अखिल क्रान्तिकारी रोल्पाको सम्मेलन असोज २३ मा

  
  प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०६९       | 84 Views   ||

-[मनिषा श्रेष्ठ]
रोल्पा, भदौ १२ । एकीकृत नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २० औं जिल्ला सम्मेलन असोज २३ गते हुने भएको छ । क्रान्तिकारीको चौथो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार जारी विज्ञप्तीमार्फत् सम्मेलनका लागि चन्दप्रकाश बन्दीपुरेको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको जनाइएको हो ।

एकीकृत नेकपा माओवादी महाधिवेशन आयोजक समिति सदस्य तथा रोल्पा जिल्ला सम्मेलन आयेजक समिति संयोजक राजबहादुर बुढा ‘अविनाश’को विशेष उपस्थितिमा बसेको बैठकले ‘जडसुत्रीय संकीर्णता र शैक्षिक निजीकरणको विरुद्ध सुदृढ संगठन, संघीय गणतन्त्र र जनमुखी शिक्षाको पक्षमा २० औँ जिल्ला सम्मेलन’ भन्ने मुल नारासमेत तय गरेको छ । बैठकमा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा मगराँत राज्यसमिति संयोजक तिलकराज भण्डारी र केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज तुकमान महराको विशेष उपस्थिति रहेको थियो ।

बैठकले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बनाउन नदिने शक्तिहरु र औचित्यहीन विभाजनकारीहरुको विरुद्ध व्यापक भण्डाफोर गर्ने निर्णय गरेको छ । त्यस्तै, शैक्षिक स्तरोन्नतिलाई केन्द्रमा राखी जिल्लाका १/१ वटा प्रावि, निमावि, मावि र उमाविलाई नमूना विद्यालय बनाउने, जिल्लाभरि साधारण सदस्यता वितरण गर्ने तथा प्रत्येक शिक्षण संस्थामा इकाई भेला तथा प्रशिक्षणमार्फत् संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । यसैगरी जिल्ला सम्मेलनको प्रचार प्रसार, वालिङ गर्ने, आर्थिक संकलन गरी तीन सय प्रतिनिधिहरुको सहभागितामा सम्मेलन गर्ने, असोज ९ र १० गते काठमाण्डौँमा हुने अखिल क्रान्तिकारीको राष्ट्रिय भेलाका लागि तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ ।

विज्ञप्तीको अन्तमा असोज २३ मा हुने अखिल क्रान्तिकारी रोल्पाको २० औँ जिल्ला सम्मेलन सफलताको लागि वैचारिक, आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिन राजनीतिज्ञ, वुद्धिजीवी, पत्रकार, व्यापारी तथा विभिन्न संघसंस्थालाई अनुरोधसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *