संविधान बन्ने ग्यारेन्टी भए राजीनामा : अर्थमन्त्री पुन

  
  प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०६९       | 111 Views   ||

जनउभार समाचारदाता
दाङ, भदौ ११ । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ले संविधान बन्ने ग्यारेन्टी भएमा आफूहरु एकछिन पनि सरकारमा नबस्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले अहिलेको आवश्यकता नयाँ संविधान भएकाले दलहरुबीच संविधान निर्माणका विषयमा सहमति भए सरकारले राजीनामा दिन तयार रहेको बताउनुभएको हो ।

संविधान पनि नबन्ने र सरकार पनि छोडेर देशलाई राजनीतिक शून्यतामा छोड्न सम्भव नहुने भन्दै माओवादी नेतासमेत रहनुभएका मन्त्री पुनले संविधान निर्माणका लागि संविधानसभाको चुनाव वा छोटो समयका लागि संविधानसभा पुनःस्र्थापना गरेर जानु नै अहिलेको विकल्प रहेको बताउनुभयो । प्रतिपक्षीहरुले अहिलेकै अवस्थामा सरकारको राजीनामा माग्नुको कुनै अर्थ नरहेको भन्दै मन्त्री पुनले संविधानसभाको विघटनपछि कामचलाऊ अवस्थामा पुगेको सरकारले राजीनामापछि आउने सरकार झनै टिकेमात्र हुने बताउनुभयो । ‘संविधानसभा र व्यवस्थापिका नरहेको अवस्थामा अब बन्ने सहमति वा जुनसुकै पनि सरकार दलहरुको सिफारिसमा राष्ट्रपतिले टीका लगाइदिएर बन्ने टिके सरकार हो, उहाँले भन्नुभयो– ‘त्यसैले दलहरुले अहिलेको संवैधानिक संकट समाधान गर्न सहमतिमा संविधानसभाको निर्वाचन वा पुनःस्र्थापना नै हो ।

संविधानसभाले टुङ्ग्याएका विषयहरुलाई यथावत राख्दै नमिलेका बाँकी विषयहरुमा जनतामा जान पनि सकिने भन्दै उहाँले सहमति भए राष्ट्रपतिबाट बाधा अड्काऊ फुकाई अघि बढ्न सकिनेसमेत बताउनुभयो । देशभर १५ हजार स्वास्थ्यकर्मीहरुको कोटा खाली रहेको र केही समयपछि संवैधानिक निकाय नै खाली हुने अवस्था आएको भन्दै मन्त्री पुनले त्यसलाई व्यवस्थित गर्न अध्यादेश जरुरी पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशलाई ठप्प पार्ने कुरा हुँदैन, जसरी भएपनि दैनिक प्रशासन त चलाउनुप¥यो तर त्यसका लागि दलहरुसँग न्यूनतम सहमति गरेर मात्र अध्यादेश आउँछ ।’

अहिलेको अवस्थामा गोलमेच सम्मेलन भन्नु पराजित भएको राजतन्त्रलाई पनि अस्तित्वमा ल्याएर गणतन्त्र, संघीयताजस्ता जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुप्रति प्रश्नचिन्ह उठाउने काम भएको भन्दै उहाँले त्यसले समाधान होइन, प्रतिगमनतिर धकेल्ने बताउनुभयो । दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै मन्त्री पुनले संविधान निर्माणमा काङ्ग्रेस एमालेलगायतका दलहरु सहमत भएर आए पाँच बुँदे सहमतिअनुसार काङ्ग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न केही अवरोध नभएको बताउनुभयो ।

सरकारले दैनिक काम चलाउनका लागि ल्याउनैपर्ने अध्यादेशमात्रै ल्याएको भन्दै मन्त्री पुनले अध्यादेशबाट बजेट ल्याउने मनस्थितिमा नरहेको बताउनुभयो । मन्त्री पुनले अहिले ४३ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको र साउन महिनामा मात्रै १८ अर्ब राजश्व संकलन भएको र ६ अर्ब खर्च भएको जानकारी दिनुभयो । मन्त्री पुनले पत्रकार र संचारमाध्यमको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । दाङलगायत सबै क्षेत्रका पत्रकारको क्षमता, विकास र पत्रकार महासंघहरुलाई व्यवस्थित गराउन पहल गर्नेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । क्रान्तिकारी पत्रकार संघ जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गणेश वलीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सदस्य डिल्ली मल्लले गर्नुभएको थियो ।

यसैबीच सोमबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघले अर्थमन्त्री पुनसँग जिल्लाको उद्योग, व्यवसाय र विकास निर्माणका विषयमा छलफल गर्नुका साथै समग्र जिल्लाको विकासका लागि सरकारको ध्यान आकृष्ट गरिदिन आग्रह गरेका थिए । सो अवसरमा मन्त्री पुनले दाङलगायत समग्र राप्तीकै विकासका लागि प्याकेजमै कार्यक्रम बढाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *