुन सक्नेछ ।

नयाँ ध्रुवीकरणको प्रक्रियाले हरेक राजनीतिक दलका नेता, कार्यकर्ता र आम जनसमुदायमा यथास्थितिलाई रोज्ने वा परिवर्तनका लागि लाग्ने भन्ने बहस पैदा गराएको छ । हिजो जुन कारणले देशमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोलनहरु भए, त्यसलाई सम्बोधन नगरी कोही पनि अघि बढ्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा कांग्रेस र एमालेले परिवर्तनका एजेण्डालाई अस्वीकार गरेर आफू निरंकुश संसदीय व्यवस्थाकै घेरामा रहेको स्पष्ट गरेका छन् । उता एकीकृत माओवादी पार्टी र त्यसका नेताहरुलाई गालीगलौज र चरित्र हत्या गर्दै क्रान्तिको जटील मोर्चाबाट बाहिरिएको मोहन वैद्य नेतृत्वको समूह पनि एमाओवादी नेतृत्वको अग्रगामी गठबन्धनविरुद्ध उभिएर यथास्थितिवादीहरुकै सेवा गर्न पुगेको छ । पार्टीभित्रका आन्तरिक सवालहरु आन्तरिक ढंगले हल गर्ने र महाधिवेशनमा लगेर टुंगो लगाउनुको बदला जसरी पार्टीबाट बाहिरिने काम भयो यसले आमजनता र क्रान्तिकारीहरुलाई निराश पार्ने र विरोधीहरुलाई फाइदा पु¥याउने काम त गरेकै थियो, अहिले कांग्रेस र एमालेको स्वरमा स्वर मिलाउँदै जसरी एमाओवादी नेतृत्वको अग्रगामी शक्तिका विरुद्ध प्रहार भइरहेको छ, यसबाट सो समूहको नियत के हो भन्नेमा जनता स्पष्ट हुन पाएका छन् । यथास्थितिवादी र परिवर्तनकामी बीच टकरावको स्थिति देखापरेको अहिलेको अवस्थामा एमाओवादी छाडेको समूहबाट जसरी संघर्षको मूल विषयबाट अन्यत्रै बहस केन्द्रित गर्ने र जनताको आन्दोलनलाई कमजोर बनाउने कोशिस भइरहेको छ, यसले परिवर्तनको आन्दोलनमा घाटा पार्नेछ । यसप्रति एकपटक सबै गम्भीर बन्नुपर्छ र एमाओवादी नेतृत्वको आन्दोलनको मूल प्रवाहमा समाहित बन्न सक्नुपर्दछ ।

नेपाली जनताको आशा र भरोसायोग्य शक्ति भनेको एकीकृत माओवादी नै हो । एकीकृत माओवादीले अगुवाई नगर्ने हो भने जनताको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने आन्दोलन अलपत्र पर्नेछ भन्ने कुरा सबैले जाने बुझेका छन् । यस्तो अवस्थामा एकीकृत माओवादी नेतृत्वमा निर्माण भएको नयाँ गठबन्धनले सबैखाले अग्रगामी शक्तिहरुलाई एकताबद्ध बनाउँदै प्राप्त उपलब्धिको रक्षा र आन्दोलनका बाँकी कार्यभार पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन । नयाँ गठबन्धनप्रति जनताको अपार साथ, सहयोग र समर्थन रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *